Monday, June 29, 2015

विद्यार्थी पर्खिरहेको विद्यालय

प्रभाकर गौतम
रत्नपार्कबाट करिब २२ किमि उत्तर पूर्व जर्सिङपौवामा रहेको हिल साइड एकेडेमी इङ्लिस स्कुलको भौतिक संरचनामा बैशाख १२ र २९ का ठूल्ठूला भुइँचालोका धक्काले पनि खासै क्षति पु¥याएन । तर स्कुलसँग जोडिएका शिक्षक तथा विद्यार्थीहरुमा यसले पारेको मानसिक क्षति अपुरणीय छ । स्कुलका चार विद्यार्थीहरुको मृत्यु भयो भने केही विद्यार्थीहरु घाइते भए । प्रिन्सिपल दुर्गाबहादुर तामाङकी आमालाई पनि भुइँचालोले आफूसँगै लग्यो । भुइँचालोले सबैभन्दा ठूलो क्षति स्कुलको व्यवस्थापन सम्हालेका शिक्षक रमेश तिवारीको परिवारमा पु¥यायो । उनका आफ्नै एक जना र उनको दाइका तीन गरी एकै परिवारका चार नानीहरुको घरबाट भाग्न खोज्दा खोज्दै चेपिएर ज्यान गुम्यो ।
महाविपद् लिएर आएको भुँइचालोले पारिवारिक सदस्य र विद्यार्थीहरु गुमाए पनि स्कुलका शिक्षकहरुको टोली विद्यार्थीहरुलाई पुनः स्कुल फर्काउने तयारीमा जुटिरहेका छन् । करिब एक महिना पढाइ प्रभावित भइसकेको र अझै पनि भयमुक्त वातावरण बनिनसकेकाले उनीहरु चाँडोभन्दा चााँडो विद्यालयको नियमित कामलाई निरन्तरता दिन प्रयासरत छन् । यसैक्रममा उनीहरुले विद्यार्थीका घर—घर पुगी अभिभावक र विद्यार्थीलाई भेट्ने र उनीहरुको मनोदशाको अवलोकन पनि गरिसके ।
हिल साइड एकेडेमी इङ्गलिस स्कुलमा काठमाडौं, काभे्र र सिन्धुपालचोक गरी तीन ओटा जिल्लाबाट ३७५ जना विद्यार्थीहरु पढ्न आउँछन् । तीमध्ये अधिकांश जैशी÷ज्योतिष गाउँ, भोटेचौर, लप्सीफेदी, नाङ्लेभारे, चौकीभञ्ज्याङ्ग र निबु गाउँका विद्यार्थीहरु रहेका छन् । सबैजसो विद्यार्थीहरुको घर क्षत विक्षत भएका छन् । सीमित संख्यामा रहेका पक्की घरहरु मात्र सद्दे छन् । ती विद्यार्थीहरु १५—२० किमी टाढासम्मबाट धाउँछन् । विद्यार्थी ओसार्न दुईटा बसको व्यवस्था गरिएको छ । तर विद्यार्थीहरुको पारिवारिक समस्याका कारण स्कुल पठाउनु तिनका अभिभावकहरुको प्राथमिकतामा नपर्ने हो कि भन्ने चिन्ता शिक्षक तिवारीको रहेको छ । २०६४ सालमा स्थापना भएको यस स्कुलका प्रारम्भिक दिनमा खुबै खटेका शिक्षक रवीन्द्र मिश्र भन्छन् ‘‘स्कुलको पठन पाठन चाँडोभन्दा चाँडो सञ्चालन गरी विद्यार्थीहरुको मानसिक तनाव कम गर्नु नै हाम्रो अहिलेको प्राथमिकता हो । बैशाख २९ मा पुनः ठूलो भुइँचालो नगएको भए अहिले हामीलाई पुरानै अवस्थामा फर्किन धेरै सहज भइसक्ने थियो ।” तर यस्तो चाहना पूरा गरिहाल्न निरन्तर आइरहने पराकम्पनका धक्काहरु तगारो बनेर तेर्सिएको छ । पढ्दै गरेका कतिपय विद्यार्थीहरुले भुइँचालोपछिको परिस्थितिमा पढाइ नै छोड्ने हुन् कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । उनीहरु करबलले विद्यार्थीलाई विद्यालयमा ल्याउनुभन्दा अभिभावकहरु पनि मानसिक रुपमा तयार होऊन् भन्ने पर्खाइमा छन् ।
शुरुमा कक्षा दुईबाट शुरु भएको स्कुलमा यसै सत्रदेखि नौ कक्षासम्म पढाइ हुन थालेको छ । भाडामा लिएर सञ्चालन हुँदै आएको स्कुल अबको दुई तीन महिनामै आप्mनै भवनमा सर्ने तयारी हुँदैछ । यस्तो तयारी स्कुल नाफामा गएर गरिन लागेको हैन । शिक्षकहरुले आफ्नै घरजग्गा धितो राखी लोन लिएर नयाँ भवन निर्माण गर्न थालेका हुन् । स्कुलले नाफामुखीभन्दा सेवामुखी काम गर्दै आएकाले शिक्षकहरुले तलब नभई पढाए वापत पकेट खर्चमात्रै लिँदै आएका छन् । करिब आठ रोपनी जग्गामा तयार हुन लागेको भवन निर्माणपछि विद्यार्थीहरुको स्तर वृद्धिका लागि विविध योजना बुनिरहेको स्कुलले आफ्ना विद्यार्थीहरुको समस्यालाई नजिकबाट बुझेको छ ।
तामाङ र ब्राह्मण समुदायका विद्यार्थीहरुको बाहुल्य रहेको यस स्कुलका धेरै विद्यार्थीहरुको आर्थिक अवस्था नाजुक छ । भुइँचालोले त्यसलाई झनै क्षीण बनाइदिएको छ । मिश्र भन्छन् ‘‘हामी शिक्षकहरुको टोली विद्यार्थीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर होमवर्क गरिरहेका छौं । सहयोग दिने सम्भावना भएकाहरुसँग हात बढाइरहेका छौं ।” हाल पनि केही विद्यार्थीहरुलाई मनकारी स्वदेशी तथा विदेशीहरुको सहयोग प्राप्त छ । करिब तीस प्रतिशत विद्यार्थीहरुले यस्तो सहयोग पाएका छन् । यो सबै स्कुलका शिक्षकहरुको अतिरिक्त कसरतको परिणाम हो ।
लक्ष्मण ढकाललगायता शिक्षकहरुलाई आफूहरुले उः बेला ऐच्छिक हिसाब पढ्ने विशेष इच्छा हुँदाहुँदै पनि अवसर नपाएको गहिरो पीडा छ । अंग्रेजीमा पढ्न पाउने सुविधाबाट वञ्चित हुनुको खेद त छँदै छ । उनीहरु आफू वञ्चित भएको अवसरबाट आप्mना स्कुले नानीहरु वञ्चित नहुन् भनी लागिपरेका छन् । स्कुलको पर्फमेन्सकै कारण अभिभावकहरुले दुईटा सरकारी स्कुलहरु नाघेर यस स्कुलमा आप्mना नानीहरुलाई पठाइरहेका छन् । जति इच्छा भए पनि चाहेका सबै कुरा गर्न नसक्नुका धेरै सीमाहरु छन् । स्कुलमा विज्ञान पढाउने शिक्षकको खाँचो टड्कारो छ । यहाँ पढाउँदा काठमाडौंमा जस्तो अतिरिक्त समयमा ट्युसन पढाएर थप आम्दानी गर्न सम्भव नभएकाले शिक्षकहरुको आकर्षण काठमाडौंतिरै छ । चक्रपथभित्र जस्तो शिक्षकहरुको उपलब्धता यहाँ छैन । त्यसैले उनीहरु धेरैजसो आठ—आठ घण्टी अनवरत रुपमा पढाउँछन् । स्कुलमा १८ जना शिक्षकहरु रहेका छन् जसमा माथिल्लो कक्षामा पढाउने महिला शिक्षक एक जना मात्र छिन् । प्रिन्सिपल तामाङ कोटेश्वरबाट धाउँदै आएका छन् भने धेरै शिक्षकहरु नजिकैको गाउँका बासिन्दा हुन् ।
स्कुलको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका शिक्षक तिवारीले स्कुल र समाजको चिन्ता पोख्दै गर्दा उनी आफ्नै घरका चारजना नानी गुमाएका अभिभावक हुन् भनेर पत्याउन गाह्रो पर्छ । जो गए तिनका सम्झनामा कसैले नदेख्ने गरी उनले धेरै आँशु खसालिसके । ‘‘एक रात सानी छोरीले उसकी आमा, दिदी र मेरो हात समातेर हामी कहिल्यै नछुटुम् है ।” भनेदेखि उनले बाँचेका परिवारका सदस्यका खातिर दुःख लुकाउने प्रण गरे । तर ‘‘समुदाय र पूरै देश नै पीडित भएका बेला आफ्नो पीडामात्र ठूलो मान्न नसकिँदो रहेछ ।” भन्दै गर्दा उनले आँसु लुकाउन सकेनन् ।
परिस्थिति प्रतिकुल नबने शिक्षकहरु जेठ तेस्रो सातादेखि स्कुल सञ्चालन गर्ने प्रयासमा लाग्नेछन् । उनीहरु विद्यार्थीहरुमा रहेका भय र सन्त्रास हटाउन अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तयारीमा पनि छन् । भन्छन् ‘‘काठमाडौंमा मासिक रुपमा पुस्तक छलफल कार्यक्रम गर्दै आएको समूह बुकाहोलिक्सको सहयोग र सहकार्यमा जेठको अन्तिम साता स्थापित लेखक र कलाकारहरु बोलाएर हामी बालबालिकाका लागि रचनात्मक क्रियाकलाप गर्ने तयारीमा छौं । उनका अनुसार, साहित्यक रचना सुन्ने सुनाउने र चित्र बनाउने कार्यक्रम मार्फत विद्यार्थीहरुलाई रिफ्रेस गराउनु कार्यक्रमकोे उद्देश्य हो । अपेक्षाअनुरुप कार्यक्रम बालबालिकाका लागि प्रभावकारी भएमा हामी यस्ता गतिविधिलाई निरन्तरता दिने सोचमा छौं ।
भुइँचालोले क्षति पु¥याएका विद्यालयको संख्या ५५ हजारभन्दा माथि छ । लाखौं विद्यार्थीहरु यसबाट प्रभावित बनेका छन् । भौतिक रुपमा भवन ध्वस्त भएका स्कुलहरु पुनः सञ्चालनमा ल्याउन त गाह्रो छ नै, भवनमा क्षति नभएका स्कुलहरु सुचारु गर्न पनि धेरै चुनौतीहरुको सामना गर्नु पर्ने देखिन्छ । स्कुल सुचारु भएपछि स्कुलको समायवधिभरि त विद्यार्थीहरु भुलिएलान् तर बाँकी समय घरमै बिताउँदा उनीहरु भयमुक्त वातावरणमा बाँच्न सकून भनेर ध्यान दिनु पर्ने देखिन्छ । अभिभावक र घरका सदस्य गुमाएका नानीहरुमा परेको आर्थिक समस्या र मनोवैज्ञानिक त्रास कम गर्नेतर्पm पनि बेलैमा सोच्नु पर्ने देखिन्छ ।
(२०७२ जेठ २८ मा लेखेको)

No comments:

Post a Comment