नेपाली संगीत रेकर्ड हुन थालेको एक शताब्दी बितिसक्दा पनि यसक्षेत्रबारे सोध तथा अनुसन्धान गर्ने परम्परा लामो छैन । संगीतसम्बन्धी प्रकाशित थोरै पत्रपत्रिका, पुस्तक, लेख तथा रचनाको संख्याले पनि यो पुष्टि हुन्छ । उपलब्ध सामग्रीहरु पनि खोजमा आधारित कम र अनुभूति, संस्मरण र स्मृति ग्रन्थका रुपमा बढी आएका छन् । संगीतको अध्ययन पनि प्राविधिक विषयका रुपमा बढी केन्द्रित छ । संगीतको इतिहासबारे, व्यक्ति, समाज र संगीतको अन्तर्सम्बन्धबारे अनुसन्धाता र संगीतक्षेत्रका विज्ञहरुको ध्यान कमै गएको पाइन्छ । केही सीमित अनुसन्धाता मध्ये रामशरण दर्नाल अग्रपंक्तिमा पर्छन् । वास्तवमा उनी जति व्यापक र गहनरुपमा संगीतक्षेत्रमा कलम चलाउने नेपालभित्रै अर्को व्यक्ति पाइँदैन होला ! उनले लेखेका पुस्तक र फुटकर रचनाहरुको संख्याले यही भन्छ ।
माता दिलकुमारी र पिता सत्यकुमारका सन्तान दर्नालको जन्म वि.स. १९९४ असार २७ शनिवारका दिन कालधारा, काठमाडौँमा भएको थियो । विद्यार्थी जीवन काठमाडौँको दरबार हाइस्कूलबाट शुरु भएको उनको मेट्रिक तहको शिक्षा भने सेन्ट रोबर्ट हाइस्कूल दार्जिलिङमा पुगेर टुंगियो । ‘दलित’ परिवारमा जन्मेका दर्नाल भनिन्छ, आफन्त पुस्कर बुढापिर्तीको साथ पाएर पुगेका थिए । दार्जिलिङ उनका बाबु पेडल हार्मोनियम बजाउँथे । सम्भवतः बाबुको प्रभाव उनमा प¥यो । सांगीतिक क्षेत्रको उर्वर थलो दार्जिलिङमा उनले ट्रम्पेट, गितार, पियानो र सिम्फोनी अर्केस्ट्रा जस्ता प्रविधिहरुसँग साक्षात्कार हुने मौका पाए । जीवन यात्राका क्रममा करिब आठ/नौ साल ताका मेट्रिक पास गरेपछि उनी कोलकाता गए र एचएमभी (हिज मास्टर्स भ्वाइस) कम्पनीमा प्रशिक्षार्थीका रुपमा काम समेत गरे । भनिन्छ, कोलकाताबाट फर्कदा उनले ह्वाइन गितार, ट्रम्लेट र म्यान्डोलिन साथै ल्याएका थिए । संगीत संयोजक र विशेषज्ञका रुपमा उनी रेडियो नेपाल, रोयल नेपाल एकेडेमी, राजदरबार, शाही सेना र तारे होटलहरुमा आबद्ध भए । ‘स्वरलिपिकार’ का रुपमा एकेडेमीमा उनले ३५ वर्षसम्म काम गरे र अवकाश पाए । यसक्रममा स्वाभाविक रुपमा धेरै नेपाली स्रष्टाहरुसँग उनको सहवास भयो । यसै मेसोमा धेरै ऐतिहासिक सृजना वा रचनाहरुमा उनको नाम जोडिने नै भयो ।
नरराज ढकालको पहलमा २०१६ देखि उनी प्रज्ञाप्रतिष्ठान छिरे । प्रतिष्ठानद्वारा सञ्चालित त्रिवर्षीय र पञ्चवर्षीय योजनामा कला विभागको सहायक सचिव भएर काम गरे । उनको कार्यकालमा १ सयभन्दा बढी बाजा र केही राग तथा तरंगको अन्वेषण भएको मानिन्छ । तर व्यवहारिक तहमा खासै काम हुन सकेन । एकेडेमीमा संकलित ती बाजाहरुको उचित संरक्षण अहिलेस्मम पनि हुन सकेको छैन । रेडियो नेपालमा ‘गाउँछ गीत नेपाली’को नोटेसन उतार्ने, दरबारमा उस्ताद गोबिन्दलालसँग मिलेर ‘उसैका लागि’ र ‘फेरि उसैका’ लागि गीतलाई डिस्कमा उतार्ने कार्यमा उनले सघाएका थिए । नेपाली संगीत इतिहासलाई लिखित दस्तावेजमा उतार्ने काम हुन नसकेकोमा उनको विशेष चासो र चिन्ता थियो । त्यसैले बाजा र सांगीतिक सृजनाको अनुसन्धानमा उनले आफ्नो जीवनको ठूलै उर्जा खर्च गरे । विशेषतः २०३८ पछिको समयमा खोज तथा अनुसन्धानको काममा उनी बढी सक्रिय भए ।
उनका करिब एक दर्जन प्रकाशित पुस्तक र सयौं फुटकर लेखहरु प्रकाशित छन् । उनको संगीतसम्बन्धी पहिलो लेख बनारसबाट निस्कने पत्रिकामा प्रकाशित भएको थियो । नेपाली संगीत साधक (२०३८), संगीको विस्तृत अवलोकन (२०४१), विश्वविख्यात संगीतकार (२०४१), संगीत परिक्रमा (२०४१), संगीत सौरभ (२०५८), नेपाली बाजा (२०६१) आदि उनका केही प्रमुख कृतिहरु हुन् । उनले थुप्रै स्वदेशी तथा विदेशी अनुसन्धातालाई नेपाली लोक संगीतसम्बन्धी रिसर्च गाइडका रुपमा निर्देशन पनि गरेका छन् । शैक्षिक पाठ्यक्रम निकाल्नेदेखि भेटेसम्मका इतिहास समेट्ने काममा उनी अन्तिमसम्म लागिरहे । उनले नेपाली संगीत क्षेत्रमा अनुसन्धान गर्न सकिने थुप्रै आधारहरु तयार पारेका छन् । २०६८ असोजका १ का दिन निधन भएपछि भने संगीत क्षेत्रका विविध विषयमा अनुसन्धानको काम गर्ने व्यक्तिको अभाव टड्कारो बनेको छ ।
No comments:
Post a Comment