Friday, October 16, 2015

गजल : लेखियो धेरै, गाइयो कम


नेपालमा गजल विधा भित्र्याउने श्रेय मोतीराम भट्टलाई जान्छ। तर द्वारिकालाल जोशीले रचनाकार भुषणप्रसाद श्रेष्ठसँग मिलेर सन् ८० को दशकमै मध्यकालीन मल्लकालको संगीतको झल्को दिने नेपाल भाषाको गजल एल्बम निकालेको पाइन्छ । यसबाट नेपालमा गजल विधाको जरा मोतीराम पलाउनु अघिकै समय हो भन्ने पुष्टि हुन्छ । तथापि, वर्तमान नेपाली गजल विकासक्रमको कथा राणाकालीन दरबारभित्र हुने नाचगान, नाटक प्रदर्शन र जलसाहरुमा गएर ठोकिन्छ । तत्कालिन शासक वर्गका दरबारमा उस्तादहरुको महफिल जम्थ्यो । ती उस्ताद भारतबाट सुरक्षालगायतका विभिन्न कारणले विस्थापित वा शासकबाट आमन्त्रित व्यक्ति हुन्थे । दरबारकै कतिपय सदस्यको संगीतमा रुचि भएकाले संगीत गुरुका रुपमा पनि ती भित्रिए । यसबाट तत्कालीन भारतीय कला संस्कृतिमा रहेको फारसी तथा उर्दूको प्रभाव नेपाली संस्कृतिमा राम्रैसँग पर्यो । 
मोतीरामको रुचि र दखल लिखित र सांगीतिक दुबै खालका गजलमा थियो । वि.सं. १९२८ मा बनारस पुगेका मोतीरामले त्यहाँ आर्जेको फारसी भाषाको ज्ञान र संगीत शिक्षा नै नेपाली भाषामा गजल लेखनको कोसेढुंगा बन्यो । संयोगवस नेपालभित्रकै कलाकारले रेकर्ड गराएको पहिलो साङ्गीतिक रचना पनि उनकै हुन पुग्यो । सेतुरामले गाएको मोतीरामको रचना ‘यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्’ (१९६५) रेकर्ड भएको सय वर्ष नाघिसकेको छ । यस दौरान नेपाल गजल लेखनका हिसाबले दक्षिण एसियाकै धेरै देशभन्दा अगाडि पुगिसकेको छ । वर्षेनी सयौं गजलका पुस्तक, पत्रपत्रिका निस्किरहेका छन् । गजल विशेष रेडियो कार्यक्रम नबजेको दिन छैन । गजल मण्डलीको संख्या नभएको टोल छैन । तर जुन अनुपातमा गजल लेखिन्छ, त्यसको अनुपातमा रेकर्ड भने कम हुने गरेको छ ।
गीतकै परिमार्जित रुप भएकोले नेपालमा गीत रेकर्ड हुन थालेपछि समय समयमा कलाकारहरुले गजल गाउँदै आएको पाइन्छ । फाट्टफुट्ट रुपमा पुराना स्रष्टा भीमनिधि तिवारी, राममान तृषित, म बि बि शाहका गजल रेकर्ड भए पनि ८० को मध्यतिरको समयपछि नेपाली गजल संग्रह नै निस्किन थालेको हो । यसैबेला रत्न रेकर्डिङबाट दीपक जंगमको संगीतमा मोतीराम भट्टका गजलहरु समेटिएको संग्रह सार्वजनिक भयो । त्यसयता गजल संगीतमा केही संगीतकर्मी सुस्त गतिमै भए पनि लागिरहेका छन् ।
९० को दशकमा शहरी क्षेत्रमा गजल रेस्टुरेन्टको व्यवसाय फस्टाउनु गजल संगीतको विकासका लागि महत्वपूर्ण उपलब्धि बन्यो । यी रेस्टुररेन्टमा पहुँच भएका उच्चमध्यम वर्गीय स्रोताको माग पंकज उदास, जगजित सिंह, गुलाम अलीले गाएका हिन्दी उर्दू गजल भए पनि गाउने कलाकार नेपाली हुन्थे । गजल रेस्टुरेन्ट संस्कृतिले आनन्द कार्की, अमर तन्डुकार, नरेन्द्र प्यासी, उदय सोताङ आदि कलाकारको माग बढायो । भक्तराज आचार्यजस्ता वरिष्ठहरुले समेत रेस्टुरेन्टमा ‘सबै बेहोसी नसा पिएर, विना पिएर बेहोस छु म’ भन्दै धेरैलाई झुमाए । यसै कडिमा शक्ति बल्लभले संगीतमा १९९४ मा ‘गजल’ र २००४ मा ‘सप्तक’ निकाले । मुरलीधरको, ‘त्यो नजरको बयान म गरुँ कसोरी’ बोलको गजल समेटिएको ‘गीतल’ गजल संगीतको अर्को महत्वपूर्ण एल्बम बन्यो । कृष्णहरि बरालको ‘सम्भावना’ र ‘विम्ब’, भुपेन्द्र खड्काको ‘बुलबुल’ आदि एल्बमले पनि गजल संगीतलाई टेको दिए । गजल संगीतप्रति नेपालीको आकर्षण बढाउनमा लोकप्रिय पाकिस्तानी कलाकार मेहन्दी हसन, गुलाम अली र जगजित सिंहले गाएका नेपाली गजलको पनि विशेष महत्व छ । माथि उल्लेख भएका बाहेक प्रवीण बराइली, शक्ति बल्लभ, निशा देशार, रवि प्राञ्जल, गैरे सुरेश, जगदिश समाल, अञ्जु पन्त, सत्यराज—स्वरुपराज आचार्य,  हरि लम्साल आदि कलाकारले यस विधालाई अघि बढाउन योगदान दिएका छन् ।
निःसन्देह नेपाली गजल पनि सशक्त रुपमा संगीतबद्ध गर्न सकिन्छ । स्रोताहरुलाई त्यसले नौलो मिठास र अद्भूत आनन्द दिन सक्छ । नेपाली गजललाई नयाँ आयाम दिने एउटा गजल ‘प्रेम पत्र लेख्दै पात पातमा हिँडियो कुनै बेला’ पनि हो । रुपक ‘बनबासी’को शब्द, महेश खड्काको संगीत र आशिष ताम्राकारको शब्द रहेको यो गजल लोक लयमा बुनिएको छ । नेपाली गजल मोतीरामकाली दरबारीया शृंगारिक रसको जमानादेखि लोकको दैलोसम्म आइपुग्नु सुखद उपलब्धी हो ।
प्रयास गर्नेहरुको समूह हुँदाहुँदै पनि गजल संगीत विधालाई प्रभावकारी र स्तरीय बनाउन ठोस काम भने हुन बाँकी छ । गजल लेखनको स्तर तब मात्र बढ्छ जब यसले राम्रो संगीत र गला पाउँछ । धून र स्वरसहितको गजलमा स्रोतालाई मोहित पार्ने विशेष शक्ति हुन्छ । संगीतवद्ध नभएको गजल जति सुन्दर भए पनि त्यसले संगीत मार्फत पाउने उचाइ पाउन गाह्रो छ । उर्दू—हिन्दी गजल भाषा मीठो भएर मात्र राम्रो भएको होइन । पुस्ता—दरपुस्ताको लामो पररम्पराले गर्दा नै भारत र पाकिस्तानमा गजलको विकास लेखन, वाचन र संगीत तीनै पक्षमा सम्भव भएको हो । चलचित्रमा समेत गजलले स्थान पाएकाले यसको पहुँच र लोकप्रियता झनै व्यापक भएको हो । तिनको लोकप्रियता र उचाइँ बढाउनमा संगीत (कम्पोजिसन) र स्वर (गायकी) ले अहम् भूमिका खेलेको छ । संगीतलाई राम्रो बनाउनमा वाद्यवादन र वाद्यसंयोजनको भूमिका महत्वपूर्ण हुन्छ ।
नेपालमा गजल संगीत सुन्दा हिन्दी प्रभाव भेटिने स्रोताहरुको प्रतिक्रिया अस्वाभाविक छैन । यसले नेपाली गजल संगीतको जग अझै बलियो बनिसकेको छैन भन्न बाध्य पार्छ । गजल भनेर निकालिएका धेरै सिर्जना शास्त्रीय जगमा आधारित आधुनिक गीत भन्दा पृथक स्वाद दिन सक्षम भएको उदाहरण निकै कम छन् । यसको कारण गीत र गजल कम्पोजिसनको ढर्रा एउटै भएको विश्लेषकहरुको ठहर छ । गजलमा एउटै शेर वा काफियालाई दशौं तरिकाले गाउन सकिन्छ । गजलको विशेषता भनेको शब्द शब्द खेलाएर रोमाञ्च वा जादू पैदा गराउने हो । किसिम किसिमका वाद्यवादनको प्रयोगले शब्दमा प्राण भर्छ । तर अपवादबाहेक हाम्रा संगीतकारले यस्तो हर्कत देखाउन सकिरहेका छैनन् । गायकले पनि गीत गाउँदा र गजल गाउँदाको भिन्नताको भेउ नपाएको भान हुन्छ ।
तर नेपालीमा लेखिएका हजारौं गजलबाट सयौं राम्रा गजल संगीत सिर्जना सकिने प्रशस्त सम्भावना भने छ । यसलाई मीठो र गहन संगीतमा ढाल्ने र सुरमा सजाउने जिम्मा संगीतकर्मीको हो । नयाँ नयाँ सोच, प्रयोग र दुस्साह गर्ने संगीतकार र गायकको खाँचो छ ।
आधुनिक संगीतमै दक्ष वाद्यवादकको अभाव रहेको समाचार छापामा बेलाबेला आइरहने सन्दर्भमा गजल संगीतको स्तर वृद्धि गर्न ठोस प्रयासको आवश्यकता देखिन्छ । नत्र शास्त्रीय संगीत सिकेर पनि शिव परियार जस्ता प्रतिभाको परिचय ‘क्या दामी भो’ भन्ने जस्ता बिकाउ गीतमै सीमित हुनुपर्ने खतरा छ ।
व्यवसायिकतालाई मात्र ध्यान दिने नेपाली चलचित्र संगीतमा गम्भीर रुपमा गजलको प्रयोग भइहाल्ने सम्भावना कमै छ । सीमित वाद्यनको मात्र प्रयोगले पनि गजललाई गीतकै हाराहारीबाट माथि उठ्न दिएको छैन । त्यसबाहेक नेपाली गजल हिन्दी—उर्दू भन्दा कुन मानेमा फरक छ भनेर देखाउने चुनौती त छँदैछ । किनकि नेपाली शास्त्रीय संगीतको आफ्नै अनुहार छ कि छैन त भन्ने प्रश्न उठेको लामो समय बितिसक्दा पनि चित्तबुझ्दो उत्तर आएको छैन ।
गजललाई गीत भन्दा बढी गम्भीर र परिस्कृत विधाका रुपमा संगीतबद्ध गर्न गजलकार, संगीतकार र गायकबीचको समझदारीको पनि विशेष महत्व छ ।
निबन्ध संग्रह ‘आफ्नै आँखाको लय’मा ‘लेखक बन्न रहर गर्नेलाई टिप्स’ शीर्षकको लेखमा खगेन्द्र संग्रौलाले ८ ओटा गुरुमन्त्र वाचेका  छन् । त्यसमध्ये पहिलो बुँदामै उनी भन्छन्  ‘गजल नलेख्नु ।’ ‘गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’ एकातिर, संग्रौलाको यो कटाक्ष पढ्दा रमाइलो लाग्छ । अतिसय भावुकता पोख्न अध्ययन र सीपविनै साहित्यमा गजलकार बनिटोपल्नेहरुलाई लक्षित संग्रौलाको दनकमा दम छ । तर अर्कोतर्फ, गजल जस्तो काव्यिक, सुन्दर र शक्तिशाली विधालाई यसरी भित्तामै पुर्याउने टिप्पणीलाई गजलको प्रवद्र्धनमा लागेका हरुले चुनौती दिन सकेको पाइँदैन ।
गालिब, फैज, मीर, सुदर्शन फाकिर, निदा फाजली, बसिर बद्र, कैफी आजमी, गुलजार, जावेद अख्तर, अहमद फराज आदिका हिन्दी उर्दू गजल संग्रौलाले इंगित गरेको गजलभन्दा धेरै पृथक छ । त्यो स्तरीय छ, मीठो छ । त्यसमा कला छ, साधना छ र छ दर्शन पनि । जगजित—चित्रा सिंह, गुलाम अली, मेहदी हसन, भुपिन्दर सिंह, अनुप जलोटा, आशा भोसले आदिका स्वर र गायकीको स्पर्श र अर्थ बुझ्नेले गजलको अवमूल्यन गर्न गाह्रो छ । ती गजलमा पाइने जीवन दर्शन, प्रकृतिसँगको संवाद, काव्यिक मिठास र प्रेमरस वा प्रेमपीडा जब संगीतमा घोलिन्छ जो कोही लठ्ठिन्न्छन् । यसमा नलठ्ठिँने लठुवा नै हुन् भन्यो भने अतिसयोक्ति नहोला । गजल लेखनको बाढीमा उस्तै रचनाको चाङ मात्र देख्ने संग्रौला जस्ता आलोचकलाई लठ्याउन राम्रा गजल छनोट गरेर संगीतमा ढाल्न ढिला भइसकेको छ । गजलप्रति सकारात्मक दृष्टिकोण बढाउन यसलाई संगीतसँग जोड्नै पर्छ । अन्यथा, संग्रौला जस्तै धेरैले फेरि फेरि भन्नेछन् र लेख्नेछन्  ‘गजल नलेख्नु’ ‘गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’
प्रकाशित मिति: सोमबार, आश्विन ११, २०७२ २१:५८:२६

No comments:

Post a Comment