Friday, October 16, 2015

गजल : लेखियो धेरै, गाइयो कम


नेपालमा गजल विधा भित्र्याउने श्रेय मोतीराम भट्टलाई जान्छ। तर द्वारिकालाल जोशीले रचनाकार भुषणप्रसाद श्रेष्ठसँग मिलेर सन् ८० को दशकमै मध्यकालीन मल्लकालको संगीतको झल्को दिने नेपाल भाषाको गजल एल्बम निकालेको पाइन्छ । यसबाट नेपालमा गजल विधाको जरा मोतीराम पलाउनु अघिकै समय हो भन्ने पुष्टि हुन्छ । तथापि, वर्तमान नेपाली गजल विकासक्रमको कथा राणाकालीन दरबारभित्र हुने नाचगान, नाटक प्रदर्शन र जलसाहरुमा गएर ठोकिन्छ । तत्कालिन शासक वर्गका दरबारमा उस्तादहरुको महफिल जम्थ्यो । ती उस्ताद भारतबाट सुरक्षालगायतका विभिन्न कारणले विस्थापित वा शासकबाट आमन्त्रित व्यक्ति हुन्थे । दरबारकै कतिपय सदस्यको संगीतमा रुचि भएकाले संगीत गुरुका रुपमा पनि ती भित्रिए । यसबाट तत्कालीन भारतीय कला संस्कृतिमा रहेको फारसी तथा उर्दूको प्रभाव नेपाली संस्कृतिमा राम्रैसँग पर्यो । 
मोतीरामको रुचि र दखल लिखित र सांगीतिक दुबै खालका गजलमा थियो । वि.सं. १९२८ मा बनारस पुगेका मोतीरामले त्यहाँ आर्जेको फारसी भाषाको ज्ञान र संगीत शिक्षा नै नेपाली भाषामा गजल लेखनको कोसेढुंगा बन्यो । संयोगवस नेपालभित्रकै कलाकारले रेकर्ड गराएको पहिलो साङ्गीतिक रचना पनि उनकै हुन पुग्यो । सेतुरामले गाएको मोतीरामको रचना ‘यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्’ (१९६५) रेकर्ड भएको सय वर्ष नाघिसकेको छ । यस दौरान नेपाल गजल लेखनका हिसाबले दक्षिण एसियाकै धेरै देशभन्दा अगाडि पुगिसकेको छ । वर्षेनी सयौं गजलका पुस्तक, पत्रपत्रिका निस्किरहेका छन् । गजल विशेष रेडियो कार्यक्रम नबजेको दिन छैन । गजल मण्डलीको संख्या नभएको टोल छैन । तर जुन अनुपातमा गजल लेखिन्छ, त्यसको अनुपातमा रेकर्ड भने कम हुने गरेको छ ।
गीतकै परिमार्जित रुप भएकोले नेपालमा गीत रेकर्ड हुन थालेपछि समय समयमा कलाकारहरुले गजल गाउँदै आएको पाइन्छ । फाट्टफुट्ट रुपमा पुराना स्रष्टा भीमनिधि तिवारी, राममान तृषित, म बि बि शाहका गजल रेकर्ड भए पनि ८० को मध्यतिरको समयपछि नेपाली गजल संग्रह नै निस्किन थालेको हो । यसैबेला रत्न रेकर्डिङबाट दीपक जंगमको संगीतमा मोतीराम भट्टका गजलहरु समेटिएको संग्रह सार्वजनिक भयो । त्यसयता गजल संगीतमा केही संगीतकर्मी सुस्त गतिमै भए पनि लागिरहेका छन् ।
९० को दशकमा शहरी क्षेत्रमा गजल रेस्टुरेन्टको व्यवसाय फस्टाउनु गजल संगीतको विकासका लागि महत्वपूर्ण उपलब्धि बन्यो । यी रेस्टुररेन्टमा पहुँच भएका उच्चमध्यम वर्गीय स्रोताको माग पंकज उदास, जगजित सिंह, गुलाम अलीले गाएका हिन्दी उर्दू गजल भए पनि गाउने कलाकार नेपाली हुन्थे । गजल रेस्टुरेन्ट संस्कृतिले आनन्द कार्की, अमर तन्डुकार, नरेन्द्र प्यासी, उदय सोताङ आदि कलाकारको माग बढायो । भक्तराज आचार्यजस्ता वरिष्ठहरुले समेत रेस्टुरेन्टमा ‘सबै बेहोसी नसा पिएर, विना पिएर बेहोस छु म’ भन्दै धेरैलाई झुमाए । यसै कडिमा शक्ति बल्लभले संगीतमा १९९४ मा ‘गजल’ र २००४ मा ‘सप्तक’ निकाले । मुरलीधरको, ‘त्यो नजरको बयान म गरुँ कसोरी’ बोलको गजल समेटिएको ‘गीतल’ गजल संगीतको अर्को महत्वपूर्ण एल्बम बन्यो । कृष्णहरि बरालको ‘सम्भावना’ र ‘विम्ब’, भुपेन्द्र खड्काको ‘बुलबुल’ आदि एल्बमले पनि गजल संगीतलाई टेको दिए । गजल संगीतप्रति नेपालीको आकर्षण बढाउनमा लोकप्रिय पाकिस्तानी कलाकार मेहन्दी हसन, गुलाम अली र जगजित सिंहले गाएका नेपाली गजलको पनि विशेष महत्व छ । माथि उल्लेख भएका बाहेक प्रवीण बराइली, शक्ति बल्लभ, निशा देशार, रवि प्राञ्जल, गैरे सुरेश, जगदिश समाल, अञ्जु पन्त, सत्यराज—स्वरुपराज आचार्य,  हरि लम्साल आदि कलाकारले यस विधालाई अघि बढाउन योगदान दिएका छन् ।
निःसन्देह नेपाली गजल पनि सशक्त रुपमा संगीतबद्ध गर्न सकिन्छ । स्रोताहरुलाई त्यसले नौलो मिठास र अद्भूत आनन्द दिन सक्छ । नेपाली गजललाई नयाँ आयाम दिने एउटा गजल ‘प्रेम पत्र लेख्दै पात पातमा हिँडियो कुनै बेला’ पनि हो । रुपक ‘बनबासी’को शब्द, महेश खड्काको संगीत र आशिष ताम्राकारको शब्द रहेको यो गजल लोक लयमा बुनिएको छ । नेपाली गजल मोतीरामकाली दरबारीया शृंगारिक रसको जमानादेखि लोकको दैलोसम्म आइपुग्नु सुखद उपलब्धी हो ।
प्रयास गर्नेहरुको समूह हुँदाहुँदै पनि गजल संगीत विधालाई प्रभावकारी र स्तरीय बनाउन ठोस काम भने हुन बाँकी छ । गजल लेखनको स्तर तब मात्र बढ्छ जब यसले राम्रो संगीत र गला पाउँछ । धून र स्वरसहितको गजलमा स्रोतालाई मोहित पार्ने विशेष शक्ति हुन्छ । संगीतवद्ध नभएको गजल जति सुन्दर भए पनि त्यसले संगीत मार्फत पाउने उचाइ पाउन गाह्रो छ । उर्दू—हिन्दी गजल भाषा मीठो भएर मात्र राम्रो भएको होइन । पुस्ता—दरपुस्ताको लामो पररम्पराले गर्दा नै भारत र पाकिस्तानमा गजलको विकास लेखन, वाचन र संगीत तीनै पक्षमा सम्भव भएको हो । चलचित्रमा समेत गजलले स्थान पाएकाले यसको पहुँच र लोकप्रियता झनै व्यापक भएको हो । तिनको लोकप्रियता र उचाइँ बढाउनमा संगीत (कम्पोजिसन) र स्वर (गायकी) ले अहम् भूमिका खेलेको छ । संगीतलाई राम्रो बनाउनमा वाद्यवादन र वाद्यसंयोजनको भूमिका महत्वपूर्ण हुन्छ ।
नेपालमा गजल संगीत सुन्दा हिन्दी प्रभाव भेटिने स्रोताहरुको प्रतिक्रिया अस्वाभाविक छैन । यसले नेपाली गजल संगीतको जग अझै बलियो बनिसकेको छैन भन्न बाध्य पार्छ । गजल भनेर निकालिएका धेरै सिर्जना शास्त्रीय जगमा आधारित आधुनिक गीत भन्दा पृथक स्वाद दिन सक्षम भएको उदाहरण निकै कम छन् । यसको कारण गीत र गजल कम्पोजिसनको ढर्रा एउटै भएको विश्लेषकहरुको ठहर छ । गजलमा एउटै शेर वा काफियालाई दशौं तरिकाले गाउन सकिन्छ । गजलको विशेषता भनेको शब्द शब्द खेलाएर रोमाञ्च वा जादू पैदा गराउने हो । किसिम किसिमका वाद्यवादनको प्रयोगले शब्दमा प्राण भर्छ । तर अपवादबाहेक हाम्रा संगीतकारले यस्तो हर्कत देखाउन सकिरहेका छैनन् । गायकले पनि गीत गाउँदा र गजल गाउँदाको भिन्नताको भेउ नपाएको भान हुन्छ ।
तर नेपालीमा लेखिएका हजारौं गजलबाट सयौं राम्रा गजल संगीत सिर्जना सकिने प्रशस्त सम्भावना भने छ । यसलाई मीठो र गहन संगीतमा ढाल्ने र सुरमा सजाउने जिम्मा संगीतकर्मीको हो । नयाँ नयाँ सोच, प्रयोग र दुस्साह गर्ने संगीतकार र गायकको खाँचो छ ।
आधुनिक संगीतमै दक्ष वाद्यवादकको अभाव रहेको समाचार छापामा बेलाबेला आइरहने सन्दर्भमा गजल संगीतको स्तर वृद्धि गर्न ठोस प्रयासको आवश्यकता देखिन्छ । नत्र शास्त्रीय संगीत सिकेर पनि शिव परियार जस्ता प्रतिभाको परिचय ‘क्या दामी भो’ भन्ने जस्ता बिकाउ गीतमै सीमित हुनुपर्ने खतरा छ ।
व्यवसायिकतालाई मात्र ध्यान दिने नेपाली चलचित्र संगीतमा गम्भीर रुपमा गजलको प्रयोग भइहाल्ने सम्भावना कमै छ । सीमित वाद्यनको मात्र प्रयोगले पनि गजललाई गीतकै हाराहारीबाट माथि उठ्न दिएको छैन । त्यसबाहेक नेपाली गजल हिन्दी—उर्दू भन्दा कुन मानेमा फरक छ भनेर देखाउने चुनौती त छँदैछ । किनकि नेपाली शास्त्रीय संगीतको आफ्नै अनुहार छ कि छैन त भन्ने प्रश्न उठेको लामो समय बितिसक्दा पनि चित्तबुझ्दो उत्तर आएको छैन ।
गजललाई गीत भन्दा बढी गम्भीर र परिस्कृत विधाका रुपमा संगीतबद्ध गर्न गजलकार, संगीतकार र गायकबीचको समझदारीको पनि विशेष महत्व छ ।
निबन्ध संग्रह ‘आफ्नै आँखाको लय’मा ‘लेखक बन्न रहर गर्नेलाई टिप्स’ शीर्षकको लेखमा खगेन्द्र संग्रौलाले ८ ओटा गुरुमन्त्र वाचेका  छन् । त्यसमध्ये पहिलो बुँदामै उनी भन्छन्  ‘गजल नलेख्नु ।’ ‘गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’ एकातिर, संग्रौलाको यो कटाक्ष पढ्दा रमाइलो लाग्छ । अतिसय भावुकता पोख्न अध्ययन र सीपविनै साहित्यमा गजलकार बनिटोपल्नेहरुलाई लक्षित संग्रौलाको दनकमा दम छ । तर अर्कोतर्फ, गजल जस्तो काव्यिक, सुन्दर र शक्तिशाली विधालाई यसरी भित्तामै पुर्याउने टिप्पणीलाई गजलको प्रवद्र्धनमा लागेका हरुले चुनौती दिन सकेको पाइँदैन ।
गालिब, फैज, मीर, सुदर्शन फाकिर, निदा फाजली, बसिर बद्र, कैफी आजमी, गुलजार, जावेद अख्तर, अहमद फराज आदिका हिन्दी उर्दू गजल संग्रौलाले इंगित गरेको गजलभन्दा धेरै पृथक छ । त्यो स्तरीय छ, मीठो छ । त्यसमा कला छ, साधना छ र छ दर्शन पनि । जगजित—चित्रा सिंह, गुलाम अली, मेहदी हसन, भुपिन्दर सिंह, अनुप जलोटा, आशा भोसले आदिका स्वर र गायकीको स्पर्श र अर्थ बुझ्नेले गजलको अवमूल्यन गर्न गाह्रो छ । ती गजलमा पाइने जीवन दर्शन, प्रकृतिसँगको संवाद, काव्यिक मिठास र प्रेमरस वा प्रेमपीडा जब संगीतमा घोलिन्छ जो कोही लठ्ठिन्न्छन् । यसमा नलठ्ठिँने लठुवा नै हुन् भन्यो भने अतिसयोक्ति नहोला । गजल लेखनको बाढीमा उस्तै रचनाको चाङ मात्र देख्ने संग्रौला जस्ता आलोचकलाई लठ्याउन राम्रा गजल छनोट गरेर संगीतमा ढाल्न ढिला भइसकेको छ । गजलप्रति सकारात्मक दृष्टिकोण बढाउन यसलाई संगीतसँग जोड्नै पर्छ । अन्यथा, संग्रौला जस्तै धेरैले फेरि फेरि भन्नेछन् र लेख्नेछन्  ‘गजल नलेख्नु’ ‘गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’
प्रकाशित मिति: सोमबार, आश्विन ११, २०७२ २१:५८:२६

'भाइरल' कालीप्रसाद


(२०७२ आस्विन ११ सोमबार, अन्नपूर्ण पोष्ट 'फुर्सद' मा प्रकाशित)
पारि त्यो डाँडामा
घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न...
निजी तथा सार्वजनिक ठाउँमा 'रेशम फिलिली'को यो गीत निकै घन्किन्छ। अचेल सोसल मिडियातिर यसलाई भाइरल गीत भनिन्छ । यो भाइरल फैलाउने मुख्य संवाहक हुन्, कालीप्रसाद बास्कोटा। के बाला, के ठूलाठाला सबैलाई लठ्याउने यो गीत उनले मानसराजसँगको सहलेखनमा तयार पारेका हुन्। गीतमा संगीत र स्वर कालीकै छ । ‘रेशम फिलिली'मा दुईवटा गीत गाउनुअघि उनको परिचय संगीतकार र गीतकारमा सीमित थियो।
कालीले ‘चाहना सकियो, बहाना सकियो’ गीतका संगीतकार÷गीतकारका रूपमा संगीत क्षेत्रमा औपचारिक इन्ट्री मारेका हुन्। सन् २००८ मा निस्किएको यही गीतले आफूसँगै गायिकालाई पनि स्थापित गराइदियो। यो गीत उनले शशि रावलको 'इन्ट्रान्स' एल्बमका लागि बनाएका थिए। 
त्यसको केही समयपछिको 'लैजा रे' गीतले उनको करिअरलाई नयाँ उचाइ दियो। गायक हेमन्त रानालाई पनि यही एउटा गीतले सेलिब्रेटी बनायो। जीवनकै पहिलो गीत कालीको संगीतमा गाउने सीमा संग्रौला, पुष्पा गुरुङलगायत धेरै कलाकार भाग्यशाली साबित भएका छन्।
जालमा', 'पारि त्यो डाँडाँमा'की गायिका सोमिया बराइलीले यसअघि ‘के यो माया हो' फिल्मका लागि गीत गाइसकेकी भए पनि ‘जालमा’बाट पत्याउनै गाह्रो चर्चा बटुलिन्।कालीसँग यसरी एकपछि अर्को लोकप्रिय गीत सिर्जना गर्ने कुनै गुह्य सूत्र छ कि? उनी भन्छन्, 'हरेक गीतमा काम गर्दा म आफ्नो सन्तुष्टिलाई केन्द्रमा राख्छु। आफूलाई गीत राम्रो बन्यो भन्ने लागेपछि संगीत क्षेत्रबाहिरका मेरा केही मिल्ने साथीलाई सुन्न दिन्छु।'
उनी साथीबाट आएका प्रतिक्रियाअनुरूप गीत हेरफेर पनि गर्छन् । तर संयोग, 'रेशम फिलिली'का गीतचाहिँ सबै साथीले पहिलोपटकमै मन पराइदिए । उनी शब्दको प्रयोगमा निकै सचेत छन्। शब्द चयन सही भएमा गीत प्रभावकारी हुने तर शब्द थुपार्नु' र गीत लेख्नुमा भिन्नता रहेको उनको धारणा छ।
भन्छन्, 'म अनुभूत गरेको वा भोगेको कुरालाई शब्दमा उतार्ने प्रयास गर्छु।' कहिलेकाहीँ उनलाई एउटै शब्दले दुईतीन दिनसम्म सताउँछ रे ! शब्द चयनप्रतिको संवेदनशीलताकै कारण उनले 'लैजा रे'देखि ‘रेशम फिरिरी' ?  जस्ता गीतहरू रच्न सकेका हुन्। 
सहर वा परदेशको रमझममा रम्न नसकेर आफ्नो अस्तित्वको खोजीमा छटपटिरहेको मान्छेको भाव अभिव्यक्त गर्ने ‘लैजा रे' दार्शनिक शैलीको गीत हो भने 'रेशम फिरिरी' व्यक्तिको दुविधाग्रस्त मनोदशाको चित्रण गर्न ढिकी, जाँतोजस्ता ठेट नेपाली शब्दको विम्बात्मक प्रयोग भएको गीत हो। 
फिल्मको पूरै थिम बोकेकोले 'रेशम फिरिरी'लाई उनी विशेष बनाउन चाहन्थे। 'पारि त्यो डाँडाँमा'भन्दा उनी आफैलाई मन पर्ने गीत पनि 'रेशम फिरिरी' हो । बागबजारमा काम गर्ने छुट्टै थलो छ उनको, जहाँ उनी गीतका प्रारम्भिक सबै काम गर्छन्। उनका सबै गीत बागबजारकै कोठामा जन्मिएका हुन्।
उनलाई शब्द रचेर त्यसमा धुन भर्न मजा लाग्दैन। उनी आफैले रचेका जम्मै गीतमा पहिला धुन अनिमात्र शब्द कोरिएका हुन्। तर अरूका शब्दमा संगीत भर्ने काम गर्दा यही सूत्र वा नियममा मात्र काम गर्न सम्भव छैन।
कीर्तिपुरमा जन्मेहुर्केका काली बच्चामा लजालु स्वभावका थिए। उनले स्कुलका गतिविधिमा कहिल्यै भाग लिएनन्। संगीतमा रुचि भए पनि आफ्नो प्रतिभा देखाउनभन्दा लुकाउनमै रमाए। तर उनको संगीतप्रतिको लगाव बुझेरै बाबुले एसएलसीलगत्तै औपचारिक संगीत कक्षा सुरु गराइदिए।
हुन त रेडियो नेपाल सुनेर घन्टौं बिताउने उनले नारायणगोपाल, गोपाल योञ्जन, अरुण थापा आदि कलाकारलाई मनमनै गुरु थापिसकेका थिए। शास्त्रीय संगीतको चारवर्षे आधारभूत अध्ययन गरे पनि उनलाई संगीतको संसारमा आउन समय लाग्यो। 
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा सकेपछि पढाइअनुसारकै जागिर खाए। जागिरे जीवनकै क्रममा व्यावसायिक संगीत यात्रामा लहसिए। घाटा लागेन। एकपछि अर्को सफलता मिलिरह्यो। संगीत उनको प्यासन थियो। 
जागिरे जीवन आज छोडूँ भोलि कि भोलि छोडूँको दुविधामा पन्ध्र वर्ष बित्यो। उनी लामो समयदेखि जागिर छोड्ने मौका कुरिरहेका थिए । ‘रेशम फिलिली’को सफलताले उनलाई त्यो 'राइट टाइम' आएको संकेत दियो। भर्खरै जागिर छोडेर पूर्णकालीन संगीतकर्मी बनेका छन् उनी।
मात्र आठ वर्षको समयमा करिब ४० वटा गीतमा काम गरेका कालीको सफलताको ग्राफ भर्टिकल छ। आधा गीत त फिल्मकै छन् । फिल्ममा उनको आगमन रोचक छ। निर्देशक गणेशदेव पाण्डेसँग उनको चिनाजानी अनलाइनमार्फत भएको थियो। पाण्डे मुम्बईमा थिए। 
त्यही“बाट उनले कालीलाई संगीत भर्दिनका लागि मालतीको भट्टीको स्क्रिप्ट पठाए। निर्देशक पाण्डे आउनुअघि नै कालीले गीत तयार पारिसकेका थिए । पछि पाण्डेकै अर्को फिल्म 'मञ्जरी'मा कालीको संगीत निकै चल्यो। 'मञ्जरी'का गीतको मात्र नभई पूरै फिल्मको पाश्र्व संगीत उनकै हो। 
ननफिल्मी गीत 'कम्फर्ट जोन'मा बसेर बनाइने तर फिल्मी गीत कथाको विषयवस्तुमा आधारित भएर बनाइने भएकाले उनलाई फिल्ममा काम गर्नु चुनौतीपूर्ण लाग्छ। ‘तर काम गर्दा चुनौती नै नभए त के मजा !' उनी भन्छन्। आर्थिक हिसाबले चाहिँ कलाकारका लागि फिल्मको काम 'सेक्युर्ड जोन' बनेको उनको अनुभव छ।
मात्र आठ वर्षको समयमा करिब ४० वटा गीतमा काम गरेका कालीको सफलताको ग्राफ भर्टिकल छ । आधा गीत त फिल्मकै छन् । फिल्ममा उनको आगमन रोचक छ।
रेशम फिलिलीको सफलताले तपाईं फुर्किनुभएको छ रे हो ? छड्के हाँसो हाँस्दै बोले, ‘उत्साहित भएको छु, फुर्किएको हैन।' केही बेर गमेपछि अर्को पाटो खोले 'मैले रेशम फिलिलीमा नगाएको भए कमै श्रोता दर्शकले चिन्थे।
हाम्रो चलन नै खराब, जसको संगीत र शब्दका बलमा गायक हिट हुन्छन् तिनलाई क्रेडिटसमेत दिँदैनन्।' पाइरेसीको मारमा संगीत क्षेत्र नै डामाडोल छ । गीत बिक्ने अवस्था छैन र मिडियामा बजेको रोयल्टी आउँदैन। यस्तो अवस्थामा संगीतकार र गीतकारले पाउनुपर्ने क्रेडिट पनि पाउँदैनन्।
हो पनि, संगीतकार र गीतकारमात्र भएर उनले जीवनभर काम गरेको भए पनि त्यसकै आधारमा उनलाई देशीविदेशी कन्सर्टको निम्तो आउने थिएन । तर, अहिले गायकको अवतारमा समेत जमेपछि अनगिन्ती निम्तो आएको छ । यसैको सिलसिलामा उनी चाँडै हङकङ, अस्ट्रेलिया जाँदैछन् । तैपनि, यस्ता स्टेज कार्यक्रमकै लागि मात्र लक्षित गरी गीत बनाउने प्रवृत्ति उनलाई ठीक लाग्दैन । उनको कुुरा सुुन्दै गर्दा लाग्छ, उनी संगीत क्षेत्रको लामो यात्रामा निस्किएका बटुवा हुन्।
काली नयाँ र पुराना दुवै पुस्ताबीचको सेतु बन्न चाहन्छन् । धेरै नयाँ प्रतिभासँग काम गरे पनि उनीभन्दा अघि नै स्थापित वा पुुराना फत्तेमान, रामकृष्ण ढकाल, राजेशपायल राई, निमा रुम्बाजस्ता ख्यातिप्राप्त कलाकारसँग उनको नाम जोडिइसकेको छ। तर सबैभन्दा आनन्दचाहिँ गायक सनुप पौडेलसँग काम गर्दा आउँछ किनकि सनुप गीतलाई आफ्नै शैलीमा ढालेर सोचेभन्दा राम्रो बनाइदिन्छन्। 
'तिम्रो देशैमा', 'केही पीडा', 'दैव हेजस्ता गीतबाट काली र सनुपको जोडीलाई श्रोताले पनि अनुमोदन गरिसकेका छन्। सनुपलाई उनले एघार वर्षअघि डोरेमी संगीत स्कुलमा भेटेका थिए। 
हरेक सालजसो नोमिनेसनमा परे पनि उनको गीतले एकपटक मात्र अन्नपूर्ण एफएमबाट अवार्ड पायो । सायद सानैदेखिको लजालुु स्वभावका कारण अझै मिडिया फ्रेन्ड्ली बन्न सकेनन् कि भन्ने लाग्छ उनलाई।
‘जाल’ गीतको सन्दर्भमा संगीतको भूगोल हुँदैन भन्ने कुरा ठ्याक्कै मिल्छ। युट्युबका भियुअरको संख्या तोख्नु जोखिमपूर्ण काम हो । तर, यो गीतका दर्जनौं कभर र प्यारोडी गीतसमेत जोड्दा एक करोड पटक हेरिसकिएको हिसाब निकाल्न गाह्रो छैन। 
भिडियो सार्वजनिक हुनुअघि नै लोकप्रिय भएको यस गीतलाई भारतीय कलाकार गौरभ गोवानकरले समेत गाएका छन् । यो काली र रेशम फिलिली टिमलाई नै विश्वास गर्न हम्मेहम्मे परेको सफलता हो। 
काली बजारको भाषामा भन्दा सेलिब्रेटी बनिसकेका छन् । तर उनी आफैंलाई सेलिब्रेटी हैन कलाकारमात्र ठान्छन् । ‘म पहिले जस्तो थिएँ उस्तै छुु । श्रोताको भीडमा आममानिस झैं मिसिएर हिँड्थे, हिँडिरहेकै छु।'
उनी नयाँ पुस्ताप्रति धेरै आशावादी छन्, तर तिनमा भएको समस्याबारे आलोचनात्मक दृष्टिकोण पनि राख्छन्। उनको विचारमा, अहिले धेरैै कलाकार छोटो बाटोबाट सफल बन्न अरूले बनाएको बाटोमा हिँडेका छन्। तिनले आफैं नयाँ गोरेटो बनाउने जोखिम मोल्दैनन्। 
त्यसैले धेरै नयाँ संगीतकर्मी बजारमा चलेको गीतजस्तै बनाइदिनु भन्दै उनीकहाँ पनि धाइरहेका छन् । यस्तै मानसिकता र कलाकारको आलस्यताका कारण संगीतमा विविधता र नयाँनयाँ आयाम थपिन सकेको छैन।
अरूको कमजोरी देख्ने कालीका गीतमा कमजोरी देख्नेहरूको पनि कमी छैन। उनको 'मञ्जरी' फिल्मको 'जादु' बोलको गीत त झन् हिन्दी फिल्म 'सोर इन द सिटी'को ‘साइबो’सँग ठ्याक्कै मिलेको भन्दै आलोचित बन्यो। 
यसको प्रतिरक्षा उनी कूटनीतिक पारामा गर्छन्, 'म गीत बनाउँदा जे फिल गरिरहेको छु, श्रोताले पनि त्यस्तै फिल गरून् भन्ने लाग्छ। यही क्रममा कहिलेकाहीँ कुनै गीतको मुड वा लय मिल्न जान्छ।' जानेर होस् वा अञ्जानमा कालीका सिर्जना उनकै निम्ति तगारो नबनोस्।