Monday, April 29, 2013

गजल : तिम्रो आँखा

                                                                                                                                         -प्रभाकर गौतम

कहिलेकाहीँ लेख्दा लेख्दै गजल बन्छ । भर्खरै लेखेको एउटा गजल यस्तो बन्यो –


प्रेमको नौलो कहानी बोल्छ तिम्रो आँखा
शब्दमा नढल्ने जुवानी बोल्छ तिम्रो आँखा

मानौँ सदियौंदेखि परिचित छ मसँग
खै कुन जन्मको निशानी बोल्छ तिम्रो आँखा

यादको काँडाबीच निदाउँछ मन अचेल
न्यानो मखमली सिरानी बोल्छ तिम्रो आँखा

हेर्दामा चञ्चल छ पढ्दामा गम्भीर
एकतमासको विरानी बोल्छ तिम्रो आँखा
           

Thursday, April 25, 2013

बाजा मात्र नेपाली भएर हुँदैन, धुन नेपाली हुनुपर्छ




२०७० बैशाख १० गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विश्वचर्चित संगीतकारका कालजयी रचनाहरु प्रस्तुत भए । ‘च्याम्बर अर्केष्टा’ नाम दिइएको टोलीले गरेको प्रस्तुतिमा केही नेपाली रचनाहरु पनि थिए । ‘च्याम्बर अर्केष्टा’ मा रसियन, जर्मन, जापानिजलगायत नेपाली कलाकारहरुको सहभागिता थियो । उक्त कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।

सांगीतिक प्रस्तुतिको शुरुवात रसियन संगीतकार दमित्री सोस्ताकोभिचको रोमान्स बाट गरिएको थियो । छोटो समयमा धेरै संगीतकारका रचना प्रस्तुत गर्ने ध्येयले अधिकांश छोटा रचनाहरु प्रस्तुत भएका थिए । बिथोवेन, मोजार्ट, जोहन सेबेस्टियन बाख, जर्ज फ्रेडरिक, रोबर्ट सुमान, एन्टन रोबिन्स्टन जस्ता अन्तर्राष्टिय हस्तीका रचनाहरुसँगै नेपालीमा अम्बर गुरुङ र राजकुमार श्रेष्ठसमेतका रचनाको प्रस्तुतिले विविधता थपेको थियो । सोनाटिना, प्रिल्युड, मेलोडी, डिभर्टिमेन्टो, एरिया, सोनाटा, मेलोडी जस्ता उत्कृष्ट रचनाहरु सुन्दा दर्शकदीर्घामा बसेका संगीतकर्मी लगायत सामान्य स्रोता मजैसँग लठ्टिएका देखिन्थे । अझ, संगीत प्रतिष्ठानका सदस्य सचिव तथा गायक÷संगीतकार आभासले प्रत्येक प्रस्तुतिअघि दिएको संक्षिप्त जानकारीले स्रोतागणलाई राम्रै खुराक दिइरहेको थियो ।
संगीतबारे जानकारीसँगै आभासले उक्त कार्यक्रमको महत्व र औचित्यबारे पनि आप्mना मतहरु राखेका थिए । उनले भने ‘अन्तर्राष्ट्रिय संगीत सुन्नु भनेको विदेशी भाषाका पुस्तक पढ्नु जस्तै हो ।’ उनको विचारमा जसरी नेपाली कलाकारले विदेशी धुन बजाउन सक्छन्, त्यसरी नै नेपाली धुन विदेशीहरुले बजाउँन सक्छन् । उनले थपे ‘बाजा मात्र नेपाली भएर हुँदैन, धुन नेपाली हुनुपर्छ । मादल त हिन्दी चलचित्रमा संगीतकार आरडी बर्मनले पनि बजाएका थिए तर त्यो नेपाली संगीत थिएन ।’ नेपाली संगीतको पहिचानका लागि अर्केष्ट्राको विकास अपरिहार्य रहेकोमा जोड दिँदै आएका उनले पुनः त्यसको महत्व औल्याए । अर्केष्ट्राको विकास गर्न सकेमात्र विदेशी बाजामा पनि लोकरंगसहतिको नेपाली धुन बज्ने कुरासँगै उनले नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार र त्यसबाट पर्यटनको सम्भावनाको चर्चा गरे ।  यी भनाइहरुबाट संगीत प्रतिष्ठानले नेपाली संगीतको जगेर्नाबारे कस्तो दृष्टिकोण लिएको छ भन्ने संकेत गर्छ ।
करिब अढाइ घण्टा लामो उक्त कार्यक्रमको पहिलो चरण शुभकामना मन्तव्य र भाषणमा बित्यो । साहित्य, संगीत र ललितकला तीनओटै प्रतिष्ठानका कुलपतिहरु लगायत धेरैले मन्तव्य राखेको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव आभासले वार्षिक प्रगति विवरण पेश गर्दै प्रतिष्ठानको गतिविधि काठमाडौँभन्दा बाहिर बढी केन्द्रित भएको जानकारी दिए । नारायण गोपाल संगीत कोषलाई सहयोगका लागि विशेष धन्यवाद दिए ।

यो सामग्री लेख्नुको उद्देश्य कार्यक्रममा सहभागी हुँदा देखे–सुनेका र लागेका कुराहरुलाई लिपिबद्ध गर्नु हो । नलेखी मन र दिमागबाट हराउनुभन्दा जसोतसो एउटा संरचनामा ढाल्ने प्रयासमा यो सामग्री सायद समाचार र लेख दुबै बन्न सकेन । न त यो फिचरै भयो होला । तथापि, यसै विषयमा छापिएका समाचारहरु पढेपछि भने झिनो आत्मसन्तोष मिलेको छ । आफू सहभागी भएको कार्यक्रमबारे के लेखिएछ भनेर मैले बैशाख ११ गतेको कान्तिपुर हेरेँ । टीठलाग्दो रिपोर्टिङ रैछ । पत्रिकामा त सांगीतिक प्रस्तुतिलाई महत्व नै दिइएको थिएन । ‘जायन्ट फिगर’हरुले बोलेका कुराहरु मात्र लेखिएको रहेछ । वार्षिकी मनाउने यो अभ्यासलाई मिडियाले प्रोत्साहित गर्नुपर्ने तर उनीहरुको प्राथमिकतामा कलाकारहरु परेनन् । सरकार प्रमुख र राष्ट्रकविको  फोटो छापेर समाचारका लागि सानो ठाउँ दिइएको रहेछ । तर मेरो विचारमा त्यस कार्यक्रमको प्रमुख आकर्षण र महत्व दुबै सांगीतिक प्रस्ुतति हुनु पर्ने हो । नेपाली सन्दर्भमा संगीतलाई नयाँ ढंगले सुन्न  र बुभ्mन प्रेरित गर्ने उक्त कार्यक्रमले स्रोतालाई नयाँ स्वाद चखाएको थियो ।

वास्तवमा उक्त दिनको कार्यक्रमको पहिलो एक घण्टा पट्यारलाग्दो थियो । सरकारी संस्थाको कार्यक्रम भएकोले भाषण तथा मन्तव्यको कर्मकाण्डबाट मुक्त हुन सम्भव थिएन र भएन पनि । काकताली सरकार प्रमुख खिलराज रेग्मीको मन्तव्य सबैभन्दा लामो र बेतुकको थियो । प्लेटो तथा शेक्सपियरलाई कोट गर्दै लम्बाइएको उनको मन्तव्य त्रिभुवन विश्वविद्यालयका लागि लेखिने विवेचनात्मक उत्तर जस्तै लाग्थ्यो ।


Friday, April 19, 2013

नयाँ वर्ष २०७० लाई सांगीतिक स्वागत

धर्म–संस्कृतिसँग संगीतको सम्बन्ध धेरै पुरानो र गहिरो मानिन्छ । संगीत तथा वाद्ययन्त्रहरुको उत्पत्ति धर्मसँग जोडिएको छ । मन्दिर, चर्च, गुम्बा, मस्जिद आदि सबै धार्मिक थलोहरुमा आ–आफ्ना प्रचलनअनुसार मन्त्र, प्रार्थना वा पूजापाठ हुन्छन् । धार्मिक गतिविधिमा तिनलाई लयबद्ध रुपमा पढ्ने वा गाउने गरिन्छ । त्यसैले धर्म–संस्कृतिको प्रवद्र्धनमा मात्र नभइ संगीतको प्रवद्र्धनमा समेत धर्म–संस्कृतिको भूमिका रहेको छ । हरेक धर्ममा भक्ति संगीतको विशेष स्थान रहेको छ । जुनसुकै धर्मको भक्ति संगीतले धर्म–संस्कृतिको प्रचार–प्रसार र प्रवद्र्धन गर्छ । यस्तो प्रचारका लागि आप्mनै मौलिक शैलीको अवलम्बन गरिएको हुन्छ ।
नेपालका मन्दिरहरुमा पनि प्रचलनअनुसारका संगीत मार्फत सांस्कृतिक प्रवद्र्धन गर्ने काम भइरहेका छन् ।

 गायिका संगीता प्रधान
ufos ;hn Gof}kfg]
हिन्दू धर्मका भजनहरुमा शास्त्रीय संगीतको प्रयोगको लामो परम्परा छ । पशुपति मन्दिर परिसरमा भक्ति संगीतको अभ्यासलाई दुई दशकभन्दा लामो समयदेखि किरातेश्वर संगीताश्रमले निरन्तरता दिँदै आएको छ । किरातेश्वर संगीताश्रमका गतिविधिले एकातर्फ भक्ति संगीतको परम्परालाई धान्ने काम हुँदै आएको छ भने अर्कोतर्फ प्रतिभावान् थुप्रै कलाकारहरुको प्रतिभा फष्टाउने मौका दिइरहेको छ । संगीत र अध्यात्मको सेतुको काम गर्दै यसले नेपाली शास्त्रीय संगीतको विकासमा पनि उल्लेखनीय टेवा दिएको छ । यसले उपलब्ध गराएको सांगीतिक वातावरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरु जन्माइसकेको छ ।

गायिका सुजाता वर्मा
आयोजकका तर्फबाट चिनो ग्रहण गर्दै गायक फत्तेमान राजभण्डारी
किरातेश्वर संगीताश्रम र पशुपति क्षेत्र विकास कोषले नयाँ वर्ष २०७० को पूर्वसन्ध्यामा भक्ति संगीत कार्यक्रम आयोजना ग¥यो । नयाँ वर्षकै अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरेको पहिलो पटक हो । पशुपतिस्थित भुवनेश्वरी मन्दिर अगाडिको डबलीमा भएको उक्त कार्यक्रमको नारा थियो– नयाँ वर्षको शुरुवात, धर्म–संस्कृतिको साथ । कार्यक्रममा वाद्यवादन, गायन, नृत्य तथा कविता वाचन आदिको प्रस्तुति रहेको थियो । सांगीतिक प्रस्तुतिमा फत्तेमान राजभण्डारी, ज्ञानु राणा, संगीता प्रधान, सागर न्यौपाने, मनोजराज, रामा मण्डल, जगन्नाथ धौगडा, मनोज गौतम, सुजाता वर्मा, सजल न्यौपाने लगायतका नयाँ तथा पुराना गायक तथा वाद्यवादकहरुको सहभागीता थियो । संगीतकार तथा वाद्यवादकहरुमा उदीयमान प्रतिभाहरुको उल्लेख्य सहभागीता थियो । यो सकारात्मक शुरुवात हो । यस किसिमको कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाओस् ।

२०७० अझ संगीतमय होस् । नयाँ वर्षको शुभकामना !!