Thursday, April 7, 2016

साहित्य र संगीत जोड्ने ‘अलग अभियान’ - प्रभाकर गौतम

नेपालमा वि.सं. २०५० को शुरुआतदेखि एफएम रेडियो प्रसारणको अभ्यास शुरु भएको हो । एफएम रेडियोको प्रसारणसँगै स्वाभाविक रुपमा सरकार नियन्त्रित रेडियो नेपालको एकाधिकार कमजोर हुँदै गयो । संगीत क्षेत्रमा यसको मुख्यतः दुईखाले प्रभाव पर्यो । पहिलो, सांगीतिक क्षेत्रमा स्वर परीक्षा नदिई, गायकले गीतकार र गीतकारले संगीतकारलाई नदेखी नभेटी गीत बन्न थाल्यो । र दोस्रो, प्रविधिको सहजताले प्रत्यक्ष गाउनु पर्ने बाध्यताबाट कलाकारहरु मुक्त भए ।
यस्तो परिवर्तनले सरकारी प्रमाणपत्रधारी व्यक्तिलाई मात्र संगीतकार वा कलाकार मान्नु पर्ने बाध्यताको अन्त गर्यो । सरकारी संरचनाभित्र उस्तै खालको धारमा चलिरहेको संगीतलाई फराकिलो दायरामा विस्तार गर्न यो परिवर्तनले थुप्रै सकारात्मक परिवर्तन गरेकोमा शंका छैन । तर प्रविधिले कलाकारलाई अल्छी बनाइदिएको पनि सत्य हो । पुराना पुस्ताका लागि प्यासनमा सीमित संगीत क्षेत्र व्यवसायिक बन्दै गएपछि कलाकारहरु अभ्यास र साधना भन्दा चर्चाप्रेमी भए । संगीतकर्मीहरुले एक अर्कालाई भेटेर सहकार्य गर्दा जन्मिने टिम स्पिरिटको अभाव खड्कियो । रिटेकको सुविधाले कलाकारहरु स्टुडयोभित्र जमे पनि प्रत्यक्ष गाउनु पर्दा कमजोर देखिए ।
यसरी वर्तमान संगीत क्षेत्र प्रविधिको सुविधा अर्थात् ट्रयाक सिस्टमको संक्रमणबाट गुज्रिरहँदा यसमा हस्तक्षेप गर्ने उद्देश्यले एउटा समूह ०६९ देखि प्रत्यक्ष सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ । ‘अलग अभियान’ नामको यो समूह साहित्यिक गतिविधिमा भने विगत ८ वर्षदेखि सक्रिय छ । गीत र साहित्य नजिकको मात्र नभई गीत नै साहित्य भएको अवस्थामा पनि सँगै हिँड्न सकिरहेको छैन । अभियानका संयोजक नाकिमा भन्छन्, ‘‘साहित्य र संगीतलाई अलग अलग बोकेर हिड्ने समूह धेरै छन् । तर हामीले सँगै लिएर हिँड्ने जमर्को गर्यौं, यस मानेमा हामी अलग भयौं कि भन्ने लाग्छ ।’’
नाकिमा, नदिश र विशद् अलग अभियानको प्रारम्भिक चरणका हर्ताकर्ता थिए । अहिले समूहमा रमेश खड्का, प्रतिमा पाठक, साङ्केन बान्तवा, अविनाश भट्टराई, मन्जु खड्का, मण्डल साम्पाङ, पावल थुलुङ, राजकुमार समाल, भीमसेना राई, सागर संसार राई, बबिना किराती, रेवत राई, दिपेश राईलगायतका सदस्य छन् । यीमध्ये केहीले अक्षर कोरेर कविता र गीत बनाउँछन् । कोही धुन र आवाज भरेर संगीत बनाउँछन् । हरेक महिना काठमाडौंको सातदोबाटोस्थित अलग आर्ट हबमा केही तन्नेरीहरु कविता र गीतका अनेक बान्की लिएर जम्मा हुन्छन् । तिनको काव्य सिर्जना सुन्न र सांगीतिक प्रस्तुतिको स्वाद चाख्न नयाँ पुराना अनुहारहरु थचक्क चकटी र कुर्सीमा बस्छन् । कार्यक्रममा औसतमा ३०—४० जनाको सहभागीता  हुन्छ । अभियानका सदस्यबाहेक प्रायः सबैजसो कार्यक्रममा निम्त्याइने अतिथि सर्जक वा वक्ताले कार्यक्रमको रौनक बढाएको हुन्छ ।
अभियानका नियमित कार्यक्रमहरु प्रायः विषयविशेष हुन्छन् । कहिले माया प्रेम त कहिले सामाजिक विषय समेटिने यसमा भूकम्पपछि प्राकृतिक प्रकोपको विषयले समेत महत्व पायो । बाह्र बैसाखको विनाशकारी भूकम्पपछिकै सन्दर्भमा समूहकै रेवत राई र प्रतिमा पाठकलगागतका साथीहरुले ‘ढले धरोहर’ गीत रेकर्ड गराए । वर्षमा एक पटक विशेष कार्यक्रम गर्ने यो समूहले हालै सम्पन्न विशेष शृंखलामा वर्षभरिका प्रस्तुति मध्येबाट छानेर ५५ ओटा कविता संकलित कृति ‘अलग कविता’ प्रकाशित गरेको छ । त्यसै गरी, चुनिएका ५ ओटा रचना संकलित सिडी ‘अलग संगीत’ पनि सार्वजनिक गरेको छ । नियमित कार्यक्रमबाहेक पुराना सर्जकका स्मृतिमा सम्बन्धित सर्जककै सिर्जनाको प्रत्यक्ष प्रस्तुति पनि गरेर पुराना पुस्ताका कामलाई नयाँ पुस्तासँग जोड्ने पहलको थालनी गर्नु यसको विशेषता बनेको छ । अभियानले आप्mना नियमित कार्यक्रममा समूह भन्दा बाहिरका सर्जकहरुलाई निम्त्याएर सिर्जनात्मक सहकार्य र सहयात्रामा विश्वास राखेको संकेत मिल्छ । अभियानका नियमित तथा विशेष कार्यक्रममा हालसम्म तुलसी दिवस, बुलु मुकारुङ, श्रवण मुकारुङ, लासिमित राई, विनोदविक्रम केसी, अभय श्रेष्ठ, आभा मुकारुङ, तुलसी पराजुली, झुमा लिम्बु आदिलाई अथिति स्रष्टा÷कलाकारका रुपमा निम्त्याइसकेको छ ।
नयाँ पुस्ताको बाहुल्य रहेको अलग अभियानले नयाँ माध्यम र प्रविधिलाई मज्जाले सदुपयोग गरेको छ । अभियानका प्रस्तुतिहरु नियमित रुपमा युट्युबमा राखिन्छ । गीतहरु अडियो साउन्ड प्लगमा अपलोड हुँदै आएको छ । अलग अभियानको फेसबुक र वेबसाइट पनि छ । यस्ता माध्यमहरुले एकैचोटी विश्वव्यापी हुने अवसर दिएको छ । काठमाडौं केन्द्रित अलग अभियानलाई काठमाडौं बाहिर पनि लैजाने उद्देश्यअनुरुप खोटाङमा समेत कार्यक्रम भइसकेको छ । समूहमा खोटाङ्ेली समूहको बाहुल्य भएकोले पनि खोटाङ नै उनीहरुको प्राथमिकतामा परेको अनुमान गर्न गाह्रो छैन । वर्षको एक पटक मात्र भए पनि काठामाडौं बाहिरका जिल्लामा कार्यक्रम गर्ने समूहको योजना छ । समूह हालसम्म सदस्यको निजी खर्च  केही शुभचिन्तकका सहायतको बलमा टिकेको छ ।
कला तथा साहित्यको उत्थानमा सक्रिय अधिकांश समूह साहित्य र संगीतलाई जोड्ने भन्दा पनि अलग अलग विधाका रुपमा अघि बढाउन सक्रिय रहेको अवस्थामा अभियानका गतिविधिले बीसको दशकको मध्यतिर सक्रिय राल्फा, लेकालीजस्ता केही समूहको झल्को दिन्छ । नयाँ नयाँ प्रयोगसहित गीत वा कविता रच्ने, धुन भर्ने र प्रत्यक्ष गाउने काममा यस्ता समूहले संगीतलाई प्रत्यक्ष रुपमा समाजको नजिक पु¥याएका थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा जनमत बनाउनमा यी समूहले गतिलै भूमिका खेले । तर अहिलेको खुला वातावरणमा अलग अभियानको एजेण्डा के त ? संयोजक नाकिमा भन्छन् ‘‘हामी विषयवस्तु र प्रस्तुतिको संयोजनमा सन्तुलित बन्ने प्रयास नै हाम्रो ध्येय हो । हामी राजनीतिक नभएर सिर्जनात्मक अभियनमा छौं ।’’ उनको स्पष्टिकरण छ, हामी अलग हुनु भनेको कुनै वादमा बाँधिनु होइन । कला पक्ष र अन्तवस्र्तुमा सन्तुलनको प्रयास नै हाम्रो ध्येय हो ।
अलग अभियानमा प्रत्यक्ष गाउनु र बजाउनु पर्ने भएकोले सर्जकले साधनामा जोड दिनुपर्ने बाध्यता छ । प्रत्यक्ष गाउनु बजाउनु चुनौतीपूर्ण हुँदाहुँदै पनि अलग अभियानका सदस्यहरुले स्वेच्छाले यस्तो जोखिम  मोलिरहेका छन् । गीत कविता प्रस्तुतिका लागि करिब दुई हप्ता तयारी गर्छन् । केहीले राम्रो लेखे पनि प्रस्तुतिमा कमजोर हुन्छन् त कसैको प्रस्तुति राम्रो अनि विषय कमजोर हुन्छ । विषयवस्तु र कला अर्थात प्रस्तुति दुवैलाई सन्तुलित र सशक्त बनाउने प्रयासमा यो समूहले कार्यक्रमका लागि चानचुन २ हप्ता अभ्यास गर्छ । अलगका सदस्यहरु मिलेसम्म हप्ताको ३ दिन जुट्छन् । प्रत्यक्ष अभ्यास गर्दाका केही चुनौती पनि छन् । संगीतकार मण्डल साम्पाङको विचारमा सबै गायकसँग काम गर्दा सिर्जनका बारेमा अन्तक्र्रिया गर्नै पर्ने वातावरण सिर्जना हुनु प्रत्यक्ष प्रस्तुतिको प्रमुख फाइदा हो । संगीतकार तथा गायक राजकुमार समाल भन्छन् ‘‘प्रत्यक्ष गाउने बजाउने अभ्यास खर्चिलो त छँदैछ, कहिलेकाहीँ साथीभाइबीच समय व्यवस्थापन गर्न पनि कठिनाई हुन्छ ।’’ प्रत्यक्ष गायनको अभ्यास गर्दा कलाकारको व्यक्तिगत आत्मविश्वास बढाउने समूहकै गायिका बबिना किरातीको अनुभव छ । त्यस्तै अर्का गायक सागर संसार राई भन्छन् ‘‘ट्रयाकमा जस्तो प्रत्यक्ष गाउँदा आ गाइहालिन्छ नि भनेर हेलचेक्राइ गर्न मिल्दैन, यसरी गाउँदा कलाकारमा गम्भीरता थप्छ ।’’
पछिल्लो समयमा साहित्य, नाटक र सिनेमामा जति राम्रा काम भए संगीत क्षेत्रबाट हुन सकेन । नेपाली साहित्य र संगीत क्षेत्रमा हरेक दशकमा कुनै न कुनै अभियान चल्दै आएका छन् । तीमध्ये साहित्यिक अभियानको समूह ठूलो र प्रभाव पनि धेरै छ । तर संगीत र साहित्यलाई सँगै जोडेर लाने अभियान निकै कम छन् । यस्तो परिदृश्यमा अलग बन्ने जोखिम मोल्नु सराहनीय भए पनि अलग भएको प्रमाणित गर्न समूहले सिर्जनशील पहिचान स्थापित गर्नु पर्ने चुनौती छ । किनकी, समूहले निकालेका गीति सिडी र कविता संग्रहमा अलगपनाको छापको अभाव टड्कारो भेटिन्छ । समूहका सिर्जना समाजमुखी र समानको पक्षमा देखिए पनि शैलीमा नवीनताको खाँचो झल्किन्छ ।
तर हरेक कामको परिणामका लागि केही समय कुर्नै पर्ने हुन्छ । यद्यपि, युवाको बाहुल्य रहेको यस समूहले गरेका प्रयासले समय सापेक्ष रुपमा आपूmलाई खार्दै परिष्कृत सिर्जना पस्किने बाटो भने खुला राखेको छ । संयोजक नाकिमाले भने जस्तै समूहले तय गर्नु पर्ने यात्रा धेरै लामो भए पनि यसले सिर्जनात्मक बामे सरिसकेको छ र हिड्ने तरखर गर्दैछ । यसबाहेक, सदस्यहरुले संयोग भने पनि समूहमा जनजाति समूहको बाहुल्य रहेकोले गैरजनजाति समूहलाई पनि आप्mनो कामबाट प्रभावित गर्न अलग अभियानले ‘जनजाति समूह’को बिल्ला हटाएर गैरजनजातिको मन जित्ने काम गर्नु पनि उत्तिकै आवश्यक छ । 

‘नाइट’को उज्यालो संगीत -प्रभाकर गौतम


नेपालमा लोक तथा बाजागाजासम्बन्धी परम्परागत ज्ञानलाई संरक्षण गर्ने र पुराना पुस्ताको उपलब्धी हस्तान्तरण गर्ने उपयुक्त वातावरणको अभाव छ । लुप्तप्रायः बाजा बजाउने पारङ्गत मान्छे र विधिकै पनि खाँचो छ । विगत ८ वर्षदेखि सक्रिय ‘नाइट’ समूहका गीत—संगीत र गतिविधिले लोपप्रायः बाजा र बाजासँगै लोपोन्मुख संगीत संस्कृतिको जगेर्ना गर्न थोरै भए पनि सघाएको छ । सहरीया युवा पुस्तालाई समेत आप्mनै समाजमा तिरस्कृत र बेवास्ता गरिएका वाद्यवादनप्रति आकृष्ट गरेको छ । नाइटका ‘तुइन’, ‘कठोर’ र ‘बासै बगायो’जस्ता गीतको लोकप्रियताले यही संकेत गर्छ । 
‘नाइट’मा जेसन कुँवर र मीना(सुम्निमा) सिंह, निरज शाक्य, शिवकुमार खत्री, सुधीर आचार्य र बिराट बस्नेत गरी हाल ६ जना सदस्य छन् । जेसन र मीना समूहका मुख्य गायक हुन् । शिव पात बजाउँछन्, बिराटको कला नगारा, न्यांखी, धीमे र ब्याक भोकलमा फिट छ भने सुधीर मुर्चङ्गा, धीमे, मादल र नगारामा जम्छन् । निरज चाहिँ टुङ्ना, मुर्चुङ्गा, गिटार किबोर्ड र ब्याक भोकलबाट सघाउँछन् । मीना गाउनेबाहेक पिल्रू बजाउँछिन् र जेसन सारंगी, पिवाचा र बाँसुरी पनि बजाउँछन् । यी ६ जना बाहेक रनब र विभुषण बस्नेत (भिडियो निर्देशक) ‘नाइट’लाई नजिकबाट सघाउने नाम हुन् । पारसमणि सुवेदीले भने हालै समूह परित्याग गरेका छन् । 
‘नाइट’का सदस्यहरू अचेल हरदम पात, मुर्चुङ्गा, सारंगी, नगारा, न्यांखी, धीमे, पिवाचा, बासुरी, मादल, टुंगना जस्ता ठेट वाद्यवादन बजाउने र बचाउने ध्याउन्नमा भेटिन्छन् । लोकबाजा र मौलिक संस्कृति प्रबर्धनका अभियन्ताजस्ता लाग्ने यिनीहरू कुनै समय पश्चिमा हेभी मेटल र डेथ मेटल बजाउँदै रमाउँथे भन्दा अचम्म लाग्ला । अझ निरज त लोक गीत भन्दा नाकै खुम्चाउँथे रे ! पाश्चात्य शैली त्यागेर मौलिक बाजा र लोकसंस्कृतितर्पm आकर्षित हुनुको कारणबारे जेसन भन्छन् ‘‘गितार र ड्रम बजाए पनि शुरुदेखि नै केही फरक काम गर्ने धुन सवार थियो । यही क्रममा नयाँ—नयाँ बाजाको प्mयुजन गर्ने रुचि जाग्योे र पालैपालो नेपाली बाजाको मीठासबारे ज्ञान हुन थाल्यो ।” 
समूहको संयोजनकारी काममा खट्दै आएका निरजका अनुसार जेसन र विभुषण जागीरका सिलसिलामा बाहिर जिल्लाको भ्रमणमा गएपिच्छे नयाँ—नयाँ मेलोडी, बाजा तथा संगीत संस्कृतिबारे नौलो जानकारी बटुलेर आउँथे । यस्तो सोधखोज र अध्ययनले समूहका बाँकी सदस्यको रुचि पनि आप्mनै समाजको धुन र विषयतर्पm तान्न बेर लागेन । परिणाम, सन् २००१ मा जन्मेको मेटल ब्याण्ड ‘माया’ सन् २००६ मा नयाँ लोक पाठशाला अर्थात् ‘नाइट’ बन्यो । रमाइलो कुरा यो छ कि, जुन बेला उनीहरू विदेशी संगीतबाट प्रभावित थिए समूहको नाम नेपालीमा थियो, अहिले रैथाने संगीततर्पm आकर्षित भएका बेला भने समूहको नाम अंग्रेजीमा छ । जेसन भन्छन् ‘‘नाइट भनेको कोरा अँध्यारो मात्र होइन, शान्त समय पनि हो ।’’
‘नाइट’को ८ वर्ष संघर्षको उकाली ओरामलीमै बित्यो । अनुसन्धान, प्रयोग र अभ्यासमा लामो समय बिताएकाले समूहको पहिलो एल्बम ‘अनि उकाली, सँगै ओराली’ सार्वजनिक भएको १ वर्षमै यसले लोभलाग्दो परिचय बनाइसकेको छ । अहिले चलचित्र र नाटकमा संगीतका लागि आउने प्रस्ताव, देशी—विदेशी कन्सर्टका लागि आउने तारन्तार निम्ता यसका प्रमाण हुन् । फरक शैली अँगालेका कारण ‘नाइट’ले संगीत दिएका फिल्महरू ‘छड्के’, ‘झोला’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुन्तली’, ‘पशुपतिप्रसाद’ आदि पनि अफबीट छन् । समूहले केही नाटकमा पनि काम गरिसकेको छ । गीत मात्र होइन म्युजिक भिडियोलाई पनि रुचाइएको ‘नाइट’को कठोर बोलको गीत ‘खरीको घेरो’ नाटककै लागि बनाइएको थियो । 
आप्mना गीतमा बढीभन्दा बढी मौलिक बाजाहरू बजाउँदै आए पनि समूहका सदस्य आपूmहरू सिक्ने र प्रयोगकै चरणमा रहेको बताउँछन् । निरजका अनुसार, उनीहरू पहिला कहिल्यै नबजाएका नेपाली बाजाको धुनको मीठास जाँच्न माइक कहाँ र कति दुरीमा राख्दा राम्रो सुनिन्छ भन्ने समेत प्रयोग गर्दैछन् । यस्तै प्रयोगका कारण फरक–फरक पृष्ठभूमिबाट नाइट समूहमा जोडिएका सदस्यहरुलाई शुरुमा के गर्दैछु भन्ने समेत हेक्का हुन्थेन रे ! मीनाका अनुसार उनलाई शुरुका दिनमा ‘नाइट’का गीत—संगीतको शैली ठम्याउन हम्मे हम्मे परेको थियो । शास्त्रीय संगीत सिकेर पाश्र्व गायनमा जम्ने सपना बोकेकी मीनाले समूह प्रवेशपछि गीत मात्र गाइनन्, गीत संगीतबाटै नेपाली समाज बुभ्mने अवसर पनि पाइन् । उनको बुझाई कति खारियो भने ‘नाइट’का हरेक गीतमा उनको स्वर अनिवार्य जस्तै बन्यो ।
समूहका सदस्यहरू हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार नियमित अभ्यास गर्छन् । अभ्यास गर्ने स्थायी थलो भने छैन । शुरुताका उनीहरूले जेसनको ममीको कार्यालय कमलादीमा अभ्यास गरे । त्यसपछि केही समय त्रिपुरेश्वरस्थित लोकबाजा संग्राहलयमा अड्डा जमाए । तर बैशाख १२ को भूकम्पपछि संग्राहलय आपैंm जीर्ण बन्यो र उनीहरूको संगीत अभ्यास गर्ने थलो खोसियो । हाल उनीहरू निरजको विजेश्वरीस्थित घरमा अभ्यास गर्छन् । यस्तै जमघटमा उनीहरू कामको बाँडफाँट गर्छन् । आप्mनै र कहिलेकाहीँ अरुका गीत–संगीतको अभ्यास गर्छन् । 
गीत—संगीत त हरेक सांगीतिक समूहले रच्छन् तर ‘नाइट’ले संगीत संस्कृतिकै संरक्षण र प्रबर्धनका लागि थप काम पनि गर्दै आएको छ । बाजा र बाजा बजाउने मान्छेको जीवनीलाई अभीलेखका रुपमा युट्युबमा अपलोड गर्दै जानु समूहले गरेको सबैभन्दा महत्वपूर्ण काम हो । त्यस्तै, ‘आप्mनो बाजा आपैंm चिनौं’ भन्ने नारा बोकेर यो समूहले कन्सर्टबाट उठेको रकमको केही हिस्सा नेपाली बाजा सिकाउने काममा लगानी गर्दै आएको छ । संगीतकार रविन डंगोल यसै अभियानबाट जन्मिएका नवप्रतिभा हुन् । 
जेसन केही वर्षअघिसम्म पकेट मनी काटेरै भए पनि समूहका गतिविधि सञ्चालन गर्नु परेको भोगाई साट्छन् । संगीत क्षेत्रमा गुणात्मक काम गर्ने चाहना आर्थिक हिसाबले जोखिमपूर्ण हुने नै भयो । सिडी बिक्री गरेर आय आर्जन गर्ने सम्भावना नरहेको अहिलेको अवस्थामा देशभित्रै र देशबाहिरका कन्सर्टहरू नै समूहलाई टिकाउने आधार बनेको छ । सिडी नबिके पनि सिनेमा तथा नाटकमा संगीतका लागि आउने अफरले भने समूहलाई राम्रै टेवा दिएको छ ।
सन् २०१५ मा विश्व शान्ति दिवसका लागि इन्टरनेसनल एलर्टको प्रोजेक्टअन्तर्गत ए.आर. रहमानसँग सहकार्य गर्ने अवसर पायो । यही वर्ष युरोपको ‘साम्बला फेस्टिबल’मा प्रस्तुति दिने पहिलो नेपाली सांगीतिक टोली बन्ने अवसर पाएपछि २०१६ मा पनि ‘नाइट’लाई बेलायतको ‘मेकिङ्ग ट्र्याक्स आर्ट काउन्सिल अफ इंग्ल्याण्ड’को निम्तो आइसकेको छ । त्यस्तै, बेलायतमै बिबिसी रेडियोमा प्रत्यक्ष प्रस्तुति दिने निम्तो पनि थपिएकाले नाइटका सदस्यहरु अहिले युरोप भ्रमण तयारीकोे चटारोमा छन् । ‘नाइट’ ले २०१६ मै दोस्रो एल्बम सार्वजनिक गर्ने तयारी पनि गरिरहेकोे छ ।
समूहका सबैजसो गीत जेसन नै लेख्छन् । गीतका शब्दको रचनागर्भबारे उनी भन्छन् ‘‘ठालुले निर्धालाई, टाठाले सोझालाई थिचेको÷मिचेको विषय नै मेरो÷हाम्रो गीतको स्रोत हो ।’’ पूर्वी नेपालको भ्रमणका बेला जेसनले सतार समुदायका मानिसलाई नेपाली भाषा नआएकै कारण साहु–महाजनहरुले आंैठा छाप लगाई उनीहरुकै जमिन र भाग्य खोसेको देखेका थिए । आपूm चार्टर्ड एकान्टेन्सी पढ्न मलेसिया जाने क्रममा आपूmजस्तै पचासभन्दा बढी मधेसी दाजुभाइलाई त्यही देशमा श्रम बेच्न जान लागेको पनि देखेका थिए । र, खाडी मुलुकबाट बाकसमा तिनै श्रमिकका लास नेपाल भित्रिने कुराले पनि उनलाई भतभती पोलिरहेको थियो । यसै सन्दर्भमा उनले भक्कानिएर÷आक्रोशित भएर एउटा गीत रचे । जम्मा १ मिनेट ४७ सेकेन्डको गीत—
‘सुनको जुत्ता ’ 
छैन टोपी सिरैमा 
भोकै मर्लान् धेरैमा
रातलाई माया, उज्यालो छाया
मुटु तिनको ढुंगाको 
डर छ तिनलाई भोकको
सुनको जुत्ता जो लगाउँछन्
रगतको बुट्टा बनाउँछन् ।
समसामयिक छटना, द्वन्द्व र प्राकृतिक प्रकोप जस्ता विषयलाई पनि नाइटले गीत बनाएको छ । वि.सं. २०६५ मा कोशी ब्यारेजमा गएको बाढीले त्यहाँ बसोबास गर्ने दर्जनौंको ज्यान लियो, हजारौंलाई विस्थापित गर्यो । यही कोशी पीडामा जन्म्यो ‘बासै बगायो’ । 
समाजको भोगाई र मनोविज्ञान प्रतिविम्बित गर्ने प्रयाससँगै संगीतमा नयाँ–नयाँ प्रयोग गर्ने र सकेसम्म संगीतलाई प्रकृति र लोकसँग नजिक पुर्याउने अभियानमा छ ‘नाइट’  । ‘सुसेली’ सुनेपछि ‘नाइट’को सिर्जनात्मक प्रयोगले जोकोहीको मन हर्छ । यसमा शब्द छैन र बाजाको प्रयोग पनि कम छ । छ त केवल, अर्गानिक ध्वनि अर्थात् बतासको सर्सर्, हावाको छम्छम्, चराचुरुङ्गीको चिरबिर, पानीको कलकल, भ्mयाउँकीरीको भ्mयाउँभ्mयाउँ आदि । सेक्साफोनवादक शुभबहादुर सुनामको मीठो सुसेलीले संगीत झनै मीठो बनेको छ । 
हामीकहाँ पुराना सिर्जना सबै अब्बल अनि नयाँ सबै भूmर भन्ने भ्रम मान्यताकै रुपमा स्थापित छ । हिन्दीकै नक्कल गरिएका किन नहुन् नारायणगोपाल पुस्ताका गीत संगीत मात्र राम्रा भन्ने संकीर्ण बुझाई पनि छ । नयाँ पुस्ताले संस्कृति विकृत पारे भनेर बिलौना गर्ने जोकोहीले चिन्नै पर्ने नाम हो ‘नाइट’ । नयाँ पुस्ताप्रति आशा र भरोसा भएकाले त झनै छुटाउनै नहुने नाम हो ‘नाइट’ । 

गोधुलीमा दुर्गालाल - प्रभाकर गौतम

                                                                        
कथा यस्तो छ— दुर्गालाल श्रेष्ठ जन्मे हुर्केको टोल न्हैकंतलाको छिमेकी टोल थाय्मदुका केटाहरुले न्हूबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली नाटकको तयारी गरिरहेका थिए । आप्mना साथीहरुको साथमा दुर्गालाल श्रेष्ठ पनि त्यहाँ गइरहन्थे । उनीहरुलाई अभ्यास कोठाभित्रै बसेर रिहर्सल हेर्न दिइन्थ्यो । तर एकदिन उनीहरुलाई रोकियो । ढोका ढक्ढक् गर्दा पनि खुलेन । भित्रको संवाद र गानाबाजाना बाहिरसम्म गुञ्इिरहेको थियो । दुर्गालालले ढोकाको प्वालबाट चिहाएर हेर्न के खोजेका थिए, उनको आँखामा भित्रबाट कसैको औंलाले घोचिदियो । घोचेको त आँखा मात्रै थियो, तर उनको मुटु नै बिझायो । उनको आत्मसम्मानमा बेस्सरी ठेस लाग्यो ।
यही घटना दुर्गालालको जीवनमा यही अपमानको भावना प्रेरणाको स्रोत बन्यो । उनले आफैं नाटक लेख्ने अठोट गरे । उनका साथीहरुले पनि छिमेकी टोलका केटाहरुको अपमानको प्रतिशोध लिने यही नै उचित माध्यम ठाने । यसरी दुर्गालालले पहिलो पटक नाटक लेखे र खेले । नाटककै लागि गीत पनि लेखे । यहीबाट उनको कला र साहित्य यात्रा शुरु भयो । यो वि.सं. २००४ सालको कुरा हो जतिबेला उनी बाह्र वर्षका थिए । नाटकको नाम थियो ‘प्रेमजीवन अन्धकार’ । उनको पहिलोे नाटक नै हिट भयो । त्यसबेला नाटक क्षेत्रमा हिन्दी, उर्दू र फारसीको दबदबा कायमै थियो । नाटकका लागि गीत त नेपालीमै लेखे, तर हिन्दीको लय चोरेर लेखे । नाटकमा संगीतज्ञ हुतराज शर्माले संगीत दिएका थिए । यसपछि लामो समयसम्म दुर्गालाल श्रेष्ठ गाइजात्रे कलाकारका रुपमा सक्रिय भए र ख्याती पनि कमाए ।
शुरुआती दिनमा हिन्दी गीतको नक्कल गर्ने कलाकार कसरी जनकवि÷जनगीतकार बने त ? दुर्गालाल भन्छन् ‘‘यसको श्रेय खेत र खेतमा पसिना चुहाउने किसानलाई जान्छ ।” कहिले कलाकार त कहिले कलाकार, कहिले भाषिक÷सांस्कृतिक अभियन्ताका रुपमा किसानसँग नजिक भएपछि उनले खेतको महिमा बुझेका हुन् । अहिले काठमाडौं उपत्यकाका खेतसँगै लोकको ज्ञान, अनुभव र संस्कृति नै मर्दै गएकोमा उनी चिन्तित छन् । यस्तै चासो र चिन्ताकै कारण दुर्गालालले आप्mनो जीवनको ८ दशकको धेरै हिस्सा नेपाली भाषा तथा नेपाल भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि समर्पित गरे । यसैकारण उनले जगदम्बा पुरस्कारलगायतका अनेक सम्मान पाएका हुन् ।
जनकवि हुनुअघि उनी प्रेमकवि पनि भए । थाय्मदु टोलमा एउटा फल्चा थियो । त्यहाँ श्रीमद्भागवतको कथा वाचिन्थ्यो । तर उनको ध्यान भने कथा सकिएपछि टीका लगाइदिने सुन्दर युवतीमा हुन्थ्यो । सधैं टीका लगाएको रात उनी जागराम बसेर प्रेमकविता फुराउथे । त्यो टुकी बाल्ने जमाना थियो । बुबाले तेल खेर नजाओस् भनेर आपूm सुत्नेबेला टुकी निभाइदिन्थे । उनी छोरोको चञ्चल मनको हालबाट बेखबर जो थिए । अध्याँरोको साम्राज्यमा मनको भाव बिसाउन उनी बुबाले पिउने पूmलमार चुरोटको बट्टा च्याचुत पार्थे । दुर्गालाल भन्छन् ‘‘जस्तै अध्याँरो भए पनि बिहान उठेर हेर्दा मेरा अक्षर सग्लै हुन्थे । यो अर्कै कुरा हो, ती अक्षरमा कहिले अर्थ भेट्थेँ र कहिले ती सबै निरर्थक लाग्थे ।’’ यो उनको एकोहोरो प्रेम थियो । दुर्गालालले जसरी नै उनलाई एकोहोरो प्रेम गर्ने एउटी युवती पनि रहिछिन् । तिनले पनि दुर्गालालले जस्तै रातभर तारा हेर्दै कविता कोरिन् कि कोरिनन् थाहा छैन तर उनका नाटकको प्रभावले गर्दा ती युवतीले नाटकका लागि चाहिने लुगा र गहना दिन थालिन् । यो क्रम केही समय चल्न नपाउँदै एकदिन युवतीको दाइले थर्काएछन् ‘‘एँ त मेरो बहिनीलाई फकाएर लुगा गहना लिने !”
राणा शासन विरुद्धको २००७ सालको आन्दोलन आसपास पुग्दा दुर्गालालको राजनीतिक चेतना खारिँदै गएको थियो । उनी कमरेड पुष्पलाल श्रेष्ठ र शम्भुराम श्रेष्ठजस्ता कम्युनिष्ट नेताका संगतमा आइसकेका थिए । उन्नत समाज निर्माणका लागि वर्ग विभेदको खाडल पुर्नु पर्ने आवश्यकता बोध हुँदै गर्दा २००९ मा उनले पहिलो प्रगतिशील नाटक कोरे ‘ग्राम्य जीवन’ । यसमा उनी आपूm चाहिँ जमीनदारको भूमिकामा थिए भने गणेशप्रसाद श्रेष्ठ यसका संगीतकार थिए । परिवर्तनको पक्षमा रहेको जोशमा उनले नाटक शुरु गर्नुअघि देउताको आराधता गर्न गाइने मङ्गलाचरणको नियमसमेत तोडे । संयोगवश नाटककै अर्का कलाकार रत्नकमल वैद्यलाई ‘देउता लागे’पछि सबै दुर्गालालमाथि खनिए । उनी दंग पर्दै भन्छन् ‘‘मङ्गलाचरणमा देउताको भक्तिगानको साटो मैले नयाँ प्रयोग गरेँ । त्यो प्रयोग निकै लोकप्रिय भयो ।” उनको मङ्गलाचरण यस्तो थियो ः
झीं ज्यामि ज्यापु सारा
शोषित व सर्वहारा
सो देश झींगु ख्युंगु
या लालस्वर्ग
(हामी किसान मजदुर
शोषित र सर्वहारा
यो देशको अँध्यारो
वा लालस्वर्ग प्यारा ।)
हामी महेन्द्रमाला पढेर हुर्किएका विद्यार्थीलाई आँशुकवि भन्यो कि लक्ष्मीप्रसाद देवकोटा मात्र याद आउँछ अनि राष्ट्रकवि भन्नेबित्तिकै माधवप्रसाद घिमिरे । तर नेवार समुदायका आँशु कवि र जनकवि दुबै हुन् दुर्गालाल । एउटा यस्तो पनि समय थियो, काठमाडौं उपत्यकाको तीनै शहरमा उनकै गीत बज्थ्यो । उनको यही ख्यातीले उनलाई नेपाल भाषा परिषद्ले जनकविको दर्जा दिलायो । दुर्गालालसँगै २ वर्ष बिताएर थेसिस नै लेखेका आर. मानन्धरका भन्छन् ‘‘दुर्गालाल नेवार समुदायको मनोज्ञिानलाई बुझेर आशुँ र हाँसो, जात्रा र पर्व, विरोध र कुण्ठा सबै पक्षलाई सही र सरल रुपमा  गीत, कविता, नाटक जस्ता विधामा व्यक्त गर्ने सर्जक हुन् । त्यसैले उनको स्थान उच्च छ ।” नाटक, कविता वा गीत सबै दुर्गालालले सोचेर सम्झेर भन्दा माग बमोजिम लेखे । बालगीत, लोकलयमा आधारित गीत, क्रान्तिकारी गीत÷कविता, आध्यात्मिक गीत÷कविता र स्वागत गीतदेखि देखि शोकगीतसम्म लेखे । उनी ठाउँको ठाउँमै कविता वा गीत जन्माउँथे । उनी लेखेर भन्दा वाचेर सिर्जना गर्ने कविका रुपमा पनि परिचित छन् । उनलाई लेख्न भन्दा अरुलाई रचना टिपाउन सहज लाग्छ ।
दुर्गालाललाई लाग्छ, काठमाडौं उपत्यका विशिष्ट संस्कृतिको खानी हो अनि नेपाल भाषा त्यसको रत्न । तर त्यही संस्कृतिका धनी नेवार समुदायको मातृभाषा नेपाल भाषाप्रति पञ्चायती व्यवस्था अनुदार थियो । मातृभाषामा कविता वाचन गर्दै हिडेकाले उनी सरकारी आँखामा बिझाए । २०१८ मा केही समयका लागि उनी भूमिगत हुनु पर्यो । २०२५ मा उनको प्रगतिशील गीतहरुको संग्रह ‘आकाशभन्दा धरती राँकिएको छ’ प्रकाशित भएपछि उनी पक्राउ समेत परे । पछि संग्रहका ४ कविता निकालेर छाप्ने अनुमति पाए । कहिले नेवार समुदायको भाषिक अधिकार त कहिले समग्र नेपालीकै राजनीतिक अधिकार प्राप्तिको संघर्षमा उनी सडकमा उत्रिइरहे । उनको कवितामा मात्र नभएर कविता वाचन शैलीमा पनि जादु र शक्ति छ । यसबाहेक २०३६, २०४६, २०६२÷०६३ का सबै कठिन मोडमा उनी सडकमा उत्रिए । सत्ताको बन्दुकलाई उनका शब्दहरु हरेक चरणमा भारी पर्यो ।
उमेर र अनुभवले भुक्तमान बनाएको उनको स्मृतिमा अटाउनै नसक्ने सन्दर्भ र सम्झना हुनु अस्वाभाविक हैन । हुँदाहुँदा उनी आप्mनै कतिपय कृतिको नाम बिर्सँदै छन, मान्छेको नाम पनि भुल्दै गइरहेका छन् । ‘‘सयथरी बाजा एउटै ताल” उनलाई आपैंmले लेखेको मध्ये मन पर्ने नेपाली गीत हो तर यो गीतमा स्वरदिने कलाकारहरुको नाम भने सम्झना छैन । यो गीत जस्तै धेरै कुरा उनको विस्मृतिमा पुगिसक्यो । तर उनलाई याद छ, उनी पढाइमा निकै तेज थिए । त्योभन्दा बढी रुचि चाहिँ कला, समाज र संस्कृतिमा थियो । त्यही भएर आइए दोस्रो वर्ष पढ्दा पढ्दै औपचारिक शिक्षा छोडेर जीवन र दर्शनको स्वअध्ययनतिर लागे । उनलाई रजनीशले गहिरैसँग तान्यो । पढ्न त जे. कृष्णमूर्ति पनि खुब पढे तर रजनीशको सरलताले तान्यो । रजनीशका किताब र प्रवचनहरु बौद्ध दर्शनसम्म पुग्ने सोपान बन्यो । सरलता रुचाउने भएकैले दुर्गालालका कविता होस् या गीतमा जीवन दर्शनका गम्भीरभन्दा गम्भीर कुरा पनि सरल रुपमा अभिव्यक्त भएको पाइन्छ ।
शब्दका कुशल कालीगढ दुर्गालालको क्षमता र योग्यता औपचारिक शिक्षाले मापन कुरै थिएन । त्यसैले एक जना शुभचिन्तकको सल्लाह र सहयोगमा आइए पास नगरी उनले सरकारी मापदण्डभन्दा माथिल्लो तहका विद्यार्थीलाई पढाउने अवसर पाए । आप्mनो विद्यार्थी जीवन छोटो भए पनि उनले क्षेत्रपाटीस्थित कन्या मन्दिर हाइस्कुलमा झण्डै चौबीस वर्ष पढाएर बिताए । अवकाश पाएपछि उनलाई स्कुलको नियमले पेन्सन चाहिँ प्राथमिक तहका शिक्षकले पाउने जति मात्र दिने निर्णय भयो । उनलाई चित्त बुभ्mने कुरै थिएन, भन्दिए ‘‘मेरो योग्यता भन्दा कम पेन्सन लिन्नँ ।”
दुर्गालाललाई हेक्का छ, जिन्दगी र समयले गोधुली नाघिसकेको छ । मनमा कुरा छिनमै आउँछ, छिनमै चुडिन्छ । सहनै नसकिने गरी गोडा दुख्छ । कानले राम्ररी सुन्न छोडेको छ । तर उनलाई यो समय पनि मनमोहक लागिरहेको छ रे । भन्छन् ‘उमेरअनुसारका नयाँ नयाँ अनुभव भोग्दैछु, जीवनप्रति गुनासो छैन ।’ उनलाई गुनासो छ त केवल राज्यप्रति जो मातृभाषामा पढ्न नपाउनेहरुको भावना र चाहना बुभ्mन हरेक व्यवस्थामा आनाकानी गरिरहन्छ । भाषिक र सांस्कृतिक भेदभाव गरिरहन्छ । 

फरक कथा -प्रभाकर गौतम

साहित्यलाई अनुभूति र अनुभव प्रकट गर्ने माध्यम मान्ने लेख तुल्सी थापाले लेखनमा पाँच दशक बिताउनै लाग्दा उनको पहिलो कथा संग्रह फरक आकाश सार्वजनिक गरेका छन् । फुटकर रुपमा प्रकाशित भइसकेका केही कथा र केही नयाँ कथा गरी फरक आकाश संग्रहमा ९ ओटा छोटा र २ ओटा लामा कथा समेटिएका छन् । यसअघि कविता र नाटक लेखकका रुपमा परिचित थापालाई फरक आकाशले फरक कथाकारको परिचय दिलाएको छ ।
लेखकको जन्म र कर्मथलो हेटौडा भएकाले यी कथामा मकवानपुर जिल्लाको परिवेश र पात्रले स्वाभाविक रुपमा ठाउँ पाएका छन् । यद्यपि केही कथामा अमुक ठाउँ र अमुक पात्रको सिर्जना गरी लेखकले समय र स्थानलाई कतै गौण त कतै सार्वभौम बनाएका छन् । सडकमा झाडु लाउने, चेपाङ, नेवार, भरिया, कैदी, ट्रक चालक, लेखक, कलाकार आदि फरक फरक पृष्ठभूमिका व्यक्ति उनका कथाका पात्र बनेर आएका छन् । केही कथामा लेखक स्वयं पात्र बनेर आएका छन् । 
व्यक्तिगत र सामाजिक प्रश्नको उठानमा थापाको रुची देखिन्छ । त्यसैले उनका केही कथाहरु प्रश्नबाट शुरु भएका छन् । यस्ता कथामा उनको आदर्शवादी स्वर हाबी भएका छन् । जस्तै, उनको पहिलो कथा एक बोझिल बिहानको पहिलो वाक्य— ‘‘फोहोर भयो भने के गर्ने ?” मान्छेले उत्पादन गर्ने बाहिरी फोहोरको चर्चा गर्दै उनले समाज र राजनीतिमा व्याप्त फोहोरलाई समेत इंगित गरेका छन् । प्रतीकात्मक शैलीमा उनी भन्छन् ‘‘गरिबी झन् ठूलो फोहोर हो ।” प्रश्न जन्माएर उत्तरको खोजीमा भौतारिने थापा उत्तर दिन भने हतारिएका छैनन् । पाठकलाई सोच्नका लागि खुला ठाउँ राख्दै कथाको अन्त्यका लागि बहुविकल्प छोडेर उनी अलप हुन्छन् । अधुरो कथाका अन्त्यहरु, सम्बन्धका विकीरणजस्ता कथाको टुङ्याउनीले यही पुष्टि गर्छ । सम्बन्धका विकीरण कथामा त महिला र पुरुष दुबै पात्रले आलोपालो गरेर कथा बाचेका छन् । एउटै विषय र भोगाइलाई फरक फरक दृष्टिकोणबाट प्रस्तुत गर्नु उनको विशेषता बनेको छ । बहुल सम्भावना र बहुल अर्थ दिने थापाका यी दुबै कथा संरचनाका हिसाबले बिलकुलै फरक छन् । 
अस्वीकृत स्वरुप संग्रहकै उत्कृष्ट कथा हो । एउटा बगर छेउको निर्जीव ढुंगामा प्राण भर्ने यो कथा शैली, भाषा, विचार र मिठास सबै हिसाबले अब्बल छ । यो कथाको परिवेश र विषय विश्वभरका पाठकले तादात्म्य राख्ने खालको छ । बगर छेउमा मूर्तिकार विद्यार्थीहरुका लागि कार्याशाला गर्नु र तिनका सिर्जना मार्पmत विश्वभरका मानव जातिले भोग्दै आएको हिंसा र भय अनि त्यसबाट उन्मुक्तिको खोजीलाई चित्रण गर्नु कथाको सार हो । ढुंगामा मानवीय भावना कुँदेपछि सिर्जित सिर्जनाहरु मार्पmत लेखकले प्राकृतिक शास्वततालाई मानव अतिक्रमणले कसरी कुरुप र निस्सार बनाइरहेको छ, मार्मिक ढंगले देखाएका छन् । 
सँगै छुट्दै गरेका क्षणहरु शीर्षकको कथा उनको अर्को सुन्दर सिर्जना हो । हेटौडाबाट भीमफेदीसम्म जाने क्रममा मपात्रले ट्रक चालकसँग गर्ने सामान्य भलाकुसारीको सन्दर्भमा बुनिएको यो कथा एकै पटक सरल र गहन बनेको छ । यो कथाले कथाको विधागत सीमा मिचेर झन्नै झन्नै निबन्धको संरचना ग्रहण गरेको छ । निबन्धात्मक शैलीले कथाको मिठास भने मारेको छैन । संवादै संवादको सिलसिलामै शुरु भएर सकिने कृतिकै दुई ओटा कथाहरु स्थगित अवतारत्व र शब्द निश्शब्द कोलाजले पनि थापाको तर्क र व्यंग्यको सन्तुलनसहित कथा बुन्ने शैलीलाई उजागर गरेको छ । 
शीर्ष कथा फरक आकाश र उन्मुक्तिको जेल यात्रा कथाले संग्रहको एक तिहाई भाग ओगटेको छ । आदर्श समाजको परिकल्पना गर्ने दुबै कथाका विषय महत्वपूर्ण भए पनि यी कथालाई अनावश्यक रुपमा तन्काइएको छ । प्रस्तुतिका हिसाबले पनि दुबै कथा कमजोर छन् । यद्यपि, फरक आकाशका मुख्य पात्रहरु शिरु प्रधान र विष्टकाजी बीचको संवाद भने रोचक र शक्तिशाली छ । 
थापाका महिला पात्रहरु शसक्त छन् । मातृत्वलाई उनको कथाभित्रका नारी पात्रहरु नैसर्गिक गुण र अधिकारका रुपमा लिन्छन् । यस मानेमा लेखक अग्रगामी लाग्छन् । सतहमा राजनीतिक विषय नदेखिए पनि प्रश्नहरु अभैm रुमल्लिएका छन् शीर्षकको कथामा थापाले हजार वर्ष बुढो रुखलाई राजतन्त्रको विम्बका रुपमा प्रयोग गरेका छन् । मुलक गणतन्त्रमा प्रवेश गरिसकेको अहिलेको अवस्थामा थापाको राजतन्त्रप्रतिको सहानुभूतिलाई पाठकले सहज रुपमा हेर्लान् कि नहेर्लान् भन्ने राजनैतिक प्रश्न तेर्सिन्छ । त्यस्तै, फरक आकाशका तर्कशील विष्टकाजी पनि मकवानपुर जिल्लाकै चर्चित राजनीतिक व्यक्तित्व रुपचन्द विष्टसँग मिल्दा जुल्दा पात्र हुन् भनेर ठम्याउन गाह्रो पर्दैन । संग्रहकै अन्तिम कथा नचिनिएकाहरु बिचका परिचय लेखकको चरम प्रयोगको शिकार भएको कथा हो । लेखक संवादमै रुमल्लिएका छन्, कथा गौण बनेको छ । यस कथामा थापाको कथाकारभन्दा नाटककार व्यक्तित्व हाबी छ ।
कथाको आदि, मध्य र अन्त्यको परम्परागत सूत्रलाई नपछ्याउने थापाको लेखन वास्तवमै फरक छ । उनका कथाहरुको प्रस्तुति प्रयोगवादी र विषय बौद्धिक छन् । कथालाई जीवन भोगाई र बुझाईको सम्मिश्रणका रुपमा अथ्र्याउने थापा फरक आकाश मार्पmत वैचारिक यात्रामा निस्केका कथाकार हुन् । विचार प्रधान भएकैले उनका कथामा चरित्र चित्रण र कथानकता गौण बनेको छ । संवाद र तर्कको वरिपरि कथालाई घुमाउनु उनको विशेषता हो । विचारलाई अघि बढाउने क्रममा मात्र उनलाई पात्र वा कथानकको आवश्यकता परेको भान हुन्छ । त्यसैले उनका हरेकजसो कथामा कथावाचक हाबी भएको पाइन्छ । यसले पात्र र कथाको स्वाभाविक विकासक्रममा बाधा हाल्छ । कथाअनुरुप पात्रको स्वाभाविक विकास गर्नमा लेखक चुकेका छन् । 
धेरैजसो कथाहरु राम्रा हुँदाहुँदै पनि संग्रहमा थुप्रै कमीकमजोरी छन् । सबैभन्दा ठूलो कमजोरी सम्बोधनमा देखिएको छ । एउटै पात्रलाई कतै तँ त कतै तिमी सम्बोधन गरिएको छ । कतै कतै मीठो लागे पनि अत्याधिक रुपमा वाक्य संरचनाका क्रममा गरिएको पद विचलनले भाषिक मीठासमा उल्टो भूमिका खेलेको छ । घुमाउरो र क्लिष्ट शैलीको पुनरावृत्ति देख्दा लाग्छ, लेखक आपूmले सम्प्रेषण गरेका कुरा पाठकले बुझोस् भन्ने बारे सचेत छैनन् । पात्र र घटनाका माध्यमबाट पाठकसँग संवाद गर्नु सट्टा विवरणात्मक चित्रणका कारण उनको लेखनले सहज गति समाउन सकेको छैन । पात्रको मानसिक चित्रण गर्ने क्रममा चरम बौद्धिकताका कारण उनका पात्रहरुले बोल्ने संवाद अस्वाभाविक लाग्छन् ।
छोटा तर प्रतीकात्मक संवाद रची संवादमा दर्शन छिराउनु थापाको विशेषता हो । जटिल संरचना र प्रयोगका कारण थापाका कथा छिचोल्न गाह्रो भए पनि उनको शैलीमा पाठकलाई तान्ने भरपुर क्षमता छ । फरक आकाशका केही कथाले पाठकलाई फरक झट्का हान्छ, हान्छ । 

Wednesday, March 30, 2016

एउटा ‘दलित’ पाठशाला

                                                      प्रभाकर गौतम                                  
भूकम्प प्रभावित क्षेत्रका स्कुलको अवस्था बुझ्ने क्रममा पुगेकी बुकाहोलिक्सकी सगुना शाहले काभ्रेको उग्रतारा गाविस, थापागाउँस्थित श्री धर्मज्योति प्राथमिक विद्यालयकी एकजना छात्रालाई उनको नाम सोधिन् । जवाफ आयो ‘रविना ।’ उनले पुरा नाम सोधिन् । फेरि पनि जवाफमा रविना नै आयो । तेस्रो पटकमा मिसले अलि कडा स्वरमा पुरा नाम भन्ने आदेश दिएपछि मात्र मसिनो स्वरमा जवाफ आयो ‘रविना विक ।’ बुकाहोलिक्स समूहका सदस्यहरूलाई दलित समुदायका बालबालिका बढी भएको विद्यालयको पहिचान गराइदिने जिम्मा बनेपा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सन्तोष पोखरेलले लिएका थिए ।
धर्मज्योति विद्यालय वि.सं. २०४४ मा स्थापना भएको हो जहाँ हाल बाइस जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये तेह्र जना दलित, ४ जना जनजाति र ५ जना बाहुन क्षत्री छन् । जम्मा ६ कोठाको विद्यालय भवन बैसाख बाह्रकोे विनाशकारी भूकम्पपछि अहिले एउटा कोठामा खुम्चिएको छ । पहिला पढाइ हुने भवनका कोठामा ताला झुन्डिएका छन् । केही कोठा चर्केका मात्र छन् भने एउटा कोठा भासिएको छ । शिक्षक तथा विद्यार्थी डराइ डराइ भए पनि त्यही भवनको पश्चिमपट्टी रहेको चिरा परेको चर्पी प्रयोग गर्छन् । कक्षा १ देखि ५ सम्मका सबैको पढाइ हुने एउटा ठूलो जस्ताको कोठा छ जुन पहिला स्टोर रुम थियो । विद्यालयको प्रशासन पनि अर्को भुपु स्टोर रुममा सरेको छ । त्यही कोठाको एउटा कुनामा बाल साहित्यका दुई सय जति पुस्तक पनि छन् ।
भूकम्पपछि बन्द भएको विद्यालय सरकारी निर्णयअनुरुप जेठ सत्रदेख पुनः सञ्चालनमा आयोे । शुरुको एक हप्ता सामान्य खेलकुद र रिफ्रेसमेन्टका गतिविधि भए । त्यसपछि सानातिना पराकम्पनका बावजुद पढाइ रोकिएको छैन । तर भूकम्पपछि ६ जना विद्यार्थीले विद्यालय छोडेका छन् । विद्यालयमा स्थायी ५, अस्थायी १, राहत १ गरी जम्मा ७ जना शिक्षक छन् । तीमध्ये ३ जना महिला छन् । केही वर्ष अघिसम्म विद्यालयमा झण्डै दुई सय जनासम्म विद्यार्थी थिए । २०६४ सालपछि विद्यार्थी संख्या धेरै घटेको प्रधानाध्यापक रामहरि थापा बताउँछन् । अचेल छोरा भए एक सन्तान, पहिलो सन्तान छोरी भएको खण्डमा छोरो भइहाल्छ कि भनेर मात्र दोस्रो सन्तान जन्माउने प्रचलन नै विद्यार्थी संख्या कम हुने प्रमुख कारण रहेको उनको बुझाइ छ । सरकारी विद्यालयप्रतिको आकर्षण घट्नु पनि अर्को कारण रहेको उनले बताए ।
विद्यालयले भूकम्पपछि थोरबहुत सहयोग पाएकोमा उनलाई सन्तोष छ । तर भवनको साटो निर्माणाधीन जस्ताले बारेको कोठामा विद्यालय कहिलेसम्म बाँच्ला भन्ने ठूलो चिन्ता पनि छ । ‘राहतका नाममा शुरुमा जिल्ला शिक्षा कार्यालयबाट ५ ओटा पाल र सरकारबाट ६० हजार पायौं ।’ यसबाहेक सरकारकै तर्फबाट विद्यार्थीको लुगा र ब्याग आदि सामग्रीका लागि सत्र हजार पनि प्राप्त भएको प्राध्यापक थापाले भने । सहयोग रकमबाट विद्यालयको सानो चौरमा टेम्पररी लर्निङ सेन्टर नाम दिइएको जस्ताले बारेको चार ओटा कोठा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘यो सेन्टरको काम सकिएपछि बल्ल वास्तविक कक्षा शुरु हुन्छ ।’ दैनिक कौशलटारबाट धाउने शिक्षिका नानु अर्यालले भनिन् । अहिले ठूलो स्टोर रुममा सबै विद्यार्थीलाई पढाउनु पर्दा एकले अर्काको पढाइमा बाधा पुर्याइरहेको छ ।’
त्यही ठूलो कोठामा ७ जना बालबालिकाका लागि सञ्चालित बाल विकास केन्द्र (बाविके) पनि छ । बाविकेको अर्थ खोल्दै यसकी सञ्चालक राजेश्वरी देउजाले भनिन् ‘शहरतिर हुने मन्टेसरी त सुन्नु भएकै होला, ठ्याक्कै त्यस्तै हो यो केन्द्र पनि ।’ हाँस्दै बोलेकी उनले असन्तोष पनि पोखी हालिन् ‘तर हामीले चाहिँ बाल विकास केन्द्रको उद्देश्य विपरीत नर्सरी कक्षा सरह नानीहरूलाई एबिसिडी र कखग घोकाइरहेका छौं ।’ किन त ? ‘के गर्ने अभिभावकहरू बच्चाले केही सिकेन भन्छन्, होमवर्क दिनुपर्यो भन्दै धाको धायै गरे ।’ सेभ द चिल्ड्रेनको सिबिएसका माध्यमबाट एक वर्षदेखि सहयोग प्राप्त गर्दै आएको बाविकेमा ३ देखि ५ वर्ष समूहका नानीहरू छन् ।’ बाविकेमा भर्ना गरे पनि दलित समुदायका विद्यार्थीबाहेक अरुले कक्षा १ मा भर्ना गर्ने बेला धर्म ज्योतिमा नपढाइ अलि परको निजी स्कुलमा पढाउने गरेको धर्म ज्योतिमै पढेर त्यहीको शिक्षिका बन्न आइपुगेकी देउजाले बताइन् । बाबिकेमा अहिले ३ जना दलित, १ जना जनजाति र अरु बाहुन, क्षेत्री विद्यार्थी छन् । सहर बजारमा मन्टेसरी मोटो रकम कमाउने व्यवसायको रुपमा फस्टाए पनि सरकारी विद्यालयमा बाविकेले मान्यता पाइसकेको छैन । यसलाई विद्यालय संरचनाभित्र पार्न अहिले पनि आन्दोलन भइरहेको छ ।
एक त सरकारी प्राथमिक विद्यालय, उसमाथि हेलाहोचो सहनु पर्ने समुदायको बाहुल्य भएको बस्ती । पींधमा पारिएका जात वा समुदायको बाहुल्य भए पनि विद्यालय अग्लो ठाउँमा छ । बस्ती पातलो छ । धेरै दलित विद्यार्थीको घर पनि विद्यालयजस्तै भत्किएको—चर्किएको छ । केही सुबिधा पक्कै पाएका छन् विद्यार्थीले । विद्यालय पुग्न बढीमा १० मिनेट मात्र हिँड्नु पर्छ । समाजमा भेदभाव भए पनि विद्यालयमा विभेद छैन । विभिन्न संस्थाबाट प्राप्त सहयोगका कारण विद्यालयले टिफिन र स्टेसनरी सामग्रीको जोहो गरिदिएको छ । २०६२ सालपछि भर्ना पुरै निःशुल्क भएको छ ।
बिहान १० बजे देखि ३ बजेसम्म सञ्चालन हुने विद्यालयको शुक्रबारको दिन अतिरिक्त क्रियाकलापका लागि छुट्याइएको छ । कथा, कविता वाचन गर्ने, चित्र बनाउने र नाँच गान गर्ने भएकोले विद्यार्थीहरू शुक्रबार कहिले आउँछ भनेर कुरिहन्छन् । कतिलाई त हप्ताको ६ दिन नै शुक्रबार होस् भन्ने लाग्दो हो ! प्रत्येक कक्षाका विद्यार्थीले अतिरिक्त क्रियाकलापका लागि एउटा कक्षा बराबरको चालीस मिनेट समय पाउँछन् । शुक्रबारबाहेक चाँडपर्वको समयमा विशेष कार्यक्रम पनि हुने गरेको छ । दलित समुदायका नानीहरू गाउने बजाउनेमा अगाडि रहेको सबै शिक्षकहरूको मूल्यांकन छ । तर भूकम्पले स्पिकर नै बिगारिदिएकाले नियमित गाउँदै आएको राष्ट्रगानसमेत बन्द छ । स्टोर रुममा सरुवा भएपछि त बत्तीको सुबिधा पनि छैन ।
पुगनपुग तीन दशक लामो प्रधानाध्यापकको अभिभारा बोकेका थापा त्यसबेला र अहिलेको शैक्षिक अवस्थाको तुलना यसरी गर्छन् ‘पहिला घोकन्ते विद्याको समय थियो, अहिले बालमैत्री वातावरण छ ।’ आफूले कहिलेकाहीँबाहेक हात नछोडे पनि एक जना शिक्षक विद्यार्थीलाई पिटेकै कारण कारवाहीमा परेको स्मरण गरे । ‘पहिलेका विद्यार्थी डराउँथे, अहिलेका मायाले पुल्पिलिएका छन् ।’ सायद डरकै कारण पुराना विद्यार्थी अनुशासित भएको उनको अनुभव छ । ‘पुरानाले बाटोमा देख्ने बित्तिकै नमस्ते गर्छन्, नयाँ विद्यार्थी तर्केर हिँड्छन् ।’ उनको भोगाई ।
प्राथमिक तहको पढाइ सकेपछि यस गाउँका विद्यार्थी कक्षा ६ मा पढ्न करिब आधा एक घण्टा हिँड्नु पर्छ । धर्म ज्योतिबाट प्राथमिक तह सकेका विद्यार्थीमा हालसम्म दुई सय जतिले एसएलसी सकाइ सके । धर्म ज्योतिबाट प्राथमिक तह सकेका दलित समुदायका विद्यार्थीमध्ये हालसम्म बढीमा २० जना दलित विद्यार्थीले मात्र उच्चमाध्यमिक तह पुरा गरेका छन् । स्नातक पढ्ने एक मात्र विद्यार्थी छिन् । प्रधानाध्यापक थापाका अनुसार, जति जति विद्यालय चढ्दै जान्छन् उति उति दलित विद्यार्थीको संख्या घट्दै जान्छ । मार्टिन चौतारीलगायत विभिन्न संस्था र सरकारी निकायबाट भएका अनुसन्धानले समेत उच्चशिक्षामा दलित समुदायको सबैभन्दा कम उपस्थिति रहेको तथ्यांक देखाएको छ ।
उच्चशिक्षामा विद्यमान दलित विद्यार्थीको न्युन सहभागीताबारे धर्म ज्योतिका शिक्षक टोली चिन्तित छन् । आफैंले पढाएका अन्य समुदायका धेरै विद्यार्थी सरकारी सेवामा प्रवेश गरेकोमा खुशी लागे पनि तिनमा दलित अनुहार नदेखिँदा दुःखी पनि छन् । अभिभावकसँग औपचारिक अनौपचारिक दुबै खालका भेटमा विद्यार्थीको पढाइलाई निरन्तरता दिन सल्लाह दिए पनि त्यसको असर नदेखिएका अंग्रेजी शिक्षक कमला ढकाल बताउँछिन् । यसबाहेक विद्यालयकै पठन स्तर सुधार्न विद्यालय प्रशासनले पछिल्लो सत्रमा तीन दिन सरकारी र तीन दिन निजी विद्यालयका पाठ्यक्रम पढाउने अभ्याससमेत गर्यो । तर परिणाम सुखद नआएपछि उनीहरुको उर्जा सेलाउँदै गएको छ ।

Wednesday, January 13, 2016

नेपाली सङ्गीतको अभिलेख : पुस्तक समीक्षा

नेपाली सङ्गीतको अभिलेख प्रभाकर गौतम
लेखक : बुलु मुकारुङ 
प्रकाशक : पाल्पा बुक्स (काठमाडौं)÷निर्माण प्रकाशन (सिक्किम) 
पृष्ठ : ८४८ 
मूल्य : १४०० रुपियाँ
बुलु मुकारुङ करिब चार दशकदेखि सङ्गीत तथा लेखनमा सक्रिय नाम हो । रेडियो नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति मन्त्रालयजस्ता संस्थामा विभिन्न पदमा रहेर काम गरेको अनुभवले सङ्गीत तथा संस्कृतिसम्बन्धी सूचना संकलनमा उनको पहुँच पनि छ । यिनै विषयलाई उनले लेखन तथा अनुसन्धानको विषय बनाउँदै आएका छन् । उनका चौध ओटा पुस्तक मध्ये आधाउधी सङ्गीत क्षेत्रसँगै सम्बन्धित छन् । मीरा मूच्र्छना (२०५७), सङ्गीतको प्रारम्भिक ज्ञान (२०५७), सङ्गीत आरोहण (२०५९), सङ्गीतको आधारभूत ज्ञान (२०७१), सङ्गीत अनुशीलन (२०७१) आदि उनीद्वारा लिखित सङ्गीत विषयका कृति हुन् । उनको सम्पादनमा पुष्प—पुष्पाञ्जली (२०५८) र नेपाली सङ्गीतका अभियन्ता : शिवशंकर (२०६१) गरी दुई ओटा स्मृति ग्रन्थ पनि प्रकाशित छन् । 
नेपाली सङ्गीतको अभिलेख मुकारुङको सङ्गीत क्षेत्रमा योगदान दिने स्रष्टाहरूको नामसँगै संक्षिप्तमा तिनका जन्म, मृत्यु, आमा बुबाको नाम, जन्म स्थल, सिर्जना आदिबारे आधारभूत जानकारी समेटिएको ग्रन्थ हो । यसमा उनले झण्डै ६ हजार स्रष्टाका विवरण समावेश गरेका छन् । यसमध्ये करिब डेढ सय साङ्गीतिक समूह र पुगनपुग दुई सय ओटा गीत, सङ्गीत, नाटक तथा जनसंस्कृतिको जगेर्ना र उत्थानमा सक्रिय संघसंस्था बारे जानकारी छन् । सङ्गीत तथा संस्कृतिका विभिन्न विधालाई समेत समेटिएको छ । 
प्ुस्तक ५ ओटा खण्डमा विभक्त छ । पाँच खण्डलाई जम्मा २६ ओटा शीर्षकमा बाँडिएको छ । यी शीर्षकभित्र अभिलेखै हराउन लागिसकेको समयदेखि वर्तमानमा सक्रिय गायक, गीतकार, सङ्गीतकारलगायत साङ्गीतिक समूह र संघसंस्थाका जानकारी छन् । विधागत हिसाबले लोक सङ्गीत, जनवादी सङ्गीत, शास्त्रीय सङ्गीत, भक्ति सङ्गीत, हाँस्य व्यग्ङ्य, परम्परागत नृत्य, वाद्यवादन, परम्परागत बाजा, नाटक आदि क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा समूहगत प्रयासका संक्षिप्त विवरण पनि संकलित छ । यसक्रममा स्वाभाविक रुपमा दरबारदेखि झुपडीसम्मका प्रसंग अटाएका छन् । क्षेत्रगत हिसाबले कुनै न कुनै रुपमा नेपाली सङ्गीतमा योगदान दिने सिक्किम, दार्जिलिङ, असम, भुटान, बर्मालगायत पश्चिमा देशका कलाकारका जानकारी समेत परेका छन् । 
सामग्री संकलनको काम शुरु गरेको झण्डै १६ वर्षपछि मात्र प्रकाशित यस पुस्तक मार्फत मुकारुङले पाठकलाई ओझेलमा परेका व्यक्ति तथा समूह बारेका जानकारीसँगै सङ्गीत विधाका अनेक तथ्यसँग परिचित हुने अवसर उपलब्ध गराएका छन् । पुस्तकको सबैभन्दा सबल पक्ष यही हो । 
तर सूचना संकलनमा धेरै मिहिनेत गरेका लेखकले उपलब्ध सूचनालाई पाठकमाझ कसरी प्रस्तुत गर्ने भन्ने पक्षमा चाहिँ कमै समय दिए भन्ने कुरा पुस्तकको संरचना र प्रस्तुति हेर्दा छर्लङ्ग हुन्छ । प्राक्कथनमा लेखकले सूचना संकलनको विधि र त्यसको उपादेयताबारे ठोस केही चर्चा नगरेको देख्दा पहिलो गाँसमै ढुंगा लागे झैं हुन्छ । यति विशद् ग्रन्थमा कुन खण्डमा के छ र के छैन भनेर स्पष्ट नपार्दा पाठक अलमलमा पर्छन् । लेखकले पुस्तकको विषयलाई सीमा किटेर प्रस्तुत नगर्नु र भूगोलमा समेत नबाँध्दा धेरै जनाले फलानोको चर्चा खै त भन्न सक्ने आधार दिएका छन् । लेखकले पुस्तकमा को परे र को छुटे प्रष्ट्याएका छैनन् । एउटै पुस्तकमा सबै अटाउन सम्भव छैन, तर फलानोलाई पारियो मलाई छुटाइयो आरोपबाट बच्न लेखक सजग हुनै पथ्र्यो । 
लेखकले बढीभन्दा बढी कलाकारलाई समेट्ने उद्देश्यले पुस्तक प्रकाशनको अन्तिम चरणसम्म पनि नाम र अतिरिक्ति जानकारी संकलन गरी पछि थपिँदै गरेका अन्य कलाकार भनेर शीर्षक नै छुटयाएर धेरैको नाम राखेका छन् । पुस्तकको अन्तिम पातामा छुटेकाहरूको नाम र जानकारी पठाउन अनुरोधसहित सम्पर्क गर्ने इमेल र फोन नम्बरसमेत दिएका छन् । लेखकको यो प्रयास सराहनीय छ । तर पछि थपिएका धेरैको जन्म मिति, आमा बुबाको नाम र अन्य आधारभूत जानकारी छैन । हतारमा काम गर्नु परेकोले यस्तो भएको बुझ्न गाह्रो छैन, तर लेखकले यो पक्षलाई सम्बोधन गर्न भूमिका वा फुुटनोटमा थोरै भए पनि बोल्नै पथ्र्यो । 
कलाकारका गीत—सङ्गीत वा एल्बमबारे जानकारी दिँदा लेखक कुनै मापदण्ड वा नियममा चलेका छैनन् । यसबाट पाठकलाई र स्रष्टालाई नै पनि गुनासो गर्ने आधार मिलेको छ । लेखकको सूचना स्रोतमा भएको पहुँच नै मान्नु पर्छ कि उनले अरुण थापाले गाएको भजन र मगर भाषाको गीतको बोलसमेत दिएका छन् । तर अरुण थापाका कति ओटा क्यासेट सार्वजनिक भए भन्ने जानकारी दिनुको साटो दर्जन भन्दा बढी गीतको बोल दिएका छन् (पृ. १२०) ।  त्यस्तै, क्रमशैः चर्चा गरिएका दीप श्रेष्ठ र दीपक खरेलबारे दिइएका जानकारीमा पनि एकरुपता छैन (पृ. १३६—१३७) । लेखकले दीप श्रेष्ठका दर्जन भन्दा बढी गीतको बोल उल्लेख गर्दै तीन ओटा एल्बमको नाम समेटेका छन् तर ‘शृंखला’ एल्बम÷सिडीको नाम छुटेको छ । दीपक खरेलले रेडियो नेपालमा प्रथम पटक गाएको गीतको साल उल्लेख गर्ने लेखकले त्यस्तै जानकारी दीप श्रेष्ठबारे दिएका छैनन् । यसरी कलाकारका बारेमा के भन्ने नभन्नेमा उनी प्रष्ट छैनन् । सर्जकका सार्वजनिक भएका सम्पूर्ण एल्बमका नामहरू दिएर सबैभन्दा चर्चित एक दुईटा गीतको बोल मात्र उल्लेख गरेका भए सायद यो पुस्तकको मोटाइ थोरै भए पनि कम हुन्थ्यो । 
कुनै स्रष्टाका बारेमा लामो र कसैको अति संक्षिप्त चर्चाले पनि लेखकको लापरवाही झल्काउँछ । उदाहरणका लागि, सिजन्स ब्याण्डबारे लेखकले दिएको पूर्ण जानकारी यस्तो छ ‘सिजन्स ब्यान्ड अहिले अस्तित्वमा छैन । तथापि यस ब्यान्डले विभिन्न प्रस्तुति गरेको थियो ।’ यो जानकारीबाट सिजन्स ब्यान्ड कहिले अस्तित्वमा थियो र यस ब्यान्डले निकालेका एल्बम वा चर्चित गीत कुन हो भन्ने सन्दर्भमा पनि कुनै जानकारी मिल्दैन । जबकी, हेटौडाका युवाहरूको ब्यान्ड सिजन्सले पचासको दशकमा निकै चर्चित र स्तरीय गीतहरू रचना गरेका छन् । द सिजन्सको नाममा भाग ३ सम्म एल्बम निस्केको छ । यसै समूहका मुख्य गायक सुजिल कर्माचार्य, जो पछि एकल गायनमा लागे, हालै लन्डनको रोयल अल्बर्ट हलमा ऐतिहासिक प्रस्तुति दिने मध्येका एक कलाकार हुन् । अर्को खण्डमा, यिनै गायकबारे दिइएको परिचय पढ्दा लेखकलाई यिनको नाम र काम दुबै थाहा नभएको प्रतीत हुन्छ । सुजिल कर्माचार्य हुनुपर्ने नाम सुजित कर्माचार्य त भएकै छ, उनलाई भुमो बोलको एउटै गीत गाएर चर्चामा आएको गायकसमेत भनिएको छ (पृ. ३२६) । जबकी चंचल तिम्रा ती हेराइमा, सपनामात्र, असफल जिन्दगी, आमा...मलाई गर्व छ नेपालमा जस्ता गीतहरू उनको स्वरमा यसअघि नै चर्चित छन् ।  
पुस्तकको मोटाइ घटाउन सकिने अरु पनि ठाउँ छन् । जस्तै, रमेश विकल (पृ. ९५) ले रेडियो नेपालमा स्वर परीक्षा दिई उत्तीर्ण नभएपछि लेखनमा लागेको कुरालाई इतिहास—अभिलेखभित्रका सङ्गीत शीर्षकभित्र अनावश्यक रुपमा महत्वका साथ राखिएको छ । इतिहास उत्खनन्का लागि भनेर लेखकले प्राथमिकतामा पारेका कतिपय प्रसंग खासै महत्वपूर्ण छैनन् । जस्तै, स्कूलमा सङ्गीत—शिक्षक भनेर दर्जनौको नाम दिएका छन् । तर यहाँ नाम दिइएका भन्दा धेरै व्यक्तिले अहिले सङ्गीत पढाउने भएकाले यो विषय ऐतिहासिक उत्खनन्को विषय कसरी भयो ? बरु प्रथम सङ्गीत—शिक्षक भनेर एक जनाको नाम लेखेका भए त्यसको केही महत्व हुन्थ्यो होला । सङ्गीत सिक्ने पत्रकार  भनेर केही नामहरू दिइएको छ । के यो साँच्चै इतिहास उत्खनन्को विषय हो ? दार्जिलिङ्कै गायक शुरेशकुमारलाई नेपालका कलाकारका रुपमा र अरुणालामालाई प्रवासी नेपाली कलाकारको सूचीमा राखिनुको आधार र तर्क के हो ? यस्ता अनेक प्रश्नको चित्तबुझ्दो उत्तर भेटिँदैन । पुस्तकमा प्रवासी र नेपाली कलाकार बीचको दुविधा बढाउने अरु पनि नामहरू छन् ।
पुस्तकमा भरपुर सूचना छ । लेखकले हरेक खण्डमा भएका सूची वा विवरणलाई विषयगत वा विधागत रुपमा विश्लेषण गरी निष्कर्ष निकालेका भए यी सूचनाले नेपाली सङ्गीतको इतिहास लेखनमा नयाँ आयाम थप्न सक्थ्यो । तर यसको अभावमा यो अभिलेख साङ्गीतक इतिहासको सामान्य ज्ञान प्रदान गर्ने सन्दर्भ ग्रन्थमा सीमित भएको छ । 
यो मुकारुङको महत्वकाङ्क्षी कृति हो । पुस्तकको गाता पल्टाउने बित्तिकै ९ जना व्यक्तिको ‘विज्ञ विचार’ र दुई जना नयाँ पुराना विद्यावारिधी विज्ञका भूमिका पढ्न पाइन्छ । पुस्तकको संरचना र विधिबारे उनीहरू खुलेर बोलेका छैनन् । भूमिका लेखकज्यूले पुस्तकका विवरण साङ्गीतिक इतिहासको विकासक्रम बुझ्न किन, कसरी र के—कति  उपयोगी हुन सक्छ भन्ने बारेमा अमूर्त कुरा गरेका छन् । सङ्गीत इतिहास लेखनको जग बसाउन भनी प्रकाशित यो पुस्तक प्रधानमन्त्री सुशील कोइरालाको हातबाट विमोचन गर्ने अभ्यास पनि उदेकलाग्दो छ ।
यति विशाल पुस्तकमा केही मुद्राराक्षस क्षम्य भए पनि सच्याउनै पर्ने त्रुटीहरू पनि छन् । प्रकाशनको पक्षमा अन्तर्गत विमल गौतमको नाम हुनु पर्ने वीरु बाङ्देल भएको छ (पृ. १९) । पहिलो सामसुङ नेपाली ताराका प्रतिस्पर्धीको नाममध्ये ‘धमेन्द्र सेवा’ लाई धर्मेन्द्र सेवान बनाउनु पर्ने देखिन्छ (१०८) । 
तथापि, एक जना अध्येताले हजारौं कलाकारका बारेमा सूचना संकलन गर्ने जोश, जाँगर र मिहिनेतको कदर गर्नै पर्छ । धेरै ठाउँमा छरिएका र खोज्दा समेत नपाउन सकिने केही तथ्य र सूचनाको संकलनका रुपमा पुस्तकमा धेरै कुरा लिपिबद्ध भएको छ । सङ्गीतको प्राचीन र आधुनिक कालबीचको सेतु जोड्न मात्र नभई सङ्गीतको बहुविधागत जानकारीका लागि पनि पुस्तक उपयोगी छ । नेपाली सङ्गीत आजको अवस्थासम्म आइपुग्नुमा हजारौं स्रष्टाको योगदान रहेको कुरा सबैलाई थाहा भए पनि ती सबैलाई हामी चिन्न सक्दैनौं । मुकारुङले तीसँग परिचित हुने मौका दिएर तिनको सम्मान गरेका छन् । 

Wednesday, November 18, 2015

मन लोभ्याउने 'इन्द्र सरोवर' -प्रभाकर गौतम

भाइटीकाको भोलिपल्ट । कात्तिक २८, शनिबार बिहान ९ः१५ को समय । मीनभवनबाट कलंकी जान गाडी कुर्दाकुर्दै नाकाबन्दीको असर भोगियो । पन्ध्र मिनेट कुरिसक्दा पनि कलंकी जाने बस नआएपछि करन र म कालीमाटीमा झरेर अर्को बस चढांैला भनी बल्खु जाने नेपाल यातायात चढ्यौं । बानेश्वर के पुगेका थियौं, पछाडिको सिसाबाट कलंकी जाने बस आएको देखेँ । करनलाई झट्पट् उत्र भनेर म त कुदिँहाले । धन्न खलासी भाइले बानेश्वरसम्मको पैसा मागेनन् । कलंकी जाने बस कुर्दाकुर्दा थाकेर बल्खुको गाडी चढेकी एकजना आमैले पनि हामीलाई पछ्याइन् । कलंकी नपुगुन्जेलसम्म झलझली ग्याँसबाट चल्ने नीलो माइक्रो सम्झिरहेँ । कति छिट्छिटो आउँथे ती ।

कलंकीमा सगुना दिदी र क्षितिज कुरिरहेका थिए । कलंकी नजिकै बस्ने रेशमा भने हामी पुगेपछि मात्रै हात हल्लाउँदै आइपुगिन् । गाडी प्लस पदयात्राको उद्देश्यले चित्लाङ हुँदै कुलेखानी पुग्न तम्सिएका हामीलाई थानकोट पुर्याउने गाडी नपाएपछि केहीबेर अलमलियौं । संयोगवश सर्वसाधारणका लागि निःशुल्क लेखिएको गाडी पाएपछि हाम्रो यात्राको थालनी सुखद बन्यो । थानकोट झर्दा १० बजिसकेको थियो । भोक नलागोस् भनेर थानकोटकै नेवारी खाजाघरमा पेटपूजा गरियो । गाडी पाए गाडी चढ्ने, नत्र हिँडेर भए पनि जाने उर्जासहित थानकोटबाट दक्षिण पश्चिमको १५ मिनेट जतिको बाटो हिँडियो । बसपार्कको एउटै मात्र गाडी हामीलाई नै कुरेर बसेजस्तो देखिन्थ्यो । तर बसले अरुलाई नि कुरेको रैछ । रेशमाले बसभित्र हामीभन्दा दायाँ बसेका दुई जना पाका दाईसँग जुदाइ फिल्मको परेश रावल शैलीमा प्रश्न-वर्षा गरिन्, 'चित्लाङ पुग्न कति समय लाग्छ ? त्याँ कति चिसो छ ? बस्ने व्यवस्था कस्तो छ ? टिभी हेर्न पाइएला त ? अनि, बिगबोस देखाउने च्यानल होला कि नाइ ?' रेशमालाई यसअघि यति धेरै बोलेको नसुनेका हामी ४ जनाले उनको वाकपटुता देखेर आँखा सन्कायौं, जिब्रो पनि टोक्यौं । 

बसले त्यहाँबाट हिँड्न झन्नै आधा घण्टा लगायो । अन्तिम सिटमा ५ जना कचमचिएर जसोतसो अटाएका थियौं, तर अगाडिको सिट चिप्लिँदै गोडा च्याप्न आएपछि भने गोडा अलि लामो भएकाहरुले बेला बेला मान्छेसहितको सिटलाई धकेलेर बस्नुपर्ने भयो । काठमाडौंमा दैनिक भोगिरहेको परिवेशभन्दा फरक डाँडाकाँडा, बोट विरुवा र हावाको स्पर्शले बसको असुविधा बिर्साउँदै गयो । यात्राका लागि हामीसँग पर्याप्त समय थियो । हिँडेकै २ रात बिताउने गरी । चित्लाङ जाँदा शुरुमै आउने उकालो बाटो कटाउन मात्र गाडी चढेका थियौं । करिब ४५ मिनेट बसमा गुडेपछि पदयात्रा गर्न झर्यौ । ओर्लेको ठाउँबाट चित्लाङ पुग्न १ घण्टा मात्र लाग्ने रहेछ । तैपनि, साथीहरु हतारमा देखिन्थे, छोटो बाटो झरुम् भने । ओेरालै ओरालो जंगलको बीचैबीच झर्दै गएपछि दुबैतिर डाँडा र बीचमा खोबिल्टो जस्तो ठाउँमा तोरीका फूलहरु लहलाएको देखियो । एक खालको सन्नाटा थियो । अलि पर भिरालोमा भुराहरुले खेल्दा आएको आवाज पनि हामीलाई कराएजस्तो लाग्थ्यो । नजिकै पुगेपछि त ती भुरा 'बाघ आयो' भन्दै हामीलाई जिस्काउन थाले । बाघ आयोलाई पनि हामीले भुइँचालो आयो सुन्यौं ।

चित्लाङ गाउँ पुग्दा बस्ती सोचेभन्दा पातलो लाग्यो । दुबैतिर जंगल भएकोले होला दिउँसो १ बजेतिरको हावा पनि चिसो चिसो थियो । दशै तिहार सकिए पनि खुला चौरी बनाइएको लिङ्गे पिङमा बच्चा र युवा मच्चिरहेका देखिन्थे । दायाँ बायाँ हेर्दै, फोटो खिच्दै हिँडेकाले आधा घण्टाको बाटो १ घण्टा लगाएर हामी रिसोर्ट जाने बाटो मोडियौं । होम स्टेका लागि बनाइएका घरहरु जोडी बाँधेर बसेका थिए । तर हामीलाई त एकै ठाउँमा बसेर फतर फतर गर्नु थियो । अलग अलग बसेको भए रेशमाको ‘स्याट अप'वाला डायलग र करनको पन्च लाइनहरु छुटिहाल्थ्यो । क्षितिजको हाँसो र सगुना दिदीको हाइपर रियाक्सनको दर्शन एकै चोटी पाउन सम्भव थिएन । अनि हामी सबै संगीत प्रेमीको मूर्च्छनावाला स्याप्पा पनि छुट्थ्यो होला । रिसोर्ट डाँडाको ठ्याक्कै मुन्तिर रहेछ । ठूलो भूभाग ओगटेको रिसोर्टको आधा हिस्सा त नसपातीका बोटले नै ओगटेको थियो । २ बजे हामी रिसोर्टको पश्चिमतरिको कटेज भनाउँदो कोठा छिर्यौ । टिनले छाएको कोठामा एउटा खाट थियो, अनि भुइँको दुई विपरीत कुनामा बाँकी ओछ्यान थिए । कोठा, हामी ५ जनै एउटै परिवारका सदस्य झैं लुटुपुटु हुन पर्याप्त थियो । टिनको छत गर्मीमा तातो र जाँडोमा चिसो हुन्छ । अझ खुला ठाउँमा जंगलको हावावाला टिन थप चिसो हुने नै भयो । हामीले ब्यागमा कोचेर ल्याएका न्यानो ज्याकेट कपडा काम आयो । 

कोठामा केही छिन आराम गरेर निस्कँदा याद आयो, भारतबाट इन्धन र अन्य सामान आउन रोकिए पनि नयाँ नयाँ हिन्दी गीत आउन रोकिएको छैन । आरिजित सिंहका गीतहरु गुनगुनाउँदै चिसो सिरेटोमा हलुवा भनेर ल्याइएको ढिडोजस्तो केही खायौं । त्यसपछि, नसापातीको फलविनाका सयौ बोटहरु नाघेर डाँडा चढियो । रेशमालाई चिसो लागेकोले चार जना मात्र उक्लियौं । करन टुप्पामा पुगिसक्दा आफू त फेदमै थिएँ । हरियो चौरमा विना कुनै परवाह डङ्रङै लड्दा चिसो हावाको असर पनि कम हुन्थ्यो । घरीघरी सगुना दिदीको मोबाइलले निकाल्ने आवाजबाहेक जमिन र आकाश दुबै शान्त थियो । धेरै बेर टोलाएपछि मधुरो साँझ कालो बनिसकेको याद आयो । हामी फेरि मेसतिरै फर्कियौं । आगो कम र धुवाँ बढी ताप्दै हामीले खानासँगै नसपातीवाला वाइनको स्वाद पनि लियौं । अनि 'लाटो पहाड' कथा संग्रहभित्रकोे एउटा पात्र नसपाते बुढालाई सम्झिँदै मज्जाले हाँस्यौं पनि । नाकाबन्दीको असर भोलिपल्ट बिहानै पनि सुनियो, देखियो । चिया खान पल्लोपट्टीको टेबुलमा बसेको युवक भन्दै थियो ‘‘२ लिटर तेल हालेर आएको आधा बाटोसम्म नि टिकेन । अरु डुबे, मिसावटयुक्त तेल बेच्ने चै उक्से ।’ कुलेखानीसम्म जान मन गरिरहेका अर्को जोडी पनि थिए तर पेट्रोल नपुग्ला कि भन्ने दुविधाका कारण बाइकमा जान आँट गरेनन् । पैदल गएर फेरि चिल्लाङ फर्केर काठमाडौं पुग्न हम्मे हम्मे थियो । अन्तिममा तिनले चित्लाङकै आसपास डुलेर फर्कने निधो गरे । धन्न हामी बाइकमा गएका थिएनौं । 

केवल १५ किमि जतिको दुरी हिँड्नु पर्ने भएकोले ११ बजेमात्र चित्लाङसँग बिदा माग्यौ, मौका जुरे फेरि भेट होला भनेर । घाम चर्किँदै गए पनि खुला ठाउँ भएकोले हावाको कमी थिएन । गर्मी महसुस खासै गरिएन । मलाई त कहिले चित्लाङट अघि बढूँ भइरहेको थियो । मार्खु अझै राम्रो होला भन्ने अनुमान थियो । इन्द्र सरोवरको फोटो हेरेर त्यहाँको डुंगा चढ्ने रहरको आयु ६ महिना पुगिसकेको थियो । हामीले रात बिताएको ठाउँ चित्लाङको प्रवेश विन्दु जस्तै रहेछ । पैदल अघि बढ्दै जाँदा बल्ल त्यहाँका मान्छेहरु देखिन थाले । चिया पसल र स्मारक देखिए । खेतहरुमा धान काटेपछिको पराललाई एकनासे पाराले थुप्रो बनाइ राखिएको थियो । घरका घरहरु माटो र ढुंगाका बढी थिए भने झ्याल र ढोका काठका । झ्याल ढोका प्रायः नयाँ र चिटिक्क परेका । भूकम्पले सबैजसो घरको कुनै न कुनै भित्ता चर्काएको प्रमाण चिरा परेका भित्ताहरुले दिन्थ्यो । खुर्सानी, काउली, मूला आदिको बारी आउँथ्यो, जान्थ्यो । झ्यालमा झुण्डाइएको चिल्लो रातो डल्ले खुर्सानी चाख्न पाए पिरो हैन गुलियो नै होला कि भन्ने भान पथ्र्यो । 

चित्लाङको रुट त्रिभुवन राजमार्ग निर्माणअघि उपत्यकाबाट भारत र नेपालको दक्षिणी भूभाग पुग्ने एक मात्र पैदल मार्ग थियो भनिन्छ । सायद हामी पनि त्यही बाटो हिँडिरहेका थियौं । करिब डेढ घण्टाको हिँडाइपछि गिट्टीको बाटो सकियो । घुमाउरो माटोको बाटो आयो । केही छिनमै वारीपारी सल्लैसल्लाको बोट भएको बाटो पो आयो । करनले नाचूँला झै गर्यो । सबैले हे हे हा हु गर्न थाले । सगुना दिदीको माइग्रेनवाला टाउको दुख्न शुरु भइसकेकोले सल्लाको छहारीमा राम्रैसँग थकाइ मारियो । खाना खाइएको थिएन । खाजा पचिसकेको थियो । चिया कतै मिठो पाए त मरिजार्उँ ! तिहारको मसलाको प्याकेटबाट काजु, किसमिस, हाडे बदाम निख्रिसकेको थियो । मिसरी र सुकेको नरिवल मात्र बाँकी थियो । भोको पेटमा ती पनि नबिक्ने कुरै भएन । तर खानाको अभाव त्यसले घटाएन, बरु झन् बढायो । कचरपचर खाने मामिलामा दुई कदम पछाडि नै बस्ने क्षितिजको अनुहारमा पनि भोकको छायाँ देखेँ मैले । बाटोमा अघि बढ्दै जाँदा बचेखुचेको चिप्स र सुन्तला पनि तुरियो । 

करिब २ बजेपछिको अबको यात्रामा उकालो बाटो हिँड्ने पालो आयो । एक घण्टाको सुस्त सुस्त हिँडाइपछि मार्खुको भेडा फार्म आयो । अहो ! अलिकति उकाली, अलिकति ओराली गर्दै अग्ला होचा ढिस्काहरुले बनेको फराकिलो चउर देख्दा जंगलीको शम्मी कपुर शैलीमा सबै चिच्यायौं ‘या हू' । करन त छोटो ओरालो बाटो झरिहाल्योे र फेदमा पुगेपछि डाँडामा उक्लिन भेडा जसरी नै उक्लिन थाल्यो । हामी चार जना भने बिस्तारै घुमाउरो मूलबाटो भएरै चढ्यौं । जहाँ गए पनि शान्त लाग्ने अचम्मकै यात्रामा थियौं हामी । हल्ला गर्ने त हामी मात्रै । रुख चढेर त कोही भूइँमा लडेर फोटो खिच्न थाले । सेल्फी, वीफी अनि युफी सब चलिरह्यो । सगुना दिदीको हालत झन् खराब हुँदै थियो । कुलेखानी ड्याम नै पुग्ने हो भने अझै एक डेढ घण्टा लाग्ने भर्खरै गएका एक जोडीले बताए । तिनले छोटो बाटो पनि देखाइदिए । ३ बजिसकेको थियो, हतार गर्नै पर्यो । आखिर रात कहाँ बिताउने, के खाने चिन्ता थियो । डाँडाको टुप्पाबाट झरेको मात्र के थियौ, ठीक दाहिनेपट्टी बाटो पारीबाट आएको चिसो हावाले अर्कै तरिकाले छोयो । निलो पानी शान्त मुद्रामा देखियो । हाम्रो उत्साहको सीमा थिएन । माइग्रेनवाली दिदी पनि फोटो खिच्न तम्सिहालिन् । तर...एकैछिनमा उनको डायलग आयो, ‘अब खिच न फोटो मोरामोरी हो । मात्र १५ पर्सेन्ट चार्ज बाँकी छ । मनमनै बोलेँ, ‘थुइक्क, यै डाँडाको टुप्पामा मक्ख परेर ब्याटरी सक्नु पर्ने सबैलाई ।’ डाँडाबाट झर्दाझर्दै सल्लाह भयो कुलेखानी हैन, यही बस्ने । कुन चाहिँ मूर्खले नाइ भन्थ्यो र !

गाँसबासको चिन्ता अलि कम भयो । सबैजना भोकाए पनि भनेजस्तो खाजा थिएन । ग्याँस नभएकोले दुधवाला चिया पिउने साथीहरुले पनि कालै चिया पिएर काम चलाए । माथिको ढिस्कोबाटै दुबैतिर इन्द्र सरोबरको दृश्यावलोकन गर्न मिल्ने सेतो रंगको दुई तले लजमा आँखा लगाइसकेका थियौं । कोठा पनि ५ जनै अट्ने पाइहालियो । यहाँ चाहिँ तीन ओटा खाट रहेछन् । खाजामा चाउचाउ पाइयो । आराम गरेर साँझ टहलिने कुरा कुरामै सीमित भयो । आखिर सबैजना थकित जो थियौं । 

राती ८ बजे खाना खाने बेलामा होटल साहुजीलाई आगो ताप्न पाए हुन्थ्यो भन्दा 'खाना पकाउने दाउरा त छैन । ' भन्ने जवाफले खिन्न बनायो । तर साहुजी त उदार रहेछन् । दाउराका साना झिक्राझिक्री बटुलेर आगो बालिदिए । उनको व्यवहार आगो भन्दा न्यानो लाग्यो ।  घरको बिछ्यौनामा सुत्दा ८ बजे अगाडिको बिहान कमै देख्ने म, नयाँ ठाउँमा सुत्दा जहिले घाम नउदाउँदै बिउझन्छु । मेरो यो बानीले अघिल्लो दिन पनि सबैलाई डिस्टर्ब भएको थियो । आज पनि त्यस्तै भयो । पुरा एक घण्टाको छटपटीपछि छेउमै सुतेको करनको निद्रा नबिथोली रहन सकिनँ । ६ः३० मा करन पनि उठ्यो । बिहानको दृश्य बेलुकीको तुलनामा झनै मनमोहक लाग्यो । ड्याम बनाइएकोले पानीको बहाव मन्द थियो । चिसोले पानीबाट बाफ उड्दा ताल त चिया पकाउने ताप्केमा परिणत भए झैं लाग्थ्यो । 'रातभर पानीमै निदाउन पाएका डुंगामा बसेर ती बाफलाई स्पर्श गर्न पाए ।' करन र म दुबैले एकै पटक सोचेपछि बोल्यौंं ‘हामी डुंगा चढ्ने बेलासम्म त ती बाफ हराइसक्छन् होला है ।' 

मार्खुको मुख्य बजार भन्न मिल्ने ठाउँमा केही चहलपहल रहेछ । त्यहीँको नेवारी खाजा घरको रातो थर्मसबाट खन्याइएको कालो चिया पियौं । आहा ! घर छोडेपछिको पहिलो मीठो चिया । फूर्ति दोब्बर भयो । दुई कपको पन्ध्र रुपैंया मात्र । सबै जना तयार हुँदा आठ बज्योे । हिजै साँझ जाउँ जाउँ लागेको झोलुङ्गे पुलतिर हान्नियौं । सगुना दिदीको टाउको दुखाइ कम भएकोले सबै खुशी थियौं । हामी पुल पुग्दा हाम्रो समूहको बाँदर करन त पुल पारीको अग्लो डाँँडातिर दौडदै गरेको देखियो । पारीको उचाईबाट इन्द्र सरोबर नियाल्ने मन त मलाई पनि थियो । तर ज्यानमा करनजत्तिको उर्जा थिएन । रेशमाको मोबाइलमा फोन आयो । माथि टुप्पाको रुखबाट करनले पो गरेको रहेछ । उसको शैली देखेर सबै ट्वा । अर्कोतिर बिग बोस छुट्यो भनेर वाक्कै लाउने रेशमाको चञ्चलताले हामीलाई थप ट्वा पारेको थियो । क्षितिज भने पुलमुनिको पानीजत्तिकै शान्त र सौम्य । बेलाबेला परपरको क्षितिज हेर्दै हराइरहन्थ्यो, एक्लै । हाँस्दा भने ऊ पनि के कम, पानीजस्तै छचल्किदिन्थ्यो । सगुना दिदी भने कहिले सबैको मम्मी बन्थिन् त कहिले समूहकी सबैभन्दा कान्छी सदस्यजस्तो बालसुलभता देखाउँथिन् । मैले भने कस्तो प्रतिक्रिया देखाइरहेको हुँदो हो, कुन्नि ? 

खाजा नखाइ डुल्न हिँडेका हामी होटल पुगेर केही बेरमै भात खान पाइएला भन्ने आशामा थियौं । तर साहुजी दाइ त 'दाउरा छैन' भन्दै झोक्राए । राती जोरजाम गरेर आगो ताप्ने अवसर दिएका उनलाई मनैमन फेरि धन्यवाद भनेँ । भात पकाउने दाउराले ज्यान सेकेकोमा खेद भयो । कठै, यिनका लजमा भरैदेखि को आउँला र ? हामी भने फेरि अघिकै बाटो फर्कियौं चोकसम्म । अरु बेला केही छिनमै खाना तयार हुन्छ भन्ने होटल साहुजीहरुले ग्याँस छैन, दाउरामा पाक्न १ डेढ घण्टा लाग्छ भनेको सुन्दा अचम्म लागेन । मार्खुको ताजा माछा खाँदै खाना कुरियो । असहज परिस्थितिका कारण खानामा तरकारीको मात्रा कम देखिए पनि हार्दिकता अपार थियो । 

विद्युत उत्पादनका लागि हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट चलाइएको कुलेखानी भएको ठाउँमा पहिले त बाक्लै बस्ती रहेछ । मार्खु गाउँको जग्गा सरकारले अधिग्रहण गरी ड्याम बनाइएको रहेछ । यो नदीजस्तो लामो तालको पानीलाई स्पर्श गर्न पाउने अवसर डुंगा चढेपछि मात्र पाउन सम्भव थियो । त्यसैले जसरी पनि डुंगा चढ्नु थियो । नियमित डुंगा चलाउने माझी दाई भने काठमाडौं गएका रहेछन् । पुरानै होटलवाला साहुजीले डुंगा चालक खोजिदिए । प्रति व्यक्ति सय रुपैंया तिर्ने मञ्जुरी भयो । पानीमा बिताएको १ घण्टा वर्णन गर्ने शब्द छैन मसँग । यत्ति भन्छु, पुरै यात्राभरिको सबैभन्दा आनन्ददायी क्षण थियो त्यो । जहाँ पुगेपछि फर्किन नपरे हुन्थ्यो जस्तो लागिरह्यो । १ घण्टा बित्न दश मिनेट पनि लागेन क्यारे ! कुनै समय स्वीमिङ खेलाडी नै बन्ने रहरसमेत पालेकी एक मात्र पर्फेक्ट स्वीमर सगुना दिदीले बेला बेला भन्थिन् 'हेर केट्केटी हो, डुंगा उल्ट्यो भने बाँच्ने त म मात्रै हो, हा हा हा ।' हामी पानीमरुवासँग 'हो' भन्नु बाहेक विकल्प थिएन । 

मार्खुबाट फार्पिङ हुँदै काठमाडौंको अन्तिम बस २ बजे आउँथ्यो । झोला झ्याम्टा बोकेर बस आउने चोक पुग्दा २ः०० बज्नै लागेको थियो । तताउँदा तताउँदैको माछा झोलामा हाल्न लगाएर बस चढ्यौं । लेडिजलाई सिट मिलाइदिन्छु भने पनि हाम्रो समूहका लेडिजहरु हामी जेन्ट्सभन्दा सशक्त थिए । थोरै डर पालेरै भए पनि बसको छतमा बसियो । बसको छत तरकारीले भरिएको थियो । हाम्रो ढाड बन्दाकोबीमा अनि टाउँको इस्कुसमा । उचाईबाट तल हेर्न डराउने म, माथि आकाशतिरै फर्केर आधा बाटो काटेँ । बाटो राम्रो भए पनि छतमा बसेकाले लप्सीलगायत अनेक जातिका रुखविरुवाका हाँगा र डाँठले बेला बेला चुटिरहन्थ्यो । सबैजना टाउको जोगाउन हा हो गर्दा सानो ५ वर्षे भाइ रिजन हेँ हेँ हँ गर्दै हासिँहाल्थ्यो । एक चोटी त उसँगै म पनि हाँसे । हाँसो फैलिएर पर क्षितिजसम्म पुग्यो । नजिकैको क्षितिजले भने आफ्नै स्टाइलमा मेरो हाँसो रोक्ने प्रयास गर्दै भन्यो 'महोदय ! एकछिन प्लीज, पैला म सास फेर्छु ।' हाँस्दाहाँस्दै काठमाडौं आइ त हाल्यो । पारिवारिक समस्याका कारण हामीसँगै आउन नपाएका उत्सव र ऋचा दिदीलाई यात्राभरि धेरै पटक मिस गरिरह्यौं । सबैले फेरि भन्यौं, उनीहरु पनि भएको भए यात्रा झनै गज्जब हुन्थ्यो । 
'बुकाहोलिक्स' समूहको पुस्तक छलफलले परिचित गराएको हामीलाई बैसाख बाह्रको विनाशकारी भूकम्पले झनै नजिक बनाएको हो । समय कठोर थियो, कठिन परिस्थितिमा समूहको नेतृत्व गरेर थोरै भए पनि काम गर्ने अवसर पायौं, साहस गर्यौं । यही क्रममा एउटै परिवार जस्तो भयौं । बुकाहोलिक्सका सदस्य र हाम्रा प्रियजनहरुबाट पाएको सहयोग पीडितसम्म पुर्याउने जिम्मेवारी निर्वाह गरेका हामी यसरी विनाकाम घुम्न मात्र गएको यो पहिलो पटक हो । यो यात्राले हामीलाई थप नजिक बनाएको छ ।