मैले कुनै समय चलचित्रका दृश्यहरूलाई पर्दामा जसरी देखाइन्छ उसरी नै ग्रहण गर्थे भन्ने कुरा पत्याउन आज म आफैलाई गाह्रो लाग्छ । तर त्यो समयमा म त्यस्तै सोच्थे । रिल लाइफ र रियल लाइफको भेद थाहा थिएन । त्यो उमेरमा मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट धेरै, सायद सबै, गुज्रन्छन् होला । म पनि गुज्रिएँ । म धेरै पटक कलाकारसँगै रोएँ, हाँसेँ, गाएँ र नाचेँ पनि । एउटा कुरामा साह्रै अचम्म लाग्थ्यो, 'आखिर एउटा सिनेमामा मरेको हिरो अर्कोमा फेरि कसरी बाँच्थ्यो? कसरी त्यो बाँचेर फर्केर आयो, उत्तर हुन्थेन तर, खुशी हुन्थेँ आफ्नो प्रिय हिरो फेरि बाँचेकोमा । तर भिलेन फेरि बाँचेको चाहिँ पटक्कै चित्त बुझ्थेन ।
सिनेमाप्रतिको आकर्षण विचित्रको हुँदो रैछ । म जन्मिनु अघि नै मेरो घरका सदस्यहरू र टोलछिमेकका मान्छेहरूमाझ सिनेमा जीवनको अभिन्न हिस्सा बनिसकेको थियो । मेरा साना साथीहरू मात्र हैन, प्रायः सबैजना सिनेमा भनेपछि हुरुक्कै हुन्थे । पैसा उठाएर डेक भाडामा ल्याएर सिनेमा हेर्ने जमाना थियो । अहिलेको जस्तो घरघरमा डिभिडीको सुविधा थिएन । स्याटेलाइट टिभीको आगमन भएको थिएन ।
भारतीय दूरदर्शन च्यानल लोकप्रिय थियो र नेपाली च्यानल भर्खरै बामे सर्दै थियो । त्यसबेला साना ठूला सबैखाले चाँडपर्वहरूमा डेक ल्याएर सिनेमा हेर्ने चलन भएकोले नयाँ वर्ष, कृष्ण अष्टमी, दशैं, तिहार, सरस्वती पूजा आदि अवसरहरूमा म पनि साथीहरूसँग मिलेर जता डेक ल्याइन्थ्यो त्यतै धाउँथेँ । सिनियर दाइहरू हामीलाई एउटा वा दुईटा सिनेमा देखाइसकेपछि ‘घर जाओ’ भनेर थर्काउथे र आफूहरू रातभर सिनेमा हेर्थे ।
पछि थाहा भयो, सेकेन्ड सेसन त ‘एडल्ट सिनेमा’को समय रहेछ । यो सबैतिर हुने साझा अभ्यास थियो जसको सिको उमेर चढ्दै गएपछि हामीले पनि गर्यौँ । पछि थप कुरा थाहा पाइयो, बोर्डरपारि जोगबनीमा पनि नेपाली दर्शकलाई लक्षित गरी ‘एडल्ट सिनेमा’ देखाउने भिडियो हलहरु छन् ।
पहिलो चोटि कैहिले, कुन सिनेमा हेरेँ सम्झना छैन् । अलि धेरै याद भएको सिनेमा चाहिँ आमिर खान र जूहि चावलाको 'कयामत से कयामत तक' हो । ५ रुपैयाँ तिरेर हेरेको, त्यो पनि दाइले तिर्देको । मेरो जन्मथलो विराटनगरमा हिमालय टाकिज, जलजला हल र अरुण सिनेमा नामका तीनओटा सिनेमा घरहरू थिए । सबैमा हिन्दी सिनेमा बढी चल्थे । त्यसबेलाको सिनेमाको प्रचार–प्रसार शैलीले मलाई खुब तान्थ्यो । सिनेमा परिवर्तन हुनासाथ कुनै रिक्शा वा गाडीमा सिनेमाको पोस्टर टाँसेर दुई–चार जनाको समूह माइकिङ गर्दै हिँड्थ्यो ।
नयाँ सिनेमा लाग्दा होस् वा कुनै सिनेमाले एक हप्ता पूरा गर्दा ‘भव्य सफलताका साथ चलिरहेछ ...’ भन्दै उही शैलीमा विज्ञापन गरिन्थ्यो । हाम्रो घर (डेरा) सडक किनारमै भएकोले म हम्मेसी त्यो अवसर छुटाउँदिन थिएँ । तर सिनेमाको पोस्टर हेर्नु जति सजिलो कहाँ थियो र सिनेमा हेर्न ? धन्न पोस्टर हेर्ने टिकस लाग्थेन ।
तैपनि हलमा सिनेमा हेर्ने अवसर कसोकसो जुरिहाल्थ्यो । दिदीहरूले जुराइदिन्थे । सिनेमा हेर्न पाउनु नै ठूलो कुरा भए पनि मारधाडवाला सिनेमा परेन भने निकै बोर लाग्थ्यो । एउटा सिनेमा थियो ‘आखिर क्यो ?’। राजेश खन्ना र स्मिता पाटेलले अभिनय गरेको त्यो सिनेमा हेर्दा म हलमै निदाए । कारण, त्यसमा कुनै फाइट थिएन । फाइट गन्ने काइदा पनि गजबको थियो । ‘औलाद’ भन्ने सिनेमामा दुई पटक रेल दुर्घटनाको दृश्य र एक पटक झापड हानेको दृश्य आउँदा मैले त्यसलाई तीनओटा फाइट सम्झेको थिएँ । खै किन हो, म मात्र हैन मेरा जम्मै साथीहरूलाई पनि फाइटवालै सिनेमा मनपर्थ्यो ।
सिनेमा हेराइका सम्झनाहरू मन–मस्तिष्कमा टाँसिएर बसेका छन् । घरीघरी नोस्टाल्जिक बनाउन सल्बलाइरहन्छन् । कम्ता छन् त यादहरू...? सिनेमा हेर्न सिनेमा घर पछाडिको चोर बाटोबाट छिर्ने प्रयासमा दलदलमा फसेको, बोर्डरपारी जोगबनीको भिडियो हल पुग्न टन्टलापुर घाममा घण्टौँ हिँडेको । हाफटाइमसम्म ढोकाबाहिरै कुरेर कसोकसो सेकेण्ड हाफमा छिरेर साथीहरूलाई पूरै सिनेमा हेरेँ भनेर जोत हानेको । धेरै सकस पो भोगिएको रैछ ! जेहोस्, अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला पुराना दिनहरूको सम्झनाले रोमाञ्चित पार्छ ।
सिनेमा हेर्ने गजबका दिन चाहिँ किशोर कालमा प्रवेश गरेपछि आयो । यसपछि त घरका मान्छेहरूको अनुमति विना पनि स्कूल वा टोलछिमेकका साथीहरूसँग सिनेमा हेर्ने मौका जुराउने जुक्तिहरू आफै निस्कन थाले । कहिले घरकै सदस्यको खल्ती छामछुम गरेर त कहिले साथीभाइको कृपाले, सिनेमा हेर्ने अवसर जुराउन गाह्रो नहुने भयो । घरका सदस्यहरूको गाली र चुटाइ खाए पनि सिनेमा हेर्ने तिर्सना कदापि घटेन, बढिरह्यो । समय जति–जति बित्यो सिनेमा हेर्ने विकल्पहरू उति–उति थपिँदै गए ।
त्यो बेला मिथुन र धर्मेन्द्र मेरा आदर्श हिरो थिए । तिनका एक्सन सिनेमाहरू हामी छुटाउँदैन थियौँ । पछि, चउरमा तिनै सिनेमाका एक्सन टिप्सहरूको प्रेरणाले मिथुन वा धर्मेन्द्र बनेर खुब फाइट पनि खेल्थ्यौँ । कुनै अग्लो ठाउँबाट परालमा फाल हानेर होस् चाहे घरको बार्दलीबाट भुइँमा हाम फालेर, रील लाइफका हिरोहरू झै रियल लाइफमा पनि ‘हिरो’ बन्ने प्रयास हाम्रो दैनिकीको एउटा अभिन्न पाटो थियो ।
सिनेमाको तिर्सना मार्न भारतीय दूरदर्शन च्यानलले पनि निकै सघायो । छिमेकीकै घरमा भएपनि टोलभरका केही सिनेमाप्रेमीहरू नियमित रुपमा शुक्रबार र शनिबार राति अबेर आउने सिनेमा हेर्न सकेसम्म छुटाउँदैनथे । म पनि त्यसमा सामेल हुन्थेँ । यही मेसोमा मैले थुप्रै पुराना र क्लासिक हिन्दी सिनेमा हेरिभ्याएँ ।
२०५० तिर हाम्रो चोकमा नयाँ सिनेमा हल ईन्द्रचित्र मन्दिर बनेपछि सिनेमा हेर्ने नयाँ र सहज अवसर सिर्जना भयो । टोलछिमेकका दाइहरू काम गर्ने त्यो हल ‘आफ्नै’ जस्तो भयो । यो ‘लोकल’ हुनुको फाइदा थियो । करिब तीन–चार वर्ष त्यस हलमा लागेका सिनेमाहरू विशेष परिस्थितिमा बाहेक कहिल्यै छुटेनन् । हेरिसकेका सिनेमाको मन परेका दृश्यहरू मात्र हेर्न पाउने भिटो पावरसमेत मिल्यो । यसपछि त मन नपरेका सिनेमाहरू समेत धेरै पटक दोहोर्याएर हेर्न थालियो ।
हुँदाहुँदा घरमा भन्दा बढी हलमा बास हुने दिन आए । यसले व्यावसायिक हिन्दी सिनेमाका लगभग सबैजसो फर्मूलाबारे अनौपचारिक डिग्री नै हात लाग्यो भन्दा हुन्छ । विडम्बना ! यस्तो मान्यता दिने कुनै निकाय थिएन । तर चोकको त्यो नयाँ हलले औपचारिक पढाइ भने धुलिसात बनायो । म जेहन्दार विद्यार्थीबाट तीव्र गतिमा कमजोर र लफुवा विद्यार्थीमा परिणत भएँ ।
एउटा लामो कालक्रमपछि आज मेरा लागि सिनेमा, हिजोजस्तो मनोरञ्जनको साधन मात्र रहेन । यो जीवनलाई पढ्ने र संसारलाई देख्ने दृश्य साहित्य भएको छ । सायद, सिनेमाबारे यो दृष्टिकोण परिवर्तन मेरो निजी हैन । पूरै नेपाली समाजमा सिनेमाबारे पुरानो धारणा बदलिइरहेको छ । आज सस्तो मनोञ्जनभन्दा गम्भीर प्रकृतिका सिनेमामा रुचि भए पनि सिनेमासँग जोडिएका यादहरू मलाई निकै प्रिय छन् ।
आज, जिन्दगीलाई फ्लासब्याकमा लाँदा म सिनेमाका पात्रहरू मात्र देख्दिनँ, थुप्रै आत्मीय साथीसँगी र आत्मीय परिवेशका रिलहरू पनि फनफनी घुम्छन मनभरि, दिमागभरि ।
http://kala.setopati.com/blog-review/1411/ प्रभाकर गौतम
http://kala.setopati.com/blog-review/1411/ प्रभाकर गौतम
No comments:
Post a Comment