Saturday, July 25, 2015

परदेशबाट फर्कँदै कर्णदास

http://kala.setopati.com/blog-review/1469/

प्रभाकर गौतम 


'हे हे ला ला ला ला, ला ला ला...' 
२०५४/५५ तिर युवाहरू चिया पिउने टेबुल ठटाई यही आलाप गुनगुनाइरहेका भेटिन्थे चोकचोकमा। कर्ण दासको स्वरमा रहेको मध्यान्ह समूहको जिन्दगीको के भरोसा गीतको आलाप हो यो। यसको लयले जसै युवा पुस्तालाई लठ्यायो, उसै गरी शब्द गाम्भीर्यले पाको पुस्तालाई आकर्षित गर्‍यो। सुनेर युवाहरूले 'आहा!' भने भने पाका संगीतप्रेमीहरूले 'ओहो!'  
गीत त धैरै चल्यो नै। गीत चलेसँगै बजारमा अनेकौं हल्ला पनि चले। जस्तै, ''त्यो गायकलाई एड्स लागेकाले त्यस्तो निराशावादी गीत गाएको रे!'' हल्लाले गीतको चर्चा झनै बढायो।  
कतिपय कलाकारहरू पहिलो गीतको अतिशय चर्चाको भारीले यसरी थिचिन्छन् कि उठ्नै सक्दैनन्। तर कर्ण दासको सांगीतिक भण्डार जिन्दगीको के भरोसा गीतविना पनि पूर्ण छ। यो गीत त उनको यात्राको शुरुवाती दिनको परिचय मात्र हो। मध्यान्हको दोस्रो एल्बम दाखमा रहेको अनौठो व्यथा, एक्लो रात, ढुंगा फोर्न आदि गीतले कर्ण दासकोे उचाइँ झनै बढायो। यद्यपि मध्यान्ह समूहबाट उनीबाहेक अरु सदस्यले आफूलाई स्थापित गर्न सकेनन्। तेस्रो संस्करणसम्म पुग्दा नपुग्दै स्वाभाविक रुपमा मध्यान्हमा ग्रहण लाग्यो। समूह गायनबाट कर्ण दासको यात्रा एकल गायनतर्फ मोडियो। 
एकल गायनमा उनी झन् झन् सफल भए। उनको पहिलो एकल एल्बम व्यर्थै फेरि व्यावसायिक रुपमा खासै नचले पनि त्यही बेलादेखि उनले 'पप'बाट 'आधुनिक' गायनको उकालो चढे। चर्चाको शिखरमा रहेका रामकृष्ण ढकाल र कर्ण दासको संयुक्त एल्बम शिखर उनी सांगीतिक यात्राको शिखरतर्फ उक्लिँदै गएको प्रमाण बन्यो। २०६१ मंसिरसम्म आइपुग्दा उनले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भव्य एकल साँझ समेत गरेर प्रशंसा बटुले।
उनको दोस्रो एकल एल्बम पुरानो डुंगाले उनलाई चर्चा र सफलताको उत्कर्षमै पुर्‍यायो। अल्लारे गीत गाउने आरोप लागेको पप विधाबाट आएको ठिटोले गम्भीर भनिएको आधुनिक गायनका हस्तीहरूलाई पालैपालो उछिन्दै गयो। कलिलै उमेरदेखि जीवन दर्शनदेखि प्रेम वियोगसम्मका भावमा चुर्लुम्म डुबेर गाउने—लेख्ने र धुन भर्ने विशेषताले गर्दा उनका श्रोताहरू बढिरहे। तिनले समीक्षकहरूको मन जिते। उनले हरेक एल्बमबाट कहिले उकृष्ट गायन त कहिले उत्कृष्ट गीतको पुरस्कार हात पार्नु पनि यसैको प्रमाण हो। हिट्स एफ सबैभन्दा बढी पाउने कलाकार मध्ये उनी पनि एक हुन् ।
हुन त उनको पहिलो गीत जिन्दगीको के भरोसा नै चोरीको विवादमा पर्‍यो। जगजित सिंहको स्वरमा रहेको गजल जीवन क्या है चलता फिरता खिलौना है सुनेपछि यो आरोप निरर्थक लाग्दैन। तर उनकोे चोरीमा पनि खुबी थियो। यसै गीतको संगीत र गायन पक्षले उनको चोरी वा प्रभाव जे भनौं बिर्साइदियो। त्यसो त व्यर्थै फेरि एल्बममा पनि उनले जगजित र लताले गाएको हरतरफ हरजगह बेसुमार आदमी, फिर भी तनहाइयो का सिकार आदमी गजलसँग मिल्दोजुल्दो मान्छेको बस्तीले भरिएको दुनियालाई कसले सजायो गीत गाए। तर समीक्षकहरूको आँखा—कान यसतर्फ परेन। थाहा छैन, कति श्रोताहरूले यसको चाल पाए ? 
कर्ण दासको नेपाल छँदाको अन्तिम एकल एल्बम आधा सपना हो। संगीतबाट ठूलो सफलता हात लागे पनि त्यसबाट उनको आधा सपना मात्र पूरा भएको रहेछ। उनको बाँकी आधा सपनाको अध्याय सायद अमेरिकामा पूरा हुनु थियो। त्यसैले उनी उतै लागे। थुप्रै परदेशिएका युवा र तिनका परिवारका सदस्यहरूको मनोविज्ञान उतार्ने सशक्त र मार्मिक गीत गाइसकेका उनलाई एक दशकदेखि आफ्नै गीतका अंश—अंशले कति लखेट्दो हो !
कर्ण दासका सिर्जना र सांगीतिक यात्राको अध्ययन र मूल्यांकन धेरै हिसाबले महत्वपूर्ण छ। एकातिर, उनी नेपाली संगीत बजारले बामे सर्दै गरेको समयदेखि यसको व्यापक बिस्तार र पुनः संकुचनको अवस्थासम्मका साक्षी हुन्। अर्कोतिर, नेपाली समाजमा व्याप्त सामाजिक–राजनीतिक समस्या, हत्याहिंसा, गृहयुद्ध, अशान्ति र अस्थिरताका भुक्तभोगी पनि हुन् । 
उनले गीत गाएको समयमा मुलुकमा सरकारी र माओवादी विद्रोही दुवै पक्षको हिंसा र अराजकताको उत्कर्षै थियो। उनले समयको आवाजलाई चिने। मानव संवेदनालाई बुझे। उनका सिर्जनाहरूमा त्यसको प्रभाव सशक्त रुपमा भेटिन्छ। अझ अत्यन्तै प्रभावकारी ढंगले अभिव्यक्त गरेकाले उनलाई धेरैले सुन्न कर लाग्यो। उनी सफल हुनुका धेरै कारणमध्ये उनको गीतको विषयवस्तु पनि मुख्य थियो। उनले माझी दाइको वियोगदेखि माटो र झण्डाको महिमासम्म गुनगुनाए । 
एकल महिला, वृद्ध आमा, टुहुरा नानी, लाहुरे, सिपाही, दलित र प्रेम वियोगमा परेका युवाहरू सबैजसोको मर्मलाई आफ्नै अनुभूति र भोगाइ जसरी आत्मसात् गरेर गीत बनाए। पीडाकै सही, ती गीतलाई मीठो धुन र आवाजमा घोलेर सुनाए। दिनहुँ सयौं युवाहरू विदेशिएको परिस्थितिमा आमाहरूले आफ्ना सन्तानलाई कुर्दाको पीडाको अभिव्यक्ति दिने परदेशबाट छोरो फर्केन बोलको गीत होस् चाहे निराशाले छोपेको बेला आशाको सञ्चार गर्ने ठूला ठूला महल होइन सीप सिकाउने झुपडी देऊ उनले समसामयिक विषयवस्तुलाई सरल तर कलात्मक ढंगले प्रस्तुत गरे । 
बन्दका बेलासमेत हाम्रा सञ्चारकर्मीले विरलै बजाउने बन्दकै विषयमा बनेको विद्रोही गीत बन्द कति बन्द, बरु आशाहरू गरिदेऊ बन्दको अन्तराको एउटा अंश यस्तो छ :  'सक्छौं भने गरिदेऊ बन्द घामको किरणलाई, गरिबको चुलो किन बन्द, प्यासीको तीर्खा किन बन्द?'।  यस्तै आक्रोशपूर्ण र मार्मिक प्रश्न उनले मान्छे–मान्छेबीचको भेदभावको कारक बनेको छुवाछूत जस्तो कुप्रथाका विषयमा पनि गरेका छन् तिमी जस्तै हाँस्ने तिमी जस्तै रुने, तिमी जस्तै थाक्ने तिमी जस्तै दुख्ने, मान्छेलाई नै मान्छेले नै छुन हुन्न भन्दा कस्तो लाग्छ होला ? 
कर्ण दासको प्रतिभामा आमाको नृत्य र संगीतप्रतिको रुचिको प्रभाव प्रशस्त पाइन्छ। उनकी आमा माइतीघरमा माला सिन्हाको छेवैमा नाचेकी थिइन्। बुबा भारतीय गोर्खा राइफल्समा थिए। बुबाको कामले गर्दा उनको दिल्ली आनाजाना भइरह्यो। त्यहाँ उनको बसउठ दार्जिलिङका संगीतकर्मीहरूसँग भयो। उनले सांगीतिक जग यही बेला हाले। सायद त्यसैले उनको उच्चारणमा बेलाबेला हिन्दी टोन पनि आएको आरोप लाग्ने गरेको छ।
२०४६ पछिको खुला परिवेशमा मुलुकभरका युवा समूहले रेडियो नेपाल नछिरी आफैंले आफैंलाई परीक्षण गर्ने अवसर पाए। यस्तो अवसरको सबैभन्दा बढी फाइदा पोखराका युवाले उठाए। त्यसको नेतृत्व सुनिल थापा, अमृत गुरुङ, विवेक श्रेष्ठ र कर्ण दासहरूले गरे। 
आवाजमा पृथकता, शब्दको गाम्भीर्य र संगीतको गहिराइ जस्ता विशेषताले उनलाई स्थापित गरायो। भरपुर आवाज खेलाउनु उनको विशिष्ट शैली हो। आफैं लेख्ने, धुन भर्ने र गीतको मर्मलाई छामेर—जोखेर गाउने क्षमता उनको खास विशेषता हो। उनलाई कुनै पनि सिर्जनाका लागि अरुको मुख ताक्नुपर्ने बाध्यता थिएन। तैपनि उनले व्यवसायिक बन्न अन्य धेरै स्रष्टासँग सहकार्य गरे। बडेबडे नामधारी गीतकार र संगीतकारसँग नाम जोड्नुपर्ने बाध्यता उनलाई थिएन। बरु औसत गीतकारले पनि उनको आवाज र धुनको बुई चढेर चर्चा बटुले। 
आफू बाँचेको समय र समकालीन मान्छेका संवेदनालाई आफ्ना सिर्जनामा समेट्न सक्ने सामर्थ्य नै उनको लोकप्रियता र स्तरीयताको बन्यो। चलनचल्तीको माया प्रेमका गीतबाहेक उनले सबैभन्दा बढी परदेशिनुको पीडाबारे नै गीत गाएका छन्। कालान्तरमा यस विषयमा उनले गाएका धेरै गीत उनकै जीवन भोगाइसँग मेल खानु संयोग पनि हो र वियोग पनि।
जिन्दगीको अर्को नाम विरोधाभास पनि हो। कर्ण दास यस्तै विरोधाभासबाट गुजे्रेका कलाकार हुन्। मानवतावाद, आदर्श, स्वदेश प्रेम, जीवन दर्शन, समाज र समय चेतना, दार्शनिकता आदि गुण बोकेका उनका सिर्जना सुन्दा जो कोहीलाई लाग्न सक्छ यस्तो प्रतिभा भएको मान्छे त विदेश जान्छ भने, मेरो के काम? उनी भोको पेटले आदर्श र प्रेमको भाषा जान्दैन भन्ने उदाहरण पनि हुन सक्छन्। 
देशभक्ति माटो, सगरमाथा, झण्डा आदिमा प्रतिविम्बित त हुन्छ, तर त्यति मात्रले देश बाँच्दैन। देश बाँच्न देशभित्रका मानिस बाँच्नुपर्छ। यही बाँच्ने जीजिविषामा आदर्शलाई झ्यालबाट टाढा मिल्काएर वा खल्तीमै लुकाई ऊ परेदेशी बन्छ। यो यस्तो विरोधाभास हो जसमा कर्ण दास र उनकै छिमेकी विवेक श्रेष्ठ वा सँगसँगै केही गीत गाएका सपनाश्री जस्ता धेरै प्रतिभाहरू नमर्नैका लागि बाँचिदिन्छन्। तिनका सिर्जनामा जहीँ तहीँ देश भेटिन्छ तर उनीहरू स्वयंचाहिँ देशमा भेटिँदैनन्। आखिर देशको भूगोलभित्रै बस्नु देशलाई बढी माया गर्नु र देशको माटोबाहिर बस्नु देशप्रेम नै नभएको प्रमाण नहुन पनि त सक्छ। कतै हामी बाहिर जाने …सुअवसर' नपाएर मात्र …देशभक्त' बनेका पो हौं कि?
संगीत उनको जीवनको नशा र शरीरको नसा दुवै रहेछ क्यारे। अमेरिकामै रहेर पनि उनले एल्बम निकाले। धेरै उदासी र विरही भाकामा जम्ने कर्ण दासले पछिल्लो एल्मब प्रीतमा केही रोमान्टिक गीत गाएर आफ्नो पहिचान र सामर्थ्य दुवै अझै फैलाए। 
सफलताको चुचुरो छिचोल्ने लागेका बेला अचानक जब कर्ण दास अमेरिका जाने समाचार आयो, उनका प्रशंसकहरूले उनकै गीत गाएर मनैमनबाट उनलाई प्रश्न गरे होलान्, 'निर्मोही कमेरो भित्तोले, गिज्यायो कि तिमीलाई? सुकुले बिछ्यौनाले, बिझायो कि तिमीलाई?'
उता, कर्ण दासले पनि त्यही गीतको अर्को अंश गाउँदै मनैबाट जवाफ दिएथे होलान्, 
'मन थिएन परदेशी हुनलाई..'
र, यता उनकी आमा सधैं छोराकै भाका हाल्दै पीर पोख्दि हुन् ,'आउँछु आउँछु भन्थ्यो, चारैधाम घुमाउँछु भन्थ्यो...परदेशबाट छोरो फर्केन।' 
एक दशकपछि नै सही कर्ण दासले बोले, 'पीर नलिएस् आमा, परदेशबाट छोरो फर्कंनै लाग्यो।' कर्ण दासको आह्वानले श्रोताहरूले पनि भन्दै होलान्, 'प्रिय सर्जक! जैलै आए पनि तिम्लाई सधैं स्वागत।''

No comments:

Post a Comment