पञ्चायती शासन ढलेको भर्खरै २५ वर्ष पूरा भएको छ । निर्वाचित प्रधानमन्त्रीलाई सत्ताच्यूत गरी सुरु भएको पञ्चायती पद्दतिलाई राजा महेन्द्रले पटक पटक मातृभूमि, राजसंस्था र माटो सुहाउँदो प्रजातन्त्रसँग जोडेर व्याख्या गरेका थिए । त्यस्तो राष्ट्रियताको व्याख्या राजसंस्थाको रक्षा र एक जाति, एक भेषको नीतिको सेरोफेरोमा घुम्यो । अझै घुमिरहेको छ ।
तीसवर्षे निरंकुश शासन अवधिभर पञ्चायत सुहाउँदो राष्ट्रियताको प्रचार प्रसारको प्रमुख हतियार राज्य नियन्त्रित रेडियो नेपाल बन्यो । पञ्चायती राष्ट्रियता प्रवद्र्धनको पहलकदमी सांगीतिक फाँटमा पनि रेडियो नेपालले नै गर्यो । राज्यका सबै संयन्त्रले शासक वर्गको स्वार्थपोषण गर्नुपर्ने समयमा गीतसंगीतलाई पनि यसैको हेतु प्रयोग गरिनु स्वाभाविक थियो । रेडियो नेपालबाट प्रसारण हुने ‘राष्ट्रिय गीत’हरूको विषयवस्तुलाई पनि पञ्चायती शासन सुहाउँदो रंगमा भिजाइयो ।
पञ्चायती राष्ट्रियताको निर्माण र प्रचारमा राज्यका विभिन्न पदमा बसेका कवि तथा गीतकारहरूको सक्रियता बढ्ने नै भयो । राज्यका विभिन्न ठूला पदमा र रेडियो नेपालका कुर्सीमा बहाल कतिपय कमसल लेखकसमेत राष्ट्रवादी कवि\गीतकार बने । यसको विरासत थाप्ने काम गीतकार बनेका राजा जी. शाहसम्मले गरे । २०५८ मा ज्ञानेन्द्रको उदयपछि र संकटकालका बेला पनि सरकारी सञ्चार माध्यममा पञ्चायती शैलीकै पुनरावृत्ति भएको थियो । उनका गीतहरू बढी बजेको समय यही थियो ।
२०४६ को परिवर्तनपछि रेडियो नेपालमा पञ्चायतको स्तुति गाउने राजा, राजमुकुट र पञ्च शब्द भएका धेरै राष्ट्रिय गीत स्वतः खारेज भए । पञ्चायतकालभरि अराष्ट्रिय र कम्युनिस्ट ट्याग लागेका गरिब, शोषित र आममान्छेको प्रतिनिधित्व गर्ने प्रतिबन्धित जनमुखी भाकाहरू यसपछि फुकुवा भए । तर २०४६ सालको जनआन्दोलनसँगै पुराना राष्ट्रिय गीतहरू मात्र हैन, राष्ट्र गान पनि विवादमा आयो । तत्कालीन संविधान सुझाव आयोगमा मोदनाथ प्रश्रितले नयाँ राष्ट्र गानको मस्यौदासमेत बुझाएका थिए । तर पुरानो नयाँ राष्ट्र गान फेर्न २०६२\६३ सालको आन्दोलन निर्णायक बन्यो । र, ‘श्रीमान् गम्भीर नेपाली’को ठाउँ ‘सयौं फूलका थुँगा हामी’ले लियो । नयाँ राष्ट्र गान १ हजार २ सय ५२ रचनामध्येबाट छानिएको हो । यसको चयनका लागि चौध सदस्यीय कार्यदल गठन भएको थियो ।
राष्ट्रिय’ गीतहरूको विवाद बेलाबेला बल्झिरहन्छ । हालै यस्तै एउटा विवाद कालीप्रसाद रिजालका शब्द र रामकृष्ण ढकालको स्वर रहेको ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ बोलको गीतमा पनि देखिएको छ । विवादको चरम रुप सुरुमा फेसबुकमा देखियो, अहिले यो छापामाध्यममा छाएको छ । फागुन दोस्रो साता काँकडभिट्टामा सम्पन्न ‘कला साहित्य उत्सव ०७१’ को सीमान्त सौन्दर्य सेसनमा लेखक आहुतिले बोलेको कुरामा समर्थन जनाउँदै अर्का लेखक राजन मुकारुङले ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ जस्ता गीतहरुले मधेशी राष्ट्रियतालाई सम्बोधन नगर्ने आशयको विचार फेसबुकमार्फत सार्वजनिक गरे । फेसबुकमा पोस्ट भएको धारणापछि मुकारुङलाई जातिवादी र राष्ट्रियताविरोधी भएको आरोप लगाइयो । ‘दमिनी भीर’ उपन्यासका लागि पाएको मदन पुरस्कार फिर्ता गर्नुपर्नेसम्मका प्रतिक्रिया आए । फेसबुकमा आएका प्रतिक्रियाहरू अशिष्ट बन्दै गएपछि उनी स्टाटस हटाउन बाध्य भए । आहुतिभन्दा बढी आलोचना उनले खेप्नुपर्यो । त्यसैले स्पष्टिकरणका लागि उनले अनलाइनखबरडटकममा अन्तर्वार्तै दिए ।
त्यसपछि राष्ट्रियता र संगीत विषयमा अनलाइन पत्रिकाहरुमा मात्रै हैन दैनिक तथा साप्ताहिक छापामाध्यममा पनि पक्षविपक्षमा लेख आउने क्रम बढ्दो छ । कान्तिपुर कोसेलीमा प्रकाशित युग पाठकको ‘राष्ट्रियताको रकमी राग’, कवि संगीतश्रोताको इसमता डटकममा प्रकाशित ‘‘‘राष्ट्रिय’ गीत गाइरहेका नवपञ्चहरू’’, नेपाल साप्ताहिकमा प्रकाशित गीतकार रमण घिमिरेको ‘ती राष्ट्रिय गीत’, नेपाल साप्ताहिककै अर्को अंकमा संविधानविद् विपिन अधिकारीको ‘राष्ट्रभक्तिबिनाको राष्ट्र गान’ शीर्षकका लेख कालीप्रसादको गीतबारेको टिप्पणीकै सन्दर्भमा आएका हुन् ।
संगीतश्रोताबाहेक अरुले कालीप्रसादको गीतमा भएको विवादलाई सोझै र स्पष्ट उल्लेख नगरी घुमाउरो शैलीमा आफ्ना मत प्रकट गरेका छन् । अधिकारीसम्म आइपुग्दा बहस राष्ट्रिय गीतबाट दोस्रो जनआन्दोलनको जगमा स्थापित नयाँ राष्ट्र गान परिमार्जन गरौं वा अर्को राष्ट्र गानकै सिर्जना गरौं भन्नेसम्मको आग्रहमा पुगेको छ । विचारणीय कुरा, वर्तमान राष्ट्र गानको परिमार्जन वा विस्थापनको माग यही बेला किन आएको होला ? अझ रोचक त के भने, संगीतश्रोताले उदाहरण दिई आलोचना गरेका गीतलाई नै अधिकारीले राष्ट्रभक्तिको अनुपम नमुना भएका गीतका रुपमा प्रस्तुत गरेका छन् । नयाँ राष्ट्र गानको आलोचना गर्ने अधिकारी पहिलो व्यक्ति नै त हैनन्, तर यत्तिका वर्षपछि अहिले आएर यही समयमा उनको यस्तो विचार आउनु अर्थपूर्ण छ ।
कालीप्रसादको गीतमा समस्या होला नहोला, तर उनको सार्वजनिक छविमा भने ठूलै विवाद छ । पञ्चायतकालीन समयमा सरकारी पदमा बसेका र पञ्चायतको समर्थन गरेकाले उनको गीतलाई उदाहरण बनाइएको हुनसक्छ । राष्ट्र गानका लागि प्रस्तावित गीत भनेर पत्रिकामा छपाएका बेला उनी पञ्चायतको सेवक भएको आरोप लगाइएको थियो । राष्ट्रियताको विवाद पूर्णतः वैचारिक भएकाले स्रष्टाको विगत र वैचारिक धारलाई पनि मूल्याङ्कनको आधार बनाइँदै आएको पाइन्छ । तर पञ्चायतकै समयमा निस्किएको उनकै गीत ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’ बोलको गीतलाई पनि रेडियो नेपालबाट प्रसारण हुन साह्रो परेको थियो । त्यस गीतलाई पञ्चायती समर्थकहरूले व्यवस्थाको विरोधी गीतको रुपमा अथ्र्याएका थिए । नेपालमा इतिहासका विभिन्न चरणमा एउटै कलाकारले शासक रिझाउने स्तुति गान र शासक चिढाउने जागृतिमूलक गीतहरू गाउने लेख्ने परम्परा रहेको पाइन्छ । त्यसैले एउटै गीतका आधारमा कुनै स्रष्टाप्रति धारणा बनाइहाल्नु पनि त्रुटिपूर्ण हुन सक्छ ।
यो बहसले राष्ट्रिय गीत र राष्ट्र गानको विषयमा भएको विवादलाई फेरि सतहमा ल्याइदिएको छ । ‘मेरो देश’ नामक एल्बमसमेत निकालेका नेपथ्य समूहका लोकप्रिय गायक अमृत गुरुङले नेपाली राष्ट्रिय गीतमा समाहित राष्ट्रियता\राष्ट्रवादका दुईथरी विशेषतालाई पर्गेल्दै भनेका छन्, ‘एकथरी राष्ट्रिय गीतहरू संकीर्ण राष्ट्रवादमा गौरव गर्छन्, असुरक्षित राष्ट्रियता जसले पूर्खाको बहादुरी र बलिदानमा गर्व गर्छन् । डाँफे, मुनाल, सगरमाथा र लुम्बिनी आदिको बखान गर्छन् ।’ अर्को थरी राष्ट्रिय गीतहरूले हामीमा गहिरो भावनात्मक अपनत्वको भाव जगाउँछन्, जुन हाम्रो जरा र जन्मथलोको प्रेमसँग गाँसिएको छ ।’ उनले आफू दोस्रो खालको संगीतमा विश्वास राख्ने भन्दै ‘म जे गाउँछु, त्यही नेपाली हो, मसँगै नेपाल पनि गाउँछ’ भन्ने फराकिलो विचार राखेका छन् ।
गायक अमृत गुरुङले गायकका रुपमा खाँटी नेपाली भएको प्रमाणित गर्न कुनै कसरत गर्नु नपर्ने बताएका छन् । ‘पञ्चायतकालीन तमाम राष्ट्रिय गीतको मर्ममा पसेर हेर्दा राष्ट्रियताको यस्तो मानचित्र भेटिन्छ, जसले बहुसंख्यक जनतालाई राष्ट्रियताबाटै विमुख गराउँछ’ लेखक युग पाठकको मतले पनि गुरुङसँग तादात्म्यता राखेको छ ।
अहिलेको विवादलाई बुझ्न गुरुङको र पाठकका तर्कले सघाउँछन् । पञ्चायतकालीन समयमा मात्र नभई त्यसपछि रचिएका धेरै राष्ट्रिय गीतलाई केलाउँदा पहिलो धारका गीतको वर्चस्व छ । सञ्चारमाध्यममा पनि तिनकै बाहुल्य छ । त्यसैले पक्ष—विपक्षमा चर्को मतभेद हुने गरेको हो । यस्तो विवाद राजनीतिक ध्रुवीकरण बढेको समयमा झनै बल्झिने गरेको छ । पञ्चायतको प्रत्यक्ष पक्षपोषण गर्ने गीतहरू, जसमा राजा, राजमुकुट वा पञ्च शब्द थिए, ती किनारा लागे पनि त्यसै बेला रचिएका ‘राष्ट्रिय’ गीत धेरै थिए । स्रोता र त्यस्ता गीत—संगीतबीचको नाता दसकौं पुरानो भइसक्यो । ती गीत अझै बज्छन् । सबैजसो लोकप्रिय गायक गायिकाले गाएकाले यस्ता कतिपय गीत अद्यापि स्रोताको प्रिय सूचीमा पर्छन् । विभिन्न माध्यमबाट गीत सङ्गीत पटक पटक दोहोरिइने हुनाले त्यसको प्रभाव अन्य विधाभन्दा गहिरो हुन्छ । मन पराइएका गीतलाई यो वा त्यो जुनसुकै कारणले आलोचना गरे पनि आमस्तरमा त्यसको खारेजी सहजै सम्भव छैन । त्यसैले ती गीतको पक्ष—विपक्षमा ठूलै जमात रहेको पाइन्छ ।
सबै गीत शासककै स्वार्थकेन्द्रित थिए भनेर किटान गरिहाल्ने आधार पनि छैन । समीक्षक अभि सुवेदी भन्छन्, ‘त्यसबेला राष्ट्रियताको एउटै विम्बको वरिपरि गायन र गीत लेखन गर्ने र गर्न लगाउने सांस्कृतिक नीति नै थियो ।’ धेरैले त्यस्तो माग र आग्रहबमोजिम गाए, लेखे । तर नारायणगोपाल, गोपाल योञ्जनहरूका सिर्जनामा त्यस्तो कृतिमता नभएको उनको विश्लेषण छ ।
यस्तै बुझाइ गीतकार रमण घिमिरेको पनि छ । ‘पञ्चायतको महिमा नगाई राष्ट्रियताको शाश्वत अर्थ बोकेका राष्ट्रिय गीतहरू पनि रचिएका थिए । तर, तिनलाई समग्र राष्ट्रको होइन, एउटा व्यवस्थाभित्रको राष्ट्रियतामा मात्र साँघुर्याउने काम गरियो ।’ केही गीतको राष्ट्रियता कुन कित्तामा पर्छ, छिनोफानो गर्न असम्भव नै छ । केहीले गोपाल योञ्जनको मेरो टोपीलाई पञ्चायती राष्ट्रियता बोकेको गीत भन्छन् । तर यस गीतबारे गोपाल योञ्जनले एउटा साप्ताहिकमा मेरो टोपी गीत रेकर्ड गर्ने बेला यसलाई शासकविरोधी गीत ठानिएको र झमेला गरिएको अनुभव पोखेका छन् ।
हुन त विवाद पञ्चायतकालीन अवधिमा रचिएका राष्ट्रिय गीतमा मात्र सीमित छैन । २०४६ साल र २०६२\६३ सालपछिको प्रजातान्त्रिक\लोकतान्त्रिक खुला परिवेशमा रचिएका वा रेकर्ड भएका गीतसमेत विवादित बन्दै आएका छन् । गीत नयाँ भए पनि पुरानै चेतनाद्वारा निर्मित प्रतीक र कथ्यको प्रयोग गरिएका कारण यस्ता गीतको आलोचना भइरहेको हो । यो पञ्चायती राष्ट्रियताकै विरासत धान्ने प्रयत्न हो ।
विभिन्न आन्दोलनका क्रममा पुराना प्रतीक, राष्ट्रिय विभूति, राष्ट्र गान आदि विवादमा मुछिँदै आएका छन् । यस्तै विवादका कारण ‘राष्ट्रिय रुपमा विवादास्पद कुनै पनि प्रतीक वा विम्ब संयोजन भएको गीतलाई सचेततापूर्वक पन्छाएको’ राष्ट्र गान चयन कार्यदलका एक सदस्य कवि\गीतकार श्रवण मुकारुङ बताउँछन् । राष्ट्र गान चयनमा राजनीतिक निर्णय हुने भए पनि राष्ट्र प्रेमका भावना अभिव्यक्त गर्न जो कोही स्वतन्त्र छन् । त्यसैले कुनचाहिँ सच्चा र कुनचाहिँ कच्चा राष्ट्रिय गीत हो भन्ने दाबी र फरक दृष्टिकोणको द्वन्द्व जारी रहने आँकलन गर्न सकिन्छ ।
No comments:
Post a Comment