Friday, January 4, 2013

पुस्तक चर्चा : कथाकी पात्र



सुबिन भट्टराईको पहिलो कृति ‘कथाकी पात्र’ मा शैली र प्रस्तुतिमा नयाँपन पाइन्छ । यस सङ्ग्रहमा जम्मा तेह्र ओटा कथाहरु संकलित छन् । अधिकांश कथाहरु महिला–पुरुषबीचको सम्बन्ध, मित्रता, माया–प्रेम आदिको सेरोफेरोमा बुनिएका छन् । यी सम्बन्धहरुले उब्जाउने आकर्षण, रोमाञ्च, घृणा, द्वेष र अन्योलमय स्थितिको चित्रणमै धेरै कथाहरु केन्द्रित छन् । कथाहरु पढ्दा, संस्मरणात्मक निबन्ध पढिरहेको भान हुन्छ । यसले उपन्यासको स्वादसमेत दिन्छ । सबै कथाहरु ‘म’ पात्रले बोलेको छ । यस्तो लाग्छ, ‘म’ पात्र लेखक स्वयं हो । कथाकारले आभार व्यक्त गर्ने क्रममो कथाका वास्तविक पात्रलाई धन्यवाद भनेर उल्लेख गर्नुले पनि कथाहरु लेखकको जीवनसँग नजिक छ कि भन्ने सङ्केत गर्छ । 

कथाकारले केही कथाहरुमा राम्रै प्रयोग गरेका छन् । औडाहा र औडाहा–२ शीर्षकका कथाहरुमा एउटै कथालाई फरक फरक दुई भिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । यी कथाहरु शीर्षकका हिसाबले फरक–फरक छन् तर विषयवस्तुका आधारमा एउटै छन् । कथालाई पुरुष र महिला पात्रको भिन्न–भिन्न दृष्टिकोणबाट रचिएकोले प्रस्तुति राम्रो छ । विषयवस्तु र फरक शैलीका कारण यी दुई कथा पढ्दा बेग्लै मजा आउँछ । लगभग यस्तै शैलीमा थप दुई कथाहरु पनि लेखिएका छन्, ‘मलाई मन परेको साथी’ र '‘मलाई मन नपरेको साथी’ । यी दुई कथाहरु पनि विषयवस्तुका हिसाबले तुलनायोग्य छन् । तर पनि अर्कोको तुलनामा 'मलाई मन परेको साथी’ नै राम्रो छ । प्रस्तुतिको सशक्तताका हिसाबले 'अर्काकी स्वास्नी’ पुस्तककै उत्कृष्ट कथा हो । शुरुदेखि अन्तसम्म पाठक हृदयमा कौतूहल जगाउन यो कथा सफल छ । प्रेम र सम्बन्धको सेरेफेरोमा रचिएका धेरै कथाहरुले आधुनिक युवा मनोविज्ञान उद्घाटन गर्न सघाएको छ । पुस्तकको शीर्षक चयन गरिएको कथा सामान्यतया अन्य कथाभन्दा उत्कृष्ट होला वा त्यो कथा विशेष होला भन्ने अपेक्षा पाठकमा हुन्छ । तर यहाँ ‘कथाकी पात्र’ शीर्षकको कथा औसत खालको छ । ‘अन्तराल’, कथा अनावश्यक लम्बाइएको छ । 

थुपै्र सबल पक्षका बाबजुद पुस्तकमा धेरै कमजोरीहरु पाइन्छ । भाषा र शैली राम्रो हुँदा हुँदै पनि एउटै ढर्रामा सबैजसो कथाहरु लेखिएकोले कतिपय ठाउँमा पुनरावृत्तिको समस्या टड्कारो बनेको छ । अन्तर्वस्तुमा विविधता हुँदा हुँदै पनि भाषाशैली र प्रस्तुतिमा विविधताको खाँचो देखिन्छ । हुनसक्छ, नयाँ प्रयोगका लागि लेखकले जानीजानी यस्तो गरेका पनि हुन् । केही वाक्यांश वा थेगो कथाकारलाई यति प्रिय छ कि धेरै पकट दोहोरिनाले पाठकलाई भने अप्रिय लाग्छ, जस्तै, ‘हुँदो हो’ । मानौँ, लेखक यो थेगोको प्रयोग बिना कुनै कथा लेख्नै सक्दैनन् । पुस्तकमा सबैभन्दा ठूलो समस्या वाच्य÷काल चयनमा देखिन्छ । धेरै वाक्यहरुमा ‘..एको’ आउँछ । यो समस्या सबैजसो कथालाई पूर्ण भूतकालमा लेखेर उत्पन्न भएको हो । जबकी कथाहरु सामान्य भूतकालमा लेख्नु राम्रो मानिन्छ । सम्पादनको अभाव सबै कथामा खड्किन्छ । यी तमाम कमजोरीहरु नभएको भए पाठकलाई कति जाति हुँदो हो ।

तथापि, पहिलो कृतिबाटै कथाकार भट्टराईले कथा–आख्यान लेखनमा राम्रो सम्भावना देखाएका छन् । पुस्तक पठनीय छ । यो कथा सङग्रहको तेस्रो संस्करण चाँडै बजारमा आउँदैछ ।

कृतिM कथाकी पात्र

लेखकः सुबिन भट्टराई
प्रकाशकः पाँचपोखरी बुक स्टोर
मूल्यः रु= १००
पृष्ठः ११४
                                                                                   ।प्रभाकर गौतम

No comments:

Post a Comment