Thursday, January 24, 2013

गजल–संगीत विमर्श




निबन्ध संग्रह ‘आफ्नै आँखाको लय’ मा ‘लेखक बन्न रहर गर्नेलाई टिप्स’ शीर्षकको लेखमा खगेन्द्र संग्रौलाले ८ ओटा गुरुमन्त्र वाचेका  छन् । त्यसमध्ये पहिलोमै बुँदामै उनी भन्छन् : ‘गजल नलेख्नु ।’ ‘...गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’

एकातर्फ, संग्रौलाको यो कटाक्ष पढ्दा रमाइलो लाग्छ । अतिशय भावुकता पोख्न अध्ययन र सीपविनै साहित्यमा गजल लेखक बनिटोपल्नेहरुलाई लक्षित संग्रौलाको दनकप्रति मेरो पनि समर्थन छ । प्राविधिक रुपमा गजल लेख्नेहरुाई मात्र हैन जुनसुकै विधामा कलम चलाउनेलाई दनक दिनै पर्छ । भलै, जिन्दगीमा त्यस्तो भावुकताको असरमा परी मैले पनि कनिकुथी गजल कोर्ने प्रयास गरेको किन नहुम् ।

अर्कोतर्फ, गजल जस्तो सुन्दर र शक्तिशाली विधालाई यसरी भित्तामै पुर्याउने टिप्पणी पढ्दा मन कटक्क खान्छ, पीर लागिरहन्छ । जब जब म उर्दू-हिन्दी गजलहरु सुन्छु गजल विधाप्रतिको सम्मान ह्वात्तै बढ्छ । गालीब, फैज, मीर, सुदर्शन फाकिर, निदा फाजली, बसिर बद्र, कैफी आजमी, गुलजार, जावेद अख्तर आदिका गजल संग्रौलाले इंगित गरेको गजलभन्दा धेरै पृथक छ । मिठो छ । त्यसमा कला छ, साधन छ र छ दर्शन पनि । मेरो मन तृप्त हुन्छ, जब जगजित सिंह, चित्रा सिंह, गुलाम अली, मेहन्दी हसन, भुपिन्दर सिंह, अनुप जलोटा, आशा भोसले आदिका स्वर र गायकीको स्पर्श पाउँछु । ती गजलमा पाइने जीवन दर्शन, प्रकृतिसँगको संवाद, काव्यिक मिठास र प्रेमरस वा प्रेमपीडा जब संगीतमा घोलिन्छ म त्यसैत्यसै लठ्ठिन्छु । र, मनमनै भन्छु जो यसमा लठ्ठिँदैनन् ती सब् लठुवा हुन् ! थाहा छैन संग्रौला यसमा लठ्ठिन्छन् कि लठ्ठिँन्नन् कुन्नि ?
उर्दू गजल मीठो हुन्छ तर यसको लोकप्रियता र उचाइँ बढाउनमा संगीत (कम्पोजिसन) र स्वर (गायकी)ले अत्यन्तै महत्वपूर्ण स्थान राखेको छ । अझ महत्वपूर्ण रुपमा गजल लेखन, वाचन र गायनको लामो परम्पराले ठूलो विशेष योगदान गरेको छ । लामो समयदेखि हिन्दी चलचित्रमा समेत गजलले स्थान पाएकोले यसको पहुँच र लोकप्रियता झनै व्यापक भएको हो ।

तर नेपाली गजललाई संगीत विधासँग जोड्ने प्रयास कमजोर छ । जुन अनुपातमा गजल लेखिएका छन् त्यसको आधारमा भन्दा नेपालमा गजल गाइन शुरु नै भएको छैन । गजल एल्बम भनेर निकालिएका एल्बमहरु गीतभन्दा पृथक स्वाद दिन सक्षम भएको उदाहरण कमै छ । पक्कै, नेपालीमा लेखिने गजलहरु गुणात्मक कम छन् तर गायक-संगीतकारले खोज्ने हो भने लिखित राम्रा गजलको अभाव छैन । नयाँ नयाँ प्रयोग गर्न चाहने संगीतकार-गायकको अभाव नै यसको मूल समस्या हो ।

नेपालमा गजलको कम्पोजिसन र गीतको कम्पोजिसनको ढर्रा एउटै छ । जबकी गजलमा एउटै शेर वा काफियालाई दसौँ तरिकाले गाउन सकिन्छ । गजलको खासियत नै यही हो, शब्द शब्द खेलाएर जादू वा रोमाञ्च पैदा गराउने । केही अपवाद हुन सक्छन्, तर नेपालका प्रायः संगीतकारहरुले यस्तो क्षमता प्रस्तुत गर्न सकिरहेका छैनन् । न त गायकहरुमा नै यस्तो रुचि र क्षमता देखिन्छ । नेपाली चलचित्र संगीतमा समेत गजलको प्रयोग भइहाल्ने सम्भावना कमै छ ।

नेपाली गजल पनि सुन्दर रुपमा संगीतबद्ध गर्न सकिन्छ, गाउन सकिन्छ । स्रोताहरुलाई त्यसले नौलो मिठास र अद्भूत आनन्द दिन सक्छ । उदाहरणका लागि, ज्ञानुवाकर पौडेलका केही गजलहरुमा गैरे सुरेशको संगीतले यस्तो सम्भावना देखाएको छ । । शक्ति वल्लभ, दीपक जंगम, प्रवीण बराइली,  महेश खड्काका संगीतहरुले पनि गजलको फ्लेवर दिएकै हो । उदय सोताङ, प्रदिपराज पाण्डे, जगदिश समाल, अन्जु पन्त, शिव परियार, सत्यराज–स्वरुपराज आचार्य, कर्ण दास आदि कलाकारहरुको गायकीले पनि केही रचनामा गजलोन्मुख शैली पछ्याएकै हो । ‘कवाली फ्लेवर’ भएका नेपाली गीतहरु पछिल्लो समयमा लोकप्रिय समेत भएका छन् । अहिले पनि केही रेस्टुरेन्टहरुमा गजल गाइराखेका छन् कलाकारहरु । तर त्यसमा नेपालीभन्दा उर्दू-हिन्दी गजलकै माग बढी छ ।

गजललाई ‘गजल’ जसरी नै संगीतबद्ध गर्न र गाउनका लागि कवि, संगीतकार र गायकबीचको सम्बन्ध वा संगतको पनि विशेष महत्व छ । गजल लेखनको स्तर तब मात्र बढ्छ जब यसले राम्रो संगीत र गला पाउँछ । धून र स्वरसहितको गजलमा स्रोतालाई मोहित पार्ने विशेष शक्ति हुन्छ । संगीतवद्ध नभएको गजल जति सुन्दर भए पनि त्यसले संगीत मार्फत पाउने उचाइ नपाउन सक्छ । स्तर वृद्धि भयो भने मात्र गजलले सम्मान पाउँछ । अन्यथा, संग्रौला जस्तै धेरैले फेरि फेरि भन्नेछन्-लेख्नेछन् : ‘गजल नलेख्नु’ ‘...गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’

No comments:

Post a Comment