अनौपचारिक रुपमा मन परेका गीतको सूची बनाउन मिनेट पनि लाग्दैन । तर ती मध्येबाट मात्र दश ओटा गीत छान्नु पर्दा दाँतबाट पसिना आउँदो रहेछ । अब तिनै छानेका गीतबारे औपचारिक मत प्रकट गर्दाको सकस के भनूँ र खै, शब्दै छैन । यस्तो सकसलाई निबन्धकार भूपिनले उनको निबन्ध संग्रह चौबीस रिलभित्रको मनको एल्बमका प्रिय गीत शीर्षकको निबन्धमा मन छुने ढंगले अभिव्यक्त गरेका छन् ।
तर भूपिनलाई छुट थियो, त्यसैले उनले आफूले मन पराएका नेपाली बाहेक हिन्दी र अंग्रेजी गीतलाई पनि समेट्न पाए । मैले भने नेपाली गीत नै छान्ने जिद्दी कसेँ । पछिल्ला पाँच वर्षको अवधि बीचमा निस्केका गीतमा मात्र केन्द्रित हुने सीमा पनि तोके । तर घण्टौंसम्म दिमागले पाँच वर्ष भन्दा परको गीत मात्र सोच्यो । आखिर दिमागको काम नै निहुँ खोज्नु त रहेछ ।
समयसीमालाई खुकुलो बनाएर लेख्न सायद अलि सजिलो हुन्थ्यो । तर संगीत क्षेत्रको पछिल्लो ट्रेन्डलाई बुझ्न पुराना भन्दा नयाँ गीतको चर्चा आवश्यक थियो । मैले चलचित्रका गीत र चलचित्र इतरका गीतको विभाजन भने गरिनँ ।
१. पौरखी
(स्वर/शब्द/संगीत - लोचन रिजाल)
पौरखी नेपाली संगीत क्षेत्रमा पृथक स्वाद बोकेर आएको गीत हो । लोचनले परम्परागत लोक अभ्यासलाई समकालीन संगीतसँग जोड्ने काम गरेका छन् । नेपाली बाजा बजाएर मात्र गीत राम्रो हुने हैन । नयाँ सोच र उद्देश्यको पनि खाँचो थियो । लोचनका गीतले त्यस्तो खाँचो पुरा गर्ने काम गरेको छ ।
तीनसय वर्ष भन्दा अगाडि गन्धर्वहरुले आरबाजो र सारंगी बाजा सँगसँगै बजाउँथे । कालान्तरमा अन्य नेपाली बाजाजस्तै आरबाजो पनि लोपोन्मुख बाजाको सूचीमा पर्यो । इथ्नोम्युजिकोलोजी पढेका लोचनले लोपोन्मुख बाजाको महत्वलाई अध्ययनका क्रममै आत्मसात गरेका गरिसकेका थिए । त्यसैले विद्यावारिधिको विषय पनि गन्धर्व जाति र तिनका सांगीतिक परम्परालाई बनाए ।
नेपाली जातिका बाजा विशेष, लोक तथा परम्परागत संगीतलाई समकालीन संगीतसँग जोड्ने क्रममा उनले ती बाजा बजाएर बजारीया प्रतिस्पर्धामा पनि खरो उत्रन सकिने उदाहरण पेस गरेका छन् ।
बाले त भन्थे आफैं नै गरी खा
गए म मुग्लानतिर यहाँ म दरिद्र...
यसो भन्दै अघि बढ्ने पौरखी गीतका यी शब्द जब अघि बढ्दै जान्छ, वर्षौवर्षदेखि प्रवासिनु पर्ने बाध्यकारी कथाभित्रको व्यथा पनि चर्किँदै आउँछ । तर शब्द भन्दा धुन बढी हुनु यो गीतको विशेषता हो । गीतमा उदयपुरका दनुवार जातिका वृद्ध छोटेलाल मिरकको आवाजसमेत समेटिएको छ । गीतको म्युजिक भिडियो पनि हेर्न लायकको छ । नेपाली संगीतको धारमा नयाँ हलचल ल्याउन सक्ने हैसियत बनाएका लोचनले वृत्तचित्र र चलचित्रका लागि समेत काम गर्नुले आउने दिनको संगीतमा केही नयाँ आयाम थपिएको संकेत गर्छ उनका गीतहरुले । त्यसमा पौरखीको विशेष योगदान रहनेछ भन्ने मेरो मत छ ।
२ तुइन
तुइनको छ है भर
नदी तर्नलाई छ है कर
जाम् जाम् कान्छी जाम् जाम्...
(रचना : नाइट)
पछिल्लो समयमा नेपाली लोकबाजाको प्रयोग गरी समसामयिक विषयलाई प्रयोगात्मक ढंगले गीतमा ढाल्ने समूह हो नाइट । लोचन रिजालले एकल गायनबाट जुन काम गरेका छन् जेशन कुँवरको नेतृत्वको नाइटले पनि सामूहिक रुपमा एकपछि अर्को त्यस्तै गीत बनाइरहेको छ ।
नाम नाइट भए पनि यसले हाम्रो संगीतमा उजेली छरिरहेको छ । स्कुल जान होस् वा अन्य सामान्य व्यवहार चलाउने कामका लागि धेरै मान्छे तुइनको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर यस गीतमा तुइनलाई अभाव र पछौटेपनको पर्यायका रुपमा समेत प्रयोग गरिएको छ । कलाकारहरु अभाव रुपी तुइनमा चढेर दुखियारी यात्रा फत्ते गर्न जाम् जाम् कान्छी र जाम् जाम् कान्छा भन्दै हौस्याइरहेका छन् । नयाँ नेपाल दुःख पुरानै जस्ता राजनीतिक व्यंग्य मिसिएको यस गीतको भाका लोकशैलीको छ । यो गीत जति सुन्दर छ, भिडियो पनि उत्तिकै सिर्जनात्मक छ । यस गीतमा धनी गरिबको खाडल अनि कथनी र करनीको खाडलको तस्बिर भिडियोमा छर्लङ्गै आएको छ । नाइट समूहका सबै गीतमा कथा भेटिने भएकोले होला भिडियो पनि राम्रा हुन्छन् ।
भर्खरै संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्ने बित्तिकै केपी ओलीले दुई वर्षभित्र देशभरका तुइन हटाउने निर्णय गरे । मेरो मनमा फुत्त एउटा प्रश्न उब्ज्यो । प्रम ओलीज्यूले कथनी र करनीबीचको खाडल पुर्ने काम गरिदिए भने तुइनको छ है भर भनेर बिलौना गर्ने
नाइटका सदस्यहरु कति खुशी हुँदा हुन् । टुलक जंग भर्सेज टुल्के जस्तो पृथक धारका चलचित्र र कतिपय नाटकमा समेत अचेल नाइट गुञ्जिदा म नेपालको संगीतले काँचुली फेर्दैछ भनेर भित्रभित्रै सन्तोष मानिरहेको हुन्छु ।
३. मर्ने कसैलाई रहर हुँदैन
(स्वर : प्रेम परियार, शब्द : कृष्णहरि बराल, संगीत : सुरेश गैरे)
प्रेमले आफ्नो उमेर भन्दा धेरै बुढो गीत गाएर सबैलाई जिल पारे । यो गीत मन पर्ने कारण यसको शब्द र संगीतको स्तर र संयोजन नै त हो नै तर त्यो भन्दा बढी प्रेम परियारको आवाजमा भएको नयाँपन हो कि जस्तो लाग्छ ।
जबजब यो गीत सुन्छु, एकातिर प्रेम परियारको उमेरका कलाकारले यस्तो गम्भीर शब्द कसरी बुझ्ला जस्तो लाग्छ । तर जब प्रेमको स्वरमा शब्दको गहनताको स्पर्श पनि घोलिएको पाउँछु गीत नबुझी उनले कसरी फिल गर्न सके त भन्न प्रतिप्रश्न तेर्साउँछु आफैंलाई । यस्तो दुबिधा भएका अरु स्रोता पनि त होलान् भनेर चित्त बुझाउँछु ।
४. सुन रे सियाराम
अब म तलाई पर्खन्न
अब म देहात फर्कन्न
(स्वर : मीना, संगीत : आभास, शब्द : श्रवण मुकारुङ)
संगीतकार आभासको व्यक्तित्व र सिर्जना उस्तै उस्तै लाग्छ मलाई— शालीन र गम्भीर । आभासका गीतमा केही खास विशेषता भेटिन्छन् । जस्तै कि, उनी कविता गाउँछन् । बजारको प्रतिस्पर्धामा उनी होमिहाल्न रुचाउँदैनन् । संगीतलाई गाना बजाना भन्दा माथि संस्कृति र सिर्जनाको बीचैबीच सन्तुलन मिलाएर लैजाने प्रयास गर्छन् । अनि, गीत संगीतबारे केही आधारिकता सहित बोल्ने हैसियत राख्छन् ।
नढाँटी भन्दा, आभास र उनका गुरु अम्बर गुरुङ दुबैका गीत सुन्न मलाई खास मुड चाहिन्छ । यस्तै मुड भएको बेलामा म सुन रे सियाराम सुनिहाल्छु । श्रवण मुकारुङ पहाडे हुन् तर उनले जति देहात कसले बुझ्छ र जस्तो लाग्छ यो गीत सुन्दा । उनको रामभरोस कविता सुन्दा पनि यस्तै लागेको थियो । गीतलाई गायिका मीनाको गायनले पुरै न्याय गरेको छ ।
आँशुको इनार जमे नि
प्यार मेरो सच्चा छ
जीवन मेरो अच्छा छ
पेट मे मालिकको बच्चा छ
अब म जान्छु थानामा
अब म जान्छु अदालत...
यति सुनेपछि ममात्र के जो कोहीको मन भड्किन्छ । तँ सम्बोधन गरिएर गाइएका गीतहरु धेरै नभएकाले पनि यो गीत पृथक लाग्छ मलाई ।
५. आगोको राप जीवन
(स्वर : सत्य/स्वरुप, संगीत : भक्तराज आचार्य, शब्द : नवराज लम्साल)
मलाई लाग्छ राम्रो र अर्थपूर्ण गीतका शब्दले राम्रो गीतकार जन्माउने आधार दिन्छ । त्यस्तै राम्रो गायकीले नयाँ गायक जन्माउँछ अनि राम्रो संगीतले नयाँ संगीतकारलाई प्रेरित गर्छ । सत्य स्वरुपका केही राम्रा गीतले नयाँ कलाकारलाई यस्तै प्रेरणा दिइरहेको अनुमान गर्छु म ।
निराशा मानिव जीवनको अभिन्न हिस्सा हो र निराशाको सबै भन्दा भरपर्दो हसाथी संगीत नै हो । मलाई गीतमा दर्शन घुसाको धेरै मन पर्छ । तर विडम्बना नेपाली गजलमा समेत दर्शन दुर्लभ छ । गीतकार नवराज लम्साल दार्शनिक पाराकोे शब्दलाई सत्य स्वरुपले अत्यन्तै फिल गरेर गाएका छन् । भक्तराज आचार्य गीतको कम्पोजिसन गाउन चुनौतीपूर्ण भए पनि सत्य स्वरुपले गीतलाई राम्रो बनाउन कुनै कसरी बाँकी राखेका छैनन् ।
६. दैव हे
दैव हे मेरो सपनाको गाउँ
छ कहाँ मलाई देखाऊ...
(स्वर : सनुप पौडेल, संगीत : काली प्रसाद बास्कोटा शब्द : सबिन एकतारे र काली)
मलाई यो गीत मन पर्ने कारण सनुप पौडेलको गायन पनि हो । शब्द संगीतको संयोजन पनि उत्तिकै मिलेको छ । काली र सनुपको सहकार्यको यो अनुपम नमुना हो । हाल पाश्र्व गायनमा जमेका सनुपका प्रायः सबै गीतमा उनले गरेको मिहिनेत फिल गर्छु म । निराशा अभिव्यक्त गर्न हाइ पिचमा गायकले दैव हे भन्दा दैवले कतै सुनि पो हाल्ला कि भन्ने भ्रम जाग्छ ।
७. चरी लैजा समाचार
अन्जान बाबु संगीत स्रोता
चरी लैजा समाचार
उता के के हुँदैछ यता बाढी पसेछ
चरी लैजा समाचार
युगौंदेखि हाम्रो सरकार बेखबर छ । बेलाबेला सन्देश नपठाउने हो भने उसले हामीलाई भविष्यमा पनि चिन्नेवाला छैन । त्यसैले सरकार र सत्तावालालाई सन्देस पठाएको यो गीत मेरो सूचीमा परेको हो ।
२०६५ को वर्षामा पूर्वी नेपालको कोशीमा ठूलो बाढी आयो । हजारौं प्रभावित भए । धेरैले घर र आफन्तजन गुमाए । खान, पिउन दाताको मुख ताक्नु पर्ने दिन आयो । गीतकारले यस्तै पृष्ठभूमिमा रचेको यो गीतलाई सरल र जीवन्त ढंगले गाइएको छ । बाढी वा प्राकृतिक विपत्तिले बेघरबार भएकाहरुको यो गीतको सन्दर्भ फरक भए पनि अन्तर्य हरेक वर्ष मिल्छ । मैले भूकम्पपछिका दिनमा यो गीत धेरै सुनेँ ।
८. रेशम फिलिली
(स्वर/शब्द/संगीत : कालीप्रसाद बास्कोटा)
विश्व चर्चित नेपाली लोक गीत रेशम फिरिरीसँग मिल्दो जुल्दो शब्द रेशम फिलिली चलचित्रको गीतले नेपाली संगीत क्षेत्रमा चर्चाका हिसाबले यसअघि स्थापित धेरै मानकलाई नाघेको छ ।
धेरै चर्चामा आएका कतिपय गीत नसुनी वाक्क भइन्छ । एक किसिमको पूर्वाग्रही बनाइदिन्छ स्रोतालाई । मैले पनि रेशम फिलिलीका भिडियो फेसबुकमा छ्यापछ्याप्ती हुन्जेलसम्म खासै ध्यान दिएर सुनिनँ । तर जब जालमा भाइरल बन्यो गम्भीर भएर सबै गीत सुन्न थालेँ । जालमा भन्दा मलाई रेशम फिलिलीको शीर्ष गीत मन पर्यो ।
यसमा प्रयोग भएको संगीतले दिने नेपालीपन त राम्रो छँदैछ, गीतका शब्दहरु पनि निकै मार्मिक लागे । मानिस भएर जन्मेपछि पीडासँग पैठेजोरी त खेल्नै पर्छ । तर नेपाली भएर जन्मनेले अझ त्यो भन्दा बढी केही गर्नु पर्छ जस्तो लाग्छ । कालीको रचनामा हाम्रो युवा पुस्ताको सपनाहरु ढिकीमा कुटिएको र जातो झैं फिलिली अनियन्त्रित भएर पिसिएको देखेँ मैले ।
९. घामको सानो टुक्रा
(गायक/संगीतकार : आस्था तामाङ मास्के, शब्द : सुसन मास्के)
सुसन मास्के अम्बर गुरुङकी शिष्या हुन् । संगीतमा सुसनको रुची र ज्ञानले उनकी छोररी आस्थाको करिअरमा राम्रा गीत गाउने आधार बनाइररहेको छ । आस्थाको उमेरका अधिकांश युवा अर्थपूर्ण शब्द चयनमा कमजोर देखिन्छन् । तर आमा सुसन आफैंले काव्यिक गीत लेख्ने र छोरीलाई हरकदममा सघाउने भएकोले आमा छोरीको जोडीले धेरै सुटुक्कै राम्रा राम्रा गीत जन्माइसकेका छन् ।
उदाहरण यही गीत हो -
किन लाग्छ मेरो आँशु भोलि मोती बन्छ
किन लाग्छ मेरो दुःख भोलि खुशी बन्छ
मेरो आजसित रोएँ दुखेँ त के भयो
म पर्खुंला भोलिलाई भोलि त मेरै हो
घामको सानो टुक्रालाई ओढेको छु
सारा पीडालाई कतै लुकाको छु
यो घामको गीत हो । आशा र उज्यालोको गीत हो । सिबिनका नानीहरुलाई समर्पित गरी सिविनमै भिजुअलाइज गरिएको यो गीतमा धेरै नानीलाई कोरस बनाइएको छ । गीतमा भनिएको भोलि पनि तिनै नानी हुन् । बीचमा ती नानी बोल्छन् पनि । सायद आस्थाले प्रभावित पारेर होला धेरैले भविष्यमा गायनमै लाग्ने सपनाको कुरा गर्छन । यो गीत सुन्न जस्तै हेर्न पनि आनन्द आउँछ ।
१०. धुलै धुलो
(शब्द विप्लव प्रतीक, संगीत न्यूह बज्राचार्य)
(स्वर : सनुप, सन्तोष, भानु, पुष्प, प्रमोद, लिजा, विश्व, बनिका, काली र र्इश्वर)
बैसाख १२ मा विनासकारी भूकम्प गएपछि अन्य क्षेत्रका मानिस झैं संगीत क्षेत्रमा लागेका कलाकारले पनि आफ्नो तर्फबाट सकेको गरे ।
भावना र संवेदनासँग खेल्न रुचाउने विधा भएकोले होला धेरैले भूकम्पले दिएको चोटको पीडा गाए । विदेसी कलाकारले पनि स्वरका माध्यमबाट हौसला दिए । तर भूकम्पको विषयलाई आधार बनाएर गाइएका धेरै गीतमा आशा भन्दा निराशा बढी थियो । अझ सबैजसो म्युजिक भिडियोमा उस्तै उस्तै खालका विध्वंस र विनासका फुटेज थिए । यस्ता भिडियोको स्रोता दर्शक र संगीत क्षेत्रकै कलाकारबाट समेत आलोचना भयो । तर निराशा र अध्याँरो भन्दा टाढा रहेको उज्यालोलाई देख्न सघाउने खालका केही राम्रा गीत पनि आए । ती मध्ये विप्लव प्रतीकको शब्द र न्यूह बज्राचार्यको संगीतमा दश जना कलाकारले सामूहिक आवाज दिएको धुलै धुलो उत्कृष्ट थियो । यस गीतका केही विशेषता छन् । पहिलो, पुरै दशै जना गायक गायिकाको सामूहिक स्वर छ । भिडियोमा कतै हिंसात्मक र निराशाको दृश्य छैन । प्रतीकले सरल शब्दबाट गहन अर्थ निकाल्दै संगीत र कविको सम्बन्धलाई पुष्टि गराइदिएका छन् ।
(यो लेख अन्नपूर्ण पोष्ट 'फुर्सद'मा २०७२ असोज ३० शनिबार प्रकाशित भएको हो ।)
No comments:
Post a Comment