गीत–संगीतमा रम्ने हाम्रो मनको भित्ताभरि अनगिन्ती धून र शब्दहरू कुँदिएका होलान् । त्यसमा गायकका मीठा स्वरलहरीहरूको लेपसमेत गढेका होलान् । हामीले अनुभूत गर्ने, सोच्ने वा परिकल्पना गर्ने धेरै कुरामा पक्कै पनि ती सृजनाहरूको धेरथोर प्रभाव हुँदो हो । त्यही भएर त गीत–संगीतलाई हाम्रो दुःख–सुख तथा भीड र एकान्तको अभिन्न साथी मानिएको हो ।
जुनसुकै भाव वा धाराका गीत किन नहोउन् सबैखाले गीतहरू मानव जीवनसँग अभिन्न रुपमा गाँसिएका छन् । एउटा राम्रो सिर्जनामा स्रोताले आफ्नो भावना, संवेदना र विचारको तादात्म्यता खोज्छ र सायद भेट्छ पनि । तादात्म्यताकै कारण संगीतले स्रोताको मनोदशा, भावना र चेतनालाई स्पर्श गर्छ । त्यो स्पर्शले मानव तन्तुको त्यस्तो भित्री तहलाई छुन्छ जसलाई सायद हम्मेसी अन्य विधाले छुँदैन । र, यस्तो स्पर्शलाई अनुभूत गर्ने हृदय सबैले पाउँदैनन् । हृदय पाइहाले पनि त्यसको असरलाई विश्लेषण गर्ने क्षमता र त्यसलाई अभिव्यक्त गर्ने जाँगर भएकाहरू निकै कम हुन्छन् ।
भूपिन तिनै कम मध्येका एक हुन् जो संगीतलाई गम्भीर रुपमा लिन्छन् । मन परेका गीतलाई प्रेमिका बनाएर सुमसुम्याउँछन् । जिन्दगीका वक्राकार गोरेटोको साथी बनाउँछन् । गीतहरूलाई मानवीकरण गरी तिनका चरित्र पर्गेल्न खोज्छन् । सन्दर्भ भूपिनको 'चौबीस रिल' संग्रहमा रहेको 'मनका एल्बमका प्रिय गीत' शीर्षकको निबन्धको हो । यो आलेखको रचनागर्भ त्यही निबन्ध हो । हुन त यो मैले हालसम्मै पढेकोमध्ये अब्बल निबन्ध होइन न त यो चौबीस रिल संग्रहभित्रकै उत्कृष्ट निबन्ध हो । तर निबन्ध लेखनमा यसले भित्र्याएको विषय नयाँ छ । प्रस्तुत निबन्धको विषय संगीत हो जसमा उनले आफूलाई विरेचित पार्ने प्रिय ६ ओटा गीतको छनोट गर्दाको सकस र ती गीत छान्नुका कारणबारे विस्तृत चर्चा गरेका छन् । ती गीत उनले सिनर्जी एफएमको एउटा कार्यक्रममा आफूलाई मन पर्ने गीतहरूबारे बोल्नका लागि आग्रह गरिएपछि छानेका हुन् । भूपिनका ६ ओटा प्रिय गीतमा ४ ओटा नेपाली तथा हिन्दी र अंग्रेजी एकेकओटा परेका छन् ।
उनले छानेको पहिलो गीत 'मेरो प्यारो ओखलढुङ्गा' हो ।
सिद्धिचरण श्रेष्ठको शब्द, नारायणगोपालको स्वर तथा संगीतमा उनिएको 'मेरो प्यारो ओखलढुङ्गा' उनको रोजाइमा परेको पहिलो गीत हो । जब–जब उनी मेरो प्यारो ओखलढुङ्गा सुन्छन् उनलाई लाग्छ, ओखलढुङ्गा यस्तो बिम्ब हो जुन शहर छिर्दा उनको गाउँ बलेवा बन्छ र विदेश पुग्दा नेपालकै रुप लिन्छ । उनी भन्छन् ‘ओखलढुङ्गा मेरो आफ्नै गाउँ बलेवा जस्तो लाग्छ । ... ओखलढुङ्गा एउटा सानो गाउँ वा जिल्ला मात्र होइन, त्यो सिङ्गै देश पनि हो । विदेशमा बसेका नेपालीहरूले यो गीतमा पूरै देश भेट्छन् । त्यो देशभित्र उनीहरू जन्मेको गाउँ वा शहर पनि पर्छ ।’
'आमा' उनको रोजाइको दोस्रो गीत हो । कवि तीर्थ श्रेष्ठको रचनामा नेपथ्यका अमृत गुरुङको स्वरमा रहेको 'आमा' गीत सुन्दा उनी आफ्नी र संसारभरकी आमालाई सम्झन्छन् र प्रणाम गर्छन् । त्यति मात्र हैन, गुरुङमा प्रख्यात अमेरिकी कवि गायक बब डिलनको झझल्को भेट्टाउँछन् । अफबिट अर्थात् अपरम्परागत शैलीमा गाइएको शक्तिशाली कविता भएकोले उनलाई यो गीत मन परेको उनको तर्क छ । यसबाट उनी साहित्य र संगीत दुवै क्षेत्रमा प्रयोग मन पराउने कुराको पुष्टि हुन्छ ।
तेस्रो रोजाइमा परेको छ 'तिमी जुन रहरले' । दिनेश अधिकारीको शब्दमा नारायणगोपालको स्वरमा सजिएको 'तिमी जुन रहरले' गीत उनको तेस्रो रोजाइमा परेको छ । दिनेश अधिकारीले अठार वर्षकै उमेरमा रचेको यो प्रेम गीत सुनेपिच्छे उनी विरेचित हुन्छन् । नारायणगोपालको घना निराशावादी गायकीमा चुर्लुम्मै डुब्छन् र तैरिन्छन् पनि ।
बहुचर्चित 'यात्री' कविता सूचीको चौथो नम्बरमा परेको छ । लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता 'यात्री'लाई रविन शर्माले गाएका हुन । उनलाई यो गीत प्रिय लाग्नुको मुख्य कारण यसको दर्शन हो जसमा ईश्वरको अस्तित्वप्रति नै शंका व्यक्त गरिएको छ । उनी जब–जब म यो गीत सुन्छन् उनलाई मानिस नै मानिसको एकमात्र ईश्वर हो जस्तो लागिरहन्छ ।
पाँचौँ गीतमा छ जोन लेननको 'इम्याजिन' । यो युटोपियन गीतले उनलाई घरीघरी काल्पनिक दुनियामा पुर्याउँछ जहाँ राष्ट्रिय सिमाना, धर्म वा सम्पत्तिजस्ता पर्खालहरु भत्किएका छन् । छ त केवल मानवता र शान्तिको बस्ती मात्र । आदर्श समाजको परिकल्पना विना कलाको मूल्य हुँदैन सायद । त्यसैले भूपिन यस गीतमा निहित आदर्शको पूजारी बनेका छन् ।
अन्तिम अर्थात् छैठौं सूचीमा ‘ये दौलत भी ले लो...’ गजल परेको छ । ‘ये दौलत भी ले लो...’ जगजित–चित्रा सिंहले गाएको र सुदर्शन फाकिरले लेखेको सांगीतिक रचनाले उनलाई हदैसम्म नोस्टाल्जिक बनाइदिन्छ । ‘बाल्यकालबारे यति जीवन्त गीत मैले अर्को सुन्न पाएको छैन’ उनको दाबी । बाल्यकाल फिर्ता पाउने शर्तमा सम्पत्ति, सुन्दरता र जवानी पनि गुमाउन नहिच्किचाउने मानवीय चेतनाको काव्यिक व्याख्या त्यो गीतको सौन्दर्य हो । मैले पनि वाल्यवयमा कागजको डुंगा बनाएर वर्षात्को बाढीमा बगाएको छु धेरैपटक । चराहरू पक्रेको छु र आमाको आग्रहमा छोडिदिएको छु । साथीहरूसँग मिलेर झुम्राका बेहुला–बेहुलीको बिहेमा जन्ती गएको छु । गाई चराउन जाँदा चौरमा धेरैपटक आफ्नो तस्वीर बनाएको छु र मेटेको छु । जब उमेरको भूतले मलाई एकान्तमा तर्साउन थाल्छ, कल्पनामै सही टाइम मेसिनमा छिरेर म त्यो समयमा फेरि पुग्न चाहन्छु । यो गीतले मलाई छलकपटविनाको बाल्यकालको दिव्यता सम्झाउँछ ।’ सम्भवतः भूपिन मात्र होइन यो गीत सुन्ने जोकोही यसरी नै नोस्टाल्जिक बन्छ । आखिरमा संगीतको विशेषता यही त हो ।
सामान्य अवस्थामा आफूलाई मन परेका गीतबारे बोल्नु कुनै ठूलो वा गाह्रो कुरा होइन । तर जब एउटा लेखक÷स्रोताले ती गीत मन पर्नुका कारणबारे सार्वजनिक रुपमा बोल्छ वा लेख्छ तब त्यो चुनौतीपूर्ण काम बन्छ । उसले गर्ने विश्लेषण र व्याख्याले समाजमा संगीतलाई बुझ्ने दृष्टिकोण निर्माणमा समेत प्रभाव पार्छ । भूपिनका लागि गीत छनोट गर्ने काम कठिन बन्नुको कारण यही हो । यद्यपि त्यो कठिनाइलाई उनले रचनात्मक पाराले सुल्झाएका छन् । उनले छानेका गीतहरू, त्यसबारे उनले गरेका तर्कहरू र त्यसका लागि जोडेका सन्दर्भहरूले गीतबारे छलफल गर्नका लागि गतिलो आधार प्रदान गरेको छ । हरेक गीत छनोटका व्यक्तिगत, साहित्यिक तथा सृजनात्मक कारणहरूले उनको यो निबन्धको दायरा फराकिलो बनेको छ । यसबाट भूपिनको विश्लेषण क्षमता समेत उजागर भएको छ । तर त्योभन्दा बढी विषयको उठान र प्रस्तुतिमा उनी निकै सफल छन् । उनको छनोटका गीत र त्यसमाथिको चर्चाले उनको जीवन दृष्टि र वैचारिक झुकावलाई समेत इंगित गरेको छ ।
भूपिनले गीतलाई पनि अध्ययन र चिन्तनको स्रोत बनाएका छन् । मान्छेलाई कुनै गीत किन मन पर्छ त ? भूपिन भन्छन् ‘गीतहरू मन पर्नुको एउटा कारण श्रोतासँग विषयगत जोडाइ पनि हो । श्रोताले त्यो शब्द र आवाजमा आफ्नो कथाको झरना खसिरहेको महसुस गर्दछ । त्यसको सितलोले उसलाई निथ्रुक्क भिजाउँछ । विरेचित पार्छ ।’ यो निबन्ध व्यक्तिले संगीत सुन्ने कारण जान्न र त्यसलाई कसरी ग्रहण गर्दोरहेछ भनेर बुझ्नका लागि सबैलाई गतिलो खुराक बन्न सक्छ । भूपिन एक प्रतिनिधि मात्र हुन् ।
तपाईं हामीसँग पनि संगीतसँग हुँर्कदाका अनगिन्ती भावना, अनुभूति र विचारहरू पक्कै छन् । तिनलाई शब्दरुपी क्यामेराले खिचेर एउटा रिल हामी पनि थप्ने कि !