चौबीस रिल : नयाँ पुस्ताले निबन्ध विधालाई नयाँ उचाई दिन सक्छ भन्ने संकेत र सम्भावना देखाएका भूपीनको कवि भाषा मीठो छ । लेखकले भावना र विचारको सन्तुलन मिलाउन सक्दो प्रयास गरेका छन् । अग्रज र समकालीन स्रष्टाहरुसँग बहस र चिन्तन मार्फत वैचारिक सम्बन्ध स्थापना गर्न खोज्ने प्रयास सह्रानीय छ । 'मनको एल्बमका प्रिय गीत' मलाई सबैभन्दा मन प¥यो । 'भोकको संगीत',
'नदी र जीवन',
'कविता यात्राको गोरेटो' राम्रा निबन्धहरु हुन् ।
मन नपरेको कुरा चाहिँ, हरेकजसो निबन्धमा अनावश्यक रुपमा उनी 'महान् लेखक', 'महान् कृति', 'प्रसिद्ध व्यक्तित्व' जस्ता विशेषणहरु प्रयोग गर्छन् । किताब र व्यक्तित्वहरुको रेफरेन्स पनि बढी दिन रुचाउँछन् । यसले पुनरावृत्तिको समस्या चर्को बनाएको छ ।
मैले नदेखेका हिप्पी : शेखर खरेलको यो सानो काँटको संग्रह केही राम्रा र केही सामान्य निबन्धहरुको संकलन हो । पेशागत रुपमा खरेलको अनुभवको दायरा फराकिलो छ । पत्रकारिता, फोटोग्राफी, वृत्तचित्र निर्देशन, साहित्य, संगीत र सिनेमाका जानकार आदिका रुपमा परिचय बनाएका खरेलका निबन्धहरुले यी सबै क्षेत्रलाई छुन्छन् ।
'बदलियो बानेश्वर' शीर्षकको निबन्ध अब्बल छ । 'मुम्बईको मनोहर कहानी' र 'ब्याङ्क्सका तीन घुम्ती'मा उनको मिहिनेत झल्किन्छ । लेखकले अखबारमा पूर्वप्रकाशित लेखहरुलाई थप काम गरेर सान्दर्भिक बनाउने जाँगर चलाए पनि निबन्धहरु अखबारी साहित्यको तहभन्दा माथि उक्लिन सकेको छैन । धेरैजसो निबन्धहरुमा भाषागत मिठासको अभाव खड्किन्छ ।
धोबीघाट एक्सप्रेस : रोशन शेरचन पाठकलाई बहसमा आमन्त्रण गर्न रुचाउने लेखक हुन् । उनलाई हरक्षण कुनै विषयले पिरोलिरहेको भान हुन्छ । आफू बाँचेको समय र समाजको चेत उनमा प्रखर छ । उनले धोबीघाट एक्सप्रेस शीर्षकको निबन्धमा स्वैरकल्पनाको समेत प्रयोग गरेका छन् । काल्पनिक पुट दिइएकोले उनका केही निबन्धहरु कथाको नजिक पुगेका छन् । अध्ययनशील र घुमन्ते स्वभावका शेरचनले भौतिक र वैचारिक दुवैखाले यात्रा गराइरहन्छन् । 'फेसबुक संसार र विसंगतिका काराभान',
'म कविता किन लेख्छु ?'
सशक्त निबन्धहरु हुन् । ईश्वरवल्लभ र शंकर लामिछनेबारेका लेखहरु साहित्य र समालोचना दुवै हिसाबले महत्वपूर्ण छन् । तर, पुनरावृत्ति उनको पनि समस्या हो । उनको र भूपीनको लेखनमा रेफरेन्स घरिघरि समस्या बनेर आउँछ ।
तीन ओटै निबन्ध संग्रहहरुमा नियात्राले ठूलो हिस्सा
ओगटेको छ । निबन्ध र नियात्राबीचको समानता र भेद के हो अलमलमा परेको छु । नियात्रा भएपछि विवरणात्मक हुने डर बढी हुँदोरहेछ । यसबाट सबै निबन्धकार सतर्क होउन् ।