नेपाली सङ्गीतको अभिलेख प्रभाकर गौतम
लेखक : बुलु मुकारुङ
प्रकाशक : पाल्पा बुक्स (काठमाडौं)÷निर्माण प्रकाशन (सिक्किम)
पृष्ठ : ८४८
मूल्य : १४०० रुपियाँ
बुलु मुकारुङ करिब चार दशकदेखि सङ्गीत तथा लेखनमा सक्रिय नाम हो । रेडियो नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति मन्त्रालयजस्ता संस्थामा विभिन्न पदमा रहेर काम गरेको अनुभवले सङ्गीत तथा संस्कृतिसम्बन्धी सूचना संकलनमा उनको पहुँच पनि छ । यिनै विषयलाई उनले लेखन तथा अनुसन्धानको विषय बनाउँदै आएका छन् । उनका चौध ओटा पुस्तक मध्ये आधाउधी सङ्गीत क्षेत्रसँगै सम्बन्धित छन् । मीरा मूच्र्छना (२०५७), सङ्गीतको प्रारम्भिक ज्ञान (२०५७), सङ्गीत आरोहण (२०५९), सङ्गीतको आधारभूत ज्ञान (२०७१), सङ्गीत अनुशीलन (२०७१) आदि उनीद्वारा लिखित सङ्गीत विषयका कृति हुन् । उनको सम्पादनमा पुष्प—पुष्पाञ्जली (२०५८) र नेपाली सङ्गीतका अभियन्ता : शिवशंकर (२०६१) गरी दुई ओटा स्मृति ग्रन्थ पनि प्रकाशित छन् ।
नेपाली सङ्गीतको अभिलेख मुकारुङको सङ्गीत क्षेत्रमा योगदान दिने स्रष्टाहरूको नामसँगै संक्षिप्तमा तिनका जन्म, मृत्यु, आमा बुबाको नाम, जन्म स्थल, सिर्जना आदिबारे आधारभूत जानकारी समेटिएको ग्रन्थ हो । यसमा उनले झण्डै ६ हजार स्रष्टाका विवरण समावेश गरेका छन् । यसमध्ये करिब डेढ सय साङ्गीतिक समूह र पुगनपुग दुई सय ओटा गीत, सङ्गीत, नाटक तथा जनसंस्कृतिको जगेर्ना र उत्थानमा सक्रिय संघसंस्था बारे जानकारी छन् । सङ्गीत तथा संस्कृतिका विभिन्न विधालाई समेत समेटिएको छ ।
प्ुस्तक ५ ओटा खण्डमा विभक्त छ । पाँच खण्डलाई जम्मा २६ ओटा शीर्षकमा बाँडिएको छ । यी शीर्षकभित्र अभिलेखै हराउन लागिसकेको समयदेखि वर्तमानमा सक्रिय गायक, गीतकार, सङ्गीतकारलगायत साङ्गीतिक समूह र संघसंस्थाका जानकारी छन् । विधागत हिसाबले लोक सङ्गीत, जनवादी सङ्गीत, शास्त्रीय सङ्गीत, भक्ति सङ्गीत, हाँस्य व्यग्ङ्य, परम्परागत नृत्य, वाद्यवादन, परम्परागत बाजा, नाटक आदि क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा समूहगत प्रयासका संक्षिप्त विवरण पनि संकलित छ । यसक्रममा स्वाभाविक रुपमा दरबारदेखि झुपडीसम्मका प्रसंग अटाएका छन् । क्षेत्रगत हिसाबले कुनै न कुनै रुपमा नेपाली सङ्गीतमा योगदान दिने सिक्किम, दार्जिलिङ, असम, भुटान, बर्मालगायत पश्चिमा देशका कलाकारका जानकारी समेत परेका छन् ।
सामग्री संकलनको काम शुरु गरेको झण्डै १६ वर्षपछि मात्र प्रकाशित यस पुस्तक मार्फत मुकारुङले पाठकलाई ओझेलमा परेका व्यक्ति तथा समूह बारेका जानकारीसँगै सङ्गीत विधाका अनेक तथ्यसँग परिचित हुने अवसर उपलब्ध गराएका छन् । पुस्तकको सबैभन्दा सबल पक्ष यही हो ।
तर सूचना संकलनमा धेरै मिहिनेत गरेका लेखकले उपलब्ध सूचनालाई पाठकमाझ कसरी प्रस्तुत गर्ने भन्ने पक्षमा चाहिँ कमै समय दिए भन्ने कुरा पुस्तकको संरचना र प्रस्तुति हेर्दा छर्लङ्ग हुन्छ । प्राक्कथनमा लेखकले सूचना संकलनको विधि र त्यसको उपादेयताबारे ठोस केही चर्चा नगरेको देख्दा पहिलो गाँसमै ढुंगा लागे झैं हुन्छ । यति विशद् ग्रन्थमा कुन खण्डमा के छ र के छैन भनेर स्पष्ट नपार्दा पाठक अलमलमा पर्छन् । लेखकले पुस्तकको विषयलाई सीमा किटेर प्रस्तुत नगर्नु र भूगोलमा समेत नबाँध्दा धेरै जनाले फलानोको चर्चा खै त भन्न सक्ने आधार दिएका छन् । लेखकले पुस्तकमा को परे र को छुटे प्रष्ट्याएका छैनन् । एउटै पुस्तकमा सबै अटाउन सम्भव छैन, तर फलानोलाई पारियो मलाई छुटाइयो आरोपबाट बच्न लेखक सजग हुनै पथ्र्यो ।
लेखकले बढीभन्दा बढी कलाकारलाई समेट्ने उद्देश्यले पुस्तक प्रकाशनको अन्तिम चरणसम्म पनि नाम र अतिरिक्ति जानकारी संकलन गरी पछि थपिँदै गरेका अन्य कलाकार भनेर शीर्षक नै छुटयाएर धेरैको नाम राखेका छन् । पुस्तकको अन्तिम पातामा छुटेकाहरूको नाम र जानकारी पठाउन अनुरोधसहित सम्पर्क गर्ने इमेल र फोन नम्बरसमेत दिएका छन् । लेखकको यो प्रयास सराहनीय छ । तर पछि थपिएका धेरैको जन्म मिति, आमा बुबाको नाम र अन्य आधारभूत जानकारी छैन । हतारमा काम गर्नु परेकोले यस्तो भएको बुझ्न गाह्रो छैन, तर लेखकले यो पक्षलाई सम्बोधन गर्न भूमिका वा फुुटनोटमा थोरै भए पनि बोल्नै पथ्र्यो ।
कलाकारका गीत—सङ्गीत वा एल्बमबारे जानकारी दिँदा लेखक कुनै मापदण्ड वा नियममा चलेका छैनन् । यसबाट पाठकलाई र स्रष्टालाई नै पनि गुनासो गर्ने आधार मिलेको छ । लेखकको सूचना स्रोतमा भएको पहुँच नै मान्नु पर्छ कि उनले अरुण थापाले गाएको भजन र मगर भाषाको गीतको बोलसमेत दिएका छन् । तर अरुण थापाका कति ओटा क्यासेट सार्वजनिक भए भन्ने जानकारी दिनुको साटो दर्जन भन्दा बढी गीतको बोल दिएका छन् (पृ. १२०) । त्यस्तै, क्रमशैः चर्चा गरिएका दीप श्रेष्ठ र दीपक खरेलबारे दिइएका जानकारीमा पनि एकरुपता छैन (पृ. १३६—१३७) । लेखकले दीप श्रेष्ठका दर्जन भन्दा बढी गीतको बोल उल्लेख गर्दै तीन ओटा एल्बमको नाम समेटेका छन् तर ‘शृंखला’ एल्बम÷सिडीको नाम छुटेको छ । दीपक खरेलले रेडियो नेपालमा प्रथम पटक गाएको गीतको साल उल्लेख गर्ने लेखकले त्यस्तै जानकारी दीप श्रेष्ठबारे दिएका छैनन् । यसरी कलाकारका बारेमा के भन्ने नभन्नेमा उनी प्रष्ट छैनन् । सर्जकका सार्वजनिक भएका सम्पूर्ण एल्बमका नामहरू दिएर सबैभन्दा चर्चित एक दुईटा गीतको बोल मात्र उल्लेख गरेका भए सायद यो पुस्तकको मोटाइ थोरै भए पनि कम हुन्थ्यो ।
कुनै स्रष्टाका बारेमा लामो र कसैको अति संक्षिप्त चर्चाले पनि लेखकको लापरवाही झल्काउँछ । उदाहरणका लागि, सिजन्स ब्याण्डबारे लेखकले दिएको पूर्ण जानकारी यस्तो छ ‘सिजन्स ब्यान्ड अहिले अस्तित्वमा छैन । तथापि यस ब्यान्डले विभिन्न प्रस्तुति गरेको थियो ।’ यो जानकारीबाट सिजन्स ब्यान्ड कहिले अस्तित्वमा थियो र यस ब्यान्डले निकालेका एल्बम वा चर्चित गीत कुन हो भन्ने सन्दर्भमा पनि कुनै जानकारी मिल्दैन । जबकी, हेटौडाका युवाहरूको ब्यान्ड सिजन्सले पचासको दशकमा निकै चर्चित र स्तरीय गीतहरू रचना गरेका छन् । द सिजन्सको नाममा भाग ३ सम्म एल्बम निस्केको छ । यसै समूहका मुख्य गायक सुजिल कर्माचार्य, जो पछि एकल गायनमा लागे, हालै लन्डनको रोयल अल्बर्ट हलमा ऐतिहासिक प्रस्तुति दिने मध्येका एक कलाकार हुन् । अर्को खण्डमा, यिनै गायकबारे दिइएको परिचय पढ्दा लेखकलाई यिनको नाम र काम दुबै थाहा नभएको प्रतीत हुन्छ । सुजिल कर्माचार्य हुनुपर्ने नाम सुजित कर्माचार्य त भएकै छ, उनलाई भुमो बोलको एउटै गीत गाएर चर्चामा आएको गायकसमेत भनिएको छ (पृ. ३२६) । जबकी चंचल तिम्रा ती हेराइमा, सपनामात्र, असफल जिन्दगी, आमा...मलाई गर्व छ नेपालमा जस्ता गीतहरू उनको स्वरमा यसअघि नै चर्चित छन् ।
पुस्तकको मोटाइ घटाउन सकिने अरु पनि ठाउँ छन् । जस्तै, रमेश विकल (पृ. ९५) ले रेडियो नेपालमा स्वर परीक्षा दिई उत्तीर्ण नभएपछि लेखनमा लागेको कुरालाई इतिहास—अभिलेखभित्रका सङ्गीत शीर्षकभित्र अनावश्यक रुपमा महत्वका साथ राखिएको छ । इतिहास उत्खनन्का लागि भनेर लेखकले प्राथमिकतामा पारेका कतिपय प्रसंग खासै महत्वपूर्ण छैनन् । जस्तै, स्कूलमा सङ्गीत—शिक्षक भनेर दर्जनौको नाम दिएका छन् । तर यहाँ नाम दिइएका भन्दा धेरै व्यक्तिले अहिले सङ्गीत पढाउने भएकाले यो विषय ऐतिहासिक उत्खनन्को विषय कसरी भयो ? बरु प्रथम सङ्गीत—शिक्षक भनेर एक जनाको नाम लेखेका भए त्यसको केही महत्व हुन्थ्यो होला । सङ्गीत सिक्ने पत्रकार भनेर केही नामहरू दिइएको छ । के यो साँच्चै इतिहास उत्खनन्को विषय हो ? दार्जिलिङ्कै गायक शुरेशकुमारलाई नेपालका कलाकारका रुपमा र अरुणालामालाई प्रवासी नेपाली कलाकारको सूचीमा राखिनुको आधार र तर्क के हो ? यस्ता अनेक प्रश्नको चित्तबुझ्दो उत्तर भेटिँदैन । पुस्तकमा प्रवासी र नेपाली कलाकार बीचको दुविधा बढाउने अरु पनि नामहरू छन् ।
पुस्तकमा भरपुर सूचना छ । लेखकले हरेक खण्डमा भएका सूची वा विवरणलाई विषयगत वा विधागत रुपमा विश्लेषण गरी निष्कर्ष निकालेका भए यी सूचनाले नेपाली सङ्गीतको इतिहास लेखनमा नयाँ आयाम थप्न सक्थ्यो । तर यसको अभावमा यो अभिलेख साङ्गीतक इतिहासको सामान्य ज्ञान प्रदान गर्ने सन्दर्भ ग्रन्थमा सीमित भएको छ ।
यो मुकारुङको महत्वकाङ्क्षी कृति हो । पुस्तकको गाता पल्टाउने बित्तिकै ९ जना व्यक्तिको ‘विज्ञ विचार’ र दुई जना नयाँ पुराना विद्यावारिधी विज्ञका भूमिका पढ्न पाइन्छ । पुस्तकको संरचना र विधिबारे उनीहरू खुलेर बोलेका छैनन् । भूमिका लेखकज्यूले पुस्तकका विवरण साङ्गीतिक इतिहासको विकासक्रम बुझ्न किन, कसरी र के—कति उपयोगी हुन सक्छ भन्ने बारेमा अमूर्त कुरा गरेका छन् । सङ्गीत इतिहास लेखनको जग बसाउन भनी प्रकाशित यो पुस्तक प्रधानमन्त्री सुशील कोइरालाको हातबाट विमोचन गर्ने अभ्यास पनि उदेकलाग्दो छ ।
यति विशाल पुस्तकमा केही मुद्राराक्षस क्षम्य भए पनि सच्याउनै पर्ने त्रुटीहरू पनि छन् । प्रकाशनको पक्षमा अन्तर्गत विमल गौतमको नाम हुनु पर्ने वीरु बाङ्देल भएको छ (पृ. १९) । पहिलो सामसुङ नेपाली ताराका प्रतिस्पर्धीको नाममध्ये ‘धमेन्द्र सेवा’ लाई धर्मेन्द्र सेवान बनाउनु पर्ने देखिन्छ (१०८) ।
तथापि, एक जना अध्येताले हजारौं कलाकारका बारेमा सूचना संकलन गर्ने जोश, जाँगर र मिहिनेतको कदर गर्नै पर्छ । धेरै ठाउँमा छरिएका र खोज्दा समेत नपाउन सकिने केही तथ्य र सूचनाको संकलनका रुपमा पुस्तकमा धेरै कुरा लिपिबद्ध भएको छ । सङ्गीतको प्राचीन र आधुनिक कालबीचको सेतु जोड्न मात्र नभई सङ्गीतको बहुविधागत जानकारीका लागि पनि पुस्तक उपयोगी छ । नेपाली सङ्गीत आजको अवस्थासम्म आइपुग्नुमा हजारौं स्रष्टाको योगदान रहेको कुरा सबैलाई थाहा भए पनि ती सबैलाई हामी चिन्न सक्दैनौं । मुकारुङले तीसँग परिचित हुने मौका दिएर तिनको सम्मान गरेका छन् ।