नेपालमा वि.सं. २०५० को शुरुआतदेखि एफएम रेडियो प्रसारणको अभ्यास शुरु भएको हो । एफएम रेडियोको प्रसारणसँगै स्वाभाविक रुपमा सरकार नियन्त्रित रेडियो नेपालको एकाधिकार कमजोर हुँदै गयो । संगीत क्षेत्रमा यसको मुख्यतः दुईखाले प्रभाव पर्यो । पहिलो, सांगीतिक क्षेत्रमा स्वर परीक्षा नदिई, गायकले गीतकार र गीतकारले संगीतकारलाई नदेखी नभेटी गीत बन्न थाल्यो । र दोस्रो, प्रविधिको सहजताले प्रत्यक्ष गाउनु पर्ने बाध्यताबाट कलाकारहरु मुक्त भए ।
यस्तो परिवर्तनले सरकारी प्रमाणपत्रधारी व्यक्तिलाई मात्र संगीतकार वा कलाकार मान्नु पर्ने बाध्यताको अन्त गर्यो । सरकारी संरचनाभित्र उस्तै खालको धारमा चलिरहेको संगीतलाई फराकिलो दायरामा विस्तार गर्न यो परिवर्तनले थुप्रै सकारात्मक परिवर्तन गरेकोमा शंका छैन । तर प्रविधिले कलाकारलाई अल्छी बनाइदिएको पनि सत्य हो । पुराना पुस्ताका लागि प्यासनमा सीमित संगीत क्षेत्र व्यवसायिक बन्दै गएपछि कलाकारहरु अभ्यास र साधना भन्दा चर्चाप्रेमी भए । संगीतकर्मीहरुले एक अर्कालाई भेटेर सहकार्य गर्दा जन्मिने टिम स्पिरिटको अभाव खड्कियो । रिटेकको सुविधाले कलाकारहरु स्टुडयोभित्र जमे पनि प्रत्यक्ष गाउनु पर्दा कमजोर देखिए ।
यसरी वर्तमान संगीत क्षेत्र प्रविधिको सुविधा अर्थात् ट्रयाक सिस्टमको संक्रमणबाट गुज्रिरहँदा यसमा हस्तक्षेप गर्ने उद्देश्यले एउटा समूह ०६९ देखि प्रत्यक्ष सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ । ‘अलग अभियान’ नामको यो समूह साहित्यिक गतिविधिमा भने विगत ८ वर्षदेखि सक्रिय छ । गीत र साहित्य नजिकको मात्र नभई गीत नै साहित्य भएको अवस्थामा पनि सँगै हिँड्न सकिरहेको छैन । अभियानका संयोजक नाकिमा भन्छन्, ‘‘साहित्य र संगीतलाई अलग अलग बोकेर हिड्ने समूह धेरै छन् । तर हामीले सँगै लिएर हिँड्ने जमर्को गर्यौं, यस मानेमा हामी अलग भयौं कि भन्ने लाग्छ ।’’
नाकिमा, नदिश र विशद् अलग अभियानको प्रारम्भिक चरणका हर्ताकर्ता थिए । अहिले समूहमा रमेश खड्का, प्रतिमा पाठक, साङ्केन बान्तवा, अविनाश भट्टराई, मन्जु खड्का, मण्डल साम्पाङ, पावल थुलुङ, राजकुमार समाल, भीमसेना राई, सागर संसार राई, बबिना किराती, रेवत राई, दिपेश राईलगायतका सदस्य छन् । यीमध्ये केहीले अक्षर कोरेर कविता र गीत बनाउँछन् । कोही धुन र आवाज भरेर संगीत बनाउँछन् । हरेक महिना काठमाडौंको सातदोबाटोस्थित अलग आर्ट हबमा केही तन्नेरीहरु कविता र गीतका अनेक बान्की लिएर जम्मा हुन्छन् । तिनको काव्य सिर्जना सुन्न र सांगीतिक प्रस्तुतिको स्वाद चाख्न नयाँ पुराना अनुहारहरु थचक्क चकटी र कुर्सीमा बस्छन् । कार्यक्रममा औसतमा ३०—४० जनाको सहभागीता हुन्छ । अभियानका सदस्यबाहेक प्रायः सबैजसो कार्यक्रममा निम्त्याइने अतिथि सर्जक वा वक्ताले कार्यक्रमको रौनक बढाएको हुन्छ ।
अभियानका नियमित कार्यक्रमहरु प्रायः विषयविशेष हुन्छन् । कहिले माया प्रेम त कहिले सामाजिक विषय समेटिने यसमा भूकम्पपछि प्राकृतिक प्रकोपको विषयले समेत महत्व पायो । बाह्र बैसाखको विनाशकारी भूकम्पपछिकै सन्दर्भमा समूहकै रेवत राई र प्रतिमा पाठकलगागतका साथीहरुले ‘ढले धरोहर’ गीत रेकर्ड गराए । वर्षमा एक पटक विशेष कार्यक्रम गर्ने यो समूहले हालै सम्पन्न विशेष शृंखलामा वर्षभरिका प्रस्तुति मध्येबाट छानेर ५५ ओटा कविता संकलित कृति ‘अलग कविता’ प्रकाशित गरेको छ । त्यसै गरी, चुनिएका ५ ओटा रचना संकलित सिडी ‘अलग संगीत’ पनि सार्वजनिक गरेको छ । नियमित कार्यक्रमबाहेक पुराना सर्जकका स्मृतिमा सम्बन्धित सर्जककै सिर्जनाको प्रत्यक्ष प्रस्तुति पनि गरेर पुराना पुस्ताका कामलाई नयाँ पुस्तासँग जोड्ने पहलको थालनी गर्नु यसको विशेषता बनेको छ । अभियानले आप्mना नियमित कार्यक्रममा समूह भन्दा बाहिरका सर्जकहरुलाई निम्त्याएर सिर्जनात्मक सहकार्य र सहयात्रामा विश्वास राखेको संकेत मिल्छ । अभियानका नियमित तथा विशेष कार्यक्रममा हालसम्म तुलसी दिवस, बुलु मुकारुङ, श्रवण मुकारुङ, लासिमित राई, विनोदविक्रम केसी, अभय श्रेष्ठ, आभा मुकारुङ, तुलसी पराजुली, झुमा लिम्बु आदिलाई अथिति स्रष्टा÷कलाकारका रुपमा निम्त्याइसकेको छ ।
नयाँ पुस्ताको बाहुल्य रहेको अलग अभियानले नयाँ माध्यम र प्रविधिलाई मज्जाले सदुपयोग गरेको छ । अभियानका प्रस्तुतिहरु नियमित रुपमा युट्युबमा राखिन्छ । गीतहरु अडियो साउन्ड प्लगमा अपलोड हुँदै आएको छ । अलग अभियानको फेसबुक र वेबसाइट पनि छ । यस्ता माध्यमहरुले एकैचोटी विश्वव्यापी हुने अवसर दिएको छ । काठमाडौं केन्द्रित अलग अभियानलाई काठमाडौं बाहिर पनि लैजाने उद्देश्यअनुरुप खोटाङमा समेत कार्यक्रम भइसकेको छ । समूहमा खोटाङ्ेली समूहको बाहुल्य भएकोले पनि खोटाङ नै उनीहरुको प्राथमिकतामा परेको अनुमान गर्न गाह्रो छैन । वर्षको एक पटक मात्र भए पनि काठामाडौं बाहिरका जिल्लामा कार्यक्रम गर्ने समूहको योजना छ । समूह हालसम्म सदस्यको निजी खर्च केही शुभचिन्तकका सहायतको बलमा टिकेको छ ।
कला तथा साहित्यको उत्थानमा सक्रिय अधिकांश समूह साहित्य र संगीतलाई जोड्ने भन्दा पनि अलग अलग विधाका रुपमा अघि बढाउन सक्रिय रहेको अवस्थामा अभियानका गतिविधिले बीसको दशकको मध्यतिर सक्रिय राल्फा, लेकालीजस्ता केही समूहको झल्को दिन्छ । नयाँ नयाँ प्रयोगसहित गीत वा कविता रच्ने, धुन भर्ने र प्रत्यक्ष गाउने काममा यस्ता समूहले संगीतलाई प्रत्यक्ष रुपमा समाजको नजिक पु¥याएका थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा जनमत बनाउनमा यी समूहले गतिलै भूमिका खेले । तर अहिलेको खुला वातावरणमा अलग अभियानको एजेण्डा के त ? संयोजक नाकिमा भन्छन् ‘‘हामी विषयवस्तु र प्रस्तुतिको संयोजनमा सन्तुलित बन्ने प्रयास नै हाम्रो ध्येय हो । हामी राजनीतिक नभएर सिर्जनात्मक अभियनमा छौं ।’’ उनको स्पष्टिकरण छ, हामी अलग हुनु भनेको कुनै वादमा बाँधिनु होइन । कला पक्ष र अन्तवस्र्तुमा सन्तुलनको प्रयास नै हाम्रो ध्येय हो ।
अलग अभियानमा प्रत्यक्ष गाउनु र बजाउनु पर्ने भएकोले सर्जकले साधनामा जोड दिनुपर्ने बाध्यता छ । प्रत्यक्ष गाउनु बजाउनु चुनौतीपूर्ण हुँदाहुँदै पनि अलग अभियानका सदस्यहरुले स्वेच्छाले यस्तो जोखिम मोलिरहेका छन् । गीत कविता प्रस्तुतिका लागि करिब दुई हप्ता तयारी गर्छन् । केहीले राम्रो लेखे पनि प्रस्तुतिमा कमजोर हुन्छन् त कसैको प्रस्तुति राम्रो अनि विषय कमजोर हुन्छ । विषयवस्तु र कला अर्थात प्रस्तुति दुवैलाई सन्तुलित र सशक्त बनाउने प्रयासमा यो समूहले कार्यक्रमका लागि चानचुन २ हप्ता अभ्यास गर्छ । अलगका सदस्यहरु मिलेसम्म हप्ताको ३ दिन जुट्छन् । प्रत्यक्ष अभ्यास गर्दाका केही चुनौती पनि छन् । संगीतकार मण्डल साम्पाङको विचारमा सबै गायकसँग काम गर्दा सिर्जनका बारेमा अन्तक्र्रिया गर्नै पर्ने वातावरण सिर्जना हुनु प्रत्यक्ष प्रस्तुतिको प्रमुख फाइदा हो । संगीतकार तथा गायक राजकुमार समाल भन्छन् ‘‘प्रत्यक्ष गाउने बजाउने अभ्यास खर्चिलो त छँदैछ, कहिलेकाहीँ साथीभाइबीच समय व्यवस्थापन गर्न पनि कठिनाई हुन्छ ।’’ प्रत्यक्ष गायनको अभ्यास गर्दा कलाकारको व्यक्तिगत आत्मविश्वास बढाउने समूहकै गायिका बबिना किरातीको अनुभव छ । त्यस्तै अर्का गायक सागर संसार राई भन्छन् ‘‘ट्रयाकमा जस्तो प्रत्यक्ष गाउँदा आ गाइहालिन्छ नि भनेर हेलचेक्राइ गर्न मिल्दैन, यसरी गाउँदा कलाकारमा गम्भीरता थप्छ ।’’
पछिल्लो समयमा साहित्य, नाटक र सिनेमामा जति राम्रा काम भए संगीत क्षेत्रबाट हुन सकेन । नेपाली साहित्य र संगीत क्षेत्रमा हरेक दशकमा कुनै न कुनै अभियान चल्दै आएका छन् । तीमध्ये साहित्यिक अभियानको समूह ठूलो र प्रभाव पनि धेरै छ । तर संगीत र साहित्यलाई सँगै जोडेर लाने अभियान निकै कम छन् । यस्तो परिदृश्यमा अलग बन्ने जोखिम मोल्नु सराहनीय भए पनि अलग भएको प्रमाणित गर्न समूहले सिर्जनशील पहिचान स्थापित गर्नु पर्ने चुनौती छ । किनकी, समूहले निकालेका गीति सिडी र कविता संग्रहमा अलगपनाको छापको अभाव टड्कारो भेटिन्छ । समूहका सिर्जना समाजमुखी र समानको पक्षमा देखिए पनि शैलीमा नवीनताको खाँचो झल्किन्छ ।
तर हरेक कामको परिणामका लागि केही समय कुर्नै पर्ने हुन्छ । यद्यपि, युवाको बाहुल्य रहेको यस समूहले गरेका प्रयासले समय सापेक्ष रुपमा आपूmलाई खार्दै परिष्कृत सिर्जना पस्किने बाटो भने खुला राखेको छ । संयोजक नाकिमाले भने जस्तै समूहले तय गर्नु पर्ने यात्रा धेरै लामो भए पनि यसले सिर्जनात्मक बामे सरिसकेको छ र हिड्ने तरखर गर्दैछ । यसबाहेक, सदस्यहरुले संयोग भने पनि समूहमा जनजाति समूहको बाहुल्य रहेकोले गैरजनजाति समूहलाई पनि आप्mनो कामबाट प्रभावित गर्न अलग अभियानले ‘जनजाति समूह’को बिल्ला हटाएर गैरजनजातिको मन जित्ने काम गर्नु पनि उत्तिकै आवश्यक छ ।