भाइटीकाको भोलिपल्ट । कात्तिक २८, शनिबार बिहान ९ः१५ को समय । मीनभवनबाट कलंकी जान गाडी कुर्दाकुर्दै नाकाबन्दीको असर भोगियो । पन्ध्र मिनेट कुरिसक्दा पनि कलंकी जाने बस नआएपछि करन र म कालीमाटीमा झरेर अर्को बस चढांैला भनी बल्खु जाने नेपाल यातायात चढ्यौं । बानेश्वर के पुगेका थियौं, पछाडिको सिसाबाट कलंकी जाने बस आएको देखेँ । करनलाई झट्पट् उत्र भनेर म त कुदिँहाले । धन्न खलासी भाइले बानेश्वरसम्मको पैसा मागेनन् । कलंकी जाने बस कुर्दाकुर्दा थाकेर बल्खुको गाडी चढेकी एकजना आमैले पनि हामीलाई पछ्याइन् । कलंकी नपुगुन्जेलसम्म झलझली ग्याँसबाट चल्ने नीलो माइक्रो सम्झिरहेँ । कति छिट्छिटो आउँथे ती ।
कलंकीमा सगुना दिदी र क्षितिज कुरिरहेका थिए । कलंकी नजिकै बस्ने रेशमा भने हामी पुगेपछि मात्रै हात हल्लाउँदै आइपुगिन् । गाडी प्लस पदयात्राको उद्देश्यले चित्लाङ हुँदै कुलेखानी पुग्न तम्सिएका हामीलाई थानकोट पुर्याउने गाडी नपाएपछि केहीबेर अलमलियौं । संयोगवश सर्वसाधारणका लागि निःशुल्क लेखिएको गाडी पाएपछि हाम्रो यात्राको थालनी सुखद बन्यो । थानकोट झर्दा १० बजिसकेको थियो । भोक नलागोस् भनेर थानकोटकै नेवारी खाजाघरमा पेटपूजा गरियो । गाडी पाए गाडी चढ्ने, नत्र हिँडेर भए पनि जाने उर्जासहित थानकोटबाट दक्षिण पश्चिमको १५ मिनेट जतिको बाटो हिँडियो । बसपार्कको एउटै मात्र गाडी हामीलाई नै कुरेर बसेजस्तो देखिन्थ्यो । तर बसले अरुलाई नि कुरेको रैछ । रेशमाले बसभित्र हामीभन्दा दायाँ बसेका दुई जना पाका दाईसँग जुदाइ फिल्मको परेश रावल शैलीमा प्रश्न-वर्षा गरिन्, 'चित्लाङ पुग्न कति समय लाग्छ ? त्याँ कति चिसो छ ? बस्ने व्यवस्था कस्तो छ ? टिभी हेर्न पाइएला त ? अनि, बिगबोस देखाउने च्यानल होला कि नाइ ?' रेशमालाई यसअघि यति धेरै बोलेको नसुनेका हामी ४ जनाले उनको वाकपटुता देखेर आँखा सन्कायौं, जिब्रो पनि टोक्यौं ।
कलंकीमा सगुना दिदी र क्षितिज कुरिरहेका थिए । कलंकी नजिकै बस्ने रेशमा भने हामी पुगेपछि मात्रै हात हल्लाउँदै आइपुगिन् । गाडी प्लस पदयात्राको उद्देश्यले चित्लाङ हुँदै कुलेखानी पुग्न तम्सिएका हामीलाई थानकोट पुर्याउने गाडी नपाएपछि केहीबेर अलमलियौं । संयोगवश सर्वसाधारणका लागि निःशुल्क लेखिएको गाडी पाएपछि हाम्रो यात्राको थालनी सुखद बन्यो । थानकोट झर्दा १० बजिसकेको थियो । भोक नलागोस् भनेर थानकोटकै नेवारी खाजाघरमा पेटपूजा गरियो । गाडी पाए गाडी चढ्ने, नत्र हिँडेर भए पनि जाने उर्जासहित थानकोटबाट दक्षिण पश्चिमको १५ मिनेट जतिको बाटो हिँडियो । बसपार्कको एउटै मात्र गाडी हामीलाई नै कुरेर बसेजस्तो देखिन्थ्यो । तर बसले अरुलाई नि कुरेको रैछ । रेशमाले बसभित्र हामीभन्दा दायाँ बसेका दुई जना पाका दाईसँग जुदाइ फिल्मको परेश रावल शैलीमा प्रश्न-वर्षा गरिन्, 'चित्लाङ पुग्न कति समय लाग्छ ? त्याँ कति चिसो छ ? बस्ने व्यवस्था कस्तो छ ? टिभी हेर्न पाइएला त ? अनि, बिगबोस देखाउने च्यानल होला कि नाइ ?' रेशमालाई यसअघि यति धेरै बोलेको नसुनेका हामी ४ जनाले उनको वाकपटुता देखेर आँखा सन्कायौं, जिब्रो पनि टोक्यौं ।
बसले त्यहाँबाट हिँड्न झन्नै आधा घण्टा लगायो । अन्तिम सिटमा ५ जना कचमचिएर जसोतसो अटाएका थियौं, तर अगाडिको सिट चिप्लिँदै गोडा च्याप्न आएपछि भने गोडा अलि लामो भएकाहरुले बेला बेला मान्छेसहितको सिटलाई धकेलेर बस्नुपर्ने भयो । काठमाडौंमा दैनिक भोगिरहेको परिवेशभन्दा फरक डाँडाकाँडा, बोट विरुवा र हावाको स्पर्शले बसको असुविधा बिर्साउँदै गयो ।
यात्राका लागि हामीसँग पर्याप्त समय थियो । हिँडेकै २ रात बिताउने गरी । चित्लाङ जाँदा शुरुमै आउने उकालो बाटो कटाउन मात्र गाडी चढेका थियौं । करिब ४५ मिनेट बसमा गुडेपछि पदयात्रा गर्न झर्यौ । ओर्लेको ठाउँबाट चित्लाङ पुग्न १ घण्टा मात्र लाग्ने रहेछ । तैपनि, साथीहरु हतारमा देखिन्थे, छोटो बाटो झरुम् भने । ओेरालै ओरालो जंगलको बीचैबीच झर्दै गएपछि दुबैतिर डाँडा र बीचमा खोबिल्टो जस्तो ठाउँमा तोरीका फूलहरु लहलाएको देखियो । एक खालको सन्नाटा थियो । अलि पर भिरालोमा भुराहरुले खेल्दा आएको आवाज पनि हामीलाई कराएजस्तो लाग्थ्यो । नजिकै पुगेपछि त ती भुरा 'बाघ आयो' भन्दै हामीलाई जिस्काउन थाले । बाघ आयोलाई पनि हामीले भुइँचालो आयो सुन्यौं ।
चित्लाङ गाउँ पुग्दा बस्ती सोचेभन्दा पातलो लाग्यो । दुबैतिर जंगल भएकोले होला दिउँसो १ बजेतिरको हावा पनि चिसो चिसो थियो । दशै तिहार सकिए पनि खुला चौरी बनाइएको लिङ्गे पिङमा बच्चा र युवा मच्चिरहेका देखिन्थे । दायाँ बायाँ हेर्दै, फोटो खिच्दै हिँडेकाले आधा घण्टाको बाटो १ घण्टा लगाएर हामी रिसोर्ट जाने बाटो मोडियौं । होम स्टेका लागि बनाइएका घरहरु जोडी बाँधेर बसेका थिए । तर हामीलाई त एकै ठाउँमा बसेर फतर फतर गर्नु थियो । अलग अलग बसेको भए रेशमाको ‘स्याट अप'वाला डायलग र करनको पन्च लाइनहरु छुटिहाल्थ्यो । क्षितिजको हाँसो र सगुना दिदीको हाइपर रियाक्सनको दर्शन एकै चोटी पाउन सम्भव थिएन । अनि हामी सबै संगीत प्रेमीको मूर्च्छनावाला स्याप्पा पनि छुट्थ्यो होला ।
रिसोर्ट डाँडाको ठ्याक्कै मुन्तिर रहेछ । ठूलो भूभाग ओगटेको रिसोर्टको आधा हिस्सा त नसपातीका बोटले नै ओगटेको थियो । २ बजे हामी रिसोर्टको पश्चिमतरिको कटेज भनाउँदो कोठा छिर्यौ । टिनले छाएको कोठामा एउटा खाट थियो, अनि भुइँको दुई विपरीत कुनामा बाँकी ओछ्यान थिए । कोठा, हामी ५ जनै एउटै परिवारका सदस्य झैं लुटुपुटु हुन पर्याप्त थियो । टिनको छत गर्मीमा तातो र जाँडोमा चिसो हुन्छ । अझ खुला ठाउँमा जंगलको हावावाला टिन थप चिसो हुने नै भयो । हामीले ब्यागमा कोचेर ल्याएका न्यानो ज्याकेट कपडा काम आयो ।
कोठामा केही छिन आराम गरेर निस्कँदा याद आयो, भारतबाट इन्धन र अन्य सामान आउन रोकिए पनि नयाँ नयाँ हिन्दी गीत आउन रोकिएको छैन । आरिजित सिंहका गीतहरु गुनगुनाउँदै चिसो सिरेटोमा हलुवा भनेर ल्याइएको ढिडोजस्तो केही खायौं । त्यसपछि, नसापातीको फलविनाका सयौ बोटहरु नाघेर डाँडा चढियो । रेशमालाई चिसो लागेकोले चार जना मात्र उक्लियौं । करन टुप्पामा पुगिसक्दा आफू त फेदमै थिएँ । हरियो चौरमा विना कुनै परवाह डङ्रङै लड्दा चिसो हावाको असर पनि कम हुन्थ्यो । घरीघरी सगुना दिदीको मोबाइलले निकाल्ने आवाजबाहेक जमिन र आकाश दुबै शान्त थियो । धेरै बेर टोलाएपछि मधुरो साँझ कालो बनिसकेको याद आयो । हामी फेरि मेसतिरै फर्कियौं । आगो कम र धुवाँ बढी ताप्दै हामीले खानासँगै नसपातीवाला वाइनको स्वाद पनि लियौं । अनि 'लाटो पहाड' कथा संग्रहभित्रकोे एउटा पात्र नसपाते बुढालाई सम्झिँदै मज्जाले हाँस्यौं पनि ।
नाकाबन्दीको असर भोलिपल्ट बिहानै पनि सुनियो, देखियो । चिया खान पल्लोपट्टीको टेबुलमा बसेको युवक भन्दै थियो ‘‘२ लिटर तेल हालेर आएको आधा बाटोसम्म नि टिकेन । अरु डुबे, मिसावटयुक्त तेल बेच्ने चै उक्से ।’ कुलेखानीसम्म जान मन गरिरहेका अर्को जोडी पनि थिए तर पेट्रोल नपुग्ला कि भन्ने दुविधाका कारण बाइकमा जान आँट गरेनन् । पैदल गएर फेरि चिल्लाङ फर्केर काठमाडौं पुग्न हम्मे हम्मे थियो । अन्तिममा तिनले चित्लाङकै आसपास डुलेर फर्कने निधो गरे । धन्न हामी बाइकमा गएका थिएनौं ।
केवल १५ किमि जतिको दुरी हिँड्नु पर्ने भएकोले ११ बजेमात्र चित्लाङसँग बिदा माग्यौ, मौका जुरे फेरि भेट होला भनेर ।
घाम चर्किँदै गए पनि खुला ठाउँ भएकोले हावाको कमी थिएन । गर्मी महसुस खासै गरिएन । मलाई त कहिले चित्लाङट अघि बढूँ भइरहेको थियो । मार्खु अझै राम्रो होला भन्ने अनुमान थियो । इन्द्र सरोवरको फोटो हेरेर त्यहाँको डुंगा चढ्ने रहरको आयु ६ महिना पुगिसकेको थियो । हामीले रात बिताएको ठाउँ चित्लाङको प्रवेश विन्दु जस्तै रहेछ । पैदल अघि बढ्दै जाँदा बल्ल त्यहाँका मान्छेहरु देखिन थाले । चिया पसल र स्मारक देखिए । खेतहरुमा धान काटेपछिको पराललाई एकनासे पाराले थुप्रो बनाइ राखिएको थियो । घरका घरहरु माटो र ढुंगाका बढी थिए भने झ्याल र ढोका काठका । झ्याल ढोका प्रायः नयाँ र चिटिक्क परेका । भूकम्पले सबैजसो घरको कुनै न कुनै भित्ता चर्काएको प्रमाण चिरा परेका भित्ताहरुले दिन्थ्यो । खुर्सानी, काउली, मूला आदिको बारी आउँथ्यो, जान्थ्यो । झ्यालमा झुण्डाइएको चिल्लो रातो डल्ले खुर्सानी चाख्न पाए पिरो हैन गुलियो नै होला कि भन्ने भान पथ्र्यो ।
चित्लाङको रुट त्रिभुवन राजमार्ग निर्माणअघि उपत्यकाबाट भारत र नेपालको दक्षिणी भूभाग पुग्ने एक मात्र पैदल मार्ग थियो भनिन्छ । सायद हामी पनि त्यही बाटो हिँडिरहेका थियौं । करिब डेढ घण्टाको हिँडाइपछि गिट्टीको बाटो सकियो । घुमाउरो माटोको बाटो आयो । केही छिनमै वारीपारी सल्लैसल्लाको बोट भएको बाटो पो आयो । करनले नाचूँला झै गर्यो । सबैले हे हे हा हु गर्न थाले । सगुना दिदीको माइग्रेनवाला टाउको दुख्न शुरु भइसकेकोले सल्लाको छहारीमा राम्रैसँग थकाइ मारियो । खाना खाइएको थिएन । खाजा पचिसकेको थियो । चिया कतै मिठो पाए त मरिजार्उँ ! तिहारको मसलाको प्याकेटबाट काजु, किसमिस, हाडे बदाम निख्रिसकेको थियो । मिसरी र सुकेको नरिवल मात्र बाँकी थियो । भोको पेटमा ती पनि नबिक्ने कुरै भएन । तर खानाको अभाव त्यसले घटाएन, बरु झन् बढायो । कचरपचर खाने मामिलामा दुई कदम पछाडि नै बस्ने क्षितिजको अनुहारमा पनि भोकको छायाँ देखेँ मैले । बाटोमा अघि बढ्दै जाँदा बचेखुचेको चिप्स र सुन्तला पनि तुरियो ।
गाँसबासको चिन्ता अलि कम भयो । सबैजना भोकाए पनि भनेजस्तो खाजा थिएन । ग्याँस नभएकोले दुधवाला चिया पिउने साथीहरुले पनि कालै चिया पिएर काम चलाए । माथिको ढिस्कोबाटै दुबैतिर इन्द्र सरोबरको दृश्यावलोकन गर्न मिल्ने सेतो रंगको दुई तले लजमा आँखा लगाइसकेका थियौं । कोठा पनि ५ जनै अट्ने पाइहालियो । यहाँ चाहिँ तीन ओटा खाट रहेछन् । खाजामा चाउचाउ पाइयो । आराम गरेर साँझ टहलिने कुरा कुरामै सीमित भयो । आखिर सबैजना थकित जो थियौं ।
राती ८ बजे खाना खाने बेलामा होटल साहुजीलाई आगो ताप्न पाए हुन्थ्यो भन्दा 'खाना पकाउने दाउरा त छैन । ' भन्ने जवाफले खिन्न बनायो । तर साहुजी त उदार रहेछन् । दाउराका साना झिक्राझिक्री बटुलेर आगो बालिदिए । उनको व्यवहार आगो भन्दा न्यानो लाग्यो । घरको बिछ्यौनामा सुत्दा ८ बजे अगाडिको बिहान कमै देख्ने म, नयाँ ठाउँमा सुत्दा जहिले घाम नउदाउँदै बिउझन्छु । मेरो यो बानीले अघिल्लो दिन पनि सबैलाई डिस्टर्ब भएको थियो । आज पनि त्यस्तै भयो । पुरा एक घण्टाको छटपटीपछि छेउमै सुतेको करनको निद्रा नबिथोली रहन सकिनँ । ६ः३० मा करन पनि उठ्यो । बिहानको दृश्य बेलुकीको तुलनामा झनै मनमोहक लाग्यो । ड्याम बनाइएकोले पानीको बहाव मन्द थियो । चिसोले पानीबाट बाफ उड्दा ताल त चिया पकाउने ताप्केमा परिणत भए झैं लाग्थ्यो । 'रातभर पानीमै निदाउन पाएका डुंगामा बसेर ती बाफलाई स्पर्श गर्न पाए ।' करन र म दुबैले एकै पटक सोचेपछि बोल्यौंं ‘हामी डुंगा चढ्ने बेलासम्म त ती बाफ हराइसक्छन् होला है ।'
मार्खुको मुख्य बजार भन्न मिल्ने ठाउँमा केही चहलपहल रहेछ । त्यहीँको नेवारी खाजा घरको रातो थर्मसबाट खन्याइएको कालो चिया पियौं । आहा ! घर छोडेपछिको पहिलो मीठो चिया । फूर्ति दोब्बर भयो । दुई कपको पन्ध्र रुपैंया मात्र ।
सबै जना तयार हुँदा आठ बज्योे । हिजै साँझ जाउँ जाउँ लागेको झोलुङ्गे पुलतिर हान्नियौं । सगुना दिदीको टाउको दुखाइ कम भएकोले सबै खुशी थियौं । हामी पुल पुग्दा हाम्रो समूहको बाँदर करन त पुल पारीको अग्लो डाँँडातिर दौडदै गरेको देखियो । पारीको उचाईबाट इन्द्र सरोबर नियाल्ने मन त मलाई पनि थियो । तर ज्यानमा करनजत्तिको उर्जा थिएन । रेशमाको मोबाइलमा फोन आयो । माथि टुप्पाको रुखबाट करनले पो गरेको रहेछ । उसको शैली देखेर सबै ट्वा । अर्कोतिर बिग बोस छुट्यो भनेर वाक्कै लाउने रेशमाको चञ्चलताले हामीलाई थप ट्वा पारेको थियो । क्षितिज भने पुलमुनिको पानीजत्तिकै शान्त र सौम्य । बेलाबेला परपरको क्षितिज हेर्दै हराइरहन्थ्यो, एक्लै । हाँस्दा भने ऊ पनि के कम, पानीजस्तै छचल्किदिन्थ्यो । सगुना दिदी भने कहिले सबैको मम्मी बन्थिन् त कहिले समूहकी सबैभन्दा कान्छी सदस्यजस्तो बालसुलभता देखाउँथिन् । मैले भने कस्तो प्रतिक्रिया देखाइरहेको हुँदो हो, कुन्नि ?
खाजा नखाइ डुल्न हिँडेका हामी होटल पुगेर केही बेरमै भात खान पाइएला भन्ने आशामा थियौं । तर साहुजी दाइ त 'दाउरा छैन' भन्दै झोक्राए । राती जोरजाम गरेर आगो ताप्ने अवसर दिएका उनलाई मनैमन फेरि धन्यवाद भनेँ । भात पकाउने दाउराले ज्यान सेकेकोमा खेद भयो । कठै, यिनका लजमा भरैदेखि को आउँला र ? हामी भने फेरि अघिकै बाटो फर्कियौं चोकसम्म । अरु बेला केही छिनमै खाना तयार हुन्छ भन्ने होटल साहुजीहरुले ग्याँस छैन, दाउरामा पाक्न १ डेढ घण्टा लाग्छ भनेको सुन्दा अचम्म लागेन । मार्खुको ताजा माछा खाँदै खाना कुरियो । असहज परिस्थितिका कारण खानामा तरकारीको मात्रा कम देखिए पनि हार्दिकता अपार थियो ।
विद्युत उत्पादनका लागि हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट चलाइएको कुलेखानी भएको ठाउँमा पहिले त बाक्लै बस्ती रहेछ । मार्खु गाउँको जग्गा सरकारले अधिग्रहण गरी ड्याम बनाइएको रहेछ । यो नदीजस्तो लामो तालको पानीलाई स्पर्श गर्न पाउने अवसर डुंगा चढेपछि मात्र पाउन सम्भव थियो । त्यसैले जसरी पनि डुंगा चढ्नु थियो । नियमित डुंगा चलाउने माझी दाई भने काठमाडौं गएका रहेछन् । पुरानै होटलवाला साहुजीले डुंगा चालक खोजिदिए । प्रति व्यक्ति सय रुपैंया तिर्ने मञ्जुरी भयो । पानीमा बिताएको १ घण्टा वर्णन गर्ने शब्द छैन मसँग । यत्ति भन्छु, पुरै यात्राभरिको सबैभन्दा आनन्ददायी क्षण थियो त्यो । जहाँ पुगेपछि फर्किन नपरे हुन्थ्यो जस्तो लागिरह्यो । १ घण्टा बित्न दश मिनेट पनि लागेन क्यारे ! कुनै समय स्वीमिङ खेलाडी नै बन्ने रहरसमेत पालेकी एक मात्र पर्फेक्ट स्वीमर सगुना दिदीले बेला बेला भन्थिन् 'हेर केट्केटी हो, डुंगा उल्ट्यो भने बाँच्ने त म मात्रै हो, हा हा हा ।' हामी पानीमरुवासँग 'हो' भन्नु बाहेक विकल्प थिएन ।
मार्खुबाट फार्पिङ हुँदै काठमाडौंको अन्तिम बस २ बजे आउँथ्यो । झोला झ्याम्टा बोकेर बस आउने चोक पुग्दा २ः०० बज्नै लागेको थियो । तताउँदा तताउँदैको माछा झोलामा हाल्न लगाएर बस चढ्यौं । लेडिजलाई सिट मिलाइदिन्छु भने पनि हाम्रो समूहका लेडिजहरु हामी जेन्ट्सभन्दा सशक्त थिए । थोरै डर पालेरै भए पनि बसको छतमा बसियो । बसको छत तरकारीले भरिएको थियो । हाम्रो ढाड बन्दाकोबीमा अनि टाउँको इस्कुसमा । उचाईबाट तल हेर्न डराउने म, माथि आकाशतिरै फर्केर आधा बाटो काटेँ । बाटो राम्रो भए पनि छतमा बसेकाले लप्सीलगायत अनेक जातिका रुखविरुवाका हाँगा र डाँठले बेला बेला चुटिरहन्थ्यो । सबैजना टाउको जोगाउन हा हो गर्दा सानो ५ वर्षे भाइ रिजन हेँ हेँ हँ गर्दै हासिँहाल्थ्यो । एक चोटी त उसँगै म पनि हाँसे । हाँसो फैलिएर पर क्षितिजसम्म पुग्यो । नजिकैको क्षितिजले भने आफ्नै स्टाइलमा मेरो हाँसो रोक्ने प्रयास गर्दै भन्यो 'महोदय ! एकछिन प्लीज, पैला म सास फेर्छु ।' हाँस्दाहाँस्दै काठमाडौं आइ त हाल्यो । पारिवारिक समस्याका कारण हामीसँगै आउन नपाएका उत्सव र ऋचा दिदीलाई यात्राभरि धेरै पटक मिस गरिरह्यौं । सबैले फेरि भन्यौं, उनीहरु पनि भएको भए यात्रा झनै गज्जब हुन्थ्यो ।
'बुकाहोलिक्स' समूहको पुस्तक छलफलले परिचित गराएको हामीलाई बैसाख बाह्रको विनाशकारी भूकम्पले झनै नजिक बनाएको हो । समय कठोर थियो, कठिन परिस्थितिमा समूहको नेतृत्व गरेर थोरै भए पनि काम गर्ने अवसर पायौं, साहस गर्यौं । यही क्रममा एउटै परिवार जस्तो भयौं । बुकाहोलिक्सका सदस्य र हाम्रा प्रियजनहरुबाट पाएको सहयोग पीडितसम्म पुर्याउने जिम्मेवारी निर्वाह गरेका हामी यसरी विनाकाम घुम्न मात्र गएको यो पहिलो पटक हो । यो यात्राले हामीलाई थप नजिक बनाएको छ ।