२०७० बैशाख १० गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विश्वचर्चित संगीतकारका कालजयी रचनाहरु प्रस्तुत भए । ‘च्याम्बर अर्केष्टा’ नाम दिइएको टोलीले गरेको प्रस्तुतिमा केही नेपाली रचनाहरु पनि थिए । ‘च्याम्बर अर्केष्टा’ मा रसियन, जर्मन, जापानिजलगायत नेपाली कलाकारहरुको सहभागिता थियो । उक्त कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।
सांगीतिक प्रस्तुतिको शुरुवात रसियन संगीतकार दमित्री सोस्ताकोभिचको रोमान्स बाट गरिएको थियो । छोटो समयमा धेरै संगीतकारका रचना प्रस्तुत गर्ने ध्येयले अधिकांश छोटा रचनाहरु प्रस्तुत भएका थिए । बिथोवेन, मोजार्ट, जोहन सेबेस्टियन बाख, जर्ज फ्रेडरिक, रोबर्ट सुमान, एन्टन रोबिन्स्टन जस्ता अन्तर्राष्टिय हस्तीका रचनाहरुसँगै नेपालीमा अम्बर गुरुङ र राजकुमार श्रेष्ठसमेतका रचनाको प्रस्तुतिले विविधता थपेको थियो । सोनाटिना, प्रिल्युड, मेलोडी, डिभर्टिमेन्टो, एरिया, सोनाटा, मेलोडी जस्ता उत्कृष्ट रचनाहरु सुन्दा दर्शकदीर्घामा बसेका संगीतकर्मी लगायत सामान्य स्रोता मजैसँग लठ्टिएका देखिन्थे । अझ, संगीत प्रतिष्ठानका सदस्य सचिव तथा गायक÷संगीतकार आभासले प्रत्येक प्रस्तुतिअघि दिएको संक्षिप्त जानकारीले स्रोतागणलाई राम्रै खुराक दिइरहेको थियो ।
संगीतबारे जानकारीसँगै आभासले उक्त कार्यक्रमको महत्व र औचित्यबारे पनि आप्mना मतहरु राखेका थिए । उनले भने ‘अन्तर्राष्ट्रिय संगीत सुन्नु भनेको विदेशी भाषाका पुस्तक पढ्नु जस्तै हो ।’ उनको विचारमा जसरी नेपाली कलाकारले विदेशी धुन बजाउन सक्छन्, त्यसरी नै नेपाली धुन विदेशीहरुले बजाउँन सक्छन् । उनले थपे ‘बाजा मात्र नेपाली भएर हुँदैन, धुन नेपाली हुनुपर्छ । मादल त हिन्दी चलचित्रमा संगीतकार आरडी बर्मनले पनि बजाएका थिए तर त्यो नेपाली संगीत थिएन ।’ नेपाली संगीतको पहिचानका लागि अर्केष्ट्राको विकास अपरिहार्य रहेकोमा जोड दिँदै आएका उनले पुनः त्यसको महत्व औल्याए । अर्केष्ट्राको विकास गर्न सकेमात्र विदेशी बाजामा पनि लोकरंगसहतिको नेपाली धुन बज्ने कुरासँगै उनले नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार र त्यसबाट पर्यटनको सम्भावनाको चर्चा गरे । यी भनाइहरुबाट संगीत प्रतिष्ठानले नेपाली संगीतको जगेर्नाबारे कस्तो दृष्टिकोण लिएको छ भन्ने संकेत गर्छ ।
करिब अढाइ घण्टा लामो उक्त कार्यक्रमको पहिलो चरण शुभकामना मन्तव्य र भाषणमा बित्यो । साहित्य, संगीत र ललितकला तीनओटै प्रतिष्ठानका कुलपतिहरु लगायत धेरैले मन्तव्य राखेको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव आभासले वार्षिक प्रगति विवरण पेश गर्दै प्रतिष्ठानको गतिविधि काठमाडौँभन्दा बाहिर बढी केन्द्रित भएको जानकारी दिए । नारायण गोपाल संगीत कोषलाई सहयोगका लागि विशेष धन्यवाद दिए ।
यो सामग्री लेख्नुको उद्देश्य कार्यक्रममा सहभागी हुँदा देखे–सुनेका र लागेका कुराहरुलाई लिपिबद्ध गर्नु हो । नलेखी मन र दिमागबाट हराउनुभन्दा जसोतसो एउटा संरचनामा ढाल्ने प्रयासमा यो सामग्री सायद समाचार र लेख दुबै बन्न सकेन । न त यो फिचरै भयो होला । तथापि, यसै विषयमा छापिएका समाचारहरु पढेपछि भने झिनो आत्मसन्तोष मिलेको छ । आफू सहभागी भएको कार्यक्रमबारे के लेखिएछ भनेर मैले बैशाख ११ गतेको कान्तिपुर हेरेँ । टीठलाग्दो रिपोर्टिङ रैछ । पत्रिकामा त सांगीतिक प्रस्तुतिलाई महत्व नै दिइएको थिएन । ‘जायन्ट फिगर’हरुले बोलेका कुराहरु मात्र लेखिएको रहेछ । वार्षिकी मनाउने यो अभ्यासलाई मिडियाले प्रोत्साहित गर्नुपर्ने तर उनीहरुको प्राथमिकतामा कलाकारहरु परेनन् । सरकार प्रमुख र राष्ट्रकविको फोटो छापेर समाचारका लागि सानो ठाउँ दिइएको रहेछ । तर मेरो विचारमा त्यस कार्यक्रमको प्रमुख आकर्षण र महत्व दुबै सांगीतिक प्रस्ुतति हुनु पर्ने हो । नेपाली सन्दर्भमा संगीतलाई नयाँ ढंगले सुन्न र बुभ्mन प्रेरित गर्ने उक्त कार्यक्रमले स्रोतालाई नयाँ स्वाद चखाएको थियो ।
वास्तवमा उक्त दिनको कार्यक्रमको पहिलो एक घण्टा पट्यारलाग्दो थियो । सरकारी संस्थाको कार्यक्रम भएकोले भाषण तथा मन्तव्यको कर्मकाण्डबाट मुक्त हुन सम्भव थिएन र भएन पनि । काकताली सरकार प्रमुख खिलराज रेग्मीको मन्तव्य सबैभन्दा लामो र बेतुकको थियो । प्लेटो तथा शेक्सपियरलाई कोट गर्दै लम्बाइएको उनको मन्तव्य त्रिभुवन विश्वविद्यालयका लागि लेखिने विवेचनात्मक उत्तर जस्तै लाग्थ्यो ।