Sunday, October 20, 2013

पुस्तक समीक्षा : फूलको आँखामा





प्रभाकर गौतम

पुस्तक : फूलको आँखामा
लेखक – आनी छोइङ डोल्मा
प्रकाशक : नेपालय
सन् २०११
रु. ३००
     
‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार...’
मोमेन्ट्स अफ ब्लिस एल्बममा रहेको यही गीतले आनी छोइङ डोल्मालाई नेपाली संगीत जगतमा स्थापित गराएको हो । यो क्यासेट २०६० मा सार्वजनिक भएको थियो । तर उनको सांगीतिक जीवन यो गीतभन्दा धेरै पुरानो छ । काठमाडौँ, शिवपुरीस्थित नागी गुम्बाभित्र एक दशकभन्दा बढी समय मन्त्र पाठको अगुवाइ गर्ने भूमिकाले उनको गायकीको जग हालेको हो । उनको गायन आध्यात्मिक वा धार्मिक कर्मका रुपमा विकसित भएकोले लामो समयसम्म उनले मन्त्रमात्र गाइन्, त्यो पनि तिब्बती भाषामा । यसअघि निस्किएका उनका तीन ओटा एल्बमहरु क्रमशः च्छो, डान्सिक डकिनी र सेल्वा विदेशमा मात्र बेचिएका थिए । तर 'फूलको आँखामा' गीतको लोकप्रियतापछि भने उनी नेपाली संगीतको कडीमा गहिरैसँग जोडिन पुगिन् । त्यही गीतको बोलले उनको आत्मकथाको शीर्षकसमेत जुराइयो फूलको आँखामा ।

फूलको आँखामा प्रारम्भ र उपसंहारबाहेक १९ ओटा अध्यायहरुमा विभाजित छ । उनको जीवनको करिब चार दशक लामो अवधिलाई समेटिएको यो आत्मकथामा उनको पारिवारिक तथा व्यक्तिगत पृष्ठभूमि, गुम्बाभित्रको जीवन, संगीत र समाजसेवाजस्ता विषयहरु मुखरित भएका छन् । यद्यपि पुस्तकमा यी सबै विषयहरु सिलसिलाबद्ध नभइ छ्यास्मिस रुपमा आएका छन् ।

चीनको राजनीतिक हस्तक्षेपका कारण भारत हुँदै नेपालमा तिब्बती शरणार्थीका रुपमा भित्रिएको एउटा समान्य परिवारमा उनको जन्म भएको थियो । सन् १९७१ मा काठमाडौँको बौद्धमा । उनको खास नामचाहिँ छेक्विद डोल्मा हो तर उनलाई सबैले भूमो भनेर चिन्थे । अहिले शान्त, शालीन र हँसिलो व्यक्तित्वकी धनी आनी कुनै बेला साथीहरुमाझ एक्सन किङ्ग ब्रुस लीकी बहिनीका रुपमा समेत चिनिन्थिन् । ताल परे ब्रुस लीकै स्टाइलमा साथीहरुलाई चुट्थिन पनि । तर तिनको ब्रुस ली स्टाइल साथीभाइहरुमाझ मात्र काम लाग्थ्यो । घरभित्र उनको नियति अर्कै थियो । गल्ति गरे पनि, नगरे पनि दिनहुजसो बाबुले भकुर्थे उनलाई । घरायसी कामको चापाचाप थियो । स–साना बालके गल्तिको ठूलो सजाय भोग्नु पथ्र्यो । बाबुको यस्तो हिंस्रक व्यवहारले भूमोमा बाबुप्रति भय र घृणा उब्जाइदिन्छ । आपूmसँगै आमालाई पनि निर्मम ढंगले चुटेको देखे–भोगेपछि उनी पुरुषसँग वैवाहिक जीवनमा बाँधिएर घरेलु दास नहुने अठोट लिन्छिन् । उनको मनमा पुरुषप्रति, वैवाहिक सम्बन्धप्रति र खासगरी महिलामाथि हुने सामाजिक विभेदहरुप्रति आक्रोश जाग्छ । त्यहीबाट उनको जीवनको नयाँ अध्याय शुरु हुन्छ– बुद्धमार्गी आनीका रुपमा ।

तेह्र वर्षको उमेरमा नागीगुम्बा प्रवेश गर्दा उनको एउटै ध्येय थियो – बाबुको क्रुर चुटाइबाट उन्मुक्ति । बाबुको यातना सहन नसकेर आमाकै सल्लाहमा वैकल्पिक उपायको खोजीमा धर्मको शरण लिन पुगेकी उनी गुरु टुल्कु उर्गेन रिम्पोछेको स्नेही छायाँमा हुर्किन्छिन् । गुम्बामा, घरमा बाबुले दिन नसकेको माया अनुभूत गर्छिन् । घरेलु कामको चापमा हराएको उनको बाल्यकाल समेत फिर्ता पाउँछिन् । गुम्बाभित्रै नाच्दै–गाउँदै उफ्रिन थाल्छिन् । गुम्बाको परिवेशमा शिक्षा र ज्ञान प्राप्त गर्छिन् । सबैभन्दा ठूलो कुरा गुरुको माया र संगत पाउँछिन् । गुरुको सान्निध्यले कुनैबेला रीस, राग र आवेगले भरिएकी भूमोलाई कालान्तरमा शान्त र उदार बनाउँछ । त्यसैले त उनी बाल्यकालमा आपूmलाई चरम पीडा दिने बाबुलाई सहजै क्षमामात्र गर्दिनन्, उनको अन्तिम समयको सहारा समेत बन्छिन् । यो पुस्तक स्नेह र संस्कारले व्यक्तिको जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा कसरी रुपान्तरण हुनसक्छ भन्ने सन्दर्भको प्रेरणादायी कथा हो । हिजो अभाव र विभेदमा हुर्केकी भूमो आज ख्याती प्राप्त गायक र समाजसेवी व्यक्तिको रुपमा स्थापित छिन् । त्योभन्दा पनि बढी उनी बोद्धिस्वत्वको खोजीमा लाग्नेहरुको लागि प्रेरणायी व्यक्तित्व हुन् । आफूलाई र अरुलाई पनि रुपान्तरण गर्ने उनको यात्रा अद्यापि जारी छ ।

आफ्नो मार्गदर्शक गुरु रिम्पोचेको मृत्युपश्चात् आनीले जीवनलाई नयाँ मोड दिन्छिन् । नागीगुम्बा छोडेर समाजसेवा अभियानमा लाग्छिन् । यसकामको लागि रकम जुटाउन संगीतलाई र धार्मिक सम्बधलाई भरमग्दुर प्रयोग गर्छिन् । एकै वर्षमा युरोप र अमेरिकामा पचास ओटाभन्दा बढी कन्सर्ट भ्याउनुले पनि उनको कडा परिश्रमको पुष्टि गर्छ  । उनको समाजसेवा मुख्यतः शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतासँग गाँसिएको छ । महिलाको जीवनस्तर उकास्नमा यी क्षेत्रहरुमा प्रशस्त काम गर्नुपर्ने बोध छ उनमा । हाल आनी विभिन्न संस्थासँग आबद्ध छिन् । उनी सन् १९९८ मा स्थापितनन्स वेलफेयर फाउन्डेसनकी संस्थापक हुन् । उनको सांगीतिक कार्यक्रमहरुको व्यवस्थापनको काम यसै संस्थाबाट हुँदै आएको छ । सांगीतिक कार्यक्रमहरुबाट उठ्ने रकम पनि नन्स वेलफेयर फाउन्डेसनमै जम्मा हुन्छ । यो फाउन्डेसनअन्तर्गत सञ्चालन भैरहेकोआर्यतारा स्कूल आनीको सबैभन्दा सफल परियोजना हो । उनको बुझाइमा सामाजिक संरचनात्मक विभेद बाहिरमात्र नभइ गुम्बाभित्र पनि छ । ‘नागीगुम्बामै पनि नब्बे प्रतिशत आनीहरु न पढ्न सक्थे न त लेख्न नै’ (पृ.१६४) । महिलाहरुको भूमिका ‘गुरुको सेवा र गुम्बाको सरसफाइमै’ सीमित थियो (पृ. १६४–१६५) । भोगाइ र अवलोकनका आधारमा महिलाको पछौटेपनका जटिलतालाई बुझेकैले उनको स्कूलमा नेपाल, भारत र तिब्बतका विपन्नबालिकाहरुलाई अध्ययनको राम्रो वातावरण तयार पार्न लागीपरेकी छिन् । उनी तिनमा ‘आप्mनै प्रतिच्छाया’ देख्छिन् । उनको स्कूलमा बुद्ध मूल्यमान्यताअनुसारको शिक्षा र आधुनिक शिक्षाको संयोजन गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष करिब पच्चीस सयदेखि तीनहजार व्यक्ति किड्नीसम्बन्धी समस्याको शिकार हुन्छन् । बिरामीहरुका लागि नेपालमा उपचार गर्ने राम्रो र पूर्ण व्यवस्थाको अभाव भएकोले भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता छ । यो प्रक्रिया निकै खर्चिलो छ । यी सबै कुरालाई आनीले आफ्नी आमा यही समस्याबाट पीडित भएपछि भोग्छिन् । आमाको एउटा मृगौला खराब भएपछि आमालाई थाहै नदिइ आफ्नो मृगौला प्रत्यारोपण गर्ने उनको प्रयास पनि सफल हुँदैन । अन्ततः उनले आमालाई गुमाउँछिन् । तथापि आमाको मृत्यु कमजोरी नभइ उर्जाको स्रोत बनाउन आनी सफल हुन्छिन् र उनको प्रण हुन्छ नेपालमै सुविधा सम्पन्न किड्नीसम्बन्धी अस्पताल खोल्ने । हाल डा. पुकार श्रेष्ठसँग मिलेर उनले यो काम अगाडि बढाइरहेकी छिन् । ‘यो पुस्तक लेख्नुको मेरो अर्को उद्देश्य त्यसै अस्पतालका निम्ति सहयोग रकम जुटाउनु पनि हो (पृ. २६४)’ भन्दै उनीआत्मकथा लेखनको एउटा महत्वपूर्ण औचित्य खुलाउँछिन् । ‘फ्रान्सेली प्रकाशकले किताबका लागि अनुबन्ध गर्दा प्रदान गरेको ४० हजार युरो पनि उनले त्यसै प्रयोजनमा खर्च गरिसकेकी छन् ।’

पुस्तकभरी आनीको व्यक्तित्व समय र परिस्थितिसँगै परिस्कृत हुँदै गएको पाइन्छ । धर्म, संगीत, समाजसेवा सबै कुरामा उनको व्यावहारिक पक्ष उजागर हुन्छ । उनी आनी हुन् तर हिन्दी सिनेमा हेरेर हाँस्छिन्–रुन्छिन् । निजीकार चढ्न, जुत्ताहरु फेरी–फेरी लगाउन मन पराउँछिन् । बुद्ध धर्मका मन्त्रहरु गाउँछिन् तर गाउनुको उद्देश्य धर्मको प्रचार–प्रसारसँगै पैसा कमाउनु पनि हो भनेर खुलरै भन्छिन् । आध्यात्मिक कुराभन्दा घर–परिवार, आमा–बुबा र मान्छेका सामाजिक कुरा बढी गर्छिन् । शिष्ट र ज्ञानीमात्र नदेखाइ आप्mनो हठी र रिसाहा स्वाभावलाई पनि नढाँटी प्रस्तुत गर्छिन् । मानवीय कमजोरीहरुलाई नलुकाइ भन्ने यही निश्छलताले उनको आत्मकथालाई विश्वसनीय बनाएको छ । उनले बौद्ध भिक्षुणीसम्बन्धी आमधारणालाई परिवर्तन गर्न संघर्ष गरेकी छिन् । धर्म र संगीतदुबैलाई व्यावहारोपयोगी प्रयोजनमा ल्याउन सफल भएकी छन् । उनी असामान्य कुरा गरेर भन्दा सामान्यजस्ता लाग्ने सामूहिक हितका काममा विश्वास गर्छिन् । यही नै आनीको जीनको सुन्दरतम् पक्ष हो भन्न सकिन्छ । पुस्तकमा धर्मबारे आध्यात्मिक पक्षहरुको चर्चा कम भएपनि धर्मको व्यावहारिक पक्षचाहिँ प्रशस्तै पाइन्छ, आनीकै कर्महरुमा ।

निःसन्देह आनीको जीवन प्रेरणादायी र उदाहरणीय छ । तर पुस्तकको ओज त्यसको संरचना र शैलीले राख्ने हो । यस दृष्टिकोणबाट मूल्यांकन गर्दा पुस्तक सामान्य स्तरको मात्र छ । घटनाहरु सिलसिलाबद्ध छैनन् । एउटा शीर्षकमा राखेर भन्नुपर्ने कुराहरु छरपष्ट भएकाले उनका कतिपय कुराहरु व्यवस्थित रुपमा बुभ्mन पुस्तकले खासै सघाउँदैन । जस्तैः धेरैले उनलाई गायकको रुपमा चिन्ने भएकोले गुम्बा प्रवेश गर्नु अघि संगीतप्रति उनको रुची कस्तो थियो भन्ने सामान्य कुरा पनि पाठकलाई प्रष्ट हुँदैन । उनका सांगीतिक भ्रमणहरु कुन अघि, कुन पछि भन्ने कुरामा अलमल हुन्छ । भाषा सरल भएकोले पढ्न सजिलो बनाए पनि पुस्तक लेखनमा संस्मरणात्मक भन्दा आख्यानात्मक विधि अवलम्बन गरिएको छ । कथात्मक तथा औपन्यासिक पुट दिने प्रयत्नले कतिपय ठाउँमा प्रस्तुति घुमाउरो र औपचारिक खालको छ ।

यो पुस्तक फ्रान्सेली लेखक लरेन्स द्रबिलसँगको सहकार्यमा पहिलो पटक सन् २००८ माप्रकाशित भएको थियो । हालफूलको आँखामा नेपालीसहित १२ भाषामा प्रकाशित भइसकेको छ । सन् २०११ मा प्रकाशित नेपाली संस्करणको प्रकाशक नेपालय हो । यसको नेपाली संस्करण गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो । सहलेखनले होला घरीघरी, आनीभन्दा सहलेखक बढी हावी भएको भान हुन्छ । सम्भवतः यही कारणले पुस्तकले मौलिकता गुमाएको हो कि !

सन्दर्भ सामग्री
१. नागरिक । २०६८ असोज १५ । आनीको आत्मकथा आयो । पृ. १२ ।
२. http://www.choying.com/

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको जर्नल (रङ्ग राग, पूर्णाङ्क १, २०६९) मा प्रकाशित 

Wednesday, October 2, 2013

(अ)कविता

                                -प्रभाकर गौतम
    उफ् !
यस्तो कहाँ थियो र ?
थिएन
साँच्चै थिएन
हाम्रो सपनाको ‘भोलि’ !