Wednesday, January 13, 2016

नेपाली सङ्गीतको अभिलेख : पुस्तक समीक्षा

नेपाली सङ्गीतको अभिलेख प्रभाकर गौतम
लेखक : बुलु मुकारुङ 
प्रकाशक : पाल्पा बुक्स (काठमाडौं)÷निर्माण प्रकाशन (सिक्किम) 
पृष्ठ : ८४८ 
मूल्य : १४०० रुपियाँ
बुलु मुकारुङ करिब चार दशकदेखि सङ्गीत तथा लेखनमा सक्रिय नाम हो । रेडियो नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति मन्त्रालयजस्ता संस्थामा विभिन्न पदमा रहेर काम गरेको अनुभवले सङ्गीत तथा संस्कृतिसम्बन्धी सूचना संकलनमा उनको पहुँच पनि छ । यिनै विषयलाई उनले लेखन तथा अनुसन्धानको विषय बनाउँदै आएका छन् । उनका चौध ओटा पुस्तक मध्ये आधाउधी सङ्गीत क्षेत्रसँगै सम्बन्धित छन् । मीरा मूच्र्छना (२०५७), सङ्गीतको प्रारम्भिक ज्ञान (२०५७), सङ्गीत आरोहण (२०५९), सङ्गीतको आधारभूत ज्ञान (२०७१), सङ्गीत अनुशीलन (२०७१) आदि उनीद्वारा लिखित सङ्गीत विषयका कृति हुन् । उनको सम्पादनमा पुष्प—पुष्पाञ्जली (२०५८) र नेपाली सङ्गीतका अभियन्ता : शिवशंकर (२०६१) गरी दुई ओटा स्मृति ग्रन्थ पनि प्रकाशित छन् । 
नेपाली सङ्गीतको अभिलेख मुकारुङको सङ्गीत क्षेत्रमा योगदान दिने स्रष्टाहरूको नामसँगै संक्षिप्तमा तिनका जन्म, मृत्यु, आमा बुबाको नाम, जन्म स्थल, सिर्जना आदिबारे आधारभूत जानकारी समेटिएको ग्रन्थ हो । यसमा उनले झण्डै ६ हजार स्रष्टाका विवरण समावेश गरेका छन् । यसमध्ये करिब डेढ सय साङ्गीतिक समूह र पुगनपुग दुई सय ओटा गीत, सङ्गीत, नाटक तथा जनसंस्कृतिको जगेर्ना र उत्थानमा सक्रिय संघसंस्था बारे जानकारी छन् । सङ्गीत तथा संस्कृतिका विभिन्न विधालाई समेत समेटिएको छ । 
प्ुस्तक ५ ओटा खण्डमा विभक्त छ । पाँच खण्डलाई जम्मा २६ ओटा शीर्षकमा बाँडिएको छ । यी शीर्षकभित्र अभिलेखै हराउन लागिसकेको समयदेखि वर्तमानमा सक्रिय गायक, गीतकार, सङ्गीतकारलगायत साङ्गीतिक समूह र संघसंस्थाका जानकारी छन् । विधागत हिसाबले लोक सङ्गीत, जनवादी सङ्गीत, शास्त्रीय सङ्गीत, भक्ति सङ्गीत, हाँस्य व्यग्ङ्य, परम्परागत नृत्य, वाद्यवादन, परम्परागत बाजा, नाटक आदि क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा समूहगत प्रयासका संक्षिप्त विवरण पनि संकलित छ । यसक्रममा स्वाभाविक रुपमा दरबारदेखि झुपडीसम्मका प्रसंग अटाएका छन् । क्षेत्रगत हिसाबले कुनै न कुनै रुपमा नेपाली सङ्गीतमा योगदान दिने सिक्किम, दार्जिलिङ, असम, भुटान, बर्मालगायत पश्चिमा देशका कलाकारका जानकारी समेत परेका छन् । 
सामग्री संकलनको काम शुरु गरेको झण्डै १६ वर्षपछि मात्र प्रकाशित यस पुस्तक मार्फत मुकारुङले पाठकलाई ओझेलमा परेका व्यक्ति तथा समूह बारेका जानकारीसँगै सङ्गीत विधाका अनेक तथ्यसँग परिचित हुने अवसर उपलब्ध गराएका छन् । पुस्तकको सबैभन्दा सबल पक्ष यही हो । 
तर सूचना संकलनमा धेरै मिहिनेत गरेका लेखकले उपलब्ध सूचनालाई पाठकमाझ कसरी प्रस्तुत गर्ने भन्ने पक्षमा चाहिँ कमै समय दिए भन्ने कुरा पुस्तकको संरचना र प्रस्तुति हेर्दा छर्लङ्ग हुन्छ । प्राक्कथनमा लेखकले सूचना संकलनको विधि र त्यसको उपादेयताबारे ठोस केही चर्चा नगरेको देख्दा पहिलो गाँसमै ढुंगा लागे झैं हुन्छ । यति विशद् ग्रन्थमा कुन खण्डमा के छ र के छैन भनेर स्पष्ट नपार्दा पाठक अलमलमा पर्छन् । लेखकले पुस्तकको विषयलाई सीमा किटेर प्रस्तुत नगर्नु र भूगोलमा समेत नबाँध्दा धेरै जनाले फलानोको चर्चा खै त भन्न सक्ने आधार दिएका छन् । लेखकले पुस्तकमा को परे र को छुटे प्रष्ट्याएका छैनन् । एउटै पुस्तकमा सबै अटाउन सम्भव छैन, तर फलानोलाई पारियो मलाई छुटाइयो आरोपबाट बच्न लेखक सजग हुनै पथ्र्यो । 
लेखकले बढीभन्दा बढी कलाकारलाई समेट्ने उद्देश्यले पुस्तक प्रकाशनको अन्तिम चरणसम्म पनि नाम र अतिरिक्ति जानकारी संकलन गरी पछि थपिँदै गरेका अन्य कलाकार भनेर शीर्षक नै छुटयाएर धेरैको नाम राखेका छन् । पुस्तकको अन्तिम पातामा छुटेकाहरूको नाम र जानकारी पठाउन अनुरोधसहित सम्पर्क गर्ने इमेल र फोन नम्बरसमेत दिएका छन् । लेखकको यो प्रयास सराहनीय छ । तर पछि थपिएका धेरैको जन्म मिति, आमा बुबाको नाम र अन्य आधारभूत जानकारी छैन । हतारमा काम गर्नु परेकोले यस्तो भएको बुझ्न गाह्रो छैन, तर लेखकले यो पक्षलाई सम्बोधन गर्न भूमिका वा फुुटनोटमा थोरै भए पनि बोल्नै पथ्र्यो । 
कलाकारका गीत—सङ्गीत वा एल्बमबारे जानकारी दिँदा लेखक कुनै मापदण्ड वा नियममा चलेका छैनन् । यसबाट पाठकलाई र स्रष्टालाई नै पनि गुनासो गर्ने आधार मिलेको छ । लेखकको सूचना स्रोतमा भएको पहुँच नै मान्नु पर्छ कि उनले अरुण थापाले गाएको भजन र मगर भाषाको गीतको बोलसमेत दिएका छन् । तर अरुण थापाका कति ओटा क्यासेट सार्वजनिक भए भन्ने जानकारी दिनुको साटो दर्जन भन्दा बढी गीतको बोल दिएका छन् (पृ. १२०) ।  त्यस्तै, क्रमशैः चर्चा गरिएका दीप श्रेष्ठ र दीपक खरेलबारे दिइएका जानकारीमा पनि एकरुपता छैन (पृ. १३६—१३७) । लेखकले दीप श्रेष्ठका दर्जन भन्दा बढी गीतको बोल उल्लेख गर्दै तीन ओटा एल्बमको नाम समेटेका छन् तर ‘शृंखला’ एल्बम÷सिडीको नाम छुटेको छ । दीपक खरेलले रेडियो नेपालमा प्रथम पटक गाएको गीतको साल उल्लेख गर्ने लेखकले त्यस्तै जानकारी दीप श्रेष्ठबारे दिएका छैनन् । यसरी कलाकारका बारेमा के भन्ने नभन्नेमा उनी प्रष्ट छैनन् । सर्जकका सार्वजनिक भएका सम्पूर्ण एल्बमका नामहरू दिएर सबैभन्दा चर्चित एक दुईटा गीतको बोल मात्र उल्लेख गरेका भए सायद यो पुस्तकको मोटाइ थोरै भए पनि कम हुन्थ्यो । 
कुनै स्रष्टाका बारेमा लामो र कसैको अति संक्षिप्त चर्चाले पनि लेखकको लापरवाही झल्काउँछ । उदाहरणका लागि, सिजन्स ब्याण्डबारे लेखकले दिएको पूर्ण जानकारी यस्तो छ ‘सिजन्स ब्यान्ड अहिले अस्तित्वमा छैन । तथापि यस ब्यान्डले विभिन्न प्रस्तुति गरेको थियो ।’ यो जानकारीबाट सिजन्स ब्यान्ड कहिले अस्तित्वमा थियो र यस ब्यान्डले निकालेका एल्बम वा चर्चित गीत कुन हो भन्ने सन्दर्भमा पनि कुनै जानकारी मिल्दैन । जबकी, हेटौडाका युवाहरूको ब्यान्ड सिजन्सले पचासको दशकमा निकै चर्चित र स्तरीय गीतहरू रचना गरेका छन् । द सिजन्सको नाममा भाग ३ सम्म एल्बम निस्केको छ । यसै समूहका मुख्य गायक सुजिल कर्माचार्य, जो पछि एकल गायनमा लागे, हालै लन्डनको रोयल अल्बर्ट हलमा ऐतिहासिक प्रस्तुति दिने मध्येका एक कलाकार हुन् । अर्को खण्डमा, यिनै गायकबारे दिइएको परिचय पढ्दा लेखकलाई यिनको नाम र काम दुबै थाहा नभएको प्रतीत हुन्छ । सुजिल कर्माचार्य हुनुपर्ने नाम सुजित कर्माचार्य त भएकै छ, उनलाई भुमो बोलको एउटै गीत गाएर चर्चामा आएको गायकसमेत भनिएको छ (पृ. ३२६) । जबकी चंचल तिम्रा ती हेराइमा, सपनामात्र, असफल जिन्दगी, आमा...मलाई गर्व छ नेपालमा जस्ता गीतहरू उनको स्वरमा यसअघि नै चर्चित छन् ।  
पुस्तकको मोटाइ घटाउन सकिने अरु पनि ठाउँ छन् । जस्तै, रमेश विकल (पृ. ९५) ले रेडियो नेपालमा स्वर परीक्षा दिई उत्तीर्ण नभएपछि लेखनमा लागेको कुरालाई इतिहास—अभिलेखभित्रका सङ्गीत शीर्षकभित्र अनावश्यक रुपमा महत्वका साथ राखिएको छ । इतिहास उत्खनन्का लागि भनेर लेखकले प्राथमिकतामा पारेका कतिपय प्रसंग खासै महत्वपूर्ण छैनन् । जस्तै, स्कूलमा सङ्गीत—शिक्षक भनेर दर्जनौको नाम दिएका छन् । तर यहाँ नाम दिइएका भन्दा धेरै व्यक्तिले अहिले सङ्गीत पढाउने भएकाले यो विषय ऐतिहासिक उत्खनन्को विषय कसरी भयो ? बरु प्रथम सङ्गीत—शिक्षक भनेर एक जनाको नाम लेखेका भए त्यसको केही महत्व हुन्थ्यो होला । सङ्गीत सिक्ने पत्रकार  भनेर केही नामहरू दिइएको छ । के यो साँच्चै इतिहास उत्खनन्को विषय हो ? दार्जिलिङ्कै गायक शुरेशकुमारलाई नेपालका कलाकारका रुपमा र अरुणालामालाई प्रवासी नेपाली कलाकारको सूचीमा राखिनुको आधार र तर्क के हो ? यस्ता अनेक प्रश्नको चित्तबुझ्दो उत्तर भेटिँदैन । पुस्तकमा प्रवासी र नेपाली कलाकार बीचको दुविधा बढाउने अरु पनि नामहरू छन् ।
पुस्तकमा भरपुर सूचना छ । लेखकले हरेक खण्डमा भएका सूची वा विवरणलाई विषयगत वा विधागत रुपमा विश्लेषण गरी निष्कर्ष निकालेका भए यी सूचनाले नेपाली सङ्गीतको इतिहास लेखनमा नयाँ आयाम थप्न सक्थ्यो । तर यसको अभावमा यो अभिलेख साङ्गीतक इतिहासको सामान्य ज्ञान प्रदान गर्ने सन्दर्भ ग्रन्थमा सीमित भएको छ । 
यो मुकारुङको महत्वकाङ्क्षी कृति हो । पुस्तकको गाता पल्टाउने बित्तिकै ९ जना व्यक्तिको ‘विज्ञ विचार’ र दुई जना नयाँ पुराना विद्यावारिधी विज्ञका भूमिका पढ्न पाइन्छ । पुस्तकको संरचना र विधिबारे उनीहरू खुलेर बोलेका छैनन् । भूमिका लेखकज्यूले पुस्तकका विवरण साङ्गीतिक इतिहासको विकासक्रम बुझ्न किन, कसरी र के—कति  उपयोगी हुन सक्छ भन्ने बारेमा अमूर्त कुरा गरेका छन् । सङ्गीत इतिहास लेखनको जग बसाउन भनी प्रकाशित यो पुस्तक प्रधानमन्त्री सुशील कोइरालाको हातबाट विमोचन गर्ने अभ्यास पनि उदेकलाग्दो छ ।
यति विशाल पुस्तकमा केही मुद्राराक्षस क्षम्य भए पनि सच्याउनै पर्ने त्रुटीहरू पनि छन् । प्रकाशनको पक्षमा अन्तर्गत विमल गौतमको नाम हुनु पर्ने वीरु बाङ्देल भएको छ (पृ. १९) । पहिलो सामसुङ नेपाली ताराका प्रतिस्पर्धीको नाममध्ये ‘धमेन्द्र सेवा’ लाई धर्मेन्द्र सेवान बनाउनु पर्ने देखिन्छ (१०८) । 
तथापि, एक जना अध्येताले हजारौं कलाकारका बारेमा सूचना संकलन गर्ने जोश, जाँगर र मिहिनेतको कदर गर्नै पर्छ । धेरै ठाउँमा छरिएका र खोज्दा समेत नपाउन सकिने केही तथ्य र सूचनाको संकलनका रुपमा पुस्तकमा धेरै कुरा लिपिबद्ध भएको छ । सङ्गीतको प्राचीन र आधुनिक कालबीचको सेतु जोड्न मात्र नभई सङ्गीतको बहुविधागत जानकारीका लागि पनि पुस्तक उपयोगी छ । नेपाली सङ्गीत आजको अवस्थासम्म आइपुग्नुमा हजारौं स्रष्टाको योगदान रहेको कुरा सबैलाई थाहा भए पनि ती सबैलाई हामी चिन्न सक्दैनौं । मुकारुङले तीसँग परिचित हुने मौका दिएर तिनको सम्मान गरेका छन् । 

Wednesday, November 18, 2015

मन लोभ्याउने 'इन्द्र सरोवर' -प्रभाकर गौतम

भाइटीकाको भोलिपल्ट । कात्तिक २८, शनिबार बिहान ९ः१५ को समय । मीनभवनबाट कलंकी जान गाडी कुर्दाकुर्दै नाकाबन्दीको असर भोगियो । पन्ध्र मिनेट कुरिसक्दा पनि कलंकी जाने बस नआएपछि करन र म कालीमाटीमा झरेर अर्को बस चढांैला भनी बल्खु जाने नेपाल यातायात चढ्यौं । बानेश्वर के पुगेका थियौं, पछाडिको सिसाबाट कलंकी जाने बस आएको देखेँ । करनलाई झट्पट् उत्र भनेर म त कुदिँहाले । धन्न खलासी भाइले बानेश्वरसम्मको पैसा मागेनन् । कलंकी जाने बस कुर्दाकुर्दा थाकेर बल्खुको गाडी चढेकी एकजना आमैले पनि हामीलाई पछ्याइन् । कलंकी नपुगुन्जेलसम्म झलझली ग्याँसबाट चल्ने नीलो माइक्रो सम्झिरहेँ । कति छिट्छिटो आउँथे ती ।

कलंकीमा सगुना दिदी र क्षितिज कुरिरहेका थिए । कलंकी नजिकै बस्ने रेशमा भने हामी पुगेपछि मात्रै हात हल्लाउँदै आइपुगिन् । गाडी प्लस पदयात्राको उद्देश्यले चित्लाङ हुँदै कुलेखानी पुग्न तम्सिएका हामीलाई थानकोट पुर्याउने गाडी नपाएपछि केहीबेर अलमलियौं । संयोगवश सर्वसाधारणका लागि निःशुल्क लेखिएको गाडी पाएपछि हाम्रो यात्राको थालनी सुखद बन्यो । थानकोट झर्दा १० बजिसकेको थियो । भोक नलागोस् भनेर थानकोटकै नेवारी खाजाघरमा पेटपूजा गरियो । गाडी पाए गाडी चढ्ने, नत्र हिँडेर भए पनि जाने उर्जासहित थानकोटबाट दक्षिण पश्चिमको १५ मिनेट जतिको बाटो हिँडियो । बसपार्कको एउटै मात्र गाडी हामीलाई नै कुरेर बसेजस्तो देखिन्थ्यो । तर बसले अरुलाई नि कुरेको रैछ । रेशमाले बसभित्र हामीभन्दा दायाँ बसेका दुई जना पाका दाईसँग जुदाइ फिल्मको परेश रावल शैलीमा प्रश्न-वर्षा गरिन्, 'चित्लाङ पुग्न कति समय लाग्छ ? त्याँ कति चिसो छ ? बस्ने व्यवस्था कस्तो छ ? टिभी हेर्न पाइएला त ? अनि, बिगबोस देखाउने च्यानल होला कि नाइ ?' रेशमालाई यसअघि यति धेरै बोलेको नसुनेका हामी ४ जनाले उनको वाकपटुता देखेर आँखा सन्कायौं, जिब्रो पनि टोक्यौं । 

बसले त्यहाँबाट हिँड्न झन्नै आधा घण्टा लगायो । अन्तिम सिटमा ५ जना कचमचिएर जसोतसो अटाएका थियौं, तर अगाडिको सिट चिप्लिँदै गोडा च्याप्न आएपछि भने गोडा अलि लामो भएकाहरुले बेला बेला मान्छेसहितको सिटलाई धकेलेर बस्नुपर्ने भयो । काठमाडौंमा दैनिक भोगिरहेको परिवेशभन्दा फरक डाँडाकाँडा, बोट विरुवा र हावाको स्पर्शले बसको असुविधा बिर्साउँदै गयो । यात्राका लागि हामीसँग पर्याप्त समय थियो । हिँडेकै २ रात बिताउने गरी । चित्लाङ जाँदा शुरुमै आउने उकालो बाटो कटाउन मात्र गाडी चढेका थियौं । करिब ४५ मिनेट बसमा गुडेपछि पदयात्रा गर्न झर्यौ । ओर्लेको ठाउँबाट चित्लाङ पुग्न १ घण्टा मात्र लाग्ने रहेछ । तैपनि, साथीहरु हतारमा देखिन्थे, छोटो बाटो झरुम् भने । ओेरालै ओरालो जंगलको बीचैबीच झर्दै गएपछि दुबैतिर डाँडा र बीचमा खोबिल्टो जस्तो ठाउँमा तोरीका फूलहरु लहलाएको देखियो । एक खालको सन्नाटा थियो । अलि पर भिरालोमा भुराहरुले खेल्दा आएको आवाज पनि हामीलाई कराएजस्तो लाग्थ्यो । नजिकै पुगेपछि त ती भुरा 'बाघ आयो' भन्दै हामीलाई जिस्काउन थाले । बाघ आयोलाई पनि हामीले भुइँचालो आयो सुन्यौं ।

चित्लाङ गाउँ पुग्दा बस्ती सोचेभन्दा पातलो लाग्यो । दुबैतिर जंगल भएकोले होला दिउँसो १ बजेतिरको हावा पनि चिसो चिसो थियो । दशै तिहार सकिए पनि खुला चौरी बनाइएको लिङ्गे पिङमा बच्चा र युवा मच्चिरहेका देखिन्थे । दायाँ बायाँ हेर्दै, फोटो खिच्दै हिँडेकाले आधा घण्टाको बाटो १ घण्टा लगाएर हामी रिसोर्ट जाने बाटो मोडियौं । होम स्टेका लागि बनाइएका घरहरु जोडी बाँधेर बसेका थिए । तर हामीलाई त एकै ठाउँमा बसेर फतर फतर गर्नु थियो । अलग अलग बसेको भए रेशमाको ‘स्याट अप'वाला डायलग र करनको पन्च लाइनहरु छुटिहाल्थ्यो । क्षितिजको हाँसो र सगुना दिदीको हाइपर रियाक्सनको दर्शन एकै चोटी पाउन सम्भव थिएन । अनि हामी सबै संगीत प्रेमीको मूर्च्छनावाला स्याप्पा पनि छुट्थ्यो होला । रिसोर्ट डाँडाको ठ्याक्कै मुन्तिर रहेछ । ठूलो भूभाग ओगटेको रिसोर्टको आधा हिस्सा त नसपातीका बोटले नै ओगटेको थियो । २ बजे हामी रिसोर्टको पश्चिमतरिको कटेज भनाउँदो कोठा छिर्यौ । टिनले छाएको कोठामा एउटा खाट थियो, अनि भुइँको दुई विपरीत कुनामा बाँकी ओछ्यान थिए । कोठा, हामी ५ जनै एउटै परिवारका सदस्य झैं लुटुपुटु हुन पर्याप्त थियो । टिनको छत गर्मीमा तातो र जाँडोमा चिसो हुन्छ । अझ खुला ठाउँमा जंगलको हावावाला टिन थप चिसो हुने नै भयो । हामीले ब्यागमा कोचेर ल्याएका न्यानो ज्याकेट कपडा काम आयो । 

कोठामा केही छिन आराम गरेर निस्कँदा याद आयो, भारतबाट इन्धन र अन्य सामान आउन रोकिए पनि नयाँ नयाँ हिन्दी गीत आउन रोकिएको छैन । आरिजित सिंहका गीतहरु गुनगुनाउँदै चिसो सिरेटोमा हलुवा भनेर ल्याइएको ढिडोजस्तो केही खायौं । त्यसपछि, नसापातीको फलविनाका सयौ बोटहरु नाघेर डाँडा चढियो । रेशमालाई चिसो लागेकोले चार जना मात्र उक्लियौं । करन टुप्पामा पुगिसक्दा आफू त फेदमै थिएँ । हरियो चौरमा विना कुनै परवाह डङ्रङै लड्दा चिसो हावाको असर पनि कम हुन्थ्यो । घरीघरी सगुना दिदीको मोबाइलले निकाल्ने आवाजबाहेक जमिन र आकाश दुबै शान्त थियो । धेरै बेर टोलाएपछि मधुरो साँझ कालो बनिसकेको याद आयो । हामी फेरि मेसतिरै फर्कियौं । आगो कम र धुवाँ बढी ताप्दै हामीले खानासँगै नसपातीवाला वाइनको स्वाद पनि लियौं । अनि 'लाटो पहाड' कथा संग्रहभित्रकोे एउटा पात्र नसपाते बुढालाई सम्झिँदै मज्जाले हाँस्यौं पनि । नाकाबन्दीको असर भोलिपल्ट बिहानै पनि सुनियो, देखियो । चिया खान पल्लोपट्टीको टेबुलमा बसेको युवक भन्दै थियो ‘‘२ लिटर तेल हालेर आएको आधा बाटोसम्म नि टिकेन । अरु डुबे, मिसावटयुक्त तेल बेच्ने चै उक्से ।’ कुलेखानीसम्म जान मन गरिरहेका अर्को जोडी पनि थिए तर पेट्रोल नपुग्ला कि भन्ने दुविधाका कारण बाइकमा जान आँट गरेनन् । पैदल गएर फेरि चिल्लाङ फर्केर काठमाडौं पुग्न हम्मे हम्मे थियो । अन्तिममा तिनले चित्लाङकै आसपास डुलेर फर्कने निधो गरे । धन्न हामी बाइकमा गएका थिएनौं । 

केवल १५ किमि जतिको दुरी हिँड्नु पर्ने भएकोले ११ बजेमात्र चित्लाङसँग बिदा माग्यौ, मौका जुरे फेरि भेट होला भनेर । घाम चर्किँदै गए पनि खुला ठाउँ भएकोले हावाको कमी थिएन । गर्मी महसुस खासै गरिएन । मलाई त कहिले चित्लाङट अघि बढूँ भइरहेको थियो । मार्खु अझै राम्रो होला भन्ने अनुमान थियो । इन्द्र सरोवरको फोटो हेरेर त्यहाँको डुंगा चढ्ने रहरको आयु ६ महिना पुगिसकेको थियो । हामीले रात बिताएको ठाउँ चित्लाङको प्रवेश विन्दु जस्तै रहेछ । पैदल अघि बढ्दै जाँदा बल्ल त्यहाँका मान्छेहरु देखिन थाले । चिया पसल र स्मारक देखिए । खेतहरुमा धान काटेपछिको पराललाई एकनासे पाराले थुप्रो बनाइ राखिएको थियो । घरका घरहरु माटो र ढुंगाका बढी थिए भने झ्याल र ढोका काठका । झ्याल ढोका प्रायः नयाँ र चिटिक्क परेका । भूकम्पले सबैजसो घरको कुनै न कुनै भित्ता चर्काएको प्रमाण चिरा परेका भित्ताहरुले दिन्थ्यो । खुर्सानी, काउली, मूला आदिको बारी आउँथ्यो, जान्थ्यो । झ्यालमा झुण्डाइएको चिल्लो रातो डल्ले खुर्सानी चाख्न पाए पिरो हैन गुलियो नै होला कि भन्ने भान पथ्र्यो । 

चित्लाङको रुट त्रिभुवन राजमार्ग निर्माणअघि उपत्यकाबाट भारत र नेपालको दक्षिणी भूभाग पुग्ने एक मात्र पैदल मार्ग थियो भनिन्छ । सायद हामी पनि त्यही बाटो हिँडिरहेका थियौं । करिब डेढ घण्टाको हिँडाइपछि गिट्टीको बाटो सकियो । घुमाउरो माटोको बाटो आयो । केही छिनमै वारीपारी सल्लैसल्लाको बोट भएको बाटो पो आयो । करनले नाचूँला झै गर्यो । सबैले हे हे हा हु गर्न थाले । सगुना दिदीको माइग्रेनवाला टाउको दुख्न शुरु भइसकेकोले सल्लाको छहारीमा राम्रैसँग थकाइ मारियो । खाना खाइएको थिएन । खाजा पचिसकेको थियो । चिया कतै मिठो पाए त मरिजार्उँ ! तिहारको मसलाको प्याकेटबाट काजु, किसमिस, हाडे बदाम निख्रिसकेको थियो । मिसरी र सुकेको नरिवल मात्र बाँकी थियो । भोको पेटमा ती पनि नबिक्ने कुरै भएन । तर खानाको अभाव त्यसले घटाएन, बरु झन् बढायो । कचरपचर खाने मामिलामा दुई कदम पछाडि नै बस्ने क्षितिजको अनुहारमा पनि भोकको छायाँ देखेँ मैले । बाटोमा अघि बढ्दै जाँदा बचेखुचेको चिप्स र सुन्तला पनि तुरियो । 

करिब २ बजेपछिको अबको यात्रामा उकालो बाटो हिँड्ने पालो आयो । एक घण्टाको सुस्त सुस्त हिँडाइपछि मार्खुको भेडा फार्म आयो । अहो ! अलिकति उकाली, अलिकति ओराली गर्दै अग्ला होचा ढिस्काहरुले बनेको फराकिलो चउर देख्दा जंगलीको शम्मी कपुर शैलीमा सबै चिच्यायौं ‘या हू' । करन त छोटो ओरालो बाटो झरिहाल्योे र फेदमा पुगेपछि डाँडामा उक्लिन भेडा जसरी नै उक्लिन थाल्यो । हामी चार जना भने बिस्तारै घुमाउरो मूलबाटो भएरै चढ्यौं । जहाँ गए पनि शान्त लाग्ने अचम्मकै यात्रामा थियौं हामी । हल्ला गर्ने त हामी मात्रै । रुख चढेर त कोही भूइँमा लडेर फोटो खिच्न थाले । सेल्फी, वीफी अनि युफी सब चलिरह्यो । सगुना दिदीको हालत झन् खराब हुँदै थियो । कुलेखानी ड्याम नै पुग्ने हो भने अझै एक डेढ घण्टा लाग्ने भर्खरै गएका एक जोडीले बताए । तिनले छोटो बाटो पनि देखाइदिए । ३ बजिसकेको थियो, हतार गर्नै पर्यो । आखिर रात कहाँ बिताउने, के खाने चिन्ता थियो । डाँडाको टुप्पाबाट झरेको मात्र के थियौ, ठीक दाहिनेपट्टी बाटो पारीबाट आएको चिसो हावाले अर्कै तरिकाले छोयो । निलो पानी शान्त मुद्रामा देखियो । हाम्रो उत्साहको सीमा थिएन । माइग्रेनवाली दिदी पनि फोटो खिच्न तम्सिहालिन् । तर...एकैछिनमा उनको डायलग आयो, ‘अब खिच न फोटो मोरामोरी हो । मात्र १५ पर्सेन्ट चार्ज बाँकी छ । मनमनै बोलेँ, ‘थुइक्क, यै डाँडाको टुप्पामा मक्ख परेर ब्याटरी सक्नु पर्ने सबैलाई ।’ डाँडाबाट झर्दाझर्दै सल्लाह भयो कुलेखानी हैन, यही बस्ने । कुन चाहिँ मूर्खले नाइ भन्थ्यो र !

गाँसबासको चिन्ता अलि कम भयो । सबैजना भोकाए पनि भनेजस्तो खाजा थिएन । ग्याँस नभएकोले दुधवाला चिया पिउने साथीहरुले पनि कालै चिया पिएर काम चलाए । माथिको ढिस्कोबाटै दुबैतिर इन्द्र सरोबरको दृश्यावलोकन गर्न मिल्ने सेतो रंगको दुई तले लजमा आँखा लगाइसकेका थियौं । कोठा पनि ५ जनै अट्ने पाइहालियो । यहाँ चाहिँ तीन ओटा खाट रहेछन् । खाजामा चाउचाउ पाइयो । आराम गरेर साँझ टहलिने कुरा कुरामै सीमित भयो । आखिर सबैजना थकित जो थियौं । 

राती ८ बजे खाना खाने बेलामा होटल साहुजीलाई आगो ताप्न पाए हुन्थ्यो भन्दा 'खाना पकाउने दाउरा त छैन । ' भन्ने जवाफले खिन्न बनायो । तर साहुजी त उदार रहेछन् । दाउराका साना झिक्राझिक्री बटुलेर आगो बालिदिए । उनको व्यवहार आगो भन्दा न्यानो लाग्यो ।  घरको बिछ्यौनामा सुत्दा ८ बजे अगाडिको बिहान कमै देख्ने म, नयाँ ठाउँमा सुत्दा जहिले घाम नउदाउँदै बिउझन्छु । मेरो यो बानीले अघिल्लो दिन पनि सबैलाई डिस्टर्ब भएको थियो । आज पनि त्यस्तै भयो । पुरा एक घण्टाको छटपटीपछि छेउमै सुतेको करनको निद्रा नबिथोली रहन सकिनँ । ६ः३० मा करन पनि उठ्यो । बिहानको दृश्य बेलुकीको तुलनामा झनै मनमोहक लाग्यो । ड्याम बनाइएकोले पानीको बहाव मन्द थियो । चिसोले पानीबाट बाफ उड्दा ताल त चिया पकाउने ताप्केमा परिणत भए झैं लाग्थ्यो । 'रातभर पानीमै निदाउन पाएका डुंगामा बसेर ती बाफलाई स्पर्श गर्न पाए ।' करन र म दुबैले एकै पटक सोचेपछि बोल्यौंं ‘हामी डुंगा चढ्ने बेलासम्म त ती बाफ हराइसक्छन् होला है ।' 

मार्खुको मुख्य बजार भन्न मिल्ने ठाउँमा केही चहलपहल रहेछ । त्यहीँको नेवारी खाजा घरको रातो थर्मसबाट खन्याइएको कालो चिया पियौं । आहा ! घर छोडेपछिको पहिलो मीठो चिया । फूर्ति दोब्बर भयो । दुई कपको पन्ध्र रुपैंया मात्र । सबै जना तयार हुँदा आठ बज्योे । हिजै साँझ जाउँ जाउँ लागेको झोलुङ्गे पुलतिर हान्नियौं । सगुना दिदीको टाउको दुखाइ कम भएकोले सबै खुशी थियौं । हामी पुल पुग्दा हाम्रो समूहको बाँदर करन त पुल पारीको अग्लो डाँँडातिर दौडदै गरेको देखियो । पारीको उचाईबाट इन्द्र सरोबर नियाल्ने मन त मलाई पनि थियो । तर ज्यानमा करनजत्तिको उर्जा थिएन । रेशमाको मोबाइलमा फोन आयो । माथि टुप्पाको रुखबाट करनले पो गरेको रहेछ । उसको शैली देखेर सबै ट्वा । अर्कोतिर बिग बोस छुट्यो भनेर वाक्कै लाउने रेशमाको चञ्चलताले हामीलाई थप ट्वा पारेको थियो । क्षितिज भने पुलमुनिको पानीजत्तिकै शान्त र सौम्य । बेलाबेला परपरको क्षितिज हेर्दै हराइरहन्थ्यो, एक्लै । हाँस्दा भने ऊ पनि के कम, पानीजस्तै छचल्किदिन्थ्यो । सगुना दिदी भने कहिले सबैको मम्मी बन्थिन् त कहिले समूहकी सबैभन्दा कान्छी सदस्यजस्तो बालसुलभता देखाउँथिन् । मैले भने कस्तो प्रतिक्रिया देखाइरहेको हुँदो हो, कुन्नि ? 

खाजा नखाइ डुल्न हिँडेका हामी होटल पुगेर केही बेरमै भात खान पाइएला भन्ने आशामा थियौं । तर साहुजी दाइ त 'दाउरा छैन' भन्दै झोक्राए । राती जोरजाम गरेर आगो ताप्ने अवसर दिएका उनलाई मनैमन फेरि धन्यवाद भनेँ । भात पकाउने दाउराले ज्यान सेकेकोमा खेद भयो । कठै, यिनका लजमा भरैदेखि को आउँला र ? हामी भने फेरि अघिकै बाटो फर्कियौं चोकसम्म । अरु बेला केही छिनमै खाना तयार हुन्छ भन्ने होटल साहुजीहरुले ग्याँस छैन, दाउरामा पाक्न १ डेढ घण्टा लाग्छ भनेको सुन्दा अचम्म लागेन । मार्खुको ताजा माछा खाँदै खाना कुरियो । असहज परिस्थितिका कारण खानामा तरकारीको मात्रा कम देखिए पनि हार्दिकता अपार थियो । 

विद्युत उत्पादनका लागि हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट चलाइएको कुलेखानी भएको ठाउँमा पहिले त बाक्लै बस्ती रहेछ । मार्खु गाउँको जग्गा सरकारले अधिग्रहण गरी ड्याम बनाइएको रहेछ । यो नदीजस्तो लामो तालको पानीलाई स्पर्श गर्न पाउने अवसर डुंगा चढेपछि मात्र पाउन सम्भव थियो । त्यसैले जसरी पनि डुंगा चढ्नु थियो । नियमित डुंगा चलाउने माझी दाई भने काठमाडौं गएका रहेछन् । पुरानै होटलवाला साहुजीले डुंगा चालक खोजिदिए । प्रति व्यक्ति सय रुपैंया तिर्ने मञ्जुरी भयो । पानीमा बिताएको १ घण्टा वर्णन गर्ने शब्द छैन मसँग । यत्ति भन्छु, पुरै यात्राभरिको सबैभन्दा आनन्ददायी क्षण थियो त्यो । जहाँ पुगेपछि फर्किन नपरे हुन्थ्यो जस्तो लागिरह्यो । १ घण्टा बित्न दश मिनेट पनि लागेन क्यारे ! कुनै समय स्वीमिङ खेलाडी नै बन्ने रहरसमेत पालेकी एक मात्र पर्फेक्ट स्वीमर सगुना दिदीले बेला बेला भन्थिन् 'हेर केट्केटी हो, डुंगा उल्ट्यो भने बाँच्ने त म मात्रै हो, हा हा हा ।' हामी पानीमरुवासँग 'हो' भन्नु बाहेक विकल्प थिएन । 

मार्खुबाट फार्पिङ हुँदै काठमाडौंको अन्तिम बस २ बजे आउँथ्यो । झोला झ्याम्टा बोकेर बस आउने चोक पुग्दा २ः०० बज्नै लागेको थियो । तताउँदा तताउँदैको माछा झोलामा हाल्न लगाएर बस चढ्यौं । लेडिजलाई सिट मिलाइदिन्छु भने पनि हाम्रो समूहका लेडिजहरु हामी जेन्ट्सभन्दा सशक्त थिए । थोरै डर पालेरै भए पनि बसको छतमा बसियो । बसको छत तरकारीले भरिएको थियो । हाम्रो ढाड बन्दाकोबीमा अनि टाउँको इस्कुसमा । उचाईबाट तल हेर्न डराउने म, माथि आकाशतिरै फर्केर आधा बाटो काटेँ । बाटो राम्रो भए पनि छतमा बसेकाले लप्सीलगायत अनेक जातिका रुखविरुवाका हाँगा र डाँठले बेला बेला चुटिरहन्थ्यो । सबैजना टाउको जोगाउन हा हो गर्दा सानो ५ वर्षे भाइ रिजन हेँ हेँ हँ गर्दै हासिँहाल्थ्यो । एक चोटी त उसँगै म पनि हाँसे । हाँसो फैलिएर पर क्षितिजसम्म पुग्यो । नजिकैको क्षितिजले भने आफ्नै स्टाइलमा मेरो हाँसो रोक्ने प्रयास गर्दै भन्यो 'महोदय ! एकछिन प्लीज, पैला म सास फेर्छु ।' हाँस्दाहाँस्दै काठमाडौं आइ त हाल्यो । पारिवारिक समस्याका कारण हामीसँगै आउन नपाएका उत्सव र ऋचा दिदीलाई यात्राभरि धेरै पटक मिस गरिरह्यौं । सबैले फेरि भन्यौं, उनीहरु पनि भएको भए यात्रा झनै गज्जब हुन्थ्यो । 
'बुकाहोलिक्स' समूहको पुस्तक छलफलले परिचित गराएको हामीलाई बैसाख बाह्रको विनाशकारी भूकम्पले झनै नजिक बनाएको हो । समय कठोर थियो, कठिन परिस्थितिमा समूहको नेतृत्व गरेर थोरै भए पनि काम गर्ने अवसर पायौं, साहस गर्यौं । यही क्रममा एउटै परिवार जस्तो भयौं । बुकाहोलिक्सका सदस्य र हाम्रा प्रियजनहरुबाट पाएको सहयोग पीडितसम्म पुर्याउने जिम्मेवारी निर्वाह गरेका हामी यसरी विनाकाम घुम्न मात्र गएको यो पहिलो पटक हो । यो यात्राले हामीलाई थप नजिक बनाएको छ ।

Tuesday, November 3, 2015

मनमा गुञ्जिने केही गीत -प्रभाकर गौतम


अनौपचारिक रुपमा मन परेका गीतको सूची बनाउन मिनेट पनि लाग्दैन । तर ती मध्येबाट मात्र दश ओटा गीत छान्नु पर्दा दाँतबाट पसिना आउँदो रहेछ । अब तिनै छानेका गीतबारे औपचारिक मत प्रकट गर्दाको सकस के भनूँ र खै, शब्दै छैन । यस्तो सकसलाई निबन्धकार भूपिनले उनको निबन्ध संग्रह चौबीस रिलभित्रको मनको एल्बमका प्रिय गीत शीर्षकको निबन्धमा मन छुने ढंगले अभिव्यक्त गरेका छन् । 
तर भूपिनलाई छुट थियो, त्यसैले उनले आफूले मन पराएका नेपाली बाहेक हिन्दी र अंग्रेजी गीतलाई पनि समेट्न पाए । मैले भने नेपाली गीत नै छान्ने जिद्दी कसेँ । पछिल्ला पाँच वर्षको अवधि बीचमा निस्केका गीतमा मात्र केन्द्रित हुने सीमा पनि तोके । तर घण्टौंसम्म दिमागले पाँच वर्ष भन्दा परको गीत मात्र सोच्यो । आखिर दिमागको काम नै निहुँ खोज्नु त रहेछ ।
समयसीमालाई खुकुलो बनाएर लेख्न सायद अलि सजिलो हुन्थ्यो । तर संगीत क्षेत्रको पछिल्लो ट्रेन्डलाई बुझ्न पुराना भन्दा नयाँ गीतको चर्चा आवश्यक थियो । मैले चलचित्रका गीत र चलचित्र इतरका गीतको विभाजन भने गरिनँ ।
१. पौरखी
(स्वर/शब्द/संगीत - लोचन रिजाल)
पौरखी नेपाली संगीत क्षेत्रमा पृथक स्वाद बोकेर आएको गीत हो । लोचनले परम्परागत लोक अभ्यासलाई समकालीन संगीतसँग जोड्ने काम गरेका छन् । नेपाली बाजा बजाएर मात्र गीत राम्रो हुने हैन । नयाँ सोच र उद्देश्यको पनि खाँचो थियो । लोचनका गीतले त्यस्तो खाँचो पुरा गर्ने काम गरेको छ ।
तीनसय वर्ष भन्दा अगाडि गन्धर्वहरुले आरबाजो र सारंगी बाजा सँगसँगै बजाउँथे । कालान्तरमा अन्य नेपाली बाजाजस्तै आरबाजो पनि लोपोन्मुख बाजाको सूचीमा पर्यो । इथ्नोम्युजिकोलोजी पढेका लोचनले लोपोन्मुख बाजाको महत्वलाई अध्ययनका क्रममै आत्मसात गरेका गरिसकेका थिए । त्यसैले विद्यावारिधिको विषय पनि गन्धर्व जाति र तिनका सांगीतिक परम्परालाई बनाए । 
नेपाली जातिका बाजा विशेष, लोक तथा परम्परागत संगीतलाई समकालीन संगीतसँग जोड्ने क्रममा उनले ती बाजा बजाएर बजारीया प्रतिस्पर्धामा पनि खरो उत्रन सकिने उदाहरण पेस गरेका छन् ।
बाले त भन्थे आफैं नै गरी खा
गए म मुग्लानतिर यहाँ म दरिद्र...
यसो भन्दै अघि बढ्ने पौरखी गीतका यी शब्द जब अघि बढ्दै जान्छ, वर्षौवर्षदेखि प्रवासिनु पर्ने बाध्यकारी कथाभित्रको व्यथा पनि चर्किँदै आउँछ । तर शब्द भन्दा धुन बढी हुनु यो गीतको विशेषता हो । गीतमा उदयपुरका दनुवार जातिका वृद्ध छोटेलाल मिरकको आवाजसमेत समेटिएको छ । गीतको म्युजिक भिडियो पनि हेर्न लायकको छ । नेपाली संगीतको धारमा नयाँ हलचल ल्याउन सक्ने हैसियत बनाएका लोचनले वृत्तचित्र र चलचित्रका लागि समेत काम गर्नुले आउने दिनको संगीतमा केही नयाँ आयाम थपिएको संकेत गर्छ उनका गीतहरुले । त्यसमा पौरखीको विशेष योगदान रहनेछ भन्ने मेरो मत छ ।
२ तुइन
तुइनको छ है भर
नदी तर्नलाई छ है कर
जाम् जाम् कान्छी जाम् जाम्...
(रचना : नाइट)
पछिल्लो समयमा नेपाली लोकबाजाको प्रयोग गरी समसामयिक विषयलाई प्रयोगात्मक ढंगले गीतमा ढाल्ने समूह हो नाइट । लोचन रिजालले एकल गायनबाट जुन काम गरेका छन् जेशन कुँवरको नेतृत्वको नाइटले पनि सामूहिक रुपमा एकपछि अर्को त्यस्तै गीत बनाइरहेको छ । 
नाम नाइट भए पनि यसले हाम्रो संगीतमा उजेली छरिरहेको छ । स्कुल जान होस् वा अन्य सामान्य व्यवहार चलाउने कामका लागि धेरै मान्छे तुइनको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर यस गीतमा तुइनलाई अभाव र पछौटेपनको पर्यायका रुपमा समेत प्रयोग गरिएको छ । कलाकारहरु अभाव रुपी तुइनमा चढेर दुखियारी यात्रा फत्ते गर्न जाम् जाम् कान्छी र जाम् जाम् कान्छा भन्दै हौस्याइरहेका छन् । नयाँ नेपाल दुःख पुरानै जस्ता राजनीतिक व्यंग्य मिसिएको यस गीतको भाका लोकशैलीको छ । यो गीत जति सुन्दर छ, भिडियो पनि उत्तिकै सिर्जनात्मक छ । यस गीतमा धनी गरिबको खाडल अनि कथनी र करनीको खाडलको तस्बिर भिडियोमा छर्लङ्गै आएको छ । नाइट समूहका सबै गीतमा कथा भेटिने भएकोले होला भिडियो पनि राम्रा हुन्छन् । 
भर्खरै संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्ने बित्तिकै केपी ओलीले दुई वर्षभित्र देशभरका तुइन हटाउने निर्णय गरे । मेरो मनमा फुत्त एउटा प्रश्न उब्ज्यो । प्रम ओलीज्यूले कथनी र करनीबीचको खाडल पुर्ने काम गरिदिए भने तुइनको छ है भर भनेर बिलौना गर्ने 
नाइटका सदस्यहरु कति खुशी हुँदा हुन् । टुलक जंग भर्सेज टुल्के जस्तो पृथक धारका चलचित्र र कतिपय नाटकमा समेत अचेल नाइट गुञ्जिदा म नेपालको संगीतले काँचुली फेर्दैछ भनेर भित्रभित्रै सन्तोष मानिरहेको हुन्छु ।
३. मर्ने कसैलाई रहर हुँदैन
(स्वर : प्रेम परियार, शब्द : कृष्णहरि बराल, संगीत : सुरेश गैरे)
प्रेमले आफ्नो उमेर भन्दा धेरै बुढो गीत गाएर सबैलाई जिल पारे । यो गीत मन पर्ने कारण यसको शब्द र संगीतको स्तर र संयोजन नै त हो नै तर त्यो भन्दा बढी प्रेम परियारको आवाजमा भएको नयाँपन हो कि जस्तो लाग्छ  । 
जबजब यो गीत सुन्छु, एकातिर प्रेम परियारको उमेरका कलाकारले यस्तो गम्भीर शब्द कसरी बुझ्ला जस्तो लाग्छ । तर जब प्रेमको स्वरमा शब्दको गहनताको स्पर्श पनि घोलिएको पाउँछु गीत नबुझी उनले कसरी फिल गर्न सके त भन्न प्रतिप्रश्न तेर्साउँछु आफैंलाई । यस्तो दुबिधा भएका अरु स्रोता पनि त होलान् भनेर चित्त बुझाउँछु । 
४. सुन रे सियाराम
अब म तलाई पर्खन्न
अब म देहात फर्कन्न
(स्वर : मीना,  संगीत : आभास, शब्द : श्रवण मुकारुङ)
संगीतकार आभासको व्यक्तित्व र सिर्जना उस्तै उस्तै लाग्छ मलाई— शालीन र गम्भीर । आभासका गीतमा केही खास विशेषता भेटिन्छन् । जस्तै कि, उनी कविता गाउँछन् । बजारको प्रतिस्पर्धामा उनी होमिहाल्न रुचाउँदैनन् । संगीतलाई गाना बजाना भन्दा माथि संस्कृति र सिर्जनाको बीचैबीच सन्तुलन मिलाएर लैजाने प्रयास गर्छन् । अनि, गीत संगीतबारे केही आधारिकता सहित बोल्ने हैसियत राख्छन् । 
नढाँटी भन्दा, आभास र उनका गुरु अम्बर गुरुङ दुबैका गीत सुन्न मलाई खास मुड चाहिन्छ । यस्तै मुड भएको बेलामा म सुन रे सियाराम सुनिहाल्छु । श्रवण मुकारुङ पहाडे हुन् तर उनले जति देहात कसले बुझ्छ र जस्तो लाग्छ यो गीत सुन्दा । उनको रामभरोस कविता सुन्दा पनि यस्तै लागेको थियो । गीतलाई गायिका मीनाको गायनले पुरै न्याय गरेको छ । 
आँशुको इनार जमे नि 
प्यार मेरो सच्चा छ
जीवन मेरो अच्छा छ
पेट मे मालिकको बच्चा छ
अब म जान्छु थानामा
अब म जान्छु अदालत...
यति सुनेपछि ममात्र के जो कोहीको मन भड्किन्छ । तँ सम्बोधन गरिएर गाइएका गीतहरु धेरै नभएकाले पनि यो गीत पृथक लाग्छ मलाई ।
५. आगोको राप जीवन
(स्वर : सत्य/स्वरुप, संगीत : भक्तराज आचार्य, शब्द : नवराज लम्साल)
मलाई लाग्छ राम्रो र अर्थपूर्ण गीतका शब्दले राम्रो गीतकार जन्माउने आधार दिन्छ । त्यस्तै राम्रो गायकीले नयाँ गायक जन्माउँछ अनि राम्रो संगीतले नयाँ संगीतकारलाई प्रेरित गर्छ । सत्य स्वरुपका केही राम्रा गीतले नयाँ कलाकारलाई यस्तै प्रेरणा दिइरहेको अनुमान गर्छु म ।
निराशा मानिव जीवनको अभिन्न हिस्सा हो र निराशाको सबै भन्दा भरपर्दो हसाथी संगीत नै हो । मलाई गीतमा दर्शन घुसाको धेरै मन पर्छ । तर विडम्बना नेपाली गजलमा समेत दर्शन दुर्लभ छ । गीतकार नवराज लम्साल दार्शनिक पाराकोे शब्दलाई सत्य स्वरुपले अत्यन्तै फिल गरेर गाएका छन् । भक्तराज आचार्य गीतको कम्पोजिसन गाउन चुनौतीपूर्ण भए पनि सत्य स्वरुपले गीतलाई राम्रो बनाउन कुनै कसरी बाँकी राखेका छैनन् । 
६. दैव हे
दैव हे मेरो सपनाको गाउँ 
छ कहाँ मलाई देखाऊ...
(स्वर : सनुप पौडेल, संगीत : काली प्रसाद बास्कोटा शब्द : सबिन एकतारे र काली)
मलाई यो गीत मन पर्ने कारण सनुप पौडेलको गायन पनि हो । शब्द संगीतको संयोजन पनि उत्तिकै मिलेको छ । काली र सनुपको सहकार्यको यो अनुपम नमुना हो । हाल पाश्र्व गायनमा जमेका सनुपका प्रायः सबै गीतमा उनले गरेको मिहिनेत फिल गर्छु म । निराशा अभिव्यक्त गर्न हाइ पिचमा गायकले दैव हे भन्दा दैवले कतै सुनि पो हाल्ला कि भन्ने भ्रम जाग्छ ।
७. चरी लैजा समाचार 
अन्जान बाबु संगीत स्रोता
चरी लैजा समाचार
उता के के हुँदैछ यता बाढी पसेछ 
चरी लैजा समाचार
युगौंदेखि हाम्रो सरकार बेखबर छ । बेलाबेला सन्देश नपठाउने हो भने उसले हामीलाई भविष्यमा पनि चिन्नेवाला छैन । त्यसैले सरकार र सत्तावालालाई सन्देस पठाएको यो गीत मेरो सूचीमा परेको हो ।
२०६५ को वर्षामा पूर्वी नेपालको कोशीमा ठूलो बाढी आयो । हजारौं प्रभावित भए । धेरैले घर र आफन्तजन गुमाए । खान, पिउन दाताको मुख ताक्नु पर्ने दिन आयो । गीतकारले यस्तै पृष्ठभूमिमा रचेको यो गीतलाई सरल र जीवन्त ढंगले गाइएको छ । बाढी वा प्राकृतिक विपत्तिले बेघरबार भएकाहरुको यो गीतको सन्दर्भ फरक भए पनि अन्तर्य हरेक वर्ष मिल्छ । मैले भूकम्पपछिका दिनमा यो गीत धेरै सुनेँ ।
८. रेशम फिलिली
(स्वर/शब्द/संगीत : कालीप्रसाद बास्कोटा)
विश्व चर्चित नेपाली लोक गीत रेशम फिरिरीसँग मिल्दो जुल्दो शब्द रेशम फिलिली चलचित्रको गीतले नेपाली संगीत क्षेत्रमा चर्चाका हिसाबले यसअघि स्थापित धेरै मानकलाई नाघेको छ । 
धेरै चर्चामा आएका कतिपय गीत नसुनी वाक्क भइन्छ । एक किसिमको पूर्वाग्रही बनाइदिन्छ स्रोतालाई । मैले पनि रेशम फिलिलीका भिडियो फेसबुकमा छ्यापछ्याप्ती हुन्जेलसम्म खासै ध्यान दिएर सुनिनँ । तर जब जालमा भाइरल बन्यो गम्भीर भएर सबै गीत सुन्न थालेँ । जालमा भन्दा मलाई रेशम फिलिलीको शीर्ष गीत मन पर्यो । 
यसमा प्रयोग भएको संगीतले दिने नेपालीपन त राम्रो छँदैछ, गीतका शब्दहरु पनि निकै मार्मिक लागे । मानिस भएर जन्मेपछि  पीडासँग पैठेजोरी त खेल्नै पर्छ । तर नेपाली भएर जन्मनेले अझ त्यो भन्दा बढी केही गर्नु पर्छ जस्तो लाग्छ । कालीको रचनामा हाम्रो युवा पुस्ताको सपनाहरु ढिकीमा कुटिएको र जातो झैं फिलिली अनियन्त्रित भएर पिसिएको देखेँ मैले । 
९. घामको सानो टुक्रा
(गायक/संगीतकार : आस्था तामाङ मास्के, शब्द : सुसन मास्के)
सुसन मास्के अम्बर गुरुङकी शिष्या हुन् । संगीतमा सुसनको रुची र ज्ञानले उनकी छोररी आस्थाको करिअरमा राम्रा गीत गाउने आधार बनाइररहेको छ । आस्थाको उमेरका अधिकांश युवा अर्थपूर्ण शब्द चयनमा कमजोर देखिन्छन् । तर आमा सुसन आफैंले काव्यिक गीत लेख्ने र छोरीलाई हरकदममा सघाउने भएकोले आमा छोरीको जोडीले धेरै सुटुक्कै राम्रा राम्रा गीत जन्माइसकेका छन् ।
उदाहरण यही गीत हो -
किन लाग्छ मेरो आँशु भोलि मोती बन्छ
किन लाग्छ मेरो दुःख भोलि खुशी बन्छ 
मेरो आजसित रोएँ दुखेँ त के भयो
म पर्खुंला भोलिलाई भोलि त मेरै हो
घामको सानो टुक्रालाई ओढेको छु
सारा पीडालाई कतै लुकाको छु
यो घामको गीत हो । आशा र उज्यालोको गीत हो । सिबिनका नानीहरुलाई समर्पित गरी सिविनमै भिजुअलाइज गरिएको यो गीतमा धेरै नानीलाई कोरस बनाइएको छ । गीतमा भनिएको भोलि पनि तिनै नानी हुन् । बीचमा ती नानी बोल्छन् पनि । सायद आस्थाले प्रभावित पारेर होला धेरैले भविष्यमा गायनमै लाग्ने सपनाको कुरा गर्छन । यो गीत सुन्न जस्तै हेर्न पनि आनन्द आउँछ । 
१०. धुलै धुलो 
(शब्द विप्लव प्रतीक, संगीत न्यूह बज्राचार्य)
(स्वर : सनुप, सन्तोष, भानु, पुष्प, प्रमोद, लिजा, विश्व, बनिका, काली र र्इश्वर)
बैसाख १२ मा विनासकारी भूकम्प गएपछि अन्य क्षेत्रका मानिस झैं संगीत क्षेत्रमा लागेका कलाकारले पनि आफ्नो तर्फबाट सकेको गरे । 
भावना र संवेदनासँग खेल्न रुचाउने विधा भएकोले होला धेरैले भूकम्पले दिएको चोटको पीडा गाए । विदेसी कलाकारले पनि स्वरका माध्यमबाट हौसला दिए । तर भूकम्पको विषयलाई आधार बनाएर गाइएका धेरै गीतमा आशा भन्दा निराशा बढी थियो । अझ सबैजसो म्युजिक भिडियोमा उस्तै उस्तै खालका विध्वंस र विनासका फुटेज थिए । यस्ता भिडियोको स्रोता दर्शक र संगीत क्षेत्रकै कलाकारबाट समेत आलोचना भयो । तर निराशा र अध्याँरो भन्दा टाढा रहेको उज्यालोलाई देख्न सघाउने खालका केही राम्रा गीत पनि आए । ती मध्ये विप्लव प्रतीकको शब्द र न्यूह बज्राचार्यको संगीतमा दश जना कलाकारले सामूहिक आवाज दिएको धुलै धुलो उत्कृष्ट थियो । यस गीतका केही विशेषता छन् । पहिलो, पुरै दशै जना गायक गायिकाको सामूहिक स्वर छ । भिडियोमा कतै हिंसात्मक र निराशाको दृश्य छैन । प्रतीकले सरल शब्दबाट गहन अर्थ निकाल्दै संगीत र कविको सम्बन्धलाई पुष्टि गराइदिएका छन् । 
(यो लेख अन्नपूर्ण पोष्ट 'फुर्सद'मा २०७२ असोज ३० शनिबार प्रकाशित भएको हो ।)

Friday, October 16, 2015

गजल : लेखियो धेरै, गाइयो कम


नेपालमा गजल विधा भित्र्याउने श्रेय मोतीराम भट्टलाई जान्छ। तर द्वारिकालाल जोशीले रचनाकार भुषणप्रसाद श्रेष्ठसँग मिलेर सन् ८० को दशकमै मध्यकालीन मल्लकालको संगीतको झल्को दिने नेपाल भाषाको गजल एल्बम निकालेको पाइन्छ । यसबाट नेपालमा गजल विधाको जरा मोतीराम पलाउनु अघिकै समय हो भन्ने पुष्टि हुन्छ । तथापि, वर्तमान नेपाली गजल विकासक्रमको कथा राणाकालीन दरबारभित्र हुने नाचगान, नाटक प्रदर्शन र जलसाहरुमा गएर ठोकिन्छ । तत्कालिन शासक वर्गका दरबारमा उस्तादहरुको महफिल जम्थ्यो । ती उस्ताद भारतबाट सुरक्षालगायतका विभिन्न कारणले विस्थापित वा शासकबाट आमन्त्रित व्यक्ति हुन्थे । दरबारकै कतिपय सदस्यको संगीतमा रुचि भएकाले संगीत गुरुका रुपमा पनि ती भित्रिए । यसबाट तत्कालीन भारतीय कला संस्कृतिमा रहेको फारसी तथा उर्दूको प्रभाव नेपाली संस्कृतिमा राम्रैसँग पर्यो । 
मोतीरामको रुचि र दखल लिखित र सांगीतिक दुबै खालका गजलमा थियो । वि.सं. १९२८ मा बनारस पुगेका मोतीरामले त्यहाँ आर्जेको फारसी भाषाको ज्ञान र संगीत शिक्षा नै नेपाली भाषामा गजल लेखनको कोसेढुंगा बन्यो । संयोगवस नेपालभित्रकै कलाकारले रेकर्ड गराएको पहिलो साङ्गीतिक रचना पनि उनकै हुन पुग्यो । सेतुरामले गाएको मोतीरामको रचना ‘यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्’ (१९६५) रेकर्ड भएको सय वर्ष नाघिसकेको छ । यस दौरान नेपाल गजल लेखनका हिसाबले दक्षिण एसियाकै धेरै देशभन्दा अगाडि पुगिसकेको छ । वर्षेनी सयौं गजलका पुस्तक, पत्रपत्रिका निस्किरहेका छन् । गजल विशेष रेडियो कार्यक्रम नबजेको दिन छैन । गजल मण्डलीको संख्या नभएको टोल छैन । तर जुन अनुपातमा गजल लेखिन्छ, त्यसको अनुपातमा रेकर्ड भने कम हुने गरेको छ ।
गीतकै परिमार्जित रुप भएकोले नेपालमा गीत रेकर्ड हुन थालेपछि समय समयमा कलाकारहरुले गजल गाउँदै आएको पाइन्छ । फाट्टफुट्ट रुपमा पुराना स्रष्टा भीमनिधि तिवारी, राममान तृषित, म बि बि शाहका गजल रेकर्ड भए पनि ८० को मध्यतिरको समयपछि नेपाली गजल संग्रह नै निस्किन थालेको हो । यसैबेला रत्न रेकर्डिङबाट दीपक जंगमको संगीतमा मोतीराम भट्टका गजलहरु समेटिएको संग्रह सार्वजनिक भयो । त्यसयता गजल संगीतमा केही संगीतकर्मी सुस्त गतिमै भए पनि लागिरहेका छन् ।
९० को दशकमा शहरी क्षेत्रमा गजल रेस्टुरेन्टको व्यवसाय फस्टाउनु गजल संगीतको विकासका लागि महत्वपूर्ण उपलब्धि बन्यो । यी रेस्टुररेन्टमा पहुँच भएका उच्चमध्यम वर्गीय स्रोताको माग पंकज उदास, जगजित सिंह, गुलाम अलीले गाएका हिन्दी उर्दू गजल भए पनि गाउने कलाकार नेपाली हुन्थे । गजल रेस्टुरेन्ट संस्कृतिले आनन्द कार्की, अमर तन्डुकार, नरेन्द्र प्यासी, उदय सोताङ आदि कलाकारको माग बढायो । भक्तराज आचार्यजस्ता वरिष्ठहरुले समेत रेस्टुरेन्टमा ‘सबै बेहोसी नसा पिएर, विना पिएर बेहोस छु म’ भन्दै धेरैलाई झुमाए । यसै कडिमा शक्ति बल्लभले संगीतमा १९९४ मा ‘गजल’ र २००४ मा ‘सप्तक’ निकाले । मुरलीधरको, ‘त्यो नजरको बयान म गरुँ कसोरी’ बोलको गजल समेटिएको ‘गीतल’ गजल संगीतको अर्को महत्वपूर्ण एल्बम बन्यो । कृष्णहरि बरालको ‘सम्भावना’ र ‘विम्ब’, भुपेन्द्र खड्काको ‘बुलबुल’ आदि एल्बमले पनि गजल संगीतलाई टेको दिए । गजल संगीतप्रति नेपालीको आकर्षण बढाउनमा लोकप्रिय पाकिस्तानी कलाकार मेहन्दी हसन, गुलाम अली र जगजित सिंहले गाएका नेपाली गजलको पनि विशेष महत्व छ । माथि उल्लेख भएका बाहेक प्रवीण बराइली, शक्ति बल्लभ, निशा देशार, रवि प्राञ्जल, गैरे सुरेश, जगदिश समाल, अञ्जु पन्त, सत्यराज—स्वरुपराज आचार्य,  हरि लम्साल आदि कलाकारले यस विधालाई अघि बढाउन योगदान दिएका छन् ।
निःसन्देह नेपाली गजल पनि सशक्त रुपमा संगीतबद्ध गर्न सकिन्छ । स्रोताहरुलाई त्यसले नौलो मिठास र अद्भूत आनन्द दिन सक्छ । नेपाली गजललाई नयाँ आयाम दिने एउटा गजल ‘प्रेम पत्र लेख्दै पात पातमा हिँडियो कुनै बेला’ पनि हो । रुपक ‘बनबासी’को शब्द, महेश खड्काको संगीत र आशिष ताम्राकारको शब्द रहेको यो गजल लोक लयमा बुनिएको छ । नेपाली गजल मोतीरामकाली दरबारीया शृंगारिक रसको जमानादेखि लोकको दैलोसम्म आइपुग्नु सुखद उपलब्धी हो ।
प्रयास गर्नेहरुको समूह हुँदाहुँदै पनि गजल संगीत विधालाई प्रभावकारी र स्तरीय बनाउन ठोस काम भने हुन बाँकी छ । गजल लेखनको स्तर तब मात्र बढ्छ जब यसले राम्रो संगीत र गला पाउँछ । धून र स्वरसहितको गजलमा स्रोतालाई मोहित पार्ने विशेष शक्ति हुन्छ । संगीतवद्ध नभएको गजल जति सुन्दर भए पनि त्यसले संगीत मार्फत पाउने उचाइ पाउन गाह्रो छ । उर्दू—हिन्दी गजल भाषा मीठो भएर मात्र राम्रो भएको होइन । पुस्ता—दरपुस्ताको लामो पररम्पराले गर्दा नै भारत र पाकिस्तानमा गजलको विकास लेखन, वाचन र संगीत तीनै पक्षमा सम्भव भएको हो । चलचित्रमा समेत गजलले स्थान पाएकाले यसको पहुँच र लोकप्रियता झनै व्यापक भएको हो । तिनको लोकप्रियता र उचाइँ बढाउनमा संगीत (कम्पोजिसन) र स्वर (गायकी) ले अहम् भूमिका खेलेको छ । संगीतलाई राम्रो बनाउनमा वाद्यवादन र वाद्यसंयोजनको भूमिका महत्वपूर्ण हुन्छ ।
नेपालमा गजल संगीत सुन्दा हिन्दी प्रभाव भेटिने स्रोताहरुको प्रतिक्रिया अस्वाभाविक छैन । यसले नेपाली गजल संगीतको जग अझै बलियो बनिसकेको छैन भन्न बाध्य पार्छ । गजल भनेर निकालिएका धेरै सिर्जना शास्त्रीय जगमा आधारित आधुनिक गीत भन्दा पृथक स्वाद दिन सक्षम भएको उदाहरण निकै कम छन् । यसको कारण गीत र गजल कम्पोजिसनको ढर्रा एउटै भएको विश्लेषकहरुको ठहर छ । गजलमा एउटै शेर वा काफियालाई दशौं तरिकाले गाउन सकिन्छ । गजलको विशेषता भनेको शब्द शब्द खेलाएर रोमाञ्च वा जादू पैदा गराउने हो । किसिम किसिमका वाद्यवादनको प्रयोगले शब्दमा प्राण भर्छ । तर अपवादबाहेक हाम्रा संगीतकारले यस्तो हर्कत देखाउन सकिरहेका छैनन् । गायकले पनि गीत गाउँदा र गजल गाउँदाको भिन्नताको भेउ नपाएको भान हुन्छ ।
तर नेपालीमा लेखिएका हजारौं गजलबाट सयौं राम्रा गजल संगीत सिर्जना सकिने प्रशस्त सम्भावना भने छ । यसलाई मीठो र गहन संगीतमा ढाल्ने र सुरमा सजाउने जिम्मा संगीतकर्मीको हो । नयाँ नयाँ सोच, प्रयोग र दुस्साह गर्ने संगीतकार र गायकको खाँचो छ ।
आधुनिक संगीतमै दक्ष वाद्यवादकको अभाव रहेको समाचार छापामा बेलाबेला आइरहने सन्दर्भमा गजल संगीतको स्तर वृद्धि गर्न ठोस प्रयासको आवश्यकता देखिन्छ । नत्र शास्त्रीय संगीत सिकेर पनि शिव परियार जस्ता प्रतिभाको परिचय ‘क्या दामी भो’ भन्ने जस्ता बिकाउ गीतमै सीमित हुनुपर्ने खतरा छ ।
व्यवसायिकतालाई मात्र ध्यान दिने नेपाली चलचित्र संगीतमा गम्भीर रुपमा गजलको प्रयोग भइहाल्ने सम्भावना कमै छ । सीमित वाद्यनको मात्र प्रयोगले पनि गजललाई गीतकै हाराहारीबाट माथि उठ्न दिएको छैन । त्यसबाहेक नेपाली गजल हिन्दी—उर्दू भन्दा कुन मानेमा फरक छ भनेर देखाउने चुनौती त छँदैछ । किनकि नेपाली शास्त्रीय संगीतको आफ्नै अनुहार छ कि छैन त भन्ने प्रश्न उठेको लामो समय बितिसक्दा पनि चित्तबुझ्दो उत्तर आएको छैन ।
गजललाई गीत भन्दा बढी गम्भीर र परिस्कृत विधाका रुपमा संगीतबद्ध गर्न गजलकार, संगीतकार र गायकबीचको समझदारीको पनि विशेष महत्व छ ।
निबन्ध संग्रह ‘आफ्नै आँखाको लय’मा ‘लेखक बन्न रहर गर्नेलाई टिप्स’ शीर्षकको लेखमा खगेन्द्र संग्रौलाले ८ ओटा गुरुमन्त्र वाचेका  छन् । त्यसमध्ये पहिलो बुँदामै उनी भन्छन्  ‘गजल नलेख्नु ।’ ‘गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’ एकातिर, संग्रौलाको यो कटाक्ष पढ्दा रमाइलो लाग्छ । अतिसय भावुकता पोख्न अध्ययन र सीपविनै साहित्यमा गजलकार बनिटोपल्नेहरुलाई लक्षित संग्रौलाको दनकमा दम छ । तर अर्कोतर्फ, गजल जस्तो काव्यिक, सुन्दर र शक्तिशाली विधालाई यसरी भित्तामै पुर्याउने टिप्पणीलाई गजलको प्रवद्र्धनमा लागेका हरुले चुनौती दिन सकेको पाइँदैन ।
गालिब, फैज, मीर, सुदर्शन फाकिर, निदा फाजली, बसिर बद्र, कैफी आजमी, गुलजार, जावेद अख्तर, अहमद फराज आदिका हिन्दी उर्दू गजल संग्रौलाले इंगित गरेको गजलभन्दा धेरै पृथक छ । त्यो स्तरीय छ, मीठो छ । त्यसमा कला छ, साधना छ र छ दर्शन पनि । जगजित—चित्रा सिंह, गुलाम अली, मेहदी हसन, भुपिन्दर सिंह, अनुप जलोटा, आशा भोसले आदिका स्वर र गायकीको स्पर्श र अर्थ बुझ्नेले गजलको अवमूल्यन गर्न गाह्रो छ । ती गजलमा पाइने जीवन दर्शन, प्रकृतिसँगको संवाद, काव्यिक मिठास र प्रेमरस वा प्रेमपीडा जब संगीतमा घोलिन्छ जो कोही लठ्ठिन्न्छन् । यसमा नलठ्ठिँने लठुवा नै हुन् भन्यो भने अतिसयोक्ति नहोला । गजल लेखनको बाढीमा उस्तै रचनाको चाङ मात्र देख्ने संग्रौला जस्ता आलोचकलाई लठ्याउन राम्रा गजल छनोट गरेर संगीतमा ढाल्न ढिला भइसकेको छ । गजलप्रति सकारात्मक दृष्टिकोण बढाउन यसलाई संगीतसँग जोड्नै पर्छ । अन्यथा, संग्रौला जस्तै धेरैले फेरि फेरि भन्नेछन् र लेख्नेछन्  ‘गजल नलेख्नु’ ‘गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’
प्रकाशित मिति: सोमबार, आश्विन ११, २०७२ २१:५८:२६

'भाइरल' कालीप्रसाद


(२०७२ आस्विन ११ सोमबार, अन्नपूर्ण पोष्ट 'फुर्सद' मा प्रकाशित)
पारि त्यो डाँडामा
घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न...
निजी तथा सार्वजनिक ठाउँमा 'रेशम फिलिली'को यो गीत निकै घन्किन्छ। अचेल सोसल मिडियातिर यसलाई भाइरल गीत भनिन्छ । यो भाइरल फैलाउने मुख्य संवाहक हुन्, कालीप्रसाद बास्कोटा। के बाला, के ठूलाठाला सबैलाई लठ्याउने यो गीत उनले मानसराजसँगको सहलेखनमा तयार पारेका हुन्। गीतमा संगीत र स्वर कालीकै छ । ‘रेशम फिलिली'मा दुईवटा गीत गाउनुअघि उनको परिचय संगीतकार र गीतकारमा सीमित थियो।
कालीले ‘चाहना सकियो, बहाना सकियो’ गीतका संगीतकार÷गीतकारका रूपमा संगीत क्षेत्रमा औपचारिक इन्ट्री मारेका हुन्। सन् २००८ मा निस्किएको यही गीतले आफूसँगै गायिकालाई पनि स्थापित गराइदियो। यो गीत उनले शशि रावलको 'इन्ट्रान्स' एल्बमका लागि बनाएका थिए। 
त्यसको केही समयपछिको 'लैजा रे' गीतले उनको करिअरलाई नयाँ उचाइ दियो। गायक हेमन्त रानालाई पनि यही एउटा गीतले सेलिब्रेटी बनायो। जीवनकै पहिलो गीत कालीको संगीतमा गाउने सीमा संग्रौला, पुष्पा गुरुङलगायत धेरै कलाकार भाग्यशाली साबित भएका छन्।
जालमा', 'पारि त्यो डाँडाँमा'की गायिका सोमिया बराइलीले यसअघि ‘के यो माया हो' फिल्मका लागि गीत गाइसकेकी भए पनि ‘जालमा’बाट पत्याउनै गाह्रो चर्चा बटुलिन्।कालीसँग यसरी एकपछि अर्को लोकप्रिय गीत सिर्जना गर्ने कुनै गुह्य सूत्र छ कि? उनी भन्छन्, 'हरेक गीतमा काम गर्दा म आफ्नो सन्तुष्टिलाई केन्द्रमा राख्छु। आफूलाई गीत राम्रो बन्यो भन्ने लागेपछि संगीत क्षेत्रबाहिरका मेरा केही मिल्ने साथीलाई सुन्न दिन्छु।'
उनी साथीबाट आएका प्रतिक्रियाअनुरूप गीत हेरफेर पनि गर्छन् । तर संयोग, 'रेशम फिलिली'का गीतचाहिँ सबै साथीले पहिलोपटकमै मन पराइदिए । उनी शब्दको प्रयोगमा निकै सचेत छन्। शब्द चयन सही भएमा गीत प्रभावकारी हुने तर शब्द थुपार्नु' र गीत लेख्नुमा भिन्नता रहेको उनको धारणा छ।
भन्छन्, 'म अनुभूत गरेको वा भोगेको कुरालाई शब्दमा उतार्ने प्रयास गर्छु।' कहिलेकाहीँ उनलाई एउटै शब्दले दुईतीन दिनसम्म सताउँछ रे ! शब्द चयनप्रतिको संवेदनशीलताकै कारण उनले 'लैजा रे'देखि ‘रेशम फिरिरी' ?  जस्ता गीतहरू रच्न सकेका हुन्। 
सहर वा परदेशको रमझममा रम्न नसकेर आफ्नो अस्तित्वको खोजीमा छटपटिरहेको मान्छेको भाव अभिव्यक्त गर्ने ‘लैजा रे' दार्शनिक शैलीको गीत हो भने 'रेशम फिरिरी' व्यक्तिको दुविधाग्रस्त मनोदशाको चित्रण गर्न ढिकी, जाँतोजस्ता ठेट नेपाली शब्दको विम्बात्मक प्रयोग भएको गीत हो। 
फिल्मको पूरै थिम बोकेकोले 'रेशम फिरिरी'लाई उनी विशेष बनाउन चाहन्थे। 'पारि त्यो डाँडाँमा'भन्दा उनी आफैलाई मन पर्ने गीत पनि 'रेशम फिरिरी' हो । बागबजारमा काम गर्ने छुट्टै थलो छ उनको, जहाँ उनी गीतका प्रारम्भिक सबै काम गर्छन्। उनका सबै गीत बागबजारकै कोठामा जन्मिएका हुन्।
उनलाई शब्द रचेर त्यसमा धुन भर्न मजा लाग्दैन। उनी आफैले रचेका जम्मै गीतमा पहिला धुन अनिमात्र शब्द कोरिएका हुन्। तर अरूका शब्दमा संगीत भर्ने काम गर्दा यही सूत्र वा नियममा मात्र काम गर्न सम्भव छैन।
कीर्तिपुरमा जन्मेहुर्केका काली बच्चामा लजालु स्वभावका थिए। उनले स्कुलका गतिविधिमा कहिल्यै भाग लिएनन्। संगीतमा रुचि भए पनि आफ्नो प्रतिभा देखाउनभन्दा लुकाउनमै रमाए। तर उनको संगीतप्रतिको लगाव बुझेरै बाबुले एसएलसीलगत्तै औपचारिक संगीत कक्षा सुरु गराइदिए।
हुन त रेडियो नेपाल सुनेर घन्टौं बिताउने उनले नारायणगोपाल, गोपाल योञ्जन, अरुण थापा आदि कलाकारलाई मनमनै गुरु थापिसकेका थिए। शास्त्रीय संगीतको चारवर्षे आधारभूत अध्ययन गरे पनि उनलाई संगीतको संसारमा आउन समय लाग्यो। 
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा सकेपछि पढाइअनुसारकै जागिर खाए। जागिरे जीवनकै क्रममा व्यावसायिक संगीत यात्रामा लहसिए। घाटा लागेन। एकपछि अर्को सफलता मिलिरह्यो। संगीत उनको प्यासन थियो। 
जागिरे जीवन आज छोडूँ भोलि कि भोलि छोडूँको दुविधामा पन्ध्र वर्ष बित्यो। उनी लामो समयदेखि जागिर छोड्ने मौका कुरिरहेका थिए । ‘रेशम फिलिली’को सफलताले उनलाई त्यो 'राइट टाइम' आएको संकेत दियो। भर्खरै जागिर छोडेर पूर्णकालीन संगीतकर्मी बनेका छन् उनी।
मात्र आठ वर्षको समयमा करिब ४० वटा गीतमा काम गरेका कालीको सफलताको ग्राफ भर्टिकल छ। आधा गीत त फिल्मकै छन् । फिल्ममा उनको आगमन रोचक छ। निर्देशक गणेशदेव पाण्डेसँग उनको चिनाजानी अनलाइनमार्फत भएको थियो। पाण्डे मुम्बईमा थिए। 
त्यही“बाट उनले कालीलाई संगीत भर्दिनका लागि मालतीको भट्टीको स्क्रिप्ट पठाए। निर्देशक पाण्डे आउनुअघि नै कालीले गीत तयार पारिसकेका थिए । पछि पाण्डेकै अर्को फिल्म 'मञ्जरी'मा कालीको संगीत निकै चल्यो। 'मञ्जरी'का गीतको मात्र नभई पूरै फिल्मको पाश्र्व संगीत उनकै हो। 
ननफिल्मी गीत 'कम्फर्ट जोन'मा बसेर बनाइने तर फिल्मी गीत कथाको विषयवस्तुमा आधारित भएर बनाइने भएकाले उनलाई फिल्ममा काम गर्नु चुनौतीपूर्ण लाग्छ। ‘तर काम गर्दा चुनौती नै नभए त के मजा !' उनी भन्छन्। आर्थिक हिसाबले चाहिँ कलाकारका लागि फिल्मको काम 'सेक्युर्ड जोन' बनेको उनको अनुभव छ।
मात्र आठ वर्षको समयमा करिब ४० वटा गीतमा काम गरेका कालीको सफलताको ग्राफ भर्टिकल छ । आधा गीत त फिल्मकै छन् । फिल्ममा उनको आगमन रोचक छ।
रेशम फिलिलीको सफलताले तपाईं फुर्किनुभएको छ रे हो ? छड्के हाँसो हाँस्दै बोले, ‘उत्साहित भएको छु, फुर्किएको हैन।' केही बेर गमेपछि अर्को पाटो खोले 'मैले रेशम फिलिलीमा नगाएको भए कमै श्रोता दर्शकले चिन्थे।
हाम्रो चलन नै खराब, जसको संगीत र शब्दका बलमा गायक हिट हुन्छन् तिनलाई क्रेडिटसमेत दिँदैनन्।' पाइरेसीको मारमा संगीत क्षेत्र नै डामाडोल छ । गीत बिक्ने अवस्था छैन र मिडियामा बजेको रोयल्टी आउँदैन। यस्तो अवस्थामा संगीतकार र गीतकारले पाउनुपर्ने क्रेडिट पनि पाउँदैनन्।
हो पनि, संगीतकार र गीतकारमात्र भएर उनले जीवनभर काम गरेको भए पनि त्यसकै आधारमा उनलाई देशीविदेशी कन्सर्टको निम्तो आउने थिएन । तर, अहिले गायकको अवतारमा समेत जमेपछि अनगिन्ती निम्तो आएको छ । यसैको सिलसिलामा उनी चाँडै हङकङ, अस्ट्रेलिया जाँदैछन् । तैपनि, यस्ता स्टेज कार्यक्रमकै लागि मात्र लक्षित गरी गीत बनाउने प्रवृत्ति उनलाई ठीक लाग्दैन । उनको कुुरा सुुन्दै गर्दा लाग्छ, उनी संगीत क्षेत्रको लामो यात्रामा निस्किएका बटुवा हुन्।
काली नयाँ र पुराना दुवै पुस्ताबीचको सेतु बन्न चाहन्छन् । धेरै नयाँ प्रतिभासँग काम गरे पनि उनीभन्दा अघि नै स्थापित वा पुुराना फत्तेमान, रामकृष्ण ढकाल, राजेशपायल राई, निमा रुम्बाजस्ता ख्यातिप्राप्त कलाकारसँग उनको नाम जोडिइसकेको छ। तर सबैभन्दा आनन्दचाहिँ गायक सनुप पौडेलसँग काम गर्दा आउँछ किनकि सनुप गीतलाई आफ्नै शैलीमा ढालेर सोचेभन्दा राम्रो बनाइदिन्छन्। 
'तिम्रो देशैमा', 'केही पीडा', 'दैव हेजस्ता गीतबाट काली र सनुपको जोडीलाई श्रोताले पनि अनुमोदन गरिसकेका छन्। सनुपलाई उनले एघार वर्षअघि डोरेमी संगीत स्कुलमा भेटेका थिए। 
हरेक सालजसो नोमिनेसनमा परे पनि उनको गीतले एकपटक मात्र अन्नपूर्ण एफएमबाट अवार्ड पायो । सायद सानैदेखिको लजालुु स्वभावका कारण अझै मिडिया फ्रेन्ड्ली बन्न सकेनन् कि भन्ने लाग्छ उनलाई।
‘जाल’ गीतको सन्दर्भमा संगीतको भूगोल हुँदैन भन्ने कुरा ठ्याक्कै मिल्छ। युट्युबका भियुअरको संख्या तोख्नु जोखिमपूर्ण काम हो । तर, यो गीतका दर्जनौं कभर र प्यारोडी गीतसमेत जोड्दा एक करोड पटक हेरिसकिएको हिसाब निकाल्न गाह्रो छैन। 
भिडियो सार्वजनिक हुनुअघि नै लोकप्रिय भएको यस गीतलाई भारतीय कलाकार गौरभ गोवानकरले समेत गाएका छन् । यो काली र रेशम फिलिली टिमलाई नै विश्वास गर्न हम्मेहम्मे परेको सफलता हो। 
काली बजारको भाषामा भन्दा सेलिब्रेटी बनिसकेका छन् । तर उनी आफैंलाई सेलिब्रेटी हैन कलाकारमात्र ठान्छन् । ‘म पहिले जस्तो थिएँ उस्तै छुु । श्रोताको भीडमा आममानिस झैं मिसिएर हिँड्थे, हिँडिरहेकै छु।'
उनी नयाँ पुस्ताप्रति धेरै आशावादी छन्, तर तिनमा भएको समस्याबारे आलोचनात्मक दृष्टिकोण पनि राख्छन्। उनको विचारमा, अहिले धेरैै कलाकार छोटो बाटोबाट सफल बन्न अरूले बनाएको बाटोमा हिँडेका छन्। तिनले आफैं नयाँ गोरेटो बनाउने जोखिम मोल्दैनन्। 
त्यसैले धेरै नयाँ संगीतकर्मी बजारमा चलेको गीतजस्तै बनाइदिनु भन्दै उनीकहाँ पनि धाइरहेका छन् । यस्तै मानसिकता र कलाकारको आलस्यताका कारण संगीतमा विविधता र नयाँनयाँ आयाम थपिन सकेको छैन।
अरूको कमजोरी देख्ने कालीका गीतमा कमजोरी देख्नेहरूको पनि कमी छैन। उनको 'मञ्जरी' फिल्मको 'जादु' बोलको गीत त झन् हिन्दी फिल्म 'सोर इन द सिटी'को ‘साइबो’सँग ठ्याक्कै मिलेको भन्दै आलोचित बन्यो। 
यसको प्रतिरक्षा उनी कूटनीतिक पारामा गर्छन्, 'म गीत बनाउँदा जे फिल गरिरहेको छु, श्रोताले पनि त्यस्तै फिल गरून् भन्ने लाग्छ। यही क्रममा कहिलेकाहीँ कुनै गीतको मुड वा लय मिल्न जान्छ।' जानेर होस् वा अञ्जानमा कालीका सिर्जना उनकै निम्ति तगारो नबनोस्।




Wednesday, September 16, 2015

सांस्कृतिकबाट सेक्सीकृत तीजगीत

तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने पर्व भए पनि पछिल्ला केही वर्षदेखि बजारमा दुई–चार महिनाअगावैदेखि यसको तामझाम सुरु हुन थालेको छ । यसले तीजको बहानामा पार्टी प्यालेस वा आफ्नै घरमा भोज गर्ने, नाचगान गरी रमाउने अवधि पहिलेभन्दा लम्ब्याएको छ । देशभित्र मात्र नभै नेपालीहरूको उल्लेख्य उपस्थिति भएका विदेशी सहरहरूमा पनि तीजका बेला सांस्कृतिक कार्यक्रम आयोजित हुने क्रम बढ्दो छ । यस्ता सबैजसो कार्यक्रममा तीजकै लागि बनेका गीत बजाएर नाचिन्छ । यस्ता गतिविधि बढेसँगै स्वाभाविक रूपमा तीजका गीतको संख्या पनि वृद्धि भैरहेको छ ।

तीजकै लागि भनेर कलाकारहरू गीत रेकर्ड गर्ने, देशभित्रकै विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रमदेखि विदेशका कार्यक्रममा सहभागी हुने चाँजोपाँजो मिलाउन व्यस्त हुन्छन् । यस्तो धपेडीबाट राम्रै कमाइ हुने भएकाले पुरानासँगै धेरै नयाँ कलाकार पनि तीजका गीत गाउन चाहन्छन् । त्यसैले वर्षैपिच्छे सयभन्दा बढी नयाँ कलाकारले तीजगीत गाउँछन् । तीमध्ये केहीले राम्रै नाम र दाम कमाउँछन् । यद्यपि जति धेरै संख्यामा गीत निस्कन्छ, त्यसमध्ये थोरै गीत मात्र चल्छन् । तीजगीतले धेरैको लगानी पनि डुबाउँछ । चलेका गीतको आयु पनि त्यति लामो हुँदैन, तर पनि नयाँ–नयाँ गीत बन्ने क्रमलाई त्यसले खासै फरक पारेको देखिँदैन ।

यो वर्ष तीजको गतिविधि केही घटेको छ । पहिले तीजकै लागि भनेर महिनौं अघिदेखि पार्टी प्यालेसहरू प्याक हुन्थे । वैशाख १२ मा आएको प्रलयकारी भूकम्पका कारण यस पटक तीज आउनुअघिदेखि गरिने तडकभडकमा कमी आएको पक्कै छ तर धेरैले लख काटेजस्तो खल्लो वातावरणचाहिँ छैन । तीज नजिकिँदै जाँदा भूकम्पको धक्का कम हुँदै गयो र गीत निकाल्नेहरू ढिलै भए पनि सक्रिय भए । तीजका गीत रेकर्ड हुने सुरसार त भूकम्पअघि देखि नै थियो, तर साउनको दोस्रो सातादेखि मात्र गीत रेकर्डिङले तीव्रता पाएको प्रिज्मा स्टुडियोकी स्वरूपा बताउँछिन् । सबैभन्दा बढी गीत रेकर्ड भएको स्टुडियो प्रिज्माबाट करिब डेढ सय तीजका गीत सार्वजनिक भए । भूकम्पले गीत रेकर्ड यति धेरै संख्यामा होला भन्ने कुरामै शंका थियो तर यो वर्ष पनि गत वर्षकै हाराहारीमा तीज गीत तयार भए ।
यस वर्षका गीतहरू
०७१ मा ३ सय ५० भन्दा बढी तीजगीत सार्वजनिक भएका थिए । यस पटक पनि पुग–नपुग ३ सय २५ गीत रेकर्ड भएका छन् । गत वर्षझैं यो वर्ष पनि राधिका हमाल तीजको बेला सबैभन्दा बढी गीत गाउने कलाकार भएकी छिन् । ०७१ मा २४ वटा गीत गाएकी हमालले यसपालि ३० वटा गीत गाइन् । गायक रेशम सापकोटासँग उनले गाएको हाकिम मेरो पोइ अहिले चर्चामा छ । तीजका गीत गाउनेमध्ये खुमन अधिकारी पुरुष कलाकारमा सबैभन्दा अगाडि छन् । उनले गत वर्ष १९ वटा तीज गीत गाएका थिए भने यो वर्ष १७ वटा गाए । राधिका हमालसँग जोडी बनेर गाएको ‘सोलमारीमा टुच्च’ खुमनको यो वर्षको एउटा चर्चित तीज गीत हो ।

पशुपति शर्मा तीजका गीतमा विगत ९ वर्षदेखि सबैभन्दा राम्रोसँग जमेका स्रष्टा हुन् । सुरुमा लेखन र गायनमा सीमित शर्मा अचेल सबै गीतमा आफैं अभिनय पति गर्छन् । उनको अभिनयलाई पनि श्रोताहरूले रुचाएका छन् । शर्मालाई यो वर्ष धेरै अफर आए पनि तीजका लागि भनेर उनले ८ वटा मात्र गीत गाए । गत वर्ष उनले ९ वटा गीत बनाएका थिए । उनको सातो फुकौं झाँक्री बा, पानी पुरी, को नाचेर थाक्नी आदि गीत चर्चित छन् । सलल राप्चेको पहिरो, झलल बेनीको बजार गीतमा शर्माले केही समयअघि बेनीमा गएको पहिरोलाई उतारेका छन् । चर्चित गायक रामजी खाँडलाई यसपालि तीजका गीत गाउने खासै उत्साह जागेन । गएको वर्ष १३ वटा गीत गाएका खाँडले यसपालि जम्मा ४ वटा तीज गीतमात्र गाए ।

यसपालि धेरै युगल गीत बनेका छन् । मन्जु पौडेल र सन्तु थापा, देवी घर्ती र मिनराज गौतम, टीका पुन र कृष्ण रेउले, बिमल डाँगी र सरिता डाँगी, मौसम गुरुङ र कालिका रोका, डम्बर नेपाली र पूर्णकला बिसी, वसन्ती सुनवार र एमटी महर, मीना बोहरा र शक्ति चन्द, सरु गौतम र विर्खबहादुर धामी, कोमल वली र अजय अधिकारी आदि नयाँ–पुराना सबै कलाकारले युगल युगल गाएका छन् । पशुपति, प्रजापति, गायत्री थापा, कृष्ण अखेली, मञ्जु महत, सुशीला गुरुङ, सुनिता दुलाल, माण्डवी त्रिपाठी, उमा श्रेष्ठलगायत नयाँमा सरु गौतमदेखि पुरानामा हरिदवी कोइरालासम्मको सक्रियता रह्यो यसपालिको तीजगीतमा ।
बदलियो समाज, बदलियो विषय
तीज हाम्रो गाउँठाउँबाट पार्टी प्यालेस र युट्युबसम्म आइपुग्दा यसले पुरानो अनुहार गुमाइसकेको छ । उतिबेलाको सासू–बुहारी, नन्द–भदै र माइती–चेलीको सम्बन्धमा मात्र नभै पारिवारिक तथा सामाजिक संरचनामा व्यापक हेरफेर आएकाले तीजका गीतमा समय सापेक्ष हेरफेर स्वाभाविक हो । हिजोका दिनमा गाउँले परिवेशमा मात्र घन्किने लोकदोहोरी सुन्नसमेत नाक खुम्च्याउनेहरू अहिले सहर–बजारमा तिनै भाका हालेर छमछम नाचिरहेका छन् । पुरुषहरू महिलाका गीतमा ताली बजाउनैमा सीमित थिए । अहिले पुरुष स्वरविना तीजगीत अपुरो हुने दिन आएको छ । सहरिया परिवेशमा रचिने भएकाले गीतको शब्द र शैलीमा नयाँ–नयाँ रंग देखिएका छन् ।
हिजोका दिनमा जस्तो दु:ख, झगडा र गुनासोको विषयबाट तीजका गीतहरू क्रमश: टाढा हुँदैछन् । मध्यम तथा सम्भ्रान्त सहरियाहरूले महिनौं अघिदेखि तीजका नाममा पार्टी गर्न थालेपछि यो महिला–पुरुष सँगै नाचेर रमाइलो गर्ने पर्व बनेको छ । तीजमा माइत जान नपाउनुको पीडा, माइती टाढा हुनुको पीर, दाजुभाइ लिन नआएको दु:ख आदि भावना अभिव्यक्त गरिन्थ्यो । त्यतिबेलाका गीतमा समसामयिक राजनीति, श्रीमान्को घरका सदस्यले दिएका पीडा र दमनको विरोध गर्ने वा कुण्ठा पोख्ने शब्द समेटिएका हुन्थे । अझ महिला अभिव्यक्ति स्वतन्त्रताका हिसाबले धेरै महिला समूहले यसलाई महिला सशक्तीकरणको माध्यमका रूपमा प्रयोग गर्थे, तर अचेल बनेका अधिकांश गीतमा महिला–पुरुष सम्बन्ध, शिवजीलाई फकाउने वा रिझाउने कुरा, सुनको बाला, विदेशी साडी, मोबाइल र पैसाका कुरा धेरै छन् । अभिव्यक्ति स्वतन्त्रताको विषय अहिले सामाजिक वा राजनीतिक नभै व्यक्तिगत छोटा जामा, छोटा साडी र पोइ छान्न पाउने कुरामा पुगेको छ । तीज गीत अहिले भक्तिरसबाट श्रृंगार रसमा सरेको छ, अथवा यसो भनौं सामाजिकबाट रत्यौलीतर्फ उन्मुख भएको छ ।
भाद्र २३, २०७२   - प्रभाकर गौतम

Saturday, August 29, 2015

‘चौबीस रिल’भित्रको एक रिल -प्रभाकर गौतम

                                                                                               
गीत–संगीतमा रम्ने हाम्रो मनको भित्ताभरि अनगिन्ती धून र शब्दहरू कुँदिएका होलान् । त्यसमा गायकका मीठा स्वरलहरीहरूको लेपसमेत गढेका होलान् । हामीले अनुभूत गर्ने, सोच्ने वा परिकल्पना गर्ने धेरै कुरामा पक्कै पनि ती सृजनाहरूको धेरथोर प्रभाव हुँदो हो । त्यही भएर त गीत–संगीतलाई हाम्रो दुःख–सुख तथा भीड र एकान्तको अभिन्न साथी मानिएको हो ।
जुनसुकै भाव वा धाराका गीत किन नहोउन् सबैखाले गीतहरू मानव जीवनसँग अभिन्न रुपमा गाँसिएका छन् । एउटा राम्रो सिर्जनामा स्रोताले आफ्नो भावना, संवेदना र विचारको तादात्म्यता खोज्छ र सायद भेट्छ पनि । तादात्म्यताकै कारण संगीतले स्रोताको मनोदशा, भावना र चेतनालाई स्पर्श गर्छ । त्यो स्पर्शले मानव तन्तुको त्यस्तो भित्री तहलाई छुन्छ जसलाई सायद हम्मेसी अन्य विधाले छुँदैन । र, यस्तो स्पर्शलाई अनुभूत गर्ने हृदय सबैले पाउँदैनन् । हृदय पाइहाले पनि त्यसको असरलाई विश्लेषण गर्ने क्षमता र त्यसलाई अभिव्यक्त गर्ने जाँगर भएकाहरू निकै कम हुन्छन् ।
भूपिन तिनै कम मध्येका एक हुन् जो संगीतलाई गम्भीर रुपमा लिन्छन् । मन परेका गीतलाई प्रेमिका बनाएर सुमसुम्याउँछन् । जिन्दगीका वक्राकार गोरेटोको साथी बनाउँछन् । गीतहरूलाई मानवीकरण गरी तिनका चरित्र पर्गेल्न खोज्छन् । सन्दर्भ भूपिनको 'चौबीस रिल' संग्रहमा रहेको 'मनका एल्बमका प्रिय गीत' शीर्षकको निबन्धको हो । यो आलेखको रचनागर्भ त्यही निबन्ध हो । हुन त यो मैले हालसम्मै पढेकोमध्ये अब्बल निबन्ध होइन न त यो चौबीस रिल संग्रहभित्रकै उत्कृष्ट निबन्ध हो । तर निबन्ध लेखनमा यसले भित्र्याएको विषय नयाँ छ । प्रस्तुत निबन्धको विषय संगीत हो जसमा उनले आफूलाई विरेचित पार्ने प्रिय ६ ओटा गीतको छनोट गर्दाको सकस र ती गीत छान्नुका कारणबारे विस्तृत चर्चा गरेका छन् । ती गीत उनले सिनर्जी एफएमको एउटा कार्यक्रममा आफूलाई मन पर्ने गीतहरूबारे बोल्नका लागि आग्रह गरिएपछि छानेका हुन् । भूपिनका ६ ओटा प्रिय गीतमा ४ ओटा नेपाली तथा हिन्दी र अंग्रेजी एकेकओटा परेका छन् ।
उनले छानेको पहिलो गीत 'मेरो प्यारो ओखलढुङ्गा' हो ।
सिद्धिचरण श्रेष्ठको शब्द, नारायणगोपालको स्वर तथा संगीतमा उनिएको 'मेरो प्यारो ओखलढुङ्गा' उनको रोजाइमा परेको पहिलो गीत हो । जब–जब उनी मेरो प्यारो ओखलढुङ्गा सुन्छन् उनलाई लाग्छ, ओखलढुङ्गा यस्तो बिम्ब हो जुन शहर छिर्दा उनको गाउँ बलेवा बन्छ र विदेश पुग्दा नेपालकै रुप लिन्छ । उनी भन्छन् ‘ओखलढुङ्गा मेरो आफ्नै गाउँ बलेवा जस्तो लाग्छ । ... ओखलढुङ्गा एउटा सानो गाउँ वा जिल्ला मात्र होइन, त्यो सिङ्गै देश पनि हो । विदेशमा बसेका नेपालीहरूले यो गीतमा पूरै देश भेट्छन् । त्यो देशभित्र उनीहरू जन्मेको गाउँ वा शहर पनि पर्छ ।’
'आमा' उनको रोजाइको दोस्रो गीत हो । कवि तीर्थ श्रेष्ठको रचनामा नेपथ्यका अमृत गुरुङको स्वरमा रहेको 'आमा' गीत सुन्दा उनी आफ्नी र संसारभरकी आमालाई सम्झन्छन् र प्रणाम गर्छन् । त्यति मात्र हैन, गुरुङमा प्रख्यात अमेरिकी कवि गायक बब डिलनको झझल्को भेट्टाउँछन् । अफबिट अर्थात् अपरम्परागत शैलीमा गाइएको शक्तिशाली कविता भएकोले उनलाई यो गीत मन परेको उनको तर्क छ । यसबाट उनी साहित्य र संगीत दुवै क्षेत्रमा प्रयोग मन पराउने कुराको पुष्टि हुन्छ ।
तेस्रो रोजाइमा परेको छ 'तिमी जुन रहरले' । दिनेश अधिकारीको शब्दमा नारायणगोपालको स्वरमा सजिएको 'तिमी जुन रहरले' गीत उनको तेस्रो रोजाइमा परेको छ । दिनेश अधिकारीले अठार वर्षकै उमेरमा रचेको यो प्रेम गीत सुनेपिच्छे उनी विरेचित हुन्छन् । नारायणगोपालको घना निराशावादी गायकीमा चुर्लुम्मै डुब्छन् र तैरिन्छन् पनि ।
बहुचर्चित 'यात्री' कविता सूचीको चौथो नम्बरमा परेको छ । लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता 'यात्री'लाई रविन शर्माले गाएका हुन । उनलाई यो गीत प्रिय लाग्नुको मुख्य कारण यसको दर्शन हो जसमा ईश्वरको अस्तित्वप्रति नै शंका व्यक्त गरिएको छ । उनी जब–जब म यो गीत सुन्छन् उनलाई मानिस नै मानिसको एकमात्र ईश्वर हो जस्तो लागिरहन्छ ।
पाँचौँ गीतमा छ जोन लेननको 'इम्याजिन' । यो युटोपियन गीतले उनलाई घरीघरी काल्पनिक दुनियामा पुर्याउँछ जहाँ राष्ट्रिय सिमाना, धर्म वा सम्पत्तिजस्ता पर्खालहरु भत्किएका छन् । छ त केवल मानवता र शान्तिको बस्ती मात्र । आदर्श समाजको परिकल्पना विना कलाको मूल्य हुँदैन सायद । त्यसैले भूपिन यस गीतमा निहित आदर्शको पूजारी बनेका छन् ।
अन्तिम अर्थात् छैठौं सूचीमा ‘ये दौलत भी ले लो...’ गजल परेको छ ।  ‘ये दौलत भी ले लो...’  जगजित–चित्रा सिंहले गाएको र सुदर्शन फाकिरले लेखेको सांगीतिक रचनाले उनलाई हदैसम्म नोस्टाल्जिक बनाइदिन्छ । ‘बाल्यकालबारे यति जीवन्त गीत मैले अर्को सुन्न पाएको छैन’ उनको दाबी । बाल्यकाल फिर्ता पाउने शर्तमा सम्पत्ति, सुन्दरता र जवानी पनि गुमाउन नहिच्किचाउने मानवीय चेतनाको काव्यिक व्याख्या त्यो गीतको सौन्दर्य हो । मैले पनि वाल्यवयमा कागजको डुंगा बनाएर वर्षात्को बाढीमा बगाएको छु धेरैपटक । चराहरू पक्रेको छु र आमाको आग्रहमा छोडिदिएको छु । साथीहरूसँग मिलेर झुम्राका बेहुला–बेहुलीको बिहेमा जन्ती गएको छु । गाई चराउन जाँदा चौरमा धेरैपटक आफ्नो तस्वीर बनाएको छु र मेटेको छु । जब उमेरको भूतले मलाई एकान्तमा तर्साउन थाल्छ, कल्पनामै सही टाइम मेसिनमा छिरेर म त्यो समयमा फेरि पुग्न चाहन्छु । यो गीतले मलाई छलकपटविनाको बाल्यकालको दिव्यता सम्झाउँछ ।’ सम्भवतः भूपिन मात्र होइन यो गीत सुन्ने जोकोही यसरी नै नोस्टाल्जिक बन्छ । आखिरमा संगीतको विशेषता यही त हो ।
सामान्य अवस्थामा आफूलाई मन परेका गीतबारे बोल्नु कुनै ठूलो वा गाह्रो कुरा होइन । तर जब एउटा लेखक÷स्रोताले ती गीत मन पर्नुका कारणबारे सार्वजनिक रुपमा बोल्छ वा लेख्छ तब त्यो चुनौतीपूर्ण काम बन्छ । उसले गर्ने विश्लेषण र व्याख्याले समाजमा संगीतलाई बुझ्ने दृष्टिकोण निर्माणमा समेत प्रभाव पार्छ । भूपिनका लागि गीत छनोट गर्ने काम कठिन बन्नुको कारण यही हो । यद्यपि त्यो कठिनाइलाई उनले रचनात्मक पाराले सुल्झाएका छन् । उनले छानेका गीतहरू, त्यसबारे उनले गरेका तर्कहरू र त्यसका लागि जोडेका सन्दर्भहरूले गीतबारे छलफल गर्नका लागि गतिलो आधार प्रदान गरेको छ । हरेक गीत छनोटका व्यक्तिगत, साहित्यिक तथा सृजनात्मक कारणहरूले उनको यो निबन्धको दायरा फराकिलो बनेको छ । यसबाट भूपिनको विश्लेषण क्षमता समेत उजागर भएको छ । तर त्योभन्दा बढी विषयको उठान र प्रस्तुतिमा उनी निकै सफल छन् । उनको छनोटका गीत र त्यसमाथिको चर्चाले उनको जीवन दृष्टि र वैचारिक झुकावलाई समेत इंगित गरेको छ ।
भूपिनले गीतलाई पनि अध्ययन र चिन्तनको स्रोत बनाएका छन् । मान्छेलाई कुनै गीत किन मन पर्छ त ? भूपिन भन्छन् ‘गीतहरू मन पर्नुको एउटा कारण श्रोतासँग विषयगत जोडाइ पनि हो । श्रोताले त्यो शब्द र आवाजमा आफ्नो कथाको झरना खसिरहेको महसुस गर्दछ । त्यसको सितलोले उसलाई निथ्रुक्क भिजाउँछ । विरेचित पार्छ ।’ यो निबन्ध व्यक्तिले संगीत सुन्ने कारण जान्न र त्यसलाई कसरी ग्रहण गर्दोरहेछ भनेर बुझ्नका लागि सबैलाई गतिलो खुराक बन्न सक्छ । भूपिन एक प्रतिनिधि मात्र हुन् ।


तपाईं हामीसँग पनि संगीतसँग हुँर्कदाका अनगिन्ती भावना, अनुभूति र विचारहरू पक्कै छन् । तिनलाई शब्दरुपी क्यामेराले खिचेर एउटा रिल हामी पनि थप्ने कि !