Thursday, January 24, 2013

गजल–संगीत विमर्श




निबन्ध संग्रह ‘आफ्नै आँखाको लय’ मा ‘लेखक बन्न रहर गर्नेलाई टिप्स’ शीर्षकको लेखमा खगेन्द्र संग्रौलाले ८ ओटा गुरुमन्त्र वाचेका  छन् । त्यसमध्ये पहिलोमै बुँदामै उनी भन्छन् : ‘गजल नलेख्नु ।’ ‘...गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’

एकातर्फ, संग्रौलाको यो कटाक्ष पढ्दा रमाइलो लाग्छ । अतिशय भावुकता पोख्न अध्ययन र सीपविनै साहित्यमा गजल लेखक बनिटोपल्नेहरुलाई लक्षित संग्रौलाको दनकप्रति मेरो पनि समर्थन छ । प्राविधिक रुपमा गजल लेख्नेहरुाई मात्र हैन जुनसुकै विधामा कलम चलाउनेलाई दनक दिनै पर्छ । भलै, जिन्दगीमा त्यस्तो भावुकताको असरमा परी मैले पनि कनिकुथी गजल कोर्ने प्रयास गरेको किन नहुम् ।

अर्कोतर्फ, गजल जस्तो सुन्दर र शक्तिशाली विधालाई यसरी भित्तामै पुर्याउने टिप्पणी पढ्दा मन कटक्क खान्छ, पीर लागिरहन्छ । जब जब म उर्दू-हिन्दी गजलहरु सुन्छु गजल विधाप्रतिको सम्मान ह्वात्तै बढ्छ । गालीब, फैज, मीर, सुदर्शन फाकिर, निदा फाजली, बसिर बद्र, कैफी आजमी, गुलजार, जावेद अख्तर आदिका गजल संग्रौलाले इंगित गरेको गजलभन्दा धेरै पृथक छ । मिठो छ । त्यसमा कला छ, साधन छ र छ दर्शन पनि । मेरो मन तृप्त हुन्छ, जब जगजित सिंह, चित्रा सिंह, गुलाम अली, मेहन्दी हसन, भुपिन्दर सिंह, अनुप जलोटा, आशा भोसले आदिका स्वर र गायकीको स्पर्श पाउँछु । ती गजलमा पाइने जीवन दर्शन, प्रकृतिसँगको संवाद, काव्यिक मिठास र प्रेमरस वा प्रेमपीडा जब संगीतमा घोलिन्छ म त्यसैत्यसै लठ्ठिन्छु । र, मनमनै भन्छु जो यसमा लठ्ठिँदैनन् ती सब् लठुवा हुन् ! थाहा छैन संग्रौला यसमा लठ्ठिन्छन् कि लठ्ठिँन्नन् कुन्नि ?
उर्दू गजल मीठो हुन्छ तर यसको लोकप्रियता र उचाइँ बढाउनमा संगीत (कम्पोजिसन) र स्वर (गायकी)ले अत्यन्तै महत्वपूर्ण स्थान राखेको छ । अझ महत्वपूर्ण रुपमा गजल लेखन, वाचन र गायनको लामो परम्पराले ठूलो विशेष योगदान गरेको छ । लामो समयदेखि हिन्दी चलचित्रमा समेत गजलले स्थान पाएकोले यसको पहुँच र लोकप्रियता झनै व्यापक भएको हो ।

तर नेपाली गजललाई संगीत विधासँग जोड्ने प्रयास कमजोर छ । जुन अनुपातमा गजल लेखिएका छन् त्यसको आधारमा भन्दा नेपालमा गजल गाइन शुरु नै भएको छैन । गजल एल्बम भनेर निकालिएका एल्बमहरु गीतभन्दा पृथक स्वाद दिन सक्षम भएको उदाहरण कमै छ । पक्कै, नेपालीमा लेखिने गजलहरु गुणात्मक कम छन् तर गायक-संगीतकारले खोज्ने हो भने लिखित राम्रा गजलको अभाव छैन । नयाँ नयाँ प्रयोग गर्न चाहने संगीतकार-गायकको अभाव नै यसको मूल समस्या हो ।

नेपालमा गजलको कम्पोजिसन र गीतको कम्पोजिसनको ढर्रा एउटै छ । जबकी गजलमा एउटै शेर वा काफियालाई दसौँ तरिकाले गाउन सकिन्छ । गजलको खासियत नै यही हो, शब्द शब्द खेलाएर जादू वा रोमाञ्च पैदा गराउने । केही अपवाद हुन सक्छन्, तर नेपालका प्रायः संगीतकारहरुले यस्तो क्षमता प्रस्तुत गर्न सकिरहेका छैनन् । न त गायकहरुमा नै यस्तो रुचि र क्षमता देखिन्छ । नेपाली चलचित्र संगीतमा समेत गजलको प्रयोग भइहाल्ने सम्भावना कमै छ ।

नेपाली गजल पनि सुन्दर रुपमा संगीतबद्ध गर्न सकिन्छ, गाउन सकिन्छ । स्रोताहरुलाई त्यसले नौलो मिठास र अद्भूत आनन्द दिन सक्छ । उदाहरणका लागि, ज्ञानुवाकर पौडेलका केही गजलहरुमा गैरे सुरेशको संगीतले यस्तो सम्भावना देखाएको छ । । शक्ति वल्लभ, दीपक जंगम, प्रवीण बराइली,  महेश खड्काका संगीतहरुले पनि गजलको फ्लेवर दिएकै हो । उदय सोताङ, प्रदिपराज पाण्डे, जगदिश समाल, अन्जु पन्त, शिव परियार, सत्यराज–स्वरुपराज आचार्य, कर्ण दास आदि कलाकारहरुको गायकीले पनि केही रचनामा गजलोन्मुख शैली पछ्याएकै हो । ‘कवाली फ्लेवर’ भएका नेपाली गीतहरु पछिल्लो समयमा लोकप्रिय समेत भएका छन् । अहिले पनि केही रेस्टुरेन्टहरुमा गजल गाइराखेका छन् कलाकारहरु । तर त्यसमा नेपालीभन्दा उर्दू-हिन्दी गजलकै माग बढी छ ।

गजललाई ‘गजल’ जसरी नै संगीतबद्ध गर्न र गाउनका लागि कवि, संगीतकार र गायकबीचको सम्बन्ध वा संगतको पनि विशेष महत्व छ । गजल लेखनको स्तर तब मात्र बढ्छ जब यसले राम्रो संगीत र गला पाउँछ । धून र स्वरसहितको गजलमा स्रोतालाई मोहित पार्ने विशेष शक्ति हुन्छ । संगीतवद्ध नभएको गजल जति सुन्दर भए पनि त्यसले संगीत मार्फत पाउने उचाइ नपाउन सक्छ । स्तर वृद्धि भयो भने मात्र गजलले सम्मान पाउँछ । अन्यथा, संग्रौला जस्तै धेरैले फेरि फेरि भन्नेछन्-लेख्नेछन् : ‘गजल नलेख्नु’ ‘...गजलमा मात्र अस्तित्वको घिडघिडो र अमरत्वको फिलुंगो देखे जम्मा एउटा गजल लेख्नू ।’

Tuesday, January 15, 2013

संगीत क्षेत्रका अग्रज अन्वेषक : रामशरण दर्नाल



नेपाली संगीत रेकर्ड हुन थालेको एक शताब्दी बितिसक्दा पनि यसक्षेत्रबारे सोध तथा अनुसन्धान गर्ने परम्परा लामो छैन । संगीतसम्बन्धी प्रकाशित थोरै पत्रपत्रिका, पुस्तक, लेख तथा रचनाको संख्याले पनि यो पुष्टि हुन्छ । उपलब्ध सामग्रीहरु पनि खोजमा आधारित कम र अनुभूति, संस्मरण र स्मृति ग्रन्थका रुपमा बढी आएका छन् । संगीतको अध्ययन पनि प्राविधिक विषयका रुपमा बढी केन्द्रित छ । संगीतको इतिहासबारे, व्यक्ति, समाज र संगीतको अन्तर्सम्बन्धबारे अनुसन्धाता र संगीतक्षेत्रका विज्ञहरुको ध्यान कमै गएको पाइन्छ । केही सीमित अनुसन्धाता मध्ये रामशरण दर्नाल अग्रपंक्तिमा पर्छन् । वास्तवमा उनी जति व्यापक र गहनरुपमा संगीतक्षेत्रमा कलम चलाउने नेपालभित्रै अर्को व्यक्ति पाइँदैन होला ! उनले लेखेका पुस्तक र फुटकर रचनाहरुको संख्याले यही भन्छ ।

माता दिलकुमारी र पिता सत्यकुमारका सन्तान दर्नालको जन्म वि.स. १९९४ असार २७ शनिवारका दिन कालधारा, काठमाडौँमा भएको थियो । विद्यार्थी जीवन काठमाडौँको दरबार हाइस्कूलबाट शुरु भएको उनको मेट्रिक तहको शिक्षा भने सेन्ट रोबर्ट हाइस्कूल दार्जिलिङमा पुगेर टुंगियो । ‘दलित’ परिवारमा जन्मेका दर्नाल भनिन्छ, आफन्त पुस्कर बुढापिर्तीको साथ पाएर पुगेका थिए । दार्जिलिङ उनका बाबु पेडल हार्मोनियम बजाउँथे । सम्भवतः बाबुको प्रभाव उनमा प¥यो । सांगीतिक क्षेत्रको उर्वर थलो दार्जिलिङमा उनले ट्रम्पेट, गितार, पियानो र सिम्फोनी अर्केस्ट्रा जस्ता प्रविधिहरुसँग साक्षात्कार हुने मौका पाए । जीवन यात्राका क्रममा करिब आठ/नौ साल ताका मेट्रिक पास गरेपछि उनी कोलकाता गए र एचएमभी (हिज मास्टर्स भ्वाइस) कम्पनीमा प्रशिक्षार्थीका रुपमा काम समेत गरे । भनिन्छ, कोलकाताबाट फर्कदा उनले ह्वाइन गितार, ट्रम्लेट र म्यान्डोलिन साथै ल्याएका थिए । संगीत संयोजक र विशेषज्ञका रुपमा उनी रेडियो नेपाल, रोयल नेपाल एकेडेमी, राजदरबार, शाही सेना र तारे होटलहरुमा आबद्ध भए । ‘स्वरलिपिकार’ का रुपमा एकेडेमीमा उनले ३५ वर्षसम्म काम गरे र अवकाश पाए । यसक्रममा स्वाभाविक रुपमा धेरै नेपाली स्रष्टाहरुसँग उनको सहवास भयो । यसै मेसोमा धेरै ऐतिहासिक सृजना वा रचनाहरुमा उनको नाम जोडिने नै भयो ।

नरराज ढकालको पहलमा २०१६ देखि उनी प्रज्ञाप्रतिष्ठान छिरे । प्रतिष्ठानद्वारा सञ्चालित त्रिवर्षीय र पञ्चवर्षीय योजनामा कला विभागको सहायक सचिव भएर काम गरे । उनको कार्यकालमा १ सयभन्दा बढी बाजा र केही राग तथा तरंगको अन्वेषण भएको मानिन्छ । तर व्यवहारिक तहमा खासै काम हुन सकेन । एकेडेमीमा संकलित ती बाजाहरुको उचित संरक्षण अहिलेस्मम पनि हुन सकेको छैन । रेडियो नेपालमा ‘गाउँछ गीत नेपाली’को नोटेसन उतार्ने, दरबारमा उस्ताद गोबिन्दलालसँग मिलेर ‘उसैका लागि’ र ‘फेरि उसैका’ लागि गीतलाई डिस्कमा उतार्ने कार्यमा उनले सघाएका थिए । नेपाली संगीत इतिहासलाई लिखित दस्तावेजमा उतार्ने काम हुन नसकेकोमा उनको विशेष चासो र चिन्ता थियो । त्यसैले बाजा र सांगीतिक सृजनाको अनुसन्धानमा उनले आफ्नो जीवनको ठूलै उर्जा खर्च गरे । विशेषतः २०३८ पछिको समयमा खोज तथा अनुसन्धानको काममा उनी बढी सक्रिय भए ।

उनका करिब एक दर्जन प्रकाशित पुस्तक र सयौं फुटकर लेखहरु प्रकाशित छन् । उनको संगीतसम्बन्धी पहिलो लेख बनारसबाट निस्कने पत्रिकामा प्रकाशित भएको थियो । नेपाली संगीत साधक (२०३८), संगीको विस्तृत अवलोकन (२०४१), विश्वविख्यात संगीतकार (२०४१), संगीत परिक्रमा (२०४१), संगीत सौरभ (२०५८), नेपाली बाजा (२०६१) आदि उनका केही प्रमुख कृतिहरु हुन् । उनले थुप्रै स्वदेशी तथा विदेशी अनुसन्धातालाई नेपाली लोक संगीतसम्बन्धी रिसर्च गाइडका रुपमा निर्देशन पनि गरेका छन् । शैक्षिक पाठ्यक्रम निकाल्नेदेखि भेटेसम्मका इतिहास समेट्ने काममा उनी अन्तिमसम्म लागिरहे । उनले नेपाली संगीत क्षेत्रमा अनुसन्धान गर्न सकिने थुप्रै आधारहरु तयार पारेका छन् । २०६८ असोजका १ का दिन निधन भएपछि भने संगीत क्षेत्रका विविध विषयमा अनुसन्धानको काम गर्ने व्यक्तिको अभाव टड्कारो बनेको छ ।

Friday, January 11, 2013

पहिलो रेकर्डेड गीत

गीत सुन्दा सुन्दै खै कहिलेदेखि आफैँ कोर्ने भइयो । कोरेका शब्दहरू धुनबद्ध होलान् भन्ने सोचेको थिइनँ । अप्रत्याशितरुपमा मलाई गीतकार बनाउने यो मेरो जीवनकै पहिलो रेकर्डेड गीत हो । सायद पहिलो भएकैले मलाई धेरै अर्थमा यो गीत प्रिय लाग्छ । २०६० सालमा लेखिएको यस गीतमा सङ्गीत भर्ने श्यामसुन्दर र गायक भरत गुरुङलाई धन्यवाद ।

गीत सुन्न क्लिक गर्नुस् - Thaha Chhaina

थाहा छैन तिमी नहाँस्दा...

थाहा छैन तिमी नहाँस्दा
ह्रदय मेरो रुन्छ किन
तिम्रा हरेक कुराहरुले
मुटु मेरो छुन्छ किन

उपमा दिनै नसकिने
साइनो पनि हुँदोरैछ
मौनतामै अल्झिदिने
सम्बन्ध‘नि हुँदोरैछ
थाहा छैन तिमी नखुल्दा
ह्रदय मेरो रुन्छ किन

नाता कुनै नभए त
माया नै लाग्ने थिएन
एकोहोरो यो मुटुले
पीडा नै खेप्ने थिएन
थाहा छैन तिमीलाई नभेट्दा
ह्रदय मेरो रुन्छ किन
तिम्रा हरेक कुराहरुले
मुटु मेरो छुन्छ किन ।।



Thursday, January 10, 2013

छलफल संस्कृति र नेपाली सङ्गीत

 नेपाली सङ्गीत क्षेत्रका धेरै कलाकारहरू गीत गाउँने, सङ्गीत भर्ने र गीत लेख्ने काम फत्ते गरेपछि प्रायः सन्तोष लिएर बस्छन् । तर केही कलाकार यस क्षेत्रको इतिहास, वर्तमान र भविष्यका बारेमा पनि गम्भीर भएर गम्छन् । नेपाली सङ्गीतको पहिचान र स्तरीकरणबारे चिन्तित हुन्छन् । अझ थप केही गर्नु पर्ने दायित्व बोधले थिचेको महसुस गर्छन् । त्यसैले यस क्षेत्रका विविध पक्षबारे चासो राख्छन् । यस्तो चिन्ता र चासोलाई सार्वजनिक वृत्तमा छलफलको विषय बनाउँछन् । आममानिसँग सङ्गीतका माध्यमबाट मात्र नभइ विचार समेत पोखेर अन्तक्र्रिया गर्छन् । सर्जक आभास यस्तै एक कलाकार हुन् जसलाई गीत–सङ्गीत रचेर मात्र चित्त बुझ्दैन । उनी यस क्षेत्रको विकासका लागि छलफल र विमर्श पनि उत्तिकै जरुरी भएको ठान्छन् । छलफलमा सहभागी हुन्छन् । आफ्ना मत दिन्छन् र अरूका लिन्छन् पनि ।

आज यिनै सर्जकले मार्टिन चौतारीमा आफ्नो सङ्गीत यात्राको नालीबेली सुनाए । यस क्षेत्रका सबल र दुर्वल पक्षबारे चर्चा गरे (यसबारेमा छुट्टै चर्चा गरौँला) । तर दुर्भाग्य उनको भोगाइ र बुझाइबारे सुन्ने सहभागीहरूमा सङ्गीत क्षेत्रमै लागेका एकजना मात्र थिए । उनी थिए, नेपाल लोकबाजा संग्राहलयका रामप्रसाद कँडेल । उनीबाहेक अन्य क्षेत्रका सहभागीहरूको संख्या पनि सन्तोषजनक थिएन ।
छलफलमा सहभागीहरूको संख्या कमबेस हुनु सामान्य कुरा हो । वक्ताको व्यक्तित्व र लोकप्रियता, विषयवस्तु र कहिलेकाहीँ शीर्षकले समेत सहभागी घटबढ गराउँछ । आजको छलफलमा उपस्थिति कम हुनुका धेरै कारणहरू होलान् । काठमाडौँको ऐतिहासिक जाडो । कार्यक्रममा आउन चाहनेहरूका निजी बाध्यता । मार्टिन चौतारीकै सूचना सम्प्रेषणको पनि आफ्नै सीमा होला । तथापि, अन्य छलफलहरूमा हुने उपस्थितिसँग दाँज्दा यस्ता कारणले मात्र चित्त बुझाउन सकिन । यसरी थोरै मान्छेमात्र सहभागी हुनुका केही खास कारणहरू छन् जस्तो लाग्छ । विगतमा सङ्गीत क्षेत्र वा सङ्गीतकै विषयमा सहभागीहरू नाम र अनुहार सम्झँदा के भन्न सकिन्छ भने आफ्नो क्षेत्रबारे हुने छलफलमा सङ्गीतमा लागेका मान्छेहरूको रुचि कम छ । अरु त अरु मिडियाले पनि यस्ता कार्यक्रममा भएका बहसलाई ठाउँ दिँदैन ।
आइटम गीतको बजार तातेको यो मौसममा आभासजस्ता पृथक धार समातेका कलाकारको चिसा गफमा थोरैको मात्र रुचि हुनु स्वाभाविक हो । तैपनि लागेको थियो, नेपाली सङ्गीत क्षेत्रमा तीन दशकभन्दा बढी बिताएका, आधा दर्जन क्यासेट निकालिसकेका, अम्बर गुरुङ, फत्तेमानदेखि नेपथ्यसम्मका पुस्तासँग काम गरिसकेका उनको साङ्गीतिक यात्राबारे कम्तीमा केही गायक, सङ्गीतकार र गीतकार त पक्कै भेला होलान् । नेपाल र दार्जिलिङ भेगका दर्जनौँ कलाकारलाई नेपालयको पलेटीमा आसन बाध्ने मेसो मिलाएका आभासको प्रस्तुतिमा भएको न्युन सहभागीताले यो क्षेत्र बहस र छलफलबाट टाढा रहन रुचाउने क्षेत्र हो कि भन्ने भान भइरहेको छ ।
छलफल संस्कृतिलाई यसरी नै आत्मसात नगरीरहने हो भने हाम्रो सङ्गीत मनोरञ्जनभन्दा माथि उक्लिने दिन अझै धेरै टाढा पो हो कि !
मार्टिन चौतारीमा  आभास
                                                                                                                          ।। प्रभाकर गौतम ।।

Saturday, January 5, 2013

पुस्तक चर्चा: कहाँ गए ती दिनहरु

                                                                                                             ।। प्रभाकर गौतम ।।







'कहाँ गए ती दिनहरु' अम्बर गुरुङद्वारा चार दशकभन्दा लामो अवधिमा रचिएका प्रकाशित रचनाहरुको सङ्‍कलित कृति हो । यसमा संस्मरणात्मक, आत्मपरक र विषयपरक गरी जम्मा २६ वटा रचनाहरु परेका छन् । यसबाहेक शङ्‍कर लामिछाने र अगमसिंह गिरीले अम्बर गुरुङका बारेमा लेखेका दुईवटा लेखहरुलाई पनि एतिहासिक दस्तावेजका रुपमा भूमिकामा राखिएको छ । विभिन्न कालखण्डमा समकालीन साहित्य, बागीना, मधुपर्क, रुपरेखा, गोरखापत्र, कान्तिपुरलगायतका पत्रपत्रिकामा प्रकाशित यस पुस्तकमा रहेका रचनाहरुको सङ्‍कलन र सम्पादन युवा पत्रकार देवेन्द्र भट्टराईले गरेका छन् ।

स्वर, शब्द र सङ्‍गीत तीनै विधामा समानरुपमा सक्रिय गुरुङ नेपाली साङ्‍गीतिक क्षेत्रमा पूर्वीय र पाश्चात्य दुवै शैलीमा गहिरो ज्ञान राख्ने सङ्‍गीतज्ञका रुपमा परिचित छन् । जन्मथलो दार्जिलिङदेखि कर्मथलो काठमाडौँसम्मको आफ्नो लामो साङ्‍गीतिक यात्राका क्रममा उनले प्रवासी नेपालीको पीडादेखि नेपाली कान्छा-कान्छीको प्रेम प्रसङ्‍गलाई आफ्ना सिर्जनामा समेट्‍न भ्याएका छन् । उनी नेपाली साङ्‍गीतिक फाँटमा स्वर्णकालीन युग भनेर चिनिने कालखण्डका प्रतिभावान् श्रष्टा हुन् । भूपी शेरचन, शङ्‍कर लामिछाने, अगमसिंह गिरी, ईश्वरबल्लभ, वैरागी काइँला, हरिभक्त कटुवाल, नारायणगोपाल, अरुणा लामा आदिसँग साङ्‍गीतिक सहयात्रा गर्ने सुअवसर पाएका गुरुङमा उनका समकालीन कलाप्रेमी मित्रहरुको स्पष्ट प्रभाव भेटिन्छ । यो पुस्तकलाई अगमसिंह गिरी, शङ्‍कर लामिछाने र इन्द्रबहादुर राईका नाममा समर्पित गर्नाले पनि उनको साहित्यिक व्यक्तित्वहरुसँग स्थापित गहिरो सम्बन्धको महत्व खुल्छ । अगमसिंह, शङ्‍कर र भूपी त उनको सिर्जनात्मक क्षमतालाई उर्जा दिने मात्र नभई दुईचार घुट्‍को मारी दु:ख-सुख साट्‍ने अन्तरङ्‍ग मित्र नै थिए ।
मनभित्रका भावना र जीवनका अनुभूतिहरुलाई कहिले लहर त कहिले तरङ्‍मा ढाली सिर्जनात्मक आकार दिने क्रममा गुरुङले जन्मेहुर्केको ठाँउ मात्र होइन, आफूभित्रको कलाकारिता जोगाउन बेग्लै अस्तित्व खोजिरहेको सङ्‍घर्षरत परिवेश पनि त्याग्नु पर्‍यो । जुन एउटा कलाकारभित्रको संवेदनालाई कहिले उर्जा दिने त कहिले पीडा दिने कारण बन्न पुग्यो । यो कृति पनि त्यही उर्जा र पीडारुपी संवेदनाको उपज हो । यसमा सङ्‍कलित रचनाहरुमा 'बन्दै रह्‍यो बाल्कोनी', 'एउटा तुच्छ सम्झना', 'गीत सुनाउनै सकिनँ' क्रमश: शङ्‍कर, अगमसिंह र उत्तम कुँवरको मृत्युपश्चात् उनीहरुको स्मृतिमा रचिएका संस्मरणात्मक लेख हुन् । त्यस्तै 'कहाँ गए ती दिनहरु' शीर्षकको लेखमा चाहिँ लेखकले भूपी, शङ्‍कर र अगमसिंहका प्रसङ्‍गहरुलाई विषय बनाएका छन् । यो लेख जीवित छँदै कलाकार वा स्रष्टाहरुको महत्व नबुझ्ने र सही मूल्याङ्‍कन नहुने तर मृत्युपछि उनीहरुलाई महान् घोषित गरिने परिपाटीमाथिको व्यङ्‍ग्यसमेत हो । 'फज्लु भैया' र 'हिरो र आश्वासन' पनि व्यक्तिलाई केन्द्रबिन्दु बनाई रचिएका लेखहरु हुन् । यी यस्ता साधारण पात्रहरु हुन् जसले उनको मनमा मात्र नभई सिर्जनामासमेत गहिरो प्रभाव पारेका छन् ।

मानव-हृदयभित्रका स्वच्छ भावना र मानवीय संवेदनालाई सङ्‍गीत वा सिर्जनाको प्रमुख स्रोत मान्ने गुरुङका लागि गीतसङ्‍गीत गाएर छोडिदिने विषय मात्र होइन भन्ने कुरालाई 'सङ्‍गीत र उत्तरदायित्व', 'हारमोनियम: प्रसिद्ध अभागी बाजा', 'अन्तर्वार्ता अनुभव' 'जीवनजत्तिकै नजिक !' 'सङ्‍गीतमा प्रविधीकरण', 'इच्छुकलाई शुभेच्छुकको पत्र', 'शास्त्रीय गायन', 'किन म सङ्‍गीत गर्छु ?' जस्ता लेखमा व्यक्त गम्भीर विचारहरुले पुष्टिसमेत गरेका छन् । विश्वसङ्‍गीतका हस्तीहरुको सङ्‍घर्ष र सफलता-असफलताका दृष्टान्तहरु बुनेर नेपाली परिप्रेक्ष्यमा रचिएको 'सङ्‍गीत र उत्तरदायित्व' शीर्षकको लेखमा नेपालमा विदेशी स्रष्टाका सिर्जना तथा रचनाहरु पढ्‍ने पर्याप्त अवसर र वातावरण नहुनु पनि नेपाली सङ्‍गीतको विकास वा विस्तार नहुनुको एउटा प्रमुख कारण मान्दै उनी भन्छन्, 'यहाँनेर यो कस्तो विडम्बना भने उनीहरु पहिला रिकर्ड अथवा प्रदर्शनी क्रिया सुन्छन् र त्यसबारे रिभ्यू आदि लेख्छन् र हामीहरु ती बासी रिभ्यूहरु पढ्‍छौँ, मात्र पढ्‍छौँ, सुन्न पाउँदैनौँ ।' त्यस्तै 'सङ्‍गीतमा प्रविधीकरण' शीर्षकको लेखमा उनले केवल लोकसङ्‍गीतलाई विशुद्ध नेपाली सङ्‍गीत मानेर नेपाली सङ्‍गीत क्षेत्रको विकास नहुने तर्क अघि सार्दै भनेका छन्, 'लोकसङ्‍गीत पूर्णरुपेण सङ्‍गीत व्याकरणकै हिसाबले पनि सानो छ, कारण यसको परिवेश जुनसुकै हिसाबले पनि सानो छ । सानो र सरल हुनु नै वास्तवमा लोकसङ्‍गीतको मौलिकता तथा सौन्दर्य पनि हो तथापि लोकसङ्‍गीतले मात्र साङ्‍गीतिक सभ्यता तथा संस्कृतिलाई समृद्धशाली पार्न सक्दैन ।'

यसबाहेक 'अन्तर्वार्ता र अनुभव' र 'सुनको तारा खसाउने गीत' शीर्षकका लेखहरुमा गुरुङले सर्जक भएका कारणले मात्र भोग्नु परेका तिक्तताहरु ओकलेका छन् जुन निकै मार्मिक लाग्छन् । अन्तर्वार्ताकारका सूत्रात्मक प्रश्नहरुदेखि आजित गुरुङ अन्तर्वार्ता दिँदा भनेको कुरा र प्रकाशित भएपछिका कुराहरुमा हुने हेरफेरले कलाकारहरु 'बलिको बोको' हुनुपरेको गुनासो पोख्दै भन्छन्, 'अन्तर्वार्ता नदिउँ त आफू अहङ्‍कारी, असामाजिक र असहयोगी ठहरिने ! दिउँ भने आफ्नो बँचेखुँचेको छवि नै चौपट हुने !'

स्रष्टालाई आफ्नो सिर्जनाप्रति नराम्रो हुँदाहुँदै त मोह हुन्छ भने झन् सबैले रुचाएको आफ्नो सिर्जनालाई अरु कसैको नाममा सुन्नु/पढ्‍नुपर्दाको दु:खद अनुभूति कस्तो हुन्छ होला ? गुरुङको 'सुनको तारा खसाउने गीत' शीर्षकको लेख पढ्‍दा प्रष्ट हुन्छ । सन् १९६८ तिर गुरुङको शब्द/सङ्‍गीतमा नारायणगोपाल र अरुणा लामाले गाएको 'ए कान्छा मलाई नको तारा खसाइ देउ न...' बोलको गीतलाई पासाङ वाग्बलको शब्द भनी 'सङ्‍गीत माधुरी सम्झाउनी' नामक स्मारिकामा पढेपछि उनले यस गीतको प्रसङ्‍ग कोट्‍याउन बाध्य भएको उल्लेख गरेका छन् । अझ तीसको दशकमा रेडियो नेपालमा रेकर्ड भएको नारायणगोपालको स्वर र गुरुङकै शब्द/सङ्‍गीत रहेको 'मेरो आँखामा राख्ने फूलबारी छैन...' बोलको गीतसमेत कवि एवं गीतकार हरिभक्त कटुवालको नाममा बज्ने गरेकोले पनि उनलाई लेख लेख्न बाध्य बनाएको भन्छन् उनी ।
वास्तवमा यो लेख उनको पीडा मात्र नभई नेपाली सङ्‍गीत क्षेत्रमा विद्यमान प्रतिलिपि अधिकारको अवस्था र यसप्रति स्वयं स्रष्टाहरुको निरीहता एवं निष्क्रियता झल्काउने रचना पनि हो । नेपाली साङ्‍गीतिक फाँटमा योग्य व्यक्तिहरुको कमी नभए पनि यस क्षेत्रमा भएका समस्या र सम्भावनाहरुबारे गम्भीर रुपमा कलम चलाउने व्यक्तिहरुको खाँचो रहेको अवस्थामा यो पुस्तक सहायक हुने आशा गर्न सकिन्छ । तर सम्पादित कृति भएर पनि शुद्धाशुद्धीमा पर्याप्त ध्यान दिइएको देखिँदैन । पुस्तकमा ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली सञ्चार क्षेत्रको विकास र विस्तारले साङ्‍गीतिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरिएको छैन । जुन पुस्तकको कमजोर पक्ष हो । तथापि, पुस्तक सुगम सङ्‍गीतका नयाँ-पुराना पुस्ताका लागि उपयोगी छ नै, साहित्यिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।


पुस्तकः कहाँ गए ती दिनहरु (संस्मरण/निबन्ध)
संस्करण २०६३
प्रकाशक- रत्न पुस्तक भण्डार, पृष्ठ- २४+१००

Friday, January 4, 2013

सम्बोधन र संस्कार

हाम्रो संवादमा सम्बोधन अनिवार्य छ । 'तँ', 'तिमी', 'तपाईं 'हजुर'हाम्रा सम्बोधनका तहहरु । सामान्यतः सानो बालकले यदि कसैलाई 'तँभन्यो भने उसलाई'तपाईंवा 'हजुरभन्न सिकाइन्छ । त्यसैले भन्न सकिन्छसम्बोधनसंस्कारजन्य कुरा हो । हुन त सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति विशेष समूहभित्र सानाले ठूलालाई तिमीभन्ने चलन समेत पाइन्छ । खासगरी काठमाडौँमा एउटा समूह वर्गमा भने 'हजूरनै भन्नुपर्नेर पुछारमा 'स्योस्'जोड्ने चलन छ । मेरो बुझाइमा यस्तो भाषाको प्रयोग गर्नेहरु दुईथरी छन्ः स्वाभाविक रुपमा बोल्नेहरु र अरुको प्रभावले वा आफ्नै रहरले बोल्नेहरु । यस्तो चलन भएकाहरुमध्ये एउटा ठूलै समूहले'तपाईंभन्नुलाई त्यति सभ्य मान्दैन । 

म सानो छँदा विराटनगर आएकी काठमाडौँवासी मेरी दिदीले भनेको अझै सम्झन्छु "मलाई त तपाईं भनेको सुन्दा कस्तो असजिलो लाग्छ ।सायद मेरी दिदी राजधानीको हजूर भन्ने संस्कारबाट प्रभावित थिइन् । काठमाडौँ बस्दै आएका मेरा धेरैजसो आफन्तहरु हजुर भन्न रुचाउँछन् । कोही यहीँको रैथानेसरह भएकाले त कोही काठमाडौँको अभिजात्य संस्कारको रुचि र प्रभावका कारण । त्यसैले काठमाडौँ प्रवेश गरेका शुरुका दिनमा मलाई हजूरवालाहरुसँग वार्तालाप गर्दा आफ्नो भाषा 'ठाडोहो कि भन्ने सन्देह भइरहृयो । तर अपवाद बाहेक मैले हजूर भन्दा तपार्इं भन्न नै रुचाएँ । म यसमै अभ्यस्त थिएँ । संकोच र असहजताका बाबजुद काठमाडौँको भाषा वा शैलीप्रति आकर्षित भइनँ ।

कुनै परिवारभित्रको एउटा सदस्यले सानैदेखि तँतिमीतपाईं वा हजूर भन्नु अस्वाभाविक हैन । आफूले हजूर तथा स्योस् नजोडे पनि यसरी बोल्ने व्यक्ति हाम्रो वरिपरि जहीँतहीँ छन् । अझ मेरै आफन्तहरु कहिलेदेखि 'तपाईं'बाट 'हजूर 'स्योस्'वाला कित्तामा प्रवेश गरेमलाई राम्रो हेक्का छ । तथापिकाठमाडौँ छिरिसकेपछि तपाईं भन्नेहरुले एकाएक 'हजुरतथा 'स्योस्'भनेको सुन्दा ताजुब लाग्छ । यस्तो आकर्षण सायद समाजशास्त्रीय वा मनोवैज्ञानिक अध्ययन अनुसन्धानकै विषय होला । तर यहाँ त्यसबारे चर्चा गर्न लागिएको हैन । सम्बोधनसम्बन्धी मेरा केही जिज्ञासाहरुको उत्तर खोज्ने जमर्को स्वरुप यस विषयमा प्रवेश मात्र गरेको हुँ । यहाँ मेरो अनुभवका आधारमा केही कुरा साटेको मात्र हुँ ।

म बस्ने घरमा ६ जना सदस्यको एउटा परिवार छ । त्यसमध्ये दुई जना पात्रको चर्चा यहाँ सान्दर्भिक छ । करिब पन्ध्र वर्षको एउटा किशोर भाइ र त्यस घरको 'काम गर्ने केटीको भूमिकामा रहेकी बढीमा अठार वर्षी बहिनी । त्यो भाइ होस् वा ती बहिनीती दुबैले म लगायत अरु जोसुकैसँग बोल्दा पनि हजूर भनेर सम्बोधन गर्छन् । यसमा अस्वाभाविक कुरा केही छैन । तर त्यही भाइले उमेरले आफू भन्दा ठूली हुँदाहुँदै पनि ती बहिनीलाई चाहिँ तँ भन्छ जसले मलाई घरीघरी आश्चर्यमा पार्छ । 'काम गर्ने केटीभएकै नाताले आदरार्थी शब्द प्रयोग नगर्दा पनि हुन्छ भन्ने कुरा त्यो भाइले कहाँबाट सिक्यो होला अभिभावकबाट सिक्यो कि आफैं ? पक्कै पनि अभिभावकले तँ भन् भनेर सिकाएनन् होला तर स्पष्ट छ तपाईं वा हजूर भन्न पनि सिकाएनछन् । ती बहिनी तिनै हुन्, जसले त्यो भाइलाई हुर्काउन लामै समय र श्रम खर्च गरेकी थिइन् । शक्तिशाली व्यक्तिले कमजोर व्यक्तिलाई हेपेर तँ भने जस्तै त्यो भाइले पनि ती बहिनीलाई हेपेरै त्यसो भनेको प्रष्ट छ । त्यो भाइले उनलाई तँ भन्दा घरका अन्य सदस्यले तपाईं भन्नुपर्छ भनेर सिकाएको कहिले सुनेको छुइनँ । हाल ती बहिनी त्यही घरको अर्को सानो सदस्यलाई हुकाउँदै छिन् । अहिले दिदी भनेपनि सजिलै अड्कल काट्न सकिन्छ कि त्यो हुर्किनेवाला बच्चाले पनि उनलाई तँ र घरका अन्य सबैलाई हजूर भन्ने छिन् ।

मेरो नजरमा यो सम्बोधनमा सीमित विषय मात्र होइन । काम गर्न बसेको मान्छेलाई अनादरार्थी सम्बोधन गर्ने छुट सम्भवतः वर्गीय कारणले नै प्राप्त भएको हो । एकातिर सबैलाई अनिवार्य रुपमा हजूर भन्न लगाइन्छ अनि अर्कोतर्फ काम गर्ने भएको नाताले आफूभन्दा ठूलालाई तँ भन्दा पनि रोकिँदैन । यो कस्तो चलन यसबाट घरको सानो सदस्यबाट समेत आदर नपाएकी ती बहिनीलाई अन्य सदस्यले कस्तो हैसियतमा राखेका होलान् सहजै अनुमान लगाउन सकिन्छ । वर्गीय विभेदको यो अभ्यास सम्भवतः त्यो भाइमात्र हैन दिनरात कामको चटारोमा हुने ती बहिनीलाई पनि थाहा नहुन सक्छ । थाहा छैनघरका अन्य सदस्यहरु यसबारे कति जानकार छन् ।

एउटा अबोध बालबालिकाले तँ भन्नु सामान्य कुरा होला । तर बुझेर पनि आफूभन्दा ठूलालाई तँ भन्नु हैकमवादी प्रवृत्ति नै हो । यो केवल शाब्दिक कुरा नभई वर्गीय विषय पनि हो । यो प्रसंग एउटा उदाहरण मात्र हो । यससँग मेल खाने अन्य थुप्रै दृष्टान्तहरु हामी जताततै देख्न सक्छौँ । ग्रामीणबाट शहरीया जीवनशैलीतर्फको आकर्षणले एउटा ठूलो समूहले 'हजूरतथा'स्योस्प्रयोग गर्ने भएका छन् । यो शब्दप्रतिको आकर्षण मात्र नभई वर्ग परिवर्तनको चाहना पनि हो । यस्ता अभ्यास र यसप्रतिको आकर्षणले वर्गीय स्वार्थको पक्षपोषण समेत गरिरहेको छ ।
                                                                                                              ॥ प्रभाकर गौतम 

स्मृति

जीवनमा कुनै-कुनै घटनाहरुको स्मृति सधैं ताजा रहन्छ । मानौं त्यो घटना कहिल्यै आँखाबाट टाढा भएकै छैन । मन र मस्तिष्कमा कुँदिएको जस्तो लाग्ने त्यस्तै एउटा घटना मेरो मानसपटलमा घरिघरि आउने गर्छ । घटनासँगै एउटा यस्तो पात्र आउँछ जो मेरो लागि निकै प्रिय थियो । थियो, किनकि त्यो पात्र अब जीवित छैन । छ त केवल उसको याद र एउटा पीडादायी सम्झना ।

पाँच वर्षजति अघिको कुरा हो । मेरो परिचय भएकै दिनदेखि उनीबाट प्रभावित भएको थिएँ । उनी मेरी दिदीकी साथी भएकोले पहिलो दिनदेखि नै उनले मलाई 'तँ’ भनेकी थिइन् । उनको आत्मीय व्यवहारले होला, त्यो सम्बोधन प्यारो लाग्यो । उमेरमा खासै अन्तर नभएकोले हामी दिदीभाइ छोटो समयमै साथी भयौं ।

उनी दार्जिलिङको सुविधासम्पन्न कलेजबाट काठमाडौंको सरकारी कलेज (रत्‍नराज्य) मा भर्ना भएकी थिइन्, पत्रकारिता स्नातकोत्तर प्रथम वर्षमा । म पनि सोही कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिएँ । उनी सायद भारतकै कुनै ठूलो सहरमा पढ्ने योजनामा थिइन् तर खै के मिलेन र काठमाडौं आइन् । नेपाली सरकारी कलेजको गञ्जागोल वातावरणमा उनलाई रस नलागेको उनको अभिब्यक्तिबाट म सहजै अनुमान लगाउन सक्थेँ । बेला-बेला ठट्यौली गर्दै उनी टिप्पणी गरिरहन्थिन् । तर फरासिलो स्वभावका कारणले उनले म भन्दा धेरै साथीभाइ बनाइसकेकी थिइन् ।

एउटै कलेजमा भएकाले हामी सधैंजसो भेट्थ्यौं । तर फरक-फरक तहमा भएकाले हाम्रो भेट छोटो हुन्थ्यो । एक-अर्काप्रति आदर र माया भए पनि हामीले सँगसँगै धेरै समय बिताउने अवसर पाएनौं । यस्तो मौका नै मिलेन । त्यसैले मैले उनलाई बाहिरबाट मात्रै चिनेको थिएँ । उनलाई जति पटक भेटेँ, सधैं 'मस्ती’ मा हुन्थिन् । उनलाई कहिल्यै गम्भीर वा दुःखी मुडमा देखिनँ । दिदीबाट पनि उनका बारेमा रमाइला प्रसङ्गहरू मात्र सुनेको थिएँ । त्यसैले उनीसँगको भेट रमाइलो लाग्थ्यो । मेरा नजिकका साथीहरू पनि उनलाई चिन्न थालिसकेका थिएँ, मेरै दिदीको रुपमा । उनी आफू पढ्ने कलेजमै भर्ना भएकोले मलाई कलेजको वातावरण पहिलेको भन्दा रमाइलो लाग्न थालेको थियो । उत्साह बढेको थियो ।

तर मेरो उत्साह लामो समयसम्म टिक्न पाएन । तीजको बेला थियो । म कलेज गएको थिइनँ । अचानक कलेजबाटै एउटा साथीको फोन आयो । उसको आवाज मलिन थियो । उसले एउटा ब्याड न्यूज छ भन्दै अप्रत्यासित रूपमा भन्यो "कलेजमा बिनी दिदीले सुसाइड गरेको हल्ला छ, तिमीलाई जानकारी दिन फोन गरेको ।" उसको कुराले म निस्तब्ध भएँ । प्रत्युत्तरमा मैले भनेँ "होइन होला ।" तर उसले "मलाई पनि विश्वास लागेको छैन तर..." भन्यो ।

कलेज पुग्न करिब आधा घण्टा लाग्थ्यो । बाटाभरि मनमा एउटै प्रश्न आइरहृयो, त्यस्तो "बिन्दास" मान्छेले आत्महत्या ? कलेज पुगेपछि उनका साथीहरूलाई भेटेपछि उनको आत्महत्याको घटना अविश्वसनीय भए पनि पत्याउन बाध्य भएँ । त्यो दिन दिदी पनि कलेज गएकी थिइनन् । दिदीलाई फोन गरेर सुनाएँ, उनी फोनमै रुन थालिन् । रसिलो आँखा लिएर दिदी आइन् र म उनीसँगै पाटन अस्पताल पुगेँ । हामी दुवैले शवगृहमा लाश हेरेपछि आँसु थाम्न सकेनौं । दिदीले समेत अनुमान गर्न सकिनन् उनको आत्महत्याको कारण । मलाई त झन् थाहा हुने कुरै भएन, उनीसँग परिचय भएको करिब ६ महिना जति भएको थियो होला । उनको घरका सदस्यहरूले पनि आत्महत्याको  कुनै कारण फेला पार्न सकेका थिएनन् ।

यो घटना पूर्व मलाई आत्महत्या गर्ने सबै मानिस निराशावादी हुन्छन् भन्ने लागेको थियो । तर बिनी दिदीको आत्महत्यापछि मेरो धारणा परिवर्तन भएको छ । सधैं हाँसीखुसी देखिने मानिस पनि यस्तो दुर्घटनाको सिकार हुँदोरहेछ । सायद यस्ता मान्छेले अरुलाई आफ्नो दुःख बाँड्न अझ गाह्रो हुने भएर हो कि ?
                                                                                                          ॥ प्रभाकर गौतम ॥