Saturday, July 25, 2015

परदेशबाट फर्कँदै कर्णदास

http://kala.setopati.com/blog-review/1469/

प्रभाकर गौतम 


'हे हे ला ला ला ला, ला ला ला...' 
२०५४/५५ तिर युवाहरू चिया पिउने टेबुल ठटाई यही आलाप गुनगुनाइरहेका भेटिन्थे चोकचोकमा। कर्ण दासको स्वरमा रहेको मध्यान्ह समूहको जिन्दगीको के भरोसा गीतको आलाप हो यो। यसको लयले जसै युवा पुस्तालाई लठ्यायो, उसै गरी शब्द गाम्भीर्यले पाको पुस्तालाई आकर्षित गर्‍यो। सुनेर युवाहरूले 'आहा!' भने भने पाका संगीतप्रेमीहरूले 'ओहो!'  
गीत त धैरै चल्यो नै। गीत चलेसँगै बजारमा अनेकौं हल्ला पनि चले। जस्तै, ''त्यो गायकलाई एड्स लागेकाले त्यस्तो निराशावादी गीत गाएको रे!'' हल्लाले गीतको चर्चा झनै बढायो।  
कतिपय कलाकारहरू पहिलो गीतको अतिशय चर्चाको भारीले यसरी थिचिन्छन् कि उठ्नै सक्दैनन्। तर कर्ण दासको सांगीतिक भण्डार जिन्दगीको के भरोसा गीतविना पनि पूर्ण छ। यो गीत त उनको यात्राको शुरुवाती दिनको परिचय मात्र हो। मध्यान्हको दोस्रो एल्बम दाखमा रहेको अनौठो व्यथा, एक्लो रात, ढुंगा फोर्न आदि गीतले कर्ण दासकोे उचाइँ झनै बढायो। यद्यपि मध्यान्ह समूहबाट उनीबाहेक अरु सदस्यले आफूलाई स्थापित गर्न सकेनन्। तेस्रो संस्करणसम्म पुग्दा नपुग्दै स्वाभाविक रुपमा मध्यान्हमा ग्रहण लाग्यो। समूह गायनबाट कर्ण दासको यात्रा एकल गायनतर्फ मोडियो। 
एकल गायनमा उनी झन् झन् सफल भए। उनको पहिलो एकल एल्बम व्यर्थै फेरि व्यावसायिक रुपमा खासै नचले पनि त्यही बेलादेखि उनले 'पप'बाट 'आधुनिक' गायनको उकालो चढे। चर्चाको शिखरमा रहेका रामकृष्ण ढकाल र कर्ण दासको संयुक्त एल्बम शिखर उनी सांगीतिक यात्राको शिखरतर्फ उक्लिँदै गएको प्रमाण बन्यो। २०६१ मंसिरसम्म आइपुग्दा उनले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भव्य एकल साँझ समेत गरेर प्रशंसा बटुले।
उनको दोस्रो एकल एल्बम पुरानो डुंगाले उनलाई चर्चा र सफलताको उत्कर्षमै पुर्‍यायो। अल्लारे गीत गाउने आरोप लागेको पप विधाबाट आएको ठिटोले गम्भीर भनिएको आधुनिक गायनका हस्तीहरूलाई पालैपालो उछिन्दै गयो। कलिलै उमेरदेखि जीवन दर्शनदेखि प्रेम वियोगसम्मका भावमा चुर्लुम्म डुबेर गाउने—लेख्ने र धुन भर्ने विशेषताले गर्दा उनका श्रोताहरू बढिरहे। तिनले समीक्षकहरूको मन जिते। उनले हरेक एल्बमबाट कहिले उकृष्ट गायन त कहिले उत्कृष्ट गीतको पुरस्कार हात पार्नु पनि यसैको प्रमाण हो। हिट्स एफ सबैभन्दा बढी पाउने कलाकार मध्ये उनी पनि एक हुन् ।
हुन त उनको पहिलो गीत जिन्दगीको के भरोसा नै चोरीको विवादमा पर्‍यो। जगजित सिंहको स्वरमा रहेको गजल जीवन क्या है चलता फिरता खिलौना है सुनेपछि यो आरोप निरर्थक लाग्दैन। तर उनकोे चोरीमा पनि खुबी थियो। यसै गीतको संगीत र गायन पक्षले उनको चोरी वा प्रभाव जे भनौं बिर्साइदियो। त्यसो त व्यर्थै फेरि एल्बममा पनि उनले जगजित र लताले गाएको हरतरफ हरजगह बेसुमार आदमी, फिर भी तनहाइयो का सिकार आदमी गजलसँग मिल्दोजुल्दो मान्छेको बस्तीले भरिएको दुनियालाई कसले सजायो गीत गाए। तर समीक्षकहरूको आँखा—कान यसतर्फ परेन। थाहा छैन, कति श्रोताहरूले यसको चाल पाए ? 
कर्ण दासको नेपाल छँदाको अन्तिम एकल एल्बम आधा सपना हो। संगीतबाट ठूलो सफलता हात लागे पनि त्यसबाट उनको आधा सपना मात्र पूरा भएको रहेछ। उनको बाँकी आधा सपनाको अध्याय सायद अमेरिकामा पूरा हुनु थियो। त्यसैले उनी उतै लागे। थुप्रै परदेशिएका युवा र तिनका परिवारका सदस्यहरूको मनोविज्ञान उतार्ने सशक्त र मार्मिक गीत गाइसकेका उनलाई एक दशकदेखि आफ्नै गीतका अंश—अंशले कति लखेट्दो हो !
कर्ण दासका सिर्जना र सांगीतिक यात्राको अध्ययन र मूल्यांकन धेरै हिसाबले महत्वपूर्ण छ। एकातिर, उनी नेपाली संगीत बजारले बामे सर्दै गरेको समयदेखि यसको व्यापक बिस्तार र पुनः संकुचनको अवस्थासम्मका साक्षी हुन्। अर्कोतिर, नेपाली समाजमा व्याप्त सामाजिक–राजनीतिक समस्या, हत्याहिंसा, गृहयुद्ध, अशान्ति र अस्थिरताका भुक्तभोगी पनि हुन् । 
उनले गीत गाएको समयमा मुलुकमा सरकारी र माओवादी विद्रोही दुवै पक्षको हिंसा र अराजकताको उत्कर्षै थियो। उनले समयको आवाजलाई चिने। मानव संवेदनालाई बुझे। उनका सिर्जनाहरूमा त्यसको प्रभाव सशक्त रुपमा भेटिन्छ। अझ अत्यन्तै प्रभावकारी ढंगले अभिव्यक्त गरेकाले उनलाई धेरैले सुन्न कर लाग्यो। उनी सफल हुनुका धेरै कारणमध्ये उनको गीतको विषयवस्तु पनि मुख्य थियो। उनले माझी दाइको वियोगदेखि माटो र झण्डाको महिमासम्म गुनगुनाए । 
एकल महिला, वृद्ध आमा, टुहुरा नानी, लाहुरे, सिपाही, दलित र प्रेम वियोगमा परेका युवाहरू सबैजसोको मर्मलाई आफ्नै अनुभूति र भोगाइ जसरी आत्मसात् गरेर गीत बनाए। पीडाकै सही, ती गीतलाई मीठो धुन र आवाजमा घोलेर सुनाए। दिनहुँ सयौं युवाहरू विदेशिएको परिस्थितिमा आमाहरूले आफ्ना सन्तानलाई कुर्दाको पीडाको अभिव्यक्ति दिने परदेशबाट छोरो फर्केन बोलको गीत होस् चाहे निराशाले छोपेको बेला आशाको सञ्चार गर्ने ठूला ठूला महल होइन सीप सिकाउने झुपडी देऊ उनले समसामयिक विषयवस्तुलाई सरल तर कलात्मक ढंगले प्रस्तुत गरे । 
बन्दका बेलासमेत हाम्रा सञ्चारकर्मीले विरलै बजाउने बन्दकै विषयमा बनेको विद्रोही गीत बन्द कति बन्द, बरु आशाहरू गरिदेऊ बन्दको अन्तराको एउटा अंश यस्तो छ :  'सक्छौं भने गरिदेऊ बन्द घामको किरणलाई, गरिबको चुलो किन बन्द, प्यासीको तीर्खा किन बन्द?'।  यस्तै आक्रोशपूर्ण र मार्मिक प्रश्न उनले मान्छे–मान्छेबीचको भेदभावको कारक बनेको छुवाछूत जस्तो कुप्रथाका विषयमा पनि गरेका छन् तिमी जस्तै हाँस्ने तिमी जस्तै रुने, तिमी जस्तै थाक्ने तिमी जस्तै दुख्ने, मान्छेलाई नै मान्छेले नै छुन हुन्न भन्दा कस्तो लाग्छ होला ? 
कर्ण दासको प्रतिभामा आमाको नृत्य र संगीतप्रतिको रुचिको प्रभाव प्रशस्त पाइन्छ। उनकी आमा माइतीघरमा माला सिन्हाको छेवैमा नाचेकी थिइन्। बुबा भारतीय गोर्खा राइफल्समा थिए। बुबाको कामले गर्दा उनको दिल्ली आनाजाना भइरह्यो। त्यहाँ उनको बसउठ दार्जिलिङका संगीतकर्मीहरूसँग भयो। उनले सांगीतिक जग यही बेला हाले। सायद त्यसैले उनको उच्चारणमा बेलाबेला हिन्दी टोन पनि आएको आरोप लाग्ने गरेको छ।
२०४६ पछिको खुला परिवेशमा मुलुकभरका युवा समूहले रेडियो नेपाल नछिरी आफैंले आफैंलाई परीक्षण गर्ने अवसर पाए। यस्तो अवसरको सबैभन्दा बढी फाइदा पोखराका युवाले उठाए। त्यसको नेतृत्व सुनिल थापा, अमृत गुरुङ, विवेक श्रेष्ठ र कर्ण दासहरूले गरे। 
आवाजमा पृथकता, शब्दको गाम्भीर्य र संगीतको गहिराइ जस्ता विशेषताले उनलाई स्थापित गरायो। भरपुर आवाज खेलाउनु उनको विशिष्ट शैली हो। आफैं लेख्ने, धुन भर्ने र गीतको मर्मलाई छामेर—जोखेर गाउने क्षमता उनको खास विशेषता हो। उनलाई कुनै पनि सिर्जनाका लागि अरुको मुख ताक्नुपर्ने बाध्यता थिएन। तैपनि उनले व्यवसायिक बन्न अन्य धेरै स्रष्टासँग सहकार्य गरे। बडेबडे नामधारी गीतकार र संगीतकारसँग नाम जोड्नुपर्ने बाध्यता उनलाई थिएन। बरु औसत गीतकारले पनि उनको आवाज र धुनको बुई चढेर चर्चा बटुले। 
आफू बाँचेको समय र समकालीन मान्छेका संवेदनालाई आफ्ना सिर्जनामा समेट्न सक्ने सामर्थ्य नै उनको लोकप्रियता र स्तरीयताको बन्यो। चलनचल्तीको माया प्रेमका गीतबाहेक उनले सबैभन्दा बढी परदेशिनुको पीडाबारे नै गीत गाएका छन्। कालान्तरमा यस विषयमा उनले गाएका धेरै गीत उनकै जीवन भोगाइसँग मेल खानु संयोग पनि हो र वियोग पनि।
जिन्दगीको अर्को नाम विरोधाभास पनि हो। कर्ण दास यस्तै विरोधाभासबाट गुजे्रेका कलाकार हुन्। मानवतावाद, आदर्श, स्वदेश प्रेम, जीवन दर्शन, समाज र समय चेतना, दार्शनिकता आदि गुण बोकेका उनका सिर्जना सुन्दा जो कोहीलाई लाग्न सक्छ यस्तो प्रतिभा भएको मान्छे त विदेश जान्छ भने, मेरो के काम? उनी भोको पेटले आदर्श र प्रेमको भाषा जान्दैन भन्ने उदाहरण पनि हुन सक्छन्। 
देशभक्ति माटो, सगरमाथा, झण्डा आदिमा प्रतिविम्बित त हुन्छ, तर त्यति मात्रले देश बाँच्दैन। देश बाँच्न देशभित्रका मानिस बाँच्नुपर्छ। यही बाँच्ने जीजिविषामा आदर्शलाई झ्यालबाट टाढा मिल्काएर वा खल्तीमै लुकाई ऊ परेदेशी बन्छ। यो यस्तो विरोधाभास हो जसमा कर्ण दास र उनकै छिमेकी विवेक श्रेष्ठ वा सँगसँगै केही गीत गाएका सपनाश्री जस्ता धेरै प्रतिभाहरू नमर्नैका लागि बाँचिदिन्छन्। तिनका सिर्जनामा जहीँ तहीँ देश भेटिन्छ तर उनीहरू स्वयंचाहिँ देशमा भेटिँदैनन्। आखिर देशको भूगोलभित्रै बस्नु देशलाई बढी माया गर्नु र देशको माटोबाहिर बस्नु देशप्रेम नै नभएको प्रमाण नहुन पनि त सक्छ। कतै हामी बाहिर जाने …सुअवसर' नपाएर मात्र …देशभक्त' बनेका पो हौं कि?
संगीत उनको जीवनको नशा र शरीरको नसा दुवै रहेछ क्यारे। अमेरिकामै रहेर पनि उनले एल्बम निकाले। धेरै उदासी र विरही भाकामा जम्ने कर्ण दासले पछिल्लो एल्मब प्रीतमा केही रोमान्टिक गीत गाएर आफ्नो पहिचान र सामर्थ्य दुवै अझै फैलाए। 
सफलताको चुचुरो छिचोल्ने लागेका बेला अचानक जब कर्ण दास अमेरिका जाने समाचार आयो, उनका प्रशंसकहरूले उनकै गीत गाएर मनैमनबाट उनलाई प्रश्न गरे होलान्, 'निर्मोही कमेरो भित्तोले, गिज्यायो कि तिमीलाई? सुकुले बिछ्यौनाले, बिझायो कि तिमीलाई?'
उता, कर्ण दासले पनि त्यही गीतको अर्को अंश गाउँदै मनैबाट जवाफ दिएथे होलान्, 
'मन थिएन परदेशी हुनलाई..'
र, यता उनकी आमा सधैं छोराकै भाका हाल्दै पीर पोख्दि हुन् ,'आउँछु आउँछु भन्थ्यो, चारैधाम घुमाउँछु भन्थ्यो...परदेशबाट छोरो फर्केन।' 
एक दशकपछि नै सही कर्ण दासले बोले, 'पीर नलिएस् आमा, परदेशबाट छोरो फर्कंनै लाग्यो।' कर्ण दासको आह्वानले श्रोताहरूले पनि भन्दै होलान्, 'प्रिय सर्जक! जैलै आए पनि तिम्लाई सधैं स्वागत।''

फिल्म नोस्टालजिया

मैले कुनै समय चलचित्रका दृश्यहरूलाई पर्दामा जसरी देखाइन्छ उसरी नै ग्रहण गर्थे भन्ने कुरा पत्याउन आज म आफैलाई गाह्रो लाग्छ । तर त्यो समयमा म त्यस्तै सोच्थे । रिल लाइफ र रियल लाइफको भेद थाहा थिएन । त्यो उमेरमा मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट धेरै, सायद सबै, गुज्रन्छन् होला । म पनि गुज्रिएँ । म धेरै पटक कलाकारसँगै रोएँ, हाँसेँ, गाएँ र नाचेँ पनि । एउटा कुरामा साह्रै अचम्म लाग्थ्यो, 'आखिर एउटा सिनेमामा मरेको हिरो अर्कोमा फेरि कसरी बाँच्थ्यो? कसरी त्यो बाँचेर फर्केर आयो, उत्तर हुन्थेन तर, खुशी हुन्थेँ आफ्नो प्रिय हिरो फेरि बाँचेकोमा । तर भिलेन फेरि बाँचेको चाहिँ पटक्कै चित्त बुझ्थेन ।
सिनेमाप्रतिको आकर्षण विचित्रको हुँदो रैछ । म जन्मिनु अघि नै मेरो घरका सदस्यहरू र टोलछिमेकका मान्छेहरूमाझ सिनेमा जीवनको अभिन्न हिस्सा बनिसकेको थियो । मेरा साना साथीहरू मात्र हैन, प्रायः सबैजना सिनेमा भनेपछि हुरुक्कै हुन्थे । पैसा उठाएर डेक भाडामा ल्याएर सिनेमा हेर्ने जमाना थियो । अहिलेको जस्तो घरघरमा डिभिडीको सुविधा थिएन । स्याटेलाइट टिभीको आगमन भएको थिएन ।
भारतीय दूरदर्शन च्यानल लोकप्रिय थियो र नेपाली च्यानल भर्खरै बामे सर्दै थियो । त्यसबेला साना ठूला सबैखाले चाँडपर्वहरूमा डेक ल्याएर सिनेमा हेर्ने चलन भएकोले नयाँ वर्ष, कृष्ण अष्टमी, दशैं, तिहार, सरस्वती पूजा आदि अवसरहरूमा म पनि साथीहरूसँग मिलेर जता डेक ल्याइन्थ्यो त्यतै धाउँथेँ । सिनियर दाइहरू हामीलाई एउटा वा दुईटा सिनेमा देखाइसकेपछि ‘घर जाओ’ भनेर थर्काउथे र आफूहरू रातभर सिनेमा हेर्थे ।
पछि थाहा भयो, सेकेन्ड सेसन त ‘एडल्ट सिनेमा’को समय रहेछ । यो सबैतिर हुने साझा अभ्यास थियो जसको सिको उमेर चढ्दै गएपछि हामीले पनि गर्यौँ । पछि थप कुरा थाहा पाइयो, बोर्डरपारि जोगबनीमा पनि नेपाली दर्शकलाई लक्षित गरी ‘एडल्ट सिनेमा’ देखाउने भिडियो हलहरु छन् ।
पहिलो चोटि कैहिले, कुन सिनेमा हेरेँ सम्झना छैन् । अलि धेरै याद भएको सिनेमा चाहिँ आमिर खान र जूहि चावलाको 'कयामत से कयामत तक' हो । ५ रुपैयाँ तिरेर हेरेको, त्यो पनि दाइले तिर्देको । मेरो जन्मथलो विराटनगरमा हिमालय टाकिज, जलजला हल र अरुण सिनेमा नामका तीनओटा सिनेमा घरहरू थिए । सबैमा हिन्दी सिनेमा बढी चल्थे । त्यसबेलाको सिनेमाको प्रचार–प्रसार शैलीले मलाई खुब तान्थ्यो । सिनेमा परिवर्तन हुनासाथ कुनै रिक्शा वा गाडीमा सिनेमाको पोस्टर टाँसेर दुई–चार जनाको समूह माइकिङ गर्दै हिँड्थ्यो ।
नयाँ सिनेमा लाग्दा होस् वा कुनै सिनेमाले एक हप्ता पूरा गर्दा ‘भव्य सफलताका साथ चलिरहेछ ...’ भन्दै उही शैलीमा विज्ञापन गरिन्थ्यो । हाम्रो घर (डेरा) सडक किनारमै भएकोले म हम्मेसी त्यो अवसर छुटाउँदिन थिएँ । तर सिनेमाको पोस्टर हेर्नु जति सजिलो कहाँ थियो र सिनेमा हेर्न ? धन्न पोस्टर हेर्ने टिकस लाग्थेन ।
तैपनि हलमा सिनेमा हेर्ने अवसर कसोकसो जुरिहाल्थ्यो । दिदीहरूले जुराइदिन्थे । सिनेमा हेर्न पाउनु नै ठूलो कुरा भए पनि मारधाडवाला सिनेमा परेन भने निकै बोर लाग्थ्यो । एउटा सिनेमा थियो ‘आखिर क्यो ?’। राजेश खन्ना र स्मिता पाटेलले अभिनय गरेको त्यो सिनेमा हेर्दा म हलमै निदाए । कारण, त्यसमा कुनै फाइट थिएन । फाइट गन्ने काइदा पनि गजबको थियो । ‘औलाद’ भन्ने सिनेमामा दुई पटक रेल दुर्घटनाको दृश्य र एक पटक झापड हानेको दृश्य आउँदा मैले त्यसलाई तीनओटा फाइट सम्झेको थिएँ । खै किन हो, म मात्र हैन मेरा जम्मै साथीहरूलाई पनि फाइटवालै सिनेमा मनपर्थ्यो ।
सिनेमा हेराइका सम्झनाहरू मन–मस्तिष्कमा टाँसिएर बसेका छन् । घरीघरी नोस्टाल्जिक बनाउन सल्बलाइरहन्छन् । कम्ता छन् त यादहरू...? सिनेमा हेर्न सिनेमा घर पछाडिको चोर बाटोबाट छिर्ने प्रयासमा दलदलमा फसेको, बोर्डरपारी जोगबनीको भिडियो हल पुग्न टन्टलापुर घाममा घण्टौँ हिँडेको । हाफटाइमसम्म ढोकाबाहिरै कुरेर कसोकसो सेकेण्ड हाफमा छिरेर साथीहरूलाई पूरै सिनेमा हेरेँ भनेर जोत हानेको । धेरै सकस पो भोगिएको रैछ ! जेहोस्, अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला पुराना दिनहरूको सम्झनाले रोमाञ्चित पार्छ ।
सिनेमा हेर्ने गजबका दिन चाहिँ किशोर कालमा प्रवेश गरेपछि आयो । यसपछि त घरका मान्छेहरूको अनुमति विना पनि स्कूल वा टोलछिमेकका साथीहरूसँग सिनेमा हेर्ने मौका जुराउने जुक्तिहरू आफै निस्कन थाले । कहिले घरकै सदस्यको खल्ती छामछुम गरेर त कहिले साथीभाइको कृपाले, सिनेमा हेर्ने अवसर जुराउन गाह्रो नहुने भयो । घरका सदस्यहरूको गाली र चुटाइ खाए पनि सिनेमा हेर्ने तिर्सना कदापि घटेन, बढिरह्यो । समय जति–जति बित्यो सिनेमा हेर्ने विकल्पहरू उति–उति थपिँदै गए ।
त्यो बेला मिथुन र धर्मेन्द्र मेरा आदर्श हिरो थिए । तिनका एक्सन सिनेमाहरू हामी छुटाउँदैन थियौँ । पछि, चउरमा तिनै सिनेमाका एक्सन टिप्सहरूको प्रेरणाले मिथुन वा धर्मेन्द्र बनेर खुब फाइट पनि खेल्थ्यौँ । कुनै अग्लो ठाउँबाट परालमा फाल हानेर होस् चाहे घरको बार्दलीबाट भुइँमा हाम फालेर, रील लाइफका हिरोहरू झै रियल लाइफमा पनि ‘हिरो’ बन्ने प्रयास हाम्रो दैनिकीको एउटा अभिन्न पाटो थियो ।
सिनेमाको तिर्सना मार्न भारतीय दूरदर्शन च्यानलले पनि निकै सघायो । छिमेकीकै घरमा भएपनि टोलभरका केही सिनेमाप्रेमीहरू नियमित रुपमा शुक्रबार र शनिबार राति अबेर आउने सिनेमा हेर्न सकेसम्म छुटाउँदैनथे । म पनि त्यसमा सामेल हुन्थेँ । यही मेसोमा मैले थुप्रै पुराना र क्लासिक हिन्दी सिनेमा हेरिभ्याएँ ।
२०५० तिर हाम्रो चोकमा नयाँ सिनेमा हल ईन्द्रचित्र मन्दिर बनेपछि सिनेमा हेर्ने नयाँ र सहज अवसर सिर्जना भयो । टोलछिमेकका दाइहरू काम गर्ने त्यो हल ‘आफ्नै’ जस्तो भयो । यो ‘लोकल’ हुनुको फाइदा थियो । करिब तीन–चार वर्ष त्यस हलमा लागेका सिनेमाहरू विशेष परिस्थितिमा बाहेक कहिल्यै छुटेनन् । हेरिसकेका सिनेमाको मन परेका दृश्यहरू मात्र हेर्न पाउने भिटो पावरसमेत मिल्यो । यसपछि त मन नपरेका सिनेमाहरू समेत धेरै पटक दोहोर्‍याएर हेर्न थालियो ।
हुँदाहुँदा घरमा भन्दा बढी हलमा बास हुने दिन आए । यसले व्यावसायिक हिन्दी सिनेमाका लगभग सबैजसो फर्मूलाबारे अनौपचारिक डिग्री नै हात लाग्यो भन्दा हुन्छ । विडम्बना ! यस्तो मान्यता दिने कुनै निकाय थिएन । तर चोकको त्यो नयाँ हलले औपचारिक पढाइ भने धुलिसात बनायो । म जेहन्दार विद्यार्थीबाट तीव्र गतिमा कमजोर र लफुवा विद्यार्थीमा परिणत भएँ ।
एउटा लामो कालक्रमपछि आज मेरा लागि सिनेमा, हिजोजस्तो मनोरञ्जनको साधन मात्र रहेन । यो जीवनलाई पढ्ने र संसारलाई देख्ने दृश्य साहित्य भएको छ । सायद, सिनेमाबारे यो दृष्टिकोण परिवर्तन मेरो निजी हैन । पूरै नेपाली समाजमा सिनेमाबारे पुरानो धारणा बदलिइरहेको छ । आज सस्तो मनोञ्जनभन्दा गम्भीर प्रकृतिका सिनेमामा रुचि भए पनि सिनेमासँग जोडिएका यादहरू मलाई निकै प्रिय छन् ।
आज, जिन्दगीलाई फ्लासब्याकमा लाँदा म सिनेमाका पात्रहरू मात्र देख्दिनँ, थुप्रै आत्मीय साथीसँगी र आत्मीय परिवेशका रिलहरू पनि फनफनी घुम्छन मनभरि, दिमागभरि ।
http://kala.setopati.com/blog-review/1411/  प्रभाकर गौतम

प्रकाशित मिति: बिहीबार, आषाढ २४, २०७२ १५:०७:०६


संगीतमा झरी विम्ब

http://www.ekantipur.com/saptahik/2072/4/1/full-story/17380.html#.VaiK2UFG_eU.facebook
Issue:19-61 | २०७२ श्रावण ८ | Jul 24, 2015 मा प्रकाशित 
प्रभाकर गौतम
सङ्गीत र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध छ । संगीत प्रकृतिमै छ, कलाकारले त्यसको अनुकरण गरेका मात्र हुन् । कलकल बग्ने खोलाको पानी होस् वा आकाशबाट बर्सने थोपा, पानी आपैंmभित्र संगीत छ । यसभित्र संगीतको सातै सुर र साहित्यको नवै रस पनि छ । यो कहिले छिटाउँछ त कहिले बर्सिन्छ, घरी सिमसिम गर्दै झर्छ त घरी झमझमे भाकामा दर्किन्छ । विचित्र छ पानी । संसारभरका कलाकारले यस्तो विचित्र पानीका फरक–फरक चित्र कोरिएका गीत–संगीत सिर्जना गरेका छन् । खोज्दै जाने हो भने हरेक मौसमका गीत हामी सुन्न पाउँछौँ । साउन–भदौ महिना पानीमय समय हो ।  पानीको प्रकृति हेरेर हामी कहिले रमाउँछौं त कहिले उदास हुन्छौं । वर्षा यही पानीले नै हामीलाई बचाउँछ र बगाउँछ पनि । हाम्रा लागि यो राहत र आहत दुवै हो ।

लन्डनबाट प्रकाशित हुने वेदर जर्नलमा हालै प्रकाशित अनुसन्धानमूलक लेखअनुसार मौसमबाट प्रेरित भै सिर्जना गरिएका गीत–संगीत निकै लोकप्रिय हुन्छन् । रुचाइएका ती गीत–संगीतमा बब डिलन, जोन लेनन, पल म्याक कार्टिनीका सिर्जनाहरू अगाडि छन् । 

हामीकहाँ वर्षा मौसम सुरु भैसकेको छ । वर्षात्को समयमा मौसमअनुकूल संगीतको सान्दर्भिकता हुने नै भयो । अहिले नेपाली मिडियामा पनि वर्षा वा झरीको विषयलाई केन्द्रीय वा सहायक विषय बनाई तयार पारिएका अनेकौं गीत घन्किरहेका छन् । नेपाली सङ्गीतमा पनि कतिपय राम्रा गीत–संगीत जन्मनुको भावभूमि मौसमले तयार पारेको पाइन्छ । आधुनिक/सुगम सङ्गीत, लोक, पप आदि सबै विधामा झरी वा वर्षा श्रोतासँग संवाद गर्ने माध्यम बन्दै आएको छ । नेपाली चलचित्रका गीतमा पनि यसको व्यापक प्रयोग भएको छ । नेपाली सर्जकहरूले पनि पानी वा वर्षालाई केन्द्रमा राखेर वा सहायक विषय बनाई अनेक शब्द कोरेका छन्, धुन भरेका छन् र तिनलाई स्वरमा सजाएका छन् । यी सिर्जनाले निजी भावनात्मक अनुभूतिदेखि रोपाइँजस्ता सामूहिक कामसम्मलाई समेटेका कारण यस्ता गीत लोकप्रिय छन् । सामयिक यी गीतले रोपाइँका बेला कामले गलित किसानहरूको तन र मनको थकान पखेल्दै आएको छ, ठिटाठिटीको मनमा प्रेमको बीउ रोप्ने माध्यम बन्दै आएको छ । संगीतले प्रेममा मनमात्र रुझेकाहरूको तन पनि रुझाउँदै आएको छ । 

मौसमको सन्दर्भ जोडेर रचिएका यस्ता गीत मौसमी कुरामा मात्र सीमित छैनन् । जसरी पानीको बर्साइमा विविधता छ, यससम्बन्धी गीतमा पनि उत्तिकै विविधता पाइन्छ । यस्ता गीतले हाम्रो जनजीवन, मायाप्रेम, सुखदु:ख, रोमान्स र विरह सबैजसो भावलाई समेटेका छन् । बहुचर्चित लोकगीत सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा होस्, चाहे पानी पर्‍यो असिना झर्‍यो हाम्रो जनजिब्रोमा झुन्डिएका गीत हुन् । असारै महिनामा पानी पर्‍यो रुझाउनेदेखि झरी परेको दिन आकाश हेरिरहेँ गीतहरू पनि उसैगरी लोकप्रिय छन् । मिर्मिरे साँझमा सिमसिमे पानी, पानीको रिमझिम वर्षात्को बेलाजस्तो गीत होस् वा साउने झरीमा त्यो गाउँको गोरेटो जस्तो, वर्षा वा झरीको प्रसङ्गले गीतलाई सुन्दर बनाएको छ । वर्षा अर्थात् पानी बिम्ब बनेर आउँदा पानी पानी भयो मेरो मन पनि श्रृङ्गारिक छ । धेरै गीतमा असार/साउनको पानी पर्ने मौसम आफ्नो मायालुको सम्झनाको प्रतीकका रूपमा पनि आएको छ । जस्तै, झझल्को लिएर आएछ सावन फेरि आँखामा । फेरि, झरी विरह बनेर पनि आएको छ, झरी परेको दिन आकाश हेरिरहेँ, तिमी आउने दिन भनी कति पर्खिएँ र झरी परिरह्यो मनमा थामिएन आँसुजस्ता गीतमा । यस्ता गीतको सूची निकै लामो छ । 

रोमान्स–यौन, आँसु–हर्ष, उदासी–उमंगजस्ता विषयलाई पानी वा वर्षाका माध्यमबाट प्रतीकात्मक र विम्बात्मक रूपमा प्रस्तुत गरिएकाले यस्ता गीतले फरक फरक मुडलाई समातेका छन् । 

पुरानामा मास्टर रत्नदास, फत्तेमान, नारायणगोपालदेखि नयाँमा सुनिल गिरी र विराट कडरियासम्मले वर्षायामलाई संगीतको विषय बनाएका छन् । रत्नदासको झमझम पानी पर्यो असारको रात दशकौंपछि पनि धेरैको ओठमा झुन्डियो । एकल गायन होस् वा सामुहिक गायन वर्षा र झरीका गीतहरू लोकप्रिय छन् । 

पानी कहिले गड्केर–झर्केर दर्कने पानी हेभी मेटल संगीत जस्तै हुन्छ । भिजूँ–भिजूँझैं लाग्ने वर्षा र नाचूँ–नाचूँझै लाग्ने संगीत उस्तै हुन् । मधुर आवाजमा पर्ने झरी र शास्त्रीय संगीतमा भेटिने माधुर्यमा पनि तादाम्यता हुँदो हो । जसरी सांगीतिक आलापले विरही भाव जगाउँछ, झरीले पनि घरी घरी विरही धुन गाउँछ । वर्षा वा झरीले तन–मनको थकान मेटेजस्तै संगीत श्रवणले पनि अदृश्य रुपमा यस्तै काम गर्छ । वर्षा र संगीतबीचको यस्तो अन्तरसम्बन्धकै कारण झरीको तीव्रता र मन्दताले सर्जकको मुडलाई पनि नौलो प्रयोग गर्ने उर्जा प्रदान गरिरहेको पाइन्छ । वर्षा वा झरी सुख–दु:ख बनेर हाम्रो भावनामा मिसिएको छ । संगीतले हाम्रा यिनै भावनाका तन्तुहरूलाई झङ्कृत गर्छ । 

वर्षा आनन्दमात्र होइन, व्यक्ति र सिंगो समाजकै लागि चुनौती पनि बनिदिन्छ । यसले घरबार डुबाइदिन्छ, बस्ती बगाइदिन्छ । त्यसैले यो त्रासदीको विम्ब पनि हो । नेपाली संगीतमा यस्तै त्रासदीका कारण मनै चिर्ने सिर्जनाहरू जन्मिएका छन् । विप्लप प्रतीकको शब्द र दीप श्रेष्ठको आवाजको हर रात सपनीमा ऐठन हुन्छ गीतमा यो विम्ब सशक्त रूपमा आएको छ । कोसीले बाढीले हजारौंलाई विस्थापित गराएको विषयमा युवा पुस्ताका सर्जकहरूले निकै मार्मिक गीत बनाएका छन् । संगीत श्रोता र अन्जान बाबुको चरी लैजा समाचार र नाइट ब्यान्डको बासै बगायो त्यसकै अब्बल उदाहरण हुन् ।


Sunday, July 5, 2015

बल्झिँदै “राष्ट्रिय” गीतको विवाद

पञ्चायती शासन ढलेको भर्खरै २५ वर्ष पूरा भएको छ । निर्वाचित प्रधानमन्त्रीलाई सत्ताच्यूत गरी सुरु भएको पञ्चायती पद्दतिलाई राजा महेन्द्रले पटक पटक मातृभूमि, राजसंस्था र माटो सुहाउँदो प्रजातन्त्रसँग जोडेर व्याख्या गरेका थिए । त्यस्तो राष्ट्रियताको व्याख्या राजसंस्थाको रक्षा र एक जाति, एक भेषको नीतिको सेरोफेरोमा घुम्यो । अझै घुमिरहेको छ ।
तीसवर्षे निरंकुश शासन अवधिभर पञ्चायत सुहाउँदो राष्ट्रियताको प्रचार प्रसारको प्रमुख हतियार राज्य नियन्त्रित रेडियो नेपाल बन्यो । पञ्चायती राष्ट्रियता प्रवद्र्धनको पहलकदमी सांगीतिक फाँटमा पनि रेडियो नेपालले नै गर्‍यो । राज्यका सबै संयन्त्रले शासक वर्गको स्वार्थपोषण गर्नुपर्ने समयमा गीतसंगीतलाई पनि यसैको हेतु प्रयोग गरिनु स्वाभाविक थियो । रेडियो नेपालबाट प्रसारण हुने ‘राष्ट्रिय गीत’हरूको विषयवस्तुलाई पनि पञ्चायती शासन सुहाउँदो रंगमा भिजाइयो । 
पञ्चायती राष्ट्रियताको निर्माण र प्रचारमा राज्यका विभिन्न पदमा बसेका कवि तथा गीतकारहरूको सक्रियता बढ्ने नै भयो । राज्यका विभिन्न ठूला पदमा र रेडियो नेपालका कुर्सीमा बहाल कतिपय कमसल लेखकसमेत राष्ट्रवादी कवि\गीतकार बने । यसको विरासत थाप्ने काम गीतकार बनेका राजा जी. शाहसम्मले गरे । २०५८ मा ज्ञानेन्द्रको उदयपछि र संकटकालका बेला पनि सरकारी सञ्चार माध्यममा पञ्चायती शैलीकै पुनरावृत्ति भएको थियो । उनका गीतहरू बढी बजेको समय यही थियो ।
२०४६ को परिवर्तनपछि रेडियो नेपालमा पञ्चायतको स्तुति गाउने राजा, राजमुकुट र पञ्च शब्द भएका धेरै राष्ट्रिय गीत स्वतः खारेज भए । पञ्चायतकालभरि अराष्ट्रिय र कम्युनिस्ट ट्याग लागेका गरिब, शोषित र आममान्छेको प्रतिनिधित्व गर्ने प्रतिबन्धित जनमुखी भाकाहरू यसपछि फुकुवा भए । तर २०४६ सालको जनआन्दोलनसँगै पुराना राष्ट्रिय गीतहरू मात्र हैन, राष्ट्र गान पनि विवादमा आयो । तत्कालीन संविधान सुझाव आयोगमा मोदनाथ प्रश्रितले नयाँ राष्ट्र गानको मस्यौदासमेत बुझाएका थिए । तर पुरानो नयाँ राष्ट्र गान फेर्न २०६२\६३ सालको आन्दोलन निर्णायक बन्यो । र, ‘श्रीमान् गम्भीर नेपाली’को ठाउँ ‘सयौं फूलका थुँगा हामी’ले लियो । नयाँ राष्ट्र गान १ हजार २ सय ५२ रचनामध्येबाट छानिएको हो । यसको चयनका लागि चौध सदस्यीय कार्यदल गठन भएको थियो । 

राष्ट्रिय’ गीतहरूको विवाद बेलाबेला बल्झिरहन्छ । हालै यस्तै एउटा विवाद कालीप्रसाद रिजालका शब्द र रामकृष्ण ढकालको स्वर रहेको ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ बोलको गीतमा पनि देखिएको छ । विवादको चरम रुप सुरुमा फेसबुकमा देखियो, अहिले यो छापामाध्यममा छाएको छ । फागुन दोस्रो साता काँकडभिट्टामा सम्पन्न ‘कला साहित्य उत्सव ०७१’ को सीमान्त सौन्दर्य सेसनमा लेखक आहुतिले बोलेको कुरामा समर्थन जनाउँदै अर्का लेखक राजन मुकारुङले ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ जस्ता गीतहरुले मधेशी राष्ट्रियतालाई सम्बोधन नगर्ने आशयको विचार फेसबुकमार्फत सार्वजनिक गरे । फेसबुकमा पोस्ट भएको धारणापछि मुकारुङलाई जातिवादी र राष्ट्रियताविरोधी भएको आरोप लगाइयो । ‘दमिनी भीर’ उपन्यासका लागि पाएको मदन पुरस्कार फिर्ता गर्नुपर्नेसम्मका प्रतिक्रिया आए । फेसबुकमा आएका प्रतिक्रियाहरू अशिष्ट बन्दै गएपछि उनी स्टाटस हटाउन बाध्य भए । आहुतिभन्दा बढी आलोचना उनले खेप्नुपर्‍यो । त्यसैले स्पष्टिकरणका लागि उनले अनलाइनखबरडटकममा अन्तर्वार्तै दिए ।
त्यसपछि राष्ट्रियता र संगीत विषयमा अनलाइन पत्रिकाहरुमा मात्रै हैन दैनिक तथा साप्ताहिक छापामाध्यममा पनि पक्षविपक्षमा लेख आउने क्रम बढ्दो छ । कान्तिपुर कोसेलीमा प्रकाशित युग पाठकको ‘राष्ट्रियताको रकमी राग’, कवि संगीतश्रोताको इसमता डटकममा प्रकाशित ‘‘‘राष्ट्रिय’ गीत गाइरहेका नवपञ्चहरू’’, नेपाल साप्ताहिकमा प्रकाशित गीतकार रमण घिमिरेको ‘ती राष्ट्रिय गीत’, नेपाल साप्ताहिककै अर्को अंकमा संविधानविद् विपिन अधिकारीको ‘राष्ट्रभक्तिबिनाको राष्ट्र गान’ शीर्षकका लेख कालीप्रसादको गीतबारेको टिप्पणीकै सन्दर्भमा आएका हुन् ।
संगीतश्रोताबाहेक अरुले कालीप्रसादको गीतमा भएको विवादलाई सोझै र स्पष्ट उल्लेख नगरी घुमाउरो शैलीमा आफ्ना मत प्रकट गरेका छन् । अधिकारीसम्म आइपुग्दा बहस राष्ट्रिय गीतबाट दोस्रो जनआन्दोलनको जगमा स्थापित नयाँ राष्ट्र गान परिमार्जन गरौं वा अर्को राष्ट्र गानकै सिर्जना गरौं भन्नेसम्मको आग्रहमा पुगेको छ । विचारणीय कुरा, वर्तमान राष्ट्र गानको परिमार्जन वा विस्थापनको माग यही बेला किन आएको होला ? अझ रोचक त के भने, संगीतश्रोताले उदाहरण दिई आलोचना गरेका गीतलाई नै अधिकारीले राष्ट्रभक्तिको अनुपम नमुना भएका गीतका रुपमा प्रस्तुत गरेका छन् । नयाँ राष्ट्र गानको आलोचना गर्ने अधिकारी पहिलो व्यक्ति नै त हैनन्, तर यत्तिका वर्षपछि अहिले आएर यही समयमा उनको यस्तो विचार आउनु अर्थपूर्ण छ ।
कालीप्रसादको गीतमा समस्या होला नहोला, तर उनको सार्वजनिक छविमा भने ठूलै विवाद छ । पञ्चायतकालीन समयमा सरकारी पदमा बसेका र पञ्चायतको समर्थन गरेकाले उनको गीतलाई उदाहरण बनाइएको हुनसक्छ । राष्ट्र गानका लागि प्रस्तावित गीत भनेर पत्रिकामा छपाएका बेला उनी पञ्चायतको सेवक भएको आरोप लगाइएको थियो । राष्ट्रियताको विवाद पूर्णतः वैचारिक भएकाले स्रष्टाको विगत र वैचारिक धारलाई पनि मूल्याङ्कनको आधार बनाइँदै आएको पाइन्छ । तर पञ्चायतकै समयमा निस्किएको उनकै गीत ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’ बोलको गीतलाई पनि रेडियो नेपालबाट प्रसारण हुन साह्रो परेको थियो । त्यस गीतलाई पञ्चायती समर्थकहरूले व्यवस्थाको विरोधी गीतको रुपमा अथ्र्याएका थिए । नेपालमा इतिहासका विभिन्न चरणमा एउटै कलाकारले शासक रिझाउने स्तुति गान र शासक चिढाउने जागृतिमूलक गीतहरू गाउने लेख्ने परम्परा रहेको पाइन्छ । त्यसैले एउटै गीतका आधारमा कुनै स्रष्टाप्रति धारणा बनाइहाल्नु पनि त्रुटिपूर्ण हुन सक्छ ।
यो बहसले राष्ट्रिय गीत र राष्ट्र गानको विषयमा भएको विवादलाई फेरि सतहमा ल्याइदिएको छ । ‘मेरो देश’ नामक एल्बमसमेत निकालेका नेपथ्य समूहका लोकप्रिय गायक अमृत गुरुङले नेपाली राष्ट्रिय गीतमा समाहित राष्ट्रियता\राष्ट्रवादका दुईथरी विशेषतालाई पर्गेल्दै भनेका छन्, ‘एकथरी राष्ट्रिय गीतहरू संकीर्ण राष्ट्रवादमा गौरव गर्छन्, असुरक्षित राष्ट्रियता जसले पूर्खाको बहादुरी र बलिदानमा गर्व गर्छन् । डाँफे, मुनाल, सगरमाथा र लुम्बिनी आदिको बखान गर्छन् ।’ अर्को थरी राष्ट्रिय गीतहरूले हामीमा गहिरो भावनात्मक अपनत्वको भाव जगाउँछन्, जुन हाम्रो जरा र जन्मथलोको प्रेमसँग गाँसिएको छ ।’ उनले आफू दोस्रो खालको संगीतमा विश्वास राख्ने भन्दै ‘म जे गाउँछु, त्यही नेपाली हो, मसँगै नेपाल पनि गाउँछ’ भन्ने फराकिलो विचार राखेका छन् ।
गायक अमृत गुरुङले गायकका रुपमा खाँटी नेपाली भएको प्रमाणित गर्न कुनै कसरत गर्नु नपर्ने बताएका छन् । ‘पञ्चायतकालीन तमाम राष्ट्रिय गीतको मर्ममा पसेर हेर्दा राष्ट्रियताको यस्तो मानचित्र भेटिन्छ, जसले बहुसंख्यक जनतालाई राष्ट्रियताबाटै विमुख गराउँछ’ लेखक युग पाठकको मतले पनि गुरुङसँग तादात्म्यता राखेको छ । 
अहिलेको विवादलाई बुझ्न गुरुङको र पाठकका तर्कले सघाउँछन् । पञ्चायतकालीन समयमा मात्र नभई त्यसपछि रचिएका धेरै राष्ट्रिय गीतलाई केलाउँदा पहिलो धारका गीतको वर्चस्व छ । सञ्चारमाध्यममा पनि तिनकै बाहुल्य छ । त्यसैले पक्ष—विपक्षमा चर्को मतभेद हुने गरेको हो । यस्तो विवाद राजनीतिक ध्रुवीकरण बढेको समयमा झनै बल्झिने गरेको छ । पञ्चायतको प्रत्यक्ष पक्षपोषण गर्ने गीतहरू, जसमा राजा, राजमुकुट वा पञ्च शब्द थिए, ती किनारा लागे पनि त्यसै बेला रचिएका ‘राष्ट्रिय’ गीत धेरै थिए । स्रोता र त्यस्ता गीत—संगीतबीचको नाता दसकौं पुरानो भइसक्यो । ती गीत अझै बज्छन् । सबैजसो लोकप्रिय गायक गायिकाले गाएकाले यस्ता कतिपय गीत अद्यापि स्रोताको प्रिय सूचीमा पर्छन् । विभिन्न माध्यमबाट गीत सङ्गीत पटक पटक दोहोरिइने हुनाले त्यसको प्रभाव अन्य विधाभन्दा गहिरो हुन्छ । मन पराइएका गीतलाई यो वा त्यो जुनसुकै कारणले आलोचना गरे पनि आमस्तरमा त्यसको खारेजी सहजै सम्भव छैन । त्यसैले ती गीतको पक्ष—विपक्षमा ठूलै जमात रहेको पाइन्छ ।
सबै गीत शासककै स्वार्थकेन्द्रित थिए भनेर किटान गरिहाल्ने आधार पनि छैन । समीक्षक अभि सुवेदी भन्छन्, ‘त्यसबेला राष्ट्रियताको एउटै विम्बको वरिपरि गायन र गीत लेखन गर्ने र गर्न लगाउने सांस्कृतिक नीति नै थियो ।’ धेरैले त्यस्तो माग र आग्रहबमोजिम गाए, लेखे । तर नारायणगोपाल, गोपाल योञ्जनहरूका सिर्जनामा त्यस्तो कृतिमता नभएको उनको विश्लेषण छ ।
यस्तै बुझाइ गीतकार रमण घिमिरेको पनि छ । ‘पञ्चायतको महिमा नगाई राष्ट्रियताको शाश्वत अर्थ बोकेका राष्ट्रिय गीतहरू पनि रचिएका थिए । तर, तिनलाई समग्र राष्ट्रको होइन, एउटा व्यवस्थाभित्रको राष्ट्रियतामा मात्र साँघुर्‍याउने काम गरियो ।’ केही गीतको राष्ट्रियता कुन कित्तामा पर्छ, छिनोफानो गर्न असम्भव नै छ । केहीले गोपाल योञ्जनको मेरो टोपीलाई पञ्चायती राष्ट्रियता बोकेको गीत भन्छन् । तर यस गीतबारे गोपाल योञ्जनले एउटा साप्ताहिकमा मेरो टोपी गीत रेकर्ड गर्ने बेला यसलाई शासकविरोधी गीत ठानिएको र झमेला गरिएको अनुभव पोखेका छन् ।
हुन त विवाद पञ्चायतकालीन अवधिमा रचिएका राष्ट्रिय गीतमा मात्र सीमित छैन । २०४६ साल र २०६२\६३ सालपछिको प्रजातान्त्रिक\लोकतान्त्रिक खुला परिवेशमा रचिएका वा रेकर्ड भएका गीतसमेत विवादित बन्दै आएका छन् । गीत नयाँ भए पनि पुरानै चेतनाद्वारा निर्मित प्रतीक र कथ्यको प्रयोग गरिएका कारण यस्ता गीतको आलोचना भइरहेको हो । यो पञ्चायती राष्ट्रियताकै विरासत धान्ने प्रयत्न हो ।
विभिन्न आन्दोलनका क्रममा पुराना प्रतीक, राष्ट्रिय विभूति, राष्ट्र गान आदि विवादमा मुछिँदै आएका छन् । यस्तै विवादका कारण ‘राष्ट्रिय रुपमा विवादास्पद कुनै पनि प्रतीक वा विम्ब संयोजन भएको गीतलाई सचेततापूर्वक पन्छाएको’ राष्ट्र गान चयन कार्यदलका एक सदस्य कवि\गीतकार श्रवण मुकारुङ बताउँछन् । राष्ट्र गान चयनमा राजनीतिक निर्णय हुने भए पनि राष्ट्र प्रेमका भावना अभिव्यक्त गर्न जो कोही स्वतन्त्र छन् । त्यसैले कुनचाहिँ सच्चा र कुनचाहिँ कच्चा राष्ट्रिय गीत हो भन्ने दाबी र फरक दृष्टिकोणको द्वन्द्व जारी रहने आँकलन गर्न सकिन्छ ।

Monday, June 29, 2015

विद्यार्थी पर्खिरहेको विद्यालय

प्रभाकर गौतम
रत्नपार्कबाट करिब २२ किमि उत्तर पूर्व जर्सिङपौवामा रहेको हिल साइड एकेडेमी इङ्लिस स्कुलको भौतिक संरचनामा बैशाख १२ र २९ का ठूल्ठूला भुइँचालोका धक्काले पनि खासै क्षति पु¥याएन । तर स्कुलसँग जोडिएका शिक्षक तथा विद्यार्थीहरुमा यसले पारेको मानसिक क्षति अपुरणीय छ । स्कुलका चार विद्यार्थीहरुको मृत्यु भयो भने केही विद्यार्थीहरु घाइते भए । प्रिन्सिपल दुर्गाबहादुर तामाङकी आमालाई पनि भुइँचालोले आफूसँगै लग्यो । भुइँचालोले सबैभन्दा ठूलो क्षति स्कुलको व्यवस्थापन सम्हालेका शिक्षक रमेश तिवारीको परिवारमा पु¥यायो । उनका आफ्नै एक जना र उनको दाइका तीन गरी एकै परिवारका चार नानीहरुको घरबाट भाग्न खोज्दा खोज्दै चेपिएर ज्यान गुम्यो ।
महाविपद् लिएर आएको भुँइचालोले पारिवारिक सदस्य र विद्यार्थीहरु गुमाए पनि स्कुलका शिक्षकहरुको टोली विद्यार्थीहरुलाई पुनः स्कुल फर्काउने तयारीमा जुटिरहेका छन् । करिब एक महिना पढाइ प्रभावित भइसकेको र अझै पनि भयमुक्त वातावरण बनिनसकेकाले उनीहरु चाँडोभन्दा चााँडो विद्यालयको नियमित कामलाई निरन्तरता दिन प्रयासरत छन् । यसैक्रममा उनीहरुले विद्यार्थीका घर—घर पुगी अभिभावक र विद्यार्थीलाई भेट्ने र उनीहरुको मनोदशाको अवलोकन पनि गरिसके ।
हिल साइड एकेडेमी इङ्गलिस स्कुलमा काठमाडौं, काभे्र र सिन्धुपालचोक गरी तीन ओटा जिल्लाबाट ३७५ जना विद्यार्थीहरु पढ्न आउँछन् । तीमध्ये अधिकांश जैशी÷ज्योतिष गाउँ, भोटेचौर, लप्सीफेदी, नाङ्लेभारे, चौकीभञ्ज्याङ्ग र निबु गाउँका विद्यार्थीहरु रहेका छन् । सबैजसो विद्यार्थीहरुको घर क्षत विक्षत भएका छन् । सीमित संख्यामा रहेका पक्की घरहरु मात्र सद्दे छन् । ती विद्यार्थीहरु १५—२० किमी टाढासम्मबाट धाउँछन् । विद्यार्थी ओसार्न दुईटा बसको व्यवस्था गरिएको छ । तर विद्यार्थीहरुको पारिवारिक समस्याका कारण स्कुल पठाउनु तिनका अभिभावकहरुको प्राथमिकतामा नपर्ने हो कि भन्ने चिन्ता शिक्षक तिवारीको रहेको छ । २०६४ सालमा स्थापना भएको यस स्कुलका प्रारम्भिक दिनमा खुबै खटेका शिक्षक रवीन्द्र मिश्र भन्छन् ‘‘स्कुलको पठन पाठन चाँडोभन्दा चाँडो सञ्चालन गरी विद्यार्थीहरुको मानसिक तनाव कम गर्नु नै हाम्रो अहिलेको प्राथमिकता हो । बैशाख २९ मा पुनः ठूलो भुइँचालो नगएको भए अहिले हामीलाई पुरानै अवस्थामा फर्किन धेरै सहज भइसक्ने थियो ।” तर यस्तो चाहना पूरा गरिहाल्न निरन्तर आइरहने पराकम्पनका धक्काहरु तगारो बनेर तेर्सिएको छ । पढ्दै गरेका कतिपय विद्यार्थीहरुले भुइँचालोपछिको परिस्थितिमा पढाइ नै छोड्ने हुन् कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । उनीहरु करबलले विद्यार्थीलाई विद्यालयमा ल्याउनुभन्दा अभिभावकहरु पनि मानसिक रुपमा तयार होऊन् भन्ने पर्खाइमा छन् ।
शुरुमा कक्षा दुईबाट शुरु भएको स्कुलमा यसै सत्रदेखि नौ कक्षासम्म पढाइ हुन थालेको छ । भाडामा लिएर सञ्चालन हुँदै आएको स्कुल अबको दुई तीन महिनामै आप्mनै भवनमा सर्ने तयारी हुँदैछ । यस्तो तयारी स्कुल नाफामा गएर गरिन लागेको हैन । शिक्षकहरुले आफ्नै घरजग्गा धितो राखी लोन लिएर नयाँ भवन निर्माण गर्न थालेका हुन् । स्कुलले नाफामुखीभन्दा सेवामुखी काम गर्दै आएकाले शिक्षकहरुले तलब नभई पढाए वापत पकेट खर्चमात्रै लिँदै आएका छन् । करिब आठ रोपनी जग्गामा तयार हुन लागेको भवन निर्माणपछि विद्यार्थीहरुको स्तर वृद्धिका लागि विविध योजना बुनिरहेको स्कुलले आफ्ना विद्यार्थीहरुको समस्यालाई नजिकबाट बुझेको छ ।
तामाङ र ब्राह्मण समुदायका विद्यार्थीहरुको बाहुल्य रहेको यस स्कुलका धेरै विद्यार्थीहरुको आर्थिक अवस्था नाजुक छ । भुइँचालोले त्यसलाई झनै क्षीण बनाइदिएको छ । मिश्र भन्छन् ‘‘हामी शिक्षकहरुको टोली विद्यार्थीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर होमवर्क गरिरहेका छौं । सहयोग दिने सम्भावना भएकाहरुसँग हात बढाइरहेका छौं ।” हाल पनि केही विद्यार्थीहरुलाई मनकारी स्वदेशी तथा विदेशीहरुको सहयोग प्राप्त छ । करिब तीस प्रतिशत विद्यार्थीहरुले यस्तो सहयोग पाएका छन् । यो सबै स्कुलका शिक्षकहरुको अतिरिक्त कसरतको परिणाम हो ।
लक्ष्मण ढकाललगायता शिक्षकहरुलाई आफूहरुले उः बेला ऐच्छिक हिसाब पढ्ने विशेष इच्छा हुँदाहुँदै पनि अवसर नपाएको गहिरो पीडा छ । अंग्रेजीमा पढ्न पाउने सुविधाबाट वञ्चित हुनुको खेद त छँदै छ । उनीहरु आफू वञ्चित भएको अवसरबाट आप्mना स्कुले नानीहरु वञ्चित नहुन् भनी लागिपरेका छन् । स्कुलको पर्फमेन्सकै कारण अभिभावकहरुले दुईटा सरकारी स्कुलहरु नाघेर यस स्कुलमा आप्mना नानीहरुलाई पठाइरहेका छन् । जति इच्छा भए पनि चाहेका सबै कुरा गर्न नसक्नुका धेरै सीमाहरु छन् । स्कुलमा विज्ञान पढाउने शिक्षकको खाँचो टड्कारो छ । यहाँ पढाउँदा काठमाडौंमा जस्तो अतिरिक्त समयमा ट्युसन पढाएर थप आम्दानी गर्न सम्भव नभएकाले शिक्षकहरुको आकर्षण काठमाडौंतिरै छ । चक्रपथभित्र जस्तो शिक्षकहरुको उपलब्धता यहाँ छैन । त्यसैले उनीहरु धेरैजसो आठ—आठ घण्टी अनवरत रुपमा पढाउँछन् । स्कुलमा १८ जना शिक्षकहरु रहेका छन् जसमा माथिल्लो कक्षामा पढाउने महिला शिक्षक एक जना मात्र छिन् । प्रिन्सिपल तामाङ कोटेश्वरबाट धाउँदै आएका छन् भने धेरै शिक्षकहरु नजिकैको गाउँका बासिन्दा हुन् ।
स्कुलको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका शिक्षक तिवारीले स्कुल र समाजको चिन्ता पोख्दै गर्दा उनी आफ्नै घरका चारजना नानी गुमाएका अभिभावक हुन् भनेर पत्याउन गाह्रो पर्छ । जो गए तिनका सम्झनामा कसैले नदेख्ने गरी उनले धेरै आँशु खसालिसके । ‘‘एक रात सानी छोरीले उसकी आमा, दिदी र मेरो हात समातेर हामी कहिल्यै नछुटुम् है ।” भनेदेखि उनले बाँचेका परिवारका सदस्यका खातिर दुःख लुकाउने प्रण गरे । तर ‘‘समुदाय र पूरै देश नै पीडित भएका बेला आफ्नो पीडामात्र ठूलो मान्न नसकिँदो रहेछ ।” भन्दै गर्दा उनले आँसु लुकाउन सकेनन् ।
परिस्थिति प्रतिकुल नबने शिक्षकहरु जेठ तेस्रो सातादेखि स्कुल सञ्चालन गर्ने प्रयासमा लाग्नेछन् । उनीहरु विद्यार्थीहरुमा रहेका भय र सन्त्रास हटाउन अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने तयारीमा पनि छन् । भन्छन् ‘‘काठमाडौंमा मासिक रुपमा पुस्तक छलफल कार्यक्रम गर्दै आएको समूह बुकाहोलिक्सको सहयोग र सहकार्यमा जेठको अन्तिम साता स्थापित लेखक र कलाकारहरु बोलाएर हामी बालबालिकाका लागि रचनात्मक क्रियाकलाप गर्ने तयारीमा छौं । उनका अनुसार, साहित्यक रचना सुन्ने सुनाउने र चित्र बनाउने कार्यक्रम मार्फत विद्यार्थीहरुलाई रिफ्रेस गराउनु कार्यक्रमकोे उद्देश्य हो । अपेक्षाअनुरुप कार्यक्रम बालबालिकाका लागि प्रभावकारी भएमा हामी यस्ता गतिविधिलाई निरन्तरता दिने सोचमा छौं ।
भुइँचालोले क्षति पु¥याएका विद्यालयको संख्या ५५ हजारभन्दा माथि छ । लाखौं विद्यार्थीहरु यसबाट प्रभावित बनेका छन् । भौतिक रुपमा भवन ध्वस्त भएका स्कुलहरु पुनः सञ्चालनमा ल्याउन त गाह्रो छ नै, भवनमा क्षति नभएका स्कुलहरु सुचारु गर्न पनि धेरै चुनौतीहरुको सामना गर्नु पर्ने देखिन्छ । स्कुल सुचारु भएपछि स्कुलको समायवधिभरि त विद्यार्थीहरु भुलिएलान् तर बाँकी समय घरमै बिताउँदा उनीहरु भयमुक्त वातावरणमा बाँच्न सकून भनेर ध्यान दिनु पर्ने देखिन्छ । अभिभावक र घरका सदस्य गुमाएका नानीहरुमा परेको आर्थिक समस्या र मनोवैज्ञानिक त्रास कम गर्नेतर्पm पनि बेलैमा सोच्नु पर्ने देखिन्छ ।
(२०७२ जेठ २८ मा लेखेको)

Wednesday, June 24, 2015

एक संगीतज्ञको जीवन

http://www.ekantipur.com/nepal/2071/9/20/full-story/7868.html  नेपाल म्यागेजिनमा प्रकाशित (२०७१ पुस २०)


संगीतमय जीवन: संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म
प्रकाशक   :  दलित साहित्य तथा संस्कृति प्रतिष्ठान
सम्पादक   :    राजेन्द्र महर्जन र पदम सुन्दास
पृष्ठ    :   ३१८
मूल्य   :   ३५० रुपियाँ 







-  प्रभाकर गौतम 
बिसे नगर्ची भन्नेबित्तिकै हामी सम्भवतः श्रवण मुकारुङलाई सम्झन्छौँ । तर, तिनै नगर्चीलाई भीमनिधि तिवारीले उहिल्यै आपmनो एकांकीका पात्र बनाइसकेका थिए । रामशरण दर्नालले त अझ ती पात्रबारे अनुसन्धान नै गरेका थिए । 

केही समयअघि लोचन रिजालको 'पौरखी...' बोलको गीत लोकपि्रय भयो । मौलिक नेपाली बाजा आरबाजोको प्रयोग गरिएको भन्दै मिडियामा त्यसबारे लेख्ने होडबाजी चल्यो । तर, त्यही मधुर धुन निकाल्ने आरबाजोसम्बन्धी दर्नालको कृति नै छ भन्नेबारे हामी  बेखबर हुन सक्छौँ । 

नेपालको राष्ट्रगान भन्नेबित्तिकै हामी चक्रपाणि चालिसेलाई सम्झन्छौँ तर त्यसमा संगीतकार बखतवीर बूढापीर्थि थोरैका लागि मात्र परिचित नाम होला । दर्नालका यी र यस्तै अनेक तथ्यको खोजको सूची लामो छ । दलित, जनजातिलगायत सांस्कृतिक समुदायका  लोपोन्मुख बाजागाजाको संरक्षण र प्रवर्द्धनमा विशेष काम गरेका दर्नालका संगीत र लोकसंस्कृतिसम्बन्धी दर्जनभन्दा बढी कृति छन् । 

तिनै दर्नालको जीवनका विविध पक्षलाई समेटेर प्रकाशित 'संगीतमय जीवन : संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म ' पल्टाउँदा यस्ता धेरै नयाँ कुरा थाहा हुन्छ । दर्नालका ७४ वर्षे जीवनका अधिकांश क्षण नेपाली संगीतसँग जोडिएका छन् । हुन पनि  जातीय हिसाबले गानाबजाना उनको पुख्र्यौली पेसा थियो । उनका बूढा हजुरबुबा, हजुरबुबा र बुबा नेपाली सेनामा ब्यान्ड बजाउँथे । खुट्टाले हावा भरेर बजाउने आर्गन बाजा, तबला आदि घरमै थिए । बुबासँगै भजन गाउन थाले । सकीनसकी आर्गन बजाउन थाले  । बुबाका मावली हजुरबुबा 'श्रीमान् गम्भीर नेपाली...'मा संगीत भर्ने बखतवीर बुढापीर्थिका सन्तान दार्जीलिङमा थिए । भान्दाइ पुस्कल बुढापीर्थि- जर्जी ब्याङ्क्स)सँग दार्जीलिङ पुगे । सेन्ट रोबट्र्स हाई स्कुल पुगेर मेटि्रक गरे । काका डम्बरबहादुर बुढापीर्थि -बबी  ब्याङ्क्स)को सहयोगमा कोलकाता पुगी हिज मास्टर्स भ्वाइस -एचएमभी)मा समेत काम गर्ने मौका पाए । पाश्चात्य संगीतको ज्ञान उनले यही प्रवासकालीन अवधिमा बटुले । 

दर्नाल काठमाडौँ फिर्दा त्यस बेला आधुनिक गितार ल्याउने पहिलो व्यक्तिका रूपमा दरिए । एकर्डियन गितार, मेन्डोलिन, ट्रम्पेट आदि बजाउन जान्ने दर्नालको प्रतिभाको छनक धेरैले पाइसकेका थिए । उनको माग स्वतः बढ्ने नै भयो । स्वर लिपिकारका रूपमा ब्रेक  नै 'गाउँछ गीत नेपाली...'बाट पाए । प्रेमध्वज प्रधानका गितार गुरुसमेत बने । 

रेडियो नेपाल हुँदै प्रज्ञाप्रतिष्ठान छिरेका दर्नाल झन्डै ५० वर्ष त्यहीँ रहेर कला, लोकसंस्कृति र संगीतलगायत साहित्यिक गतिविधिमा सक्रिय रहे । ०२५ सालको दसैँछेक टीका लगाउन ससुराली गएका बेला अविरल वषर्ाले उनको पुरानो घर भत्कियो । घरमा संकलित पुराना र दुर्लभ सयौँथरी बाजा वषर्ाले लग्यो । वषर्ाले बाजासँगै लग्यो उनकी आमालाई पनि । उनलाई ती बाजासँगै लोक तथा संगीत-संस्कृति पनि मरेर गएको भान भयो । त्यही पीडाले उमार्‍यो, लोपोन्मुख बाजागाजा र कला संस्कृतिको संकलन, संरक्षण  र प्रवर्द्धन गर्ने दृढ लालसा । यो घटनाले उनले स्थापना गरेको नेपालकै पुरानो वाद्य समूह (अर्केस्ट्रा) पनि शिथिल भयो । ०१६ सालमा बनेको त्यस अर्केस्ट्रामा भगतसिंह बागदास, मनश्याम बैजु आदि वाद्यवादक थिए । 

अहिलेसम्म वस्तुगत वा विषयगत खोजभन्दा व्यक्तिकेन्दि्रत अध्ययनको परिपाटी रहेको संगीत विधामा अनुसन्धानको काम गर्नु दुस्साहस नै थियो । यस काममा उनी यति लीन भए कि आफ्नै खर्चमा संगीतसम्बन्धी पुस्तक प्रकाशित गर्दै गए । पहिलेका आधुनिक  बाजा बजाउने दर्नाल कालान्तरमा गम्भीर अनुसन्धाता भए । उनका सिर्जनात्मक धुन समयसँगै शब्दमा बदलिए । ती शब्द नेपाली बाजागाजा र लोकसंस्कृति बुझाउने अमूल्य माध्यम बनेका छन् । त्यही विज्ञताकै कारण उनी थुप्रै विदेशी अनुसन्धाताका सहयोगी  र गुरुसमेत बने । 

बाजासम्बन्धी सबैभन्दा बढी खोज गर्ने दर्नालको मान्यता थियो, 'बाजा झुन्ड्याएर मात्र हुन्न, तिनका इतिहास, विशेषता सबै प्रस्ट्याइदिनुपर्छ ।' दर्नालले नेपाली बाजा पुस्तक तयार पार्नुको उद्देश्य यही थियो । 

त्यसो त पुस्तकको शीर्षकमा लेखिएजस्तो दर्नालको जीवन 'संगीतमय' अर्थात् रोमान्टिक भने लाग्दैन । ०२८ सालमा केदारमान व्यथित कुलपति रहेका बेला उनलाई आकस्मिक अवकाश दिइयो । छूतअछूतको अवहेलनाको सामना गर्दै भए पनि गाउँगाउँ डुलेर  बाजा बटुलेर, कहिले अरू मार्फत मगाएर उनले प्रज्ञा प्रतिष्ठानको बाजा संग्रहालयलाई धनी बनाएका थिए । तर, ती लोपोन्मुख बाजालाई प्रतिष्ठानले कथित तल्लो जातको संस्कारजन्य सामग्री मान्यो, राज्यको सम्पत्ति ठानेन । 

रोगले थला परी जीवनका अन्तिम पलाको गिन्ती गर्दै बसेका बेला पनि उनलाई हेर्न-भेट्न आउने कमै भए । दर्नाल परिवारको इच्छा अनुसार उनको शव प्रतिष्ठानमा राखिएन । जुन संस्थामा जीवनको महत्त्वपूर्ण समय र ऊर्जा खर्चे, त्यही संस्थामा उनी जीवित  हुँदा र पछि पनि उपेक्षित बन्न पुगे । 

पुस्तकमा दर्नालको सांगीतिक र प्राज्ञिक योगदानका बारेमा थुप्रै जानकारी समेटिएका छन् । यसरी संकलित सामग्रीमा जन्म, मृत्यु, माता, पिता, शिक्षा आदि कुरा दोहोरिरहँदा पाठकलाई झिँजो लाग्न सक्छ । यसका आधारमा दर्नालको सिलसिलाबद्ध जीवनी लेख्न  सकियो भने अझ राम्रो हुन्थ्यो । पुस्तकमा दर्नालबारे केही कुरा भने छुटेका छन् । दर्नालले स्वरलिपिकार बनाएका गीतको सूची र प्रकाशित पुस्तकका बारेमा परिचय नपुगेको भान हुन्छ । 

विभिन्न आठ खण्ड रहेको पुस्तकमा अंग्रेजी भाषाका चारवटा लेख पनि छन् । आफन्तजन र साथीहरूका सामग्रीले उनको व्यक्तिगत जीवनका विभिन्न आयामलाई उजागर गरेका छन् । अन्तर्वार्ता, दर्नाल स्वयंले लेखेको संक्षिप्त आत्मवृत्तान्त आदिले उनलाई अझ  नजिकबाट बुझ्न सघाएको छ । 



Monday, June 22, 2015

साइनो संगीतसँगको


जून २१ अर्थात विश्व संगीत दिवस । विश्व संगीत दिवसको रन्को फ्रान्सबाट सर्दै सर्दै नेपालसम्म पनि आइपुगिसकेको छ । हाम्रो दैनिक क्रियाकलापका धेरै कुराहरुमा हामी स्थानीय र अन्तर्राष्ट्रिय नागरिक भएर सोचिरहेका छौं, बाँचिरहेका छौं । संगीत पनि एकै पटक स्थानीय र अन्तर्राष्ट्रिय दुबै सुनिरहेका छौं, गाइरहेका छौं । तर यहाँ, नेपाललगायत विश्वभरि संगीत दिवस मनाइँदै गर्दा म भने गीत संगीतसँग यति नजिक कसरी भएँ हूँला भनेर सम्झिने प्रयास गर्दैछु । खासगरी नेपाली गति संगीतप्रति धेरै ढिलो आकर्षित भएकाले कुन मोडमा कसरी नेपाली गीत सुन्ने भएँ भन्ने विषय आजको दिनमा सान्दर्भिक छ ।
मानिसमा कुनै पनि विषयप्र
ति रुचि जाग्नुमा परिवेशको भूमिका महत्वपूर्ण हुँदोरहेछ । म पूर्वी नेपालको विराटनगरमा जन्मेँ । त्यहीँ हुर्किए, बढेँ । मेरो माइलो दाइको धेरै समय किराना पसलमा बित्थ्यो । पसलमा दिन काट्ने सबैभन्दा भरपर्दो माध्यम क्यासेट प्लेयर थियो । उहाँ त झन् नयाँ पुराना सबैखालका गीत सुन्ने गर्नुहुन्थ्यो । घरमा पनि उहाँ गीत नबजाइ बस्न सक्नु हुन्थेन । तर ती सबै गीतहरु हिन्दी हुन्थे । नेपाली गीत त अरुले बजाएको रेडियोबाट सुनिन्थ्यो, त्यो पनि नेपथ्यमा । यस्तो परिवेशमा म पनि पुरानामा किशोर कुमार, रफी, लता, आशा, मुकेश आदिका गीत सुन्ने भएँ । नयाँमा त्यसबेला कुमार सानुको वर्चस्व थियो । टोलछिमेकका सांस्कृतिक तथा धार्मिक गतिविधिमा पनि हिन्दी गीत संगीतकै एकछत्र राज थियो । मैले हेर्ने सिनेमा पनि अपवादबाहेक हिन्दी नै हुन्थे । टेलिभिजनका अधिकांश कार्यक्रम पनि हिन्दी नै हुन्थे ।
पुरै हिन्दीमय कला र संस्कृतिका बीच नेपाली गीत संगीतप्रति कसरी आकर्षित भए ? नेपाली गीत रचेर कपी भर्ने र रेकर्ड गराउने धून के ले जगायो ? अझ, नेपाली संगीत क्षेत्रकै बारेमा बहस छेड्नु जरुरी छ र यसै विषयमा कलम पनि चलाउनु पर्छ भनेर केले उत्प्रेरित ग¥यो ? अहिले यसको उत्तर आपैंmबाट पाउन हम्मेहम्मे परिरहेछ ।
दाइले जस्तै मैले पनि केही समय पसलमा बिताए । घरमा उपलब्ध भएका क्यासेट नै मुख्य स्रोत थिए । तर हरेक मान्छेको आप्mनो केही न केही फरक रुचि भएकाले मैले मेरा साथीभाइ मार्पmत पनि क्यासेट बटुल्न थालेँ । फाट्ट फुट्ट नेपाली कलाकारका गीतसँग यसैबेला परिचित भएँ । तत्कालीन नयाँमा नवीन के. भट्टराई, संजीव प्रधान, रामकृष्ण ढकाललगायत क्रसरोड, कन्दरा, मध्यान्हजस्ता समूहका गीतहरु बढी चलेका थिए । पुरानामा सुरेश कुमार, दीप श्रेष्ठ, ओमविक्रम विष्ट आदि थिए । तर मूल आकर्षण हिन्दीमै थियो ।
तर विराटनगरबाट काठमाडौं प्रवेशले मेरो रुचिमा ठूलो फेरबदल ल्याइदियो । मैले काठमाडौं प्रवेश गर्दाताका विराटनगरमा एफएम शुरु भइसकेको थिएन । काठमाडौंमा भने एफएमको लोकप्रियता बढिरहेको समय थियो । एसएलसी सकेर काठमाडौं आएकाले विरानो काठमाडौंमा सबैभन्दा नजिकको साथी एफएम नै बन्यो । त्यो खुला परिवेश र प्रविधिमा पहुँचका कारण संगीतमा प्रवेश गर्ने नयाँ पुस्ताको बाढी आएको समय थियो । फलस्वरुप, नेपाली गीतमा विविध शैली भित्रिए । रेडियो नेपालको कठोर अनुशासन र साँघुरो दायरा तोडेर कलाकारहरु फुक्काफाल भएको धेरै भएको थिएन । राम्रा—नराम्रा दुबै खालका स्रष्टाहरुले आपूmलाई आपैंm र स्रोता मार्पmत परीक्षण गर्ने अवसर पाए । एफएमले नयाँ पुस्तालाई मात्र चिनाएन, पुराना पुस्ताका नयाँ पुराना दुबै खाले गीत संगीतलाई पनि ठाउँ दिएकाले संगीत क्षेत्रका सिर्जनालाई सिलसिला मिलाएर बुभ्mन र ओझेलमा परेका प्रतिभालाई चिन्न समेत सघायो ।
वषौंवर्ष गीत सुनेकाले होला केही कोर्न खोज्दा गीत जस्तै बन्न थाल्यो । मेरो साइलो दाइचाहिँ बढी  गजल सुन्नु हुन्थ्यो । मेरो रुचिमा गजल श्रवणको पनि धेरथोर प्रभाव देखिन थाल्यो । गीत संगीतमा युवा पुस्ता अगाडि आएको देखेर पनि होला, आपूmमा पनि सुषुप्त रुपमा यस्तै चाहना जाग्न थाल्यो ।
मैले नारायणगोपाललाई सबैभन्दा ढिलो मन पराएँ । उमरेको बीस कटेपछि मात्र नेपाली गीतसँग सम्बन्ध गाँसियो । रेडियो नेपाल आपैंmले बजाएर विरलै सुनेँ । धेरै स्रष्टाहरु त बितेपछि मात्र चिनेँ । ढिलै भए पनि नेपाली संगीतसँग जोडिएको छु । समाजलाई चिन्ने बुभ्mने प्रक्रिया सरल रेखामै बढ्ने होइन रहेछ । मेरो यात्रा पनि उल्टो रह्यो । आप्mनो समय, समाज, कला तथा संस्कृतिसँग नजिकिन धेरै समय लाग्यो । तर ढिलै भए पनि संगीतकै कारण ममा यस्तो अभिरुचि जागेको हो ।
यस क्षेत्रका हरेक गतिविधिमा रुचि बढ्दै गएपछि गीत लेखन मात्र नभई संगीत क्षेत्रबारे अनुसन्धान पनि गर्ने रहर र प्रतिबद्धता बढ्दो छ । संगीतमा रुचि छ भन्ने बित्तिकै ‘‘बजाउने कि गाउने ?’’ तर उत्तर हुन्छ ‘‘लेख्ने’’ । राम्रो गीतकार, संगीत समीक्षक वा अनुसन्धाता हुन पनि संगीतप्रति आकर्षण र लगाव चाहिन्छ नै । संगीत सुन्ने नशाविना यस्तो काम हुन सम्भव छैन । संगीत क्षेत्रमा लेख्ने मान्छेहरुको खडेरी जस्तै छ । धेरै मानिसले संगीत सुने पनि संगीत विधाबारे गम्भीर चिन्ता गर्ने र लेख्ने मान्छेको पनि खाँचो छ ।
 विश्व संगीत दिवस मनाउँदै गर्दा संगीतलाई मनोरञ्जनको माध्यमका रुपमा मात्र नलिइ यसका अनेक आयामबारे सोचेर गतिविधि सञ्चालन गर्नु जरुरी छ । सांगीतिक कन्सर्टसँगै यस विषयमा अन्तत्र्रिmया र गोष्ठीहरु हुनु आवश्यक छ । संगीत क्षेत्र पनि सामाजिक—सांस्कृतिक ज्ञान उत्पादनको क्षेत्रमा कम्मर कसेर अघि सर्नु अत्यावश्यक छ । संगीत क्षेत्रसँगसम्बद्ध दर्जनौं संघ संस्थालगायत माउ संस्था संगीत तथा नाट्य एकेडेमिको पनि यसतर्पm ध्यान जाओस् ।