Sunday, May 10, 2015

पदयात्रा : अन्नपूर्ण आधार शिविर


यो पदयात्रा http://www.onlinekhabar.com/2014/11/205215/#sthash.sXn4N1P4.y6Qp1Gzc.dpuf  मा केही अंश सम्पादनसहति  प्रकाशित भएको थियो ।
-प्रभाकर गौतम

दिनभर हिँडेर, उकाली–ओराली गर्दै हातगोडा गलाएर डाँडाकाँडा चाहर्नुमा के मज्जा लाग्दो हो ? शुरुशुरुमा चिनजानका दाइ वा साथीहरुले हाइकिङ गएको कुरा सुनाउँदा यस्तै सोच्थेँ । बिस्तारै खै के लहडमा आफू पनि हाइकिङको आदि भइयो । काठमाडौं उपत्यकाभित्रका फूलचोकी, चम्पादेवी, लाकुरी भञ्ज्याङ, साँगा, चन्द्रगीरी, नमोबुद्ध, भीमढुंगा आदि रुटका लामा–छोटा पदयात्रा गरेर फुरुङ्ग हुने दिन पो आयो । काठमाडौंको हेक्टिक शहरीया परिवेशबाट केही घण्टाका लागि भए पनि मुक्त भएको आभास हुन्थ्यो, जब–जब पाइतालाले शहरसँगको दुरी बढाउँदै लग्थ्यो । न धुलो, न धुवाँ, न मान्छेहरुको हल्लीखल्ली । बदलामा मिल्थ्यो– मिसावटविहीन अक्सिजन, जंगल–पहाडका मनोरम छटा । ताल परे हिमालको सुन्दर दर्शन पनि मिल्थ्यो । जिन्दगी मान्छेबाट टाढा र प्रकृतिको समीप पुग्दाको आनन्द नै बेग्लै ।
यसपालिको दसैंमा अलि टाढा जान मन थियो । त्यसैबीच अचानक लामो समय सम्पर्कमा नआएको साथी अमितले आफू नेपाल आउन लागेको फेसबुके सन्देश पठायो । कुरा गर्दै जाँदा भन्यो, मुस्ताङ हैन ‘अन्नपूर्ण आधार शिविर (एबीसी) जाम् ।’
चारजनाको समूह बन्यो । बाँकी दुईसँग ठमेलमा जाडो छल्ने बन्दोबस्तीका सामान किन्दा सामान्य परिचयमात्र भएको थियो । दसैंको टीकालगत्तै मुस्ताङ जान लागेको म, पूणिर्माको चौथो दिन एबीसीका लागि रवाना भएँ। हाम्रो पहिलो दिन असोज २५ गतेको साँझ पोखरामा बित्यो ।
दोस्रो दिन
बिहान पााचै बजे उठेर पुन हिल जानु थियो । करिब ४५ मिनेट हिँडेर पुगेको उकालोपछिको दृश्य सुन्दर लाग्यो । तर, सूर्योदय हेर्न गएका हामीलाई मौसमले साथ दिएन । त्यतै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल अलि प्रष्ट देख्न पाएकामै सन्तोष मान्दै फोटो खिचेर फक्र्यौं । हाम्रो योजनाअनुसार टाँडापानी पुग्नु थियो । पुनहिलबाट फर्केर ब्रेकफास्ट गर्यौं ।
करिब आठ बजेतिर हिँड्न शुरु गरियो । हिजोको हिँडाइभन्दा आजको सहज लाग्यो । उल्लेरीको जति चर्को उकालो थिएन । मौसम पनि शीतल थियो । हिजोजस्तै आज पनि जंगल, झरना, हिमाल र खोलाहरुको दृश्यपान गर्दै, फोटो खिच्दै हिँडियो । जंगलभरि लालीगुराँसका बोटहरु थिए । भर्खरै कोपिला हाल्दै गरेका बोटहरु हेरेर सोचो, लालीगुराँस फूलेपछि कत्ति राम्रो देखिँदो हो ।
शरीर पनि हिँड्दै जाँदा भारी बोक्न अभ्यस्त हुँदो रैछ । नयाँ ठाउँ पुग्ने उत्साहले जति थाके पनि आफूभित्रको ऊर्जा रित्तिन नदिने । फेरि, आफूले काटेर आएको बाटो फर्केर हेर्दाको आनन्दले जति हिाड्यो उति मजा लाग्ने ।
साथीहरु बीचबीचमा भन्थे ‘अहो, त्याहाँबाट हिडेको हैन, हेर् हेर् कति चाँडो यहाँ आइपुग्गियो ।’ टाँडापानी पुग्दा ३ बज्यो । होटलमा छिरेर जिन्जर टी खाँदाखाँदै पानी छिटाउन थाल्यो । सुत्नेबेलासम्म पानी नरोकिएपछि मन आत्तिन थाल्यो । पानी परेको मौसममा कसरी हिाड्ने रु पानी रोकिएन भने के गर्ने ? 
तेस्रो दिन 
बिहान पाँचै बजे उठेर पुन हिल जानु थियो । करिब ४५ मिनेट हिँडेर पुगेको उकालोपछिको दृश्य सुन्दर लाग्यो । तर, सूर्योदय हेर्न गएका हामीलाई मौसमले साथ दिएन । त्यतै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल अलि प्रष्ट देख्न पाएकामै सन्तोष मान्दै फोटो खिचेर फक्र्यौं । हाम्रो योजनाअनुसार टाँडापानी पुग्नु थियो । पुनहिलबाट फर्केर ब्रेकफास्ट गर्यौं ।
करिब आठ बजेतिर हिँड्न शुरु गरियो । हिजोको हिँडाइभन्दा आजको सहज लाग्यो । उल्लेरीको जति चर्को उकालो थिएन । मौसम पनि शीतल थियो । हिजोजस्तै आज पनि जंगल, झरना, हिमाल र खोलाहरुको दृश्यपान गर्दै, फोटो खिच्दै हिँडियो । जंगलभरि लालीगुराँसका बोटहरु थिए । भर्खरै कोपिला हाल्दै गरेका बोटहरु हेरेर सोचो, लालीगुराँस फूलेपछि कत्ति राम्रो देखिँदो हो ।
शरीर पनि हिँड्दै जाँदा भारी बोक्न अभ्यस्त हुँदो रैछ । नयाँ ठाउँ पुग्ने उत्साहले जति थाके पनि आफूभित्रको ऊर्जा रित्तिन नदिने । फेरि, आफूले काटेर आएको बाटो फर्केर हेर्दाको आनन्दले जति हिाड्यो उति मजा लाग्ने ।
साथीहरु बीचबीचमा भन्थे ‘अहो, त्याहाँबाट हिडेको हैन, हेर् हेर् कति चाँडो यहाँ आइपुग्गियो ।’ टाँडापानी पुग्दा ३ बज्यो । होटलमा छिरेर जिन्जर टी खाँदाखाँदै पानी छिटाउन थाल्यो । सुत्नेबेलासम्म पानी नरोकिएपछि मन आत्तिन थाल्यो । पानी परेको मौसममा कसरी हिाड्ने रु पानी रोकिएन भने के गर्ने रु माथि उक्लिने कि घरतिरै फिर्ने ?
चौथो दिन  
पानी परिरहेको थियो । हावाको गति पनि बढ्दो थियो । बिहान साढे एघार बजेसम्म पनि हामी कुनै निर्णयमा पुग्न सकेनौं । चिसोका कारण ५० रुपैयाँ कपको जिन्जर टी र बीस रुपैयाँ कपको तातोपानी पिउादै ज्यान तताइरहृयौं । पानी रोकिने समयसम्म टाँडापानीमै बस्ने कि हिाड्ने रु होटलकी दिदीले छिटो निर्णय गर्नुस् भनेर बिहानदेखि पाँचपटक भनिसकेकी थिइन् । दुविधा र भयका साथमा अन्ततः हामी अघि बढ्यौं छुम्रुङका लागि ।
नयाँ पुलमा किनेको प्लास्टिक ओढेर हामी हुइँकियौं । जति धेरै हिाड्यो त्यति कम शौच जानुपर्ने हुँदोरहेछ । बीचमा १५० रुपैयाँ तिरेर रारा चाउचाउकोे सुप खानेबाहेक आराम गरिएन । पानीबाट ब्याग जोगिए पनि हामी भिजिसकेका थियौं । त्यसमाथि आफ्नो त ओरालोमा चिप्लेर प्लास्टिकको एउटा भाग च्यातियो । तै तै ब्याग भिज्नबाट बच्यो । जुत्ता, मोजा र लगाएका लुगा भने लुछ्रुप्पै भिजे ।
चिसोका कारण छुम्रुङको सबैभन्दा पहिलो होटलमै बास बस्यौ । सााझको ६ बज्न लागेको थियो । भिजेको शरीरलाई तताउन जिन्जर टी मगायौं, त्यसपछि खाना । त्यसपछि कलब्रेक खेलियो । यो हाम्रो अघोषित रुटिन बनिसकेको थियो ।
सुत्ने बेलासम्म मौसम खराब नै भएकाले माथि पुग्ने आश मर्दो थियो । साथी निराजनबाहेक अरुमा पुग्नैपर्छ भन्ने जिद्दी थिएन । अमित एटेम्प्ट गरौं भन्दै थियो । म र दर्शन भाइ पानी रोकिएन भने यहीँबाट फिर्नु राम्रो भन्दै थियौं । हाम्रो दुविधालाई थोराङ ला पासमा भएको दुर्घटनाको खबरले झनै बढायो ।
मोबाइलमा घरका मान्छेहरुले मौसमको जानकारी गराइरहेका थिए । त्यसमाथि बाटोमा भेटिने गाइडहरुले सुनाएका डरलाग्दा किस्साले झनै तर्साउाथ्यो । सुत्नेबेलामा पनि हावा(पानीको आवाज कर्कश लागिरहेको थियो । तर, बिहान उठेपछिको मनोविज्ञान पूरै नयाँ भएर आयो । दुई दिनदेखि झरीले ओझेलमा पारेको सूर्य नयाँ लागेजस्तै । घाम आकाशमा नभएर चारैजना ठिटाहरुको मनमा लागेजस्तै भयो । त्यसपछि त के थ्यो र, झोलाझम्टी बोकेर हिड्ने चटारो शुरु भइहाल्यो । बाटोभरि सबैभन्दा बढी दोहोरिएको कुरा ‘छुम्रुङभन्दा अघिको बाटो निकै अप्ठ्यारो छ ।’ हामी त्यही अप्ठ्यारो यात्रामा निस्क्यौं । तर हिँड्दै जाँदा सबै बाटा उस्तै लागे । मनमा एउटै कुरा हाबी थियो ‘हामी हिमालको नजिक पुग्दै छौं ।’
पाँचौं दिन  
हामी त्यस बेलासम्मकै सबैभन्दा बढी हिँड्यौं । टाढा पुग्नु छ भन्ने कुराले हामीलाई हिँडाइरहृयो । जहाँजहाँ रोकिन्थ्यौं, ‘जिन्जर टी’ खान्थ्यौं । पानीको मात्रा उचाइसँगै बढाउँदै लगेका थियौं । थाक्न त आठ घण्टामै थाकेका थियौं, तर सुत्ने कोठा नपाइएपछि जहाँ पुगे पनि आजको रात डाइनिङ हलमा भन्दै थप दुईरअढाइ घण्टा हिाडियो । देउराली पुग्दा झमक्कै भइसकेको थियो । हिँडाइको गर्मी नघट्दै हिमाली हावाले ठिहिर्याउन थालिसक्यो । त्यसमाथि, डाइनिङ हलसमेत पाउने हो कि हैनको चिन्ता थपियो । कसोकसो डाइनिङ हलको टुंगो लाग्यो । व्यवस्थापनका धेरै काम निराजन र अमितको जिम्माजस्तै थियो । दर्शन भाइ र मैले यसमा केही सुविधा पाएका थियौं । आरामले सुत्न नपाए पनि मान्छे न हो, परिस्थिति अनुसार काम चलिहाल्छ । हाम्रो पनि चल्यो । बीच बाटोमा चिनजान भएका काठमाडौंकै पाँच जना साथी पनि हामीसँगै भए त्यो रात ।
छैठौं दिन  
हाम्रो अवस्था फाइनल परीक्षा दिन जान लागेका परीक्षार्थीजस्तै थियो । ओभर कन्सियस भएर हिड्यौं हामी सबै । देउरालीभन्दा माथिको यात्रामा विशेष सावधानी अपनाउन धेरैले सुझाव जो दिएका थिए । धेरै पानी खाने र बिस्तारै हिँड्ने नियमको पालना गरिरहृयांैं । अप्ठ्यारो बाटो अब आउला, तब आउला भन्दाभन्दै करिब अढाइ घण्टाको यात्रापछि माछापुच्छ्रे आधार शिविर आयो । हामी अभ्यस्त भइसकेकाले होला, बाटो त्यति अप्ठ्यारो लागेन । बरु रहस्यमयी क्षेत्रमा प्रवेश गरिरहेको भान भयो । हिजोअस्तिका बाटामा देख्नेभन्दा केही फरक दृश्य देखियो । ठूल्ठूला चट्टान भएका घुम्तीहरु धेरै आए । खोला, पहाड र हिमालको संगम स्थलमा हिँड्दा हिँड्दै भाव र विचार शून्यको अवस्थामा पुग्थेँ म घरिघरि । सबै साथीहरुलाई छोडेर कहिले अघिअघि र धेरैजसो पछिपछि हिँड्न मन लाग्थ्यो । र, हरेक दिनको यात्रामा बीचबीचमा त्यसरी नै हिाड्ने बानी परिसकेको थियो ।
माछापुच्छ्रे आधार शिविर पुगेपछि त गन्तव्य संघारमै आएको आभास भयो । अनौठो सन्तोष भाव पैदा भयो । साथीहरु एकअर्काको मुहार हेर्दै गर्विलो मुस्कान दिन थाले । फोटो सेसन त चल्ने नै भयो । अचेल त जहाा र जेको फोटो खिचे पनि फेसबुकमा राख्ने परिकल्पना स्वतः आउने रैछ । एमबीसी पुग्ने बित्तिकै उही जिन्जर टी लियौं । भोक लागेकाले गुरुङ ब्रेड पनि खाइयो । अघिल्लो दिनको पानीले हिउाको मात्रा थपिए पनि हिउँद पूरै लाग्न बााकी भएकोले एमबीसी छेउछाउका हिमालहरु सेताम्मे थिएनन् । केही हिमाल त हिस्सी नपरेका र उजाड लाग्थे ।
दुरी लामो नभए पनि हिउँका कारण एमबीसीबाट एबिसी पुग्न करिब २ घण्टा लाग्ने रैछ । हिउँको बाटो हिड्ने कुरा कल्पनामा सीमित थियो । यथार्थ भइसकेको कल्पनालाई विश्वास गर्न कठिन भइरहेको थियो । चिप्लेर लड्दासमेत दर्द नहुने रैछ फुरुङ्ग तनमनलाई ।
अब लेक लाग्ने भय अनावश्यक लाग्न थाल्यो । डर पूरै हटिसकेको थियो । यात्रामै परिचित एकजना भाइलाई गाह्रो भइरहेको थियो । उनीसँगै गफ्फिादै हिाडो । जति सुस्त हिँड्यो हिउँको बाटो हिँड्न उति आनन्द । १२ बजिसकेकाले हिउँमा हिाड्दासमेत डाउन ज्याकेट लाउनु परेन अब त ।
एमबीसीका भन्दा एबीसीतिरका हिमाल सेताम्मे थिए । अन्नपूर्णलाई हातैले छुन(छुन आाटेको अनुभूतिले रोमाञ्चित थिएा म । फोटोमा धेरैचोटि देखेको अन्नपूर्ण अब साइडमै उभियो । आाखाले देख्ने जति भूगोल पूरै सेतो भयो । मन पनि त्यसैत्यसै कञ्चन भएर आयो । आधार शिविर पुगेर पनि हामीले जिन्जर टी खान बिर्सेनौं । हिडाइले भोक लगाउने नै भयो ।
बाटोभरि प्रायः रारा चाउचाउ दिन्थे, यहाँ वाइवाइ खाइयो । सबैभन्दा टुप्पोमा पुगेपछि सबैभन्दा महंगो त हुने नै भयो । चिया र चाउचाउको पैसा गोटाएक तीन सय पचास पुग्यो । केही बेर फोटो सेसन चल्ने नै भयो । हामी मात्र हैन स्वदेशी, विदेशी सबैजना वरपरका हिमालहरुलाई र हिमालसागै आफैंलाई क्यामरामा कैद गर्न व्यस्त थिए । सायद सबैमा यो दृश्य र यो थलो केही क्षण वा घण्टाका लागि मात्र हो भन्ने भाव हाबी थियो । मन परेको मान्छे होस् वा ठाउा, बेग्लिनुपर्दा झन् माया लाग्ने ।

‘ओइ लड्लास्’ भन्दाभन्दै साथी आफैं चिप्लियो हिउामा । एकचोटि टेकिसकेको हिउामा अर्को पटक टेक्दा झनै चिप्लिने भएकाले फर्किंदा स्केटिङ खेलेको अनुभूति भइरहृयो । खुट्टाको ब्रेक फेल भएजसरी हुत्तिइरहृयौं । उक्लिादा दुई घण्टामा बढी लागेको ठाउाबाट झर्दा डेढ घण्टा पनि लागेन ।
उकालीमा पछि पछि, ओरालीमा अघि अघि‘हिँड्दा हिाड्दै सम्झना फिल्मको गीत याद आयो । आफ्नो ताल भने के उकाली के ओराली जतिबेलै पछि । छिटो हिाड्न सक्थो होला, तर खुट्टा दुखेर गाह्रो भएको भाइको साथ छोड्न मन लागेन । त्यसैले देउराली पुग्दा अरुभन्दा आधा घण्टा ढिलो भएछु । साथीहरुको शरीर पुनः ऊर्जावान् बनिसकेको थियो । आफू भने एकैछिनमा फेरि हिड्न तयार हुनुपर्यो । ओरालो यात्रामा समय कम लाग्ने भएकाले हाम्रो उद्देश्य सकेसम्म तल झर्ने थियो ।
४१३० मीटरको उचाइ पुगेर फर्केको जोशले होला, हामी हिाड्यौं कम दौड्यौं ज्यादा । करिब अढाइ बजेदेखि सातबजेसम्म हिाड्यौं, टर्च बालीबाली । ब्याम्बू पुगेर औंला भााच्दा पो याद आयो, ठीक बाह्र घण्टा हिाडिएछ । भोजनभन्दा भोक मीठो हुन्थ्यो सधैं । तर थकाइका बावजुद निद्रा मीठो भएन । खासगरी मेरो र दर्शन भाइको । हिउा खेल्न जाने रहर त गरियो, तर चश्मा बोकिएको थिएन । रातभर आाखाबाट आासु बगिरहृयो । आाखा चिम्म गर्नै नहुने । बन्द गर्यो कि पोल्ने । आधा रातमा उठेर आाखामा पानी हाल्दा पनि खासै फाइदा भएन । आाखै बिग्रने हो कि भन्ने डरसमेत लाग्यो । बिहान उठेर हेर्दा थाहा भयो, सेतो हिउालाई नाङ्गो आाखाले हेर्दा त्यसको असर कतिसम्म रातो हुन्छ भनेर ।
सातौं दिन (असोज ३१)
आजै जसरी पनि पोखरा पुग्ने सहमति भएपछि अन्तिम दिनको हिँडाइ पनि लामै हुने भयो । बिहान सातै नबजी खाजा खाएर हुइँकियौं हामी । साथीहरु फ्रेस देखिन्थे । मन हलुको भएको थियो । तर मेरो आँखाको हाल उस्तै थियो । बरु, दर्शन भाइको आँखा पोल्न कम भइसकेको थियो । छुम्रुङ नपुगी औषधि पाउने छाँट थिएन । धन्न शीतलमै हिँडेका थियौं । छुम्रुङ पुगेपछि औषधि पाइयो । धेरै राहत भयो । आँखा पखाल्दै, औषधि हाल्दै हिँडे । 
घाम नहुँदा हिड्नु र घाममा हिँड्नुमा धेरै फरक हुन्छ । घाममा चाँडै थाकिने । भारी बढ्दै गएको भान हुने । पसिना पुछ्दाको सास्तीले तनाव दिने । अन्तिम दिनको हिँडाइ भएर पनि होला, छुम्रुङ पछिको यात्रा बोझिलो पो लाग्न थाल्यो ! उक्लिँदाको उत्साह र कुतूहल झर्दा पनि कायम नहुने रहेछ । तर हामी जाँदाको भन्दा फरक रुटबाट फर्केकाले बासी मनलाई नयाँ नयाँ दृश्यहरुले भुलाइरह्यो । तर हामीजाँदा होस् वा आउँदा खोलाको किनार हामी सँगसँगै हिँडिरह्यो । 
झिनु डाँडा ‘हट स्प्रिङ’ हेर्न आउनेहरुको चापले भरिभराउ थियो । तर झरनासम्म पुग्न थप हिँड्नु पर्ने भएकाले हामी त्यता लागेनौं । सिउनी बजार पुग्दा ३ बज्यो । गाडी देख्दा पनि धेरैपछि प्रेमीलाई देखेसरहको आनन्द आयो । उफ्, अब हिँड्नु पर्दैन भनेर हाइसन्चो भयो । ट्याक्सी रिजर्भ गर्यौं, चार हजारमा पोखरा । गोडाहरुले गाडीलाई धन्यवाद दिए । अन्ततः झमक्क हुनुअघि नै पोखरा लेकसाइड पुग्यौं । लज पुगेर नुहाइधुवाइ गरियो । यात्राभरको पसिना, फोहोर र थकान पखालियो । मन चंगा भयो । भोलि बिहानका लागि टिकट बुक गरियो । हामीले जहाँ बसेर मिसन एबीसीका नाममा चिअर्स गरेका थियौं, त्यही ठाउँमा पुगेर पुनः चिअर्स गर्यौं । एक हप्ते यात्राको रमरमे समीक्षा शुरु भयो । अमेरिकाबाटै एबीसीलाई लक्ष्य बनाएका अमित र निराजनको हामीभन्दा बढी खुशी देखिन्थे । भन्दै थिए ‘माथि नपुगी फर्किनु परेको भए युएसमा केटाहर्को अगाडि हेन्सी डाउन हुन्थ्यो यार !’ लजमा पुगेर अन्तिम कलब्रेक खेलियो ।
सबै जना आरामले सुतेजस्तो लाग्यो । मेरो मन भने उतै थियो । ओछ्यानमा पल्टेर सुन्दर प्रकृतिका दृश्यसँगै त्यहाँको जनजीवनका आयामबारे सोच्न थालेँ । एकहप्ते पदयात्राका क्रममा त्यहाँको भौगोलिक विकटता र जटिल जीवनसँग धेरथोर परिचित भएँ जस्तो लाग्यो । जाडो छल्न हम्मे हम्मे पर्ने कपडामा भारी ओसार्दै साघुँरो बाटोबाट गुज्रेका भरिया दाइभाइका अनुहारहरु याद आयो । विदेशीहरु हाइ हेल्लो भन्दै हाँस्थे । भरियाका मुस्कानलाई भने भारीले थिचेको हुन्थ्यो । प्रायः होटलमा खानासँग दिइने तरकारीको मात्रा कम हुन्थ्यो । त्यहाँको उत्पादन क्षमतै कम रहेछ । चिया किन महँगो तर चुरोट किन सस्तो भयो ? कारण कसैलाई सोध्नु जरुरी रहेन । सिलिण्डर र खानेकुरा बोकेका खच्चरहरु, भरिया दाइभाइले बोक्ने भारीमा भएका सामानहरु देखेरै धेरै कुरा जान्न सकिन्थ्यो, जानियो । यस्तैमा मनले सोध्थ्यो ‘ओइ...तँ सधैंका लागि यहीँको बासिन्दा भइस् भने, यो सुन्दरता कति घण्टासम्म राम्रो लाग्ला हँ ?’ केही दिन भए पनि सबै कुरा भुल्न हिँडेको म, आफैंलाई चित्त बुझाउन भन्थेँ ‘जिन्दगी आखिर काठमाडौंमै पनि कहाँ सजिलो छ र ? 
फर्किंदा लान्द्रुक वा घान्द्रुकमा आराम गर्ने योजना थाँती राख्दै यात्रा हतारमै छोट्याइयो । कारण बन्यो, थोराङ ला पासको दुःखद दुर्घटना जसमा धेरै हताहत र बेपत्ता भएका थिए । हामी गएको बाटो फरक भए पनि घरका सदस्यहरु र साथीहरुका लागि यो समाचार चिन्ताको विषय बनिसकेको थियो । यसबारेमा धेरै थाहा नभए पनि अनुमान गरिसकेका थियौं कि हामी छिटो नफर्किएसम्म प्रियजनका चिन्ता दुर हुनेवाला छैन । पोखरा नजिक पुग्दा नपुग्दै हाम्रा मोबाइलमा तारन्तार घण्टी बज्न थालिसकेका थिए ।
‘कहाँ छौ, के कसो छ ?’ भन्दै पहिलो कल आयो चौतरिया देवेन्द्रजीको । दोस्रो कलमा त साथी विमलले मजाले थर्कायो । "मूला, यस्तरी नि हराउने ? तँ जिउँदै छस् भन्ने प्रमाण छिटो पेस गर्, फेसबुके संसारमा’ ।" तेस्रो कलमा सगुना दिदी बोलिन् "भाइ तपाईंको स्वर सुन्न पाउँछु भनेर आशा मरिसकेको थियो ।"’ अर्को चौतरिया रमेशले जिस्कायो "धन्न फोन उठाइस्, पत्रिकामा तेरो समवेदना आउनै लागेको थियो ।" केही साथीले त जिउँदो शहीदसमेत भने ।
शनिबार हिँडेका हामी आठौं दिन शनिबारै काठमाडौं आइपुग्यौं । धुलो, धुवाँ र भीडले भनिरहेजस्तो लाग्यो , ‘कंग्रयाट्स टिम एबीसी, वेलकम ब्याक !’

गीत : तिमीसँगै मैले पनि हारेको...

तिमीसँगै मैले पनि हारेको
यो बाजीलाई के नाम दिउँ म भन
छटपटीमा थाकेको मनलाई
आराम कसरी दिउँ म भन


अँधेरीलाई उज्यालो सम्झेँ
व्यर्थै तिमीलाई दियालो सम्झेँ
हिंड्दाहिंड्दै थाकेँ यति कि
ओरालीलाई उकालो सम्झेँ
तीता मीठा भ्रममा अल्झेको
यो यात्रालाई के नाम दिउँ म भन
छटपटीमा थाकेको मनलाई
आराम कसरी दिउँ म भन


आज पनि उही हाल छ तिम्रो
जुन हालमा म बाँचिरहेछु
विश्वास छ त्यही याद साँच्दैछौँ
जुन यादलाई म साँचिरहेछु
उस्तै उस्तै व्यथामा डुबेको
यो विरानीलाई के नाम दिउँ म भन
छटपटीमा थाकेको मनलाई
आराम कसरी दिउँ म भन

गजल : कसैको मायाको उपकार चाहिन्छ गजललाई

(प्राविधिक कुरामा सधैं कमजोर म । संरचनाको महत्व जान्दाजान्दै पनि गजल लेखनमा यो पक्ष गौढ भइदिन्छ लेख्दालेख्दै । कृपया प्रतिक्रिया दिनु होला ।)

कसैको मायाको उपकार चाहिन्छ गजललाई ।
साँचो हो आँखाको प्यार चाहिन्छ गजललाई  ।।

साथ दिने होस् या धोका दिने साथी ।
अनिवार्य एउटा यार चाहिन्छ गजललाई ।।

सातबारे एक साता सधैं काटमारको ।
प्रेमिल एउटा बार चाहिन्छ गजललाई ।।

रदिफ र काफिया मात्रले कहाँ पुग्छ हजूर !
दिलको भाषा बोल्ने मतियार चाहिन्छ गजललाई ।।


Friday, November 7, 2014

चौबीस रिल, मैले नदेखेका हिप्पी र धोबीघाट एक्सप्रेस : खुदरा टिप्पणी

चौबीस रिल : नयाँ पुस्ताले निबन्ध विधालाई नयाँ उचाई दिन सक्छ भन्ने संकेत सम्भावना देखाएका भूपीनको कवि भाषा मीठो लेखकले भावना विचारको सन्तुलन मिलाउन सक्दो प्रयास गरेका छन् अग्रज समकालीन स्रष्टाहरुसँग बहस चिन्तन मार्फत वैचारिक सम्बन्ध स्थापना गर्न खोज्ने प्रयास सह्रानीय 'मनको एल्बमका प्रिय गीत' मलाई सबैभन्दा मन ¥यो 'भोकको संगीत', 'नदी जीवन', 'कविता यात्राको गोरेटो' राम्रा निबन्धहरु हुन्  मन नपरेको कुरा चाहिँ, हरेकजसो निबन्धमा अनावश्यक रुपमा उनी 'महान् लेखक', 'महान् कृति', 'प्रसिद्ध व्यक्तित्व' जस्ता विशेषणहरु प्रयोग गर्छन् किताब व्यक्तित्वहरुको रेफरेन्स पनि बढी दिन रुचाउँछन् यसले पुनरावृत्तिको समस्या चर्को बनाएको

मैले नदेखेका हिप्पी : शेखर खरेलको यो सानो काँटको संग्रह केही राम्रा केही सामान्य निबन्धहरुको संकलन हो पेशागत रुपमा खरेलको अनुभवको दायरा फराकिलो पत्रकारिता, फोटोग्राफी, वृत्तचित्र निर्देशन, साहित्य, संगीत सिनेमाका जानकार आदिका रुपमा परिचय बनाएका खरेलका निबन्धहरुले यी सबै क्षेत्रलाई छुन्छन्  'बदलियो बानेश्वर' शीर्षकको निबन्ध अब्बल 'मुम्बईको मनोहर कहानी' 'ब्याङ्क्सका तीन घुम्ती'मा उनको मिहिनेत झल्किन्छ लेखकले अखबारमा पूर्वप्रकाशित लेखहरुलाई थप काम गरेर सान्दर्भिक बनाउने जाँगर चलाए पनि निबन्धहरु अखबारी साहित्यको तहभन्दा माथि उक्लिन सकेको छैन धेरैजसो निबन्धहरुमा भाषागत मिठासको अभाव खड्किन्छ  

धोबीघाट एक्सप्रेस : रोशन शेरचन पाठकलाई बहसमा आमन्त्रण गर्न रुचाउने लेखक हुन् उनलाई हरक्षण कुनै विषयले पिरोलिरहेको भान हुन्छ आफू बाँचेको समय समाजको चेत उनमा प्रखर उनले धोबीघाट एक्सप्रेस शीर्षकको निबन्धमा स्वैरकल्पनाको समेत प्रयोग गरेका छन् काल्पनिक पुट दिइएकोले उनका केही निबन्धहरु कथाको नजिक पुगेका छन् अध्ययनशील घुमन्ते स्वभावका शेरचनले भौतिक वैचारिक दुवैखाले यात्रा गराइरहन्छन् 'फेसबुक संसार विसंगतिका काराभान', ' कविता किन लेख्छु ?' सशक्त निबन्धहरु हुन् ईश्वरवल्लभ शंकर लामिछनेबारेका लेखहरु साहित्य समालोचना दुवै हिसाबले महत्वपूर्ण छन् तर, पुनरावृत्ति उनको पनि समस्या हो उनको भूपीनको लेखनमा रेफरेन्स घरिघरि समस्या बनेर आउँछ  
तीन ओटै निबन्ध संग्रहहरुमा नियात्राले ठूलो हिस्सा  ओगटेको निबन्ध नियात्राबीचको समानता भेद के हो अलमलमा परेको छु नियात्रा भएपछि विवरणात्मक हुने डर बढी हुँदोरहेछ यसबाट सबै निबन्धकार सतर्क होउन्  

Sunday, October 20, 2013

पुस्तक समीक्षा : फूलको आँखामा





प्रभाकर गौतम

पुस्तक : फूलको आँखामा
लेखक – आनी छोइङ डोल्मा
प्रकाशक : नेपालय
सन् २०११
रु. ३००
     
‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार...’
मोमेन्ट्स अफ ब्लिस एल्बममा रहेको यही गीतले आनी छोइङ डोल्मालाई नेपाली संगीत जगतमा स्थापित गराएको हो । यो क्यासेट २०६० मा सार्वजनिक भएको थियो । तर उनको सांगीतिक जीवन यो गीतभन्दा धेरै पुरानो छ । काठमाडौँ, शिवपुरीस्थित नागी गुम्बाभित्र एक दशकभन्दा बढी समय मन्त्र पाठको अगुवाइ गर्ने भूमिकाले उनको गायकीको जग हालेको हो । उनको गायन आध्यात्मिक वा धार्मिक कर्मका रुपमा विकसित भएकोले लामो समयसम्म उनले मन्त्रमात्र गाइन्, त्यो पनि तिब्बती भाषामा । यसअघि निस्किएका उनका तीन ओटा एल्बमहरु क्रमशः च्छो, डान्सिक डकिनी र सेल्वा विदेशमा मात्र बेचिएका थिए । तर 'फूलको आँखामा' गीतको लोकप्रियतापछि भने उनी नेपाली संगीतको कडीमा गहिरैसँग जोडिन पुगिन् । त्यही गीतको बोलले उनको आत्मकथाको शीर्षकसमेत जुराइयो फूलको आँखामा ।

फूलको आँखामा प्रारम्भ र उपसंहारबाहेक १९ ओटा अध्यायहरुमा विभाजित छ । उनको जीवनको करिब चार दशक लामो अवधिलाई समेटिएको यो आत्मकथामा उनको पारिवारिक तथा व्यक्तिगत पृष्ठभूमि, गुम्बाभित्रको जीवन, संगीत र समाजसेवाजस्ता विषयहरु मुखरित भएका छन् । यद्यपि पुस्तकमा यी सबै विषयहरु सिलसिलाबद्ध नभइ छ्यास्मिस रुपमा आएका छन् ।

चीनको राजनीतिक हस्तक्षेपका कारण भारत हुँदै नेपालमा तिब्बती शरणार्थीका रुपमा भित्रिएको एउटा समान्य परिवारमा उनको जन्म भएको थियो । सन् १९७१ मा काठमाडौँको बौद्धमा । उनको खास नामचाहिँ छेक्विद डोल्मा हो तर उनलाई सबैले भूमो भनेर चिन्थे । अहिले शान्त, शालीन र हँसिलो व्यक्तित्वकी धनी आनी कुनै बेला साथीहरुमाझ एक्सन किङ्ग ब्रुस लीकी बहिनीका रुपमा समेत चिनिन्थिन् । ताल परे ब्रुस लीकै स्टाइलमा साथीहरुलाई चुट्थिन पनि । तर तिनको ब्रुस ली स्टाइल साथीभाइहरुमाझ मात्र काम लाग्थ्यो । घरभित्र उनको नियति अर्कै थियो । गल्ति गरे पनि, नगरे पनि दिनहुजसो बाबुले भकुर्थे उनलाई । घरायसी कामको चापाचाप थियो । स–साना बालके गल्तिको ठूलो सजाय भोग्नु पथ्र्यो । बाबुको यस्तो हिंस्रक व्यवहारले भूमोमा बाबुप्रति भय र घृणा उब्जाइदिन्छ । आपूmसँगै आमालाई पनि निर्मम ढंगले चुटेको देखे–भोगेपछि उनी पुरुषसँग वैवाहिक जीवनमा बाँधिएर घरेलु दास नहुने अठोट लिन्छिन् । उनको मनमा पुरुषप्रति, वैवाहिक सम्बन्धप्रति र खासगरी महिलामाथि हुने सामाजिक विभेदहरुप्रति आक्रोश जाग्छ । त्यहीबाट उनको जीवनको नयाँ अध्याय शुरु हुन्छ– बुद्धमार्गी आनीका रुपमा ।

तेह्र वर्षको उमेरमा नागीगुम्बा प्रवेश गर्दा उनको एउटै ध्येय थियो – बाबुको क्रुर चुटाइबाट उन्मुक्ति । बाबुको यातना सहन नसकेर आमाकै सल्लाहमा वैकल्पिक उपायको खोजीमा धर्मको शरण लिन पुगेकी उनी गुरु टुल्कु उर्गेन रिम्पोछेको स्नेही छायाँमा हुर्किन्छिन् । गुम्बामा, घरमा बाबुले दिन नसकेको माया अनुभूत गर्छिन् । घरेलु कामको चापमा हराएको उनको बाल्यकाल समेत फिर्ता पाउँछिन् । गुम्बाभित्रै नाच्दै–गाउँदै उफ्रिन थाल्छिन् । गुम्बाको परिवेशमा शिक्षा र ज्ञान प्राप्त गर्छिन् । सबैभन्दा ठूलो कुरा गुरुको माया र संगत पाउँछिन् । गुरुको सान्निध्यले कुनैबेला रीस, राग र आवेगले भरिएकी भूमोलाई कालान्तरमा शान्त र उदार बनाउँछ । त्यसैले त उनी बाल्यकालमा आपूmलाई चरम पीडा दिने बाबुलाई सहजै क्षमामात्र गर्दिनन्, उनको अन्तिम समयको सहारा समेत बन्छिन् । यो पुस्तक स्नेह र संस्कारले व्यक्तिको जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा कसरी रुपान्तरण हुनसक्छ भन्ने सन्दर्भको प्रेरणादायी कथा हो । हिजो अभाव र विभेदमा हुर्केकी भूमो आज ख्याती प्राप्त गायक र समाजसेवी व्यक्तिको रुपमा स्थापित छिन् । त्योभन्दा पनि बढी उनी बोद्धिस्वत्वको खोजीमा लाग्नेहरुको लागि प्रेरणायी व्यक्तित्व हुन् । आफूलाई र अरुलाई पनि रुपान्तरण गर्ने उनको यात्रा अद्यापि जारी छ ।

आफ्नो मार्गदर्शक गुरु रिम्पोचेको मृत्युपश्चात् आनीले जीवनलाई नयाँ मोड दिन्छिन् । नागीगुम्बा छोडेर समाजसेवा अभियानमा लाग्छिन् । यसकामको लागि रकम जुटाउन संगीतलाई र धार्मिक सम्बधलाई भरमग्दुर प्रयोग गर्छिन् । एकै वर्षमा युरोप र अमेरिकामा पचास ओटाभन्दा बढी कन्सर्ट भ्याउनुले पनि उनको कडा परिश्रमको पुष्टि गर्छ  । उनको समाजसेवा मुख्यतः शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतासँग गाँसिएको छ । महिलाको जीवनस्तर उकास्नमा यी क्षेत्रहरुमा प्रशस्त काम गर्नुपर्ने बोध छ उनमा । हाल आनी विभिन्न संस्थासँग आबद्ध छिन् । उनी सन् १९९८ मा स्थापितनन्स वेलफेयर फाउन्डेसनकी संस्थापक हुन् । उनको सांगीतिक कार्यक्रमहरुको व्यवस्थापनको काम यसै संस्थाबाट हुँदै आएको छ । सांगीतिक कार्यक्रमहरुबाट उठ्ने रकम पनि नन्स वेलफेयर फाउन्डेसनमै जम्मा हुन्छ । यो फाउन्डेसनअन्तर्गत सञ्चालन भैरहेकोआर्यतारा स्कूल आनीको सबैभन्दा सफल परियोजना हो । उनको बुझाइमा सामाजिक संरचनात्मक विभेद बाहिरमात्र नभइ गुम्बाभित्र पनि छ । ‘नागीगुम्बामै पनि नब्बे प्रतिशत आनीहरु न पढ्न सक्थे न त लेख्न नै’ (पृ.१६४) । महिलाहरुको भूमिका ‘गुरुको सेवा र गुम्बाको सरसफाइमै’ सीमित थियो (पृ. १६४–१६५) । भोगाइ र अवलोकनका आधारमा महिलाको पछौटेपनका जटिलतालाई बुझेकैले उनको स्कूलमा नेपाल, भारत र तिब्बतका विपन्नबालिकाहरुलाई अध्ययनको राम्रो वातावरण तयार पार्न लागीपरेकी छिन् । उनी तिनमा ‘आप्mनै प्रतिच्छाया’ देख्छिन् । उनको स्कूलमा बुद्ध मूल्यमान्यताअनुसारको शिक्षा र आधुनिक शिक्षाको संयोजन गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष करिब पच्चीस सयदेखि तीनहजार व्यक्ति किड्नीसम्बन्धी समस्याको शिकार हुन्छन् । बिरामीहरुका लागि नेपालमा उपचार गर्ने राम्रो र पूर्ण व्यवस्थाको अभाव भएकोले भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता छ । यो प्रक्रिया निकै खर्चिलो छ । यी सबै कुरालाई आनीले आफ्नी आमा यही समस्याबाट पीडित भएपछि भोग्छिन् । आमाको एउटा मृगौला खराब भएपछि आमालाई थाहै नदिइ आफ्नो मृगौला प्रत्यारोपण गर्ने उनको प्रयास पनि सफल हुँदैन । अन्ततः उनले आमालाई गुमाउँछिन् । तथापि आमाको मृत्यु कमजोरी नभइ उर्जाको स्रोत बनाउन आनी सफल हुन्छिन् र उनको प्रण हुन्छ नेपालमै सुविधा सम्पन्न किड्नीसम्बन्धी अस्पताल खोल्ने । हाल डा. पुकार श्रेष्ठसँग मिलेर उनले यो काम अगाडि बढाइरहेकी छिन् । ‘यो पुस्तक लेख्नुको मेरो अर्को उद्देश्य त्यसै अस्पतालका निम्ति सहयोग रकम जुटाउनु पनि हो (पृ. २६४)’ भन्दै उनीआत्मकथा लेखनको एउटा महत्वपूर्ण औचित्य खुलाउँछिन् । ‘फ्रान्सेली प्रकाशकले किताबका लागि अनुबन्ध गर्दा प्रदान गरेको ४० हजार युरो पनि उनले त्यसै प्रयोजनमा खर्च गरिसकेकी छन् ।’

पुस्तकभरी आनीको व्यक्तित्व समय र परिस्थितिसँगै परिस्कृत हुँदै गएको पाइन्छ । धर्म, संगीत, समाजसेवा सबै कुरामा उनको व्यावहारिक पक्ष उजागर हुन्छ । उनी आनी हुन् तर हिन्दी सिनेमा हेरेर हाँस्छिन्–रुन्छिन् । निजीकार चढ्न, जुत्ताहरु फेरी–फेरी लगाउन मन पराउँछिन् । बुद्ध धर्मका मन्त्रहरु गाउँछिन् तर गाउनुको उद्देश्य धर्मको प्रचार–प्रसारसँगै पैसा कमाउनु पनि हो भनेर खुलरै भन्छिन् । आध्यात्मिक कुराभन्दा घर–परिवार, आमा–बुबा र मान्छेका सामाजिक कुरा बढी गर्छिन् । शिष्ट र ज्ञानीमात्र नदेखाइ आप्mनो हठी र रिसाहा स्वाभावलाई पनि नढाँटी प्रस्तुत गर्छिन् । मानवीय कमजोरीहरुलाई नलुकाइ भन्ने यही निश्छलताले उनको आत्मकथालाई विश्वसनीय बनाएको छ । उनले बौद्ध भिक्षुणीसम्बन्धी आमधारणालाई परिवर्तन गर्न संघर्ष गरेकी छिन् । धर्म र संगीतदुबैलाई व्यावहारोपयोगी प्रयोजनमा ल्याउन सफल भएकी छन् । उनी असामान्य कुरा गरेर भन्दा सामान्यजस्ता लाग्ने सामूहिक हितका काममा विश्वास गर्छिन् । यही नै आनीको जीनको सुन्दरतम् पक्ष हो भन्न सकिन्छ । पुस्तकमा धर्मबारे आध्यात्मिक पक्षहरुको चर्चा कम भएपनि धर्मको व्यावहारिक पक्षचाहिँ प्रशस्तै पाइन्छ, आनीकै कर्महरुमा ।

निःसन्देह आनीको जीवन प्रेरणादायी र उदाहरणीय छ । तर पुस्तकको ओज त्यसको संरचना र शैलीले राख्ने हो । यस दृष्टिकोणबाट मूल्यांकन गर्दा पुस्तक सामान्य स्तरको मात्र छ । घटनाहरु सिलसिलाबद्ध छैनन् । एउटा शीर्षकमा राखेर भन्नुपर्ने कुराहरु छरपष्ट भएकाले उनका कतिपय कुराहरु व्यवस्थित रुपमा बुभ्mन पुस्तकले खासै सघाउँदैन । जस्तैः धेरैले उनलाई गायकको रुपमा चिन्ने भएकोले गुम्बा प्रवेश गर्नु अघि संगीतप्रति उनको रुची कस्तो थियो भन्ने सामान्य कुरा पनि पाठकलाई प्रष्ट हुँदैन । उनका सांगीतिक भ्रमणहरु कुन अघि, कुन पछि भन्ने कुरामा अलमल हुन्छ । भाषा सरल भएकोले पढ्न सजिलो बनाए पनि पुस्तक लेखनमा संस्मरणात्मक भन्दा आख्यानात्मक विधि अवलम्बन गरिएको छ । कथात्मक तथा औपन्यासिक पुट दिने प्रयत्नले कतिपय ठाउँमा प्रस्तुति घुमाउरो र औपचारिक खालको छ ।

यो पुस्तक फ्रान्सेली लेखक लरेन्स द्रबिलसँगको सहकार्यमा पहिलो पटक सन् २००८ माप्रकाशित भएको थियो । हालफूलको आँखामा नेपालीसहित १२ भाषामा प्रकाशित भइसकेको छ । सन् २०११ मा प्रकाशित नेपाली संस्करणको प्रकाशक नेपालय हो । यसको नेपाली संस्करण गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो । सहलेखनले होला घरीघरी, आनीभन्दा सहलेखक बढी हावी भएको भान हुन्छ । सम्भवतः यही कारणले पुस्तकले मौलिकता गुमाएको हो कि !

सन्दर्भ सामग्री
१. नागरिक । २०६८ असोज १५ । आनीको आत्मकथा आयो । पृ. १२ ।
२. http://www.choying.com/

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको जर्नल (रङ्ग राग, पूर्णाङ्क १, २०६९) मा प्रकाशित 

Wednesday, October 2, 2013

(अ)कविता

                                -प्रभाकर गौतम
    उफ् !
यस्तो कहाँ थियो र ?
थिएन
साँच्चै थिएन
हाम्रो सपनाको ‘भोलि’ !